सभामुखले भन्नुभयो, ‘विहिबार अविश्वासको प्रस्ताव अघि बढाउछुँ’

अविश्वास प्रस्ताव अघि बढे एमालेले अवरोध गर्ने


SAM_3086
लक्की चौधरी
काठमाडौं, साउन ५ गते । सभामुख ओनसरी घर्तीमगरले प्रमुख दलका नेताहरुबीच सहमति बन्न नसकेपछि आफ्नो विवेक प्रयोग गरेर अविश्वासको प्रस्तावलाई नै विहिबारको बैठकमा निरन्तरता दिने बताउनुभएको छ ।

संसद भवनमा कार्य व्यवस्था परामर्श समितिको बुधबार बसेको करिब चारघण्टा लामो बैठकमा दलीय हिसावमा सहमति बन्न नसकेपछि सभामुख घर्तीले त्यस्तो निर्णयमा पुग्नु भएको हो । त्यसकालागि विहिबार विहान ९ बजे पुनः शीर्ष नेताहरुसँग परामर्श गर्ने विकल्प उहाँले खुला राख्नुभएको छ ।

“भोलि विहान ९ बजे एक पटक पुनः शीर्ष नेताहरुसँग यस विषयमा परामर्श गर्छु, सहमति बनिहाल्यो भने त त्यहीअनुसार नै अगाडि बढ्छु, सहमति बन्न नसके मैले यसअघि निर्णय गरिसकेको अविश्वासको प्रस्तावलाई संसद बैठकमा निरन्तरता दिन्छु” उहाँले भन्नुभयो ।

कार्य व्यवस्था परामर्श समितिको बैठकपछि संसद भवनमै साँझ अबेर पत्रकार सम्मेलन गर्दै सभामुख घर्तीले भन्नुभयो, “दलीय सहमतिलाई पहिलो प्राथमिकता दिन्छु, सहमति नबने मेरो यसअघिको निर्णयलाई अगाडि बढाउँछु ।” सहमतिकालागि सबै शीर्ष नेतासँग बुधबार नै परामर्श गरेको भएपनि कुरा मिल्न नसकेको उहाँले प्रष्ट पार्नुभयो ।

सभामुख घर्तीले भन्नुभयो, “दलीय सहमतिलाई पहिलो प्राथमिकता दिन्छु, सहमति नबने मेरो यसअघिको निर्णयलाई अगाडि बढाउँछु ।”

कार्य व्यवस्थाको बैठकमा पनि दलका प्रमुख सचेतकहरुले दलीय अडानअनुसारको धारणा राख्नुभएको थियो । अडान अनुसारको धारणा बैठकमा आएपछि कुनै निर्णय हुन नसकेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की संसदीयदलकी नेता रुक्मिणी चौधरीले बताउनुभयो ।

सहमति भयो भने त त्यहीअनुसारले जानुहोला, सहमति नबने के गर्नुहुन्छ ? भन्ने पत्रकारको जिज्ञासामा सभामुखले भन्नुभयो, “मैले केही नियम, मूल्य मान्यता र प्रक्रिया बनाएकी छुँ, त्यहीअुनसार अघि बढ्छुँ ।”

नियमावली बनाउँदा पनि निश्चित सीमा तोकेकी थिएँ, अन्य बैठक सञ्चालन गर्दा पनि निश्चित सीमा निर्धारण गर्ने गरेकी छुँ, असीमित सिमा निर्धारण गरेर बैठक अगाडि बढ्न सक्दैन भन्दै सभामुखले भन्नुभयो, “दलहरुबीच सहमति बने त ठीकै छ, नबने मेरो हिड्ने बाटो मैले तय गरिसकेकी छुँ । अविश्वासको प्रस्तावलाई अघि बढाउँछु ।”

तर सत्तको नेतृत्व गरेको दल एमालेले आर्थिक विधेयकलाई अगाडि बढाउन आग्रह गरेको छ, त्यसो नगरिए बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ । विहिबार बस्ने बैठक सत्तापक्ष र विपक्षीदलको आफ्नै अडानमा समस्यामा पर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया