प्रधानमन्त्री ओलीबाट राजीनामा, अर्को सरकार गठनको बाटो खुल्यो


KP-Oli-Samsad-ma

लक्की चौधरी
काठमाडौं, साउन ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री पदबाट राजिनामा गरिसकेको संसद बैठकलाई जानकरी गराउनुभएको छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आइतबार नै राजीनामा दिइसकेको संसद बैठकलाई जानकारी गराउनुभयो ।

व्यवस्थापिका संसदमा सरकार विरुद्धको अविश्वासको प्रस्तावमा उठेको प्रश्नको आइतबार जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । मन्त्रिपरिषद बैठकबाटै राजीनामाबारे जानकारी राष्ट्रपतिलाई जानकारी गराइएको उहाँले जानकारी दिनुभयो । अब अर्को सरकार गठनमा कुनै बाधा अडचन नआउने उहाँले तर्क गर्नुभयो ।

सो अवसरमा उहाँले सरकारमा रहँदा सहयोग गर्ने सबै राष्ट्रिय अन्तर्राष्ट्रिय पक्षहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । सबै पक्षको सहयोग र सहकार्यले आफूले सरकारमा सहजरुपमा काम गर्ने अवसर पाएको पनि उहाँले प्रष्ट पार्नुभयो । नेपाली जनताबाट पाएको स्नेह र मायाको पनि उहाँले प्रसंशा गर्नुभयो ।

“प्रक्रियाका हिसावले अविश्वासको प्रस्ताव मेरालागि सामान्य र स्वभाविक हो तर समय र परिस्थितिका हिसावले कति सामान्य हो ?” उहाँले जिज्ञासा दिनुभयो । सरकारको जय र पराजय ठूलो कुरा नभएको भन्दै लोकतन्त्रले सफलता हासिल गर्नु महत्वपूर्ण भएको बताउनुभएको   छ ।

कानूनको छिद्र खोजेर सत्ता लम्ब्याउनु छैन भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सत्ता लम्ब्याउने आरोपलाई म पूर्णरुपले खारेज गर्छु ।”
कैची चलाएपछि पछुतो नहोस् भन्नेमा चलाउनेहरुलाई ख्याल हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले ‘धमिलो पानीमा माछा मार्न खोज्नेहरु’ सल्बलाएको टिप्पणी गर्नुभयो । यसले दूरगामी नकारात्मक प्रभाव पार्ने र मुलुक अस्थिरतातिर जान्छ कि ! भन्ने आफूलाई गम्भीर बनाएको बताउनुभयो । यत्तिबेला संविधान र राष्ट्रका निम्ति चिन्तित भएको बताउनुभयो ।

“के बुढाबुढीको मुहारमा मुस्कान ल्याउनु गल्ती थियो, सुकुम्बासीलाई छाप्रो दिने अभियानलाई अगाडि बढाउँदा गल्ति थियो” मनमोहन अधिकारीको सरकारलाई ०५२ सालमा हटाइएको उहाँले स्मरण गर्नुभयो । आफूलाई त्यस्तै गरिएको उहाँले टिप्पणी गर्नुभयो । “त्यतिबेला पनि संसदबाट बजेट पारित गर्न दिइएको थिएन, अहिले पनि आर्थिक विधेयक पारित गर्न दिइएन” उहाँले बताउनुभयो ।

“मनमोहनको तत्कालिन लोकप्रिय सरकारलाई हटाउँदा राष्ट्रले ठूलो मूल्य चुकाउनु परेको थियो, अहिलेको सरकारलाई विघटन गर्दापनि देशले मूल्य चुकाउनुपर्छ” भन्दै प्रधानमन्त्री ओलीले हिंसा, प्रतिहिंसा, चक्रव्यूह रचेर देशलाई दुर्गतीमा धकेल्ने काम भइरहेको बताउनुभयो ।
संविधान कार्यान्वयन बाँकी छ, कानून निर्माण बाँकी छ, धेरै कामगर्न बाँकी छ भन्दै उहाँले अविश्वासको प्रस्ताव दर्तागर्दा त्यो विर्सेको होकि ! आफूलाई आभास भएको उहाँले चर्चा गर्नुभयो । संविधान निर्माणगर्दा एक किसिमको वातावरण निर्माण भएपनि अहिले त्यो सबै भताभुङ्ग गर्ने प्रयास भएको आरोप लगाउनुभयो । एमाले र माओवादीको सहकार्यको आधार १४ बुँदे सहमति भएको भएपनि अहिले त्यो एकतालाई तोड्ने काम भएको बताउनुभयो ।

“सहकार्यकालागि शक्तिको बाँडफाँड गरिएको थियो, धेरै महत्वपूर्ण मन्त्रालय माओवादीलाई जिम्मा दिइएको थियो, ती सबै के नौ महिनाकालागि थिए, सरकार परिवर्तनका लागि थिए ?” जिज्ञासा गर्दै एमाले अध्यक्षसमेत रहनुभएका उहाँले भन्नुभयो, “१४ बुँदे सहमतिमा त्यस्तो गर्ने केही संकेत थिएन, तर त्यसलाई तोडियो ।”

मूलुक आसाधारण संकटमा रहेकाबेला आफूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो संकटलाई विरासतमा लिएर, धुला उडेको बेलामा, अभावको संकटका बेलामा आफूले जिम्मेवारी लिएको बताउनुभयो । “मुलुकले नयाँ गति लिनथालेपछि गठबन्धनभित्र फेरि समस्या बल्झाउने काम भएको छ” उहाँले भन्नुभयो ।

“साथीहरुको मनसाय बेग्लै रहेछ, सहयात्री दलहरुबाट उच्चस्तरको सहयोग प्राप्त हुन्छ सोचेको थिएँ तर परिस्थिति बेग्लै देखियो” भन्दै प्रधानमन्त्री ओलीले बजेटप्रति नियोजित हल्ला चलाएर सरकारप्रति अविश्वास सृजना गर्नेकाम भएको चर्चा गर्नुभयो ।

“साथीहरुको मनसाय बेग्लै रहेछ, सहयात्री दलहरुबाट उच्चस्तरको सहयोग प्राप्त हुन्छ सोचेको थिएँ तर परिस्थिति बेग्लै देखियो” भन्दै प्रधानमन्त्री ओलीले बजेटप्रति नियोजित हल्ला चलाएर सरकारप्रति अविश्वास सृजना गर्नेकाम भएको चर्चा गर्नुभयो । बजेटपछि सरकार परिवर्तन हुन्छ भनेर नियोजित हल्ला चलाइयो उहाँले भन्नुभयो ।

जसरी पनि सरकारमा टाँसिनुपर्ने मेरो मान्यता होइन, ठीकसँग काम गर्ने नभए छाडिदिने बताउँदै प्रधानमन्त्री ओलील भन्नुभयो, “निश्चित मिसन बोकेर गठन भएको यो सरकारमा बसेर त्यसको जडा काट्ने काम माओवादीले ग¥यो ।” कमी कमजोरी भए सरकारलाई निर्देशन दिनसक्ने हैसियतको उच्चस्तरीय राजनीतिक समिति निर्माण गरिएको स्मरण गर्दै उहाँले प्रचण्डको नाम नलिएर सरकारलाई कुनै बैठकमा संयोजक भएर सुझाव नदिएको प्रष्ट पार्नुभयो ।

उच्चस्तरीय समितिको एक पटक बैठक बसेन, अचानक सरकारमाथि अविश्वासको प्रस्ताव आयो भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “कमीहरु कहाँ छन्, केही गर्नुपर्छ भने तपाइहरुको प्रस्ताव आवस् भनेर आग्रह गरेको थिएँ तर भोलि पर्सी भन्दै समर्थन फिर्ताको नयाँ मोडालिटी पो आयो ।” विरोधै गर्नुपर्दा कसरी विरोध गर्ने भन्ने एउटा नमुना संसदमा प्रस्तुत भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “छापामार शैलीमै झ्याप्पै पारिदिनुभयो ।”

सबै पार्टी आफ्नो निर्णय गर्न स्वतन्त्र छ भन्दै प्रधानमन्त्री ओलीले ठूला दल एकठाउँमा बस्नु हुँदैन भन्ने कांग्रेसले सिद्धान्त प्रतिपादन गरेको आरोप लगाउनुभयो । त्यस्तो सिद्धान्तको प्रतिपादन गरेको दलले राष्ट्रिय सहमतिको सरकार गठनको रटको के अर्थ हुन्छ उहाँले भन्नुभयो ।
कुनै कामका कारणले हैन रहेछ मन फाटेको, मन दुःखेको चित्त नबुझेको आदि कारणले अविश्वासको प्रस्ताव आएको रहेछ भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अरुणा लामाको गीतझैं फात्तिएको मनलाई धेरैपल्ट सिउने कोसिस गरें ।” आज टुनेर पठायो, अर्को विहान अर्कोतिर फाटेर आउँछ, धेरै समय यसैगरी विताएँ उहाँले भन्नुभयो ।

“एक माघले जाडो जाँदैन” भन्दै प्रधानमन्त्री ओलीले समयको समाप्ती होइन, समय गतिशील भएको बताउनुभयो । “गजवको सहकार्य चलाउन कसिनुभएको छ, साथीहरुलाई शुभकामना छ” भन्दै उहाँले “हामी उच्चस्तरीय राजनीतिक समिति किन गठन गरेका थियौं ? सहकार्यको संस्कृति, समझदारीपूर्ण व्यवहारका लागि होइन ?” जिज्ञासा गर्नुभयो । त्यति ठूलो निर्णय लिंदासमेत समितिको संयोजकले सहकर्मीहरुसँग परामर्श नलिएको बताउनुभयो ।

“आफै संयन्त्रको संयोजक हुने, हामी सबैलाई सदस्य बनाएर राख्ने, सदस्यलाई थाहा पनि नदिएर बुरुक्क उफ्रिने, आरोप जति अर्काको टाउकोमा ?” जिज्ञासा गर्दै प्रधानमन्त्री ओलीले दिनदिनै बस्दा, घण्टौं परामर्श गर्दासमेत त्यस विषयलाई छलफलमा नल्याएकोप्रति दुःख व्यक्त गर्नुभयो । सरकार सञ्चालन गर्ने समितिका संयोजक अविश्वासका प्रस्तावक ! उहाँले व्यंग्य गर्नुभयो ।

“कोपिला लागेको बोट निमोठेर फल जम्मा गर्ने कस्तो दावी हो ? फल्न लागेको धानखेतमा डोजर चलाएर ठूलो कुन्यू ठड्याउने कस्तो दावी हो ?” जिज्ञासा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नजर एकातिर निसाना अर्कोतिर देखियो ।” उहाँले अविश्वास प्रस्तावकर्तातिर संकेत गर्नुभयो ।

राजनीतिक खेलको मर्यादा नहुँदा राजनीति फोहरी खेलमा परिणत हुने भन्दै उहाँले अहिलेको प्रचण्डको खेल त्यस्तै भएको बताउनुभयो । “बागमति आफै प्रदूषित हुने होइन, मान्छेले नै प्रदूषित गर्छन्” भन्दै उहाँले संसद र संसदीय खेल पनि आफै फोहरी नभएर मान्छेले बनाएको उहाँले चर्चा गर्नुभयो । अविश्वास प्रस्ताव रहस्यपूर्ण तरिकाले ल्याइएको उहाँले आरोप लगाउनुभयो ।

“कोपिला लागेको बोट निमोठेर फल जम्मा गर्ने कस्तो दावी हो ? फल्न लागेको धानखेतमा डोजर चलाएर ठूलो कुन्यू ठड्याउने कस्तो दावी हो ?” जिज्ञासा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नजर एकातिर निसाना अर्कोतिर देखियो ।” उहाँले अविश्वास प्रस्तावकर्तातिर संकेत गर्नुभयो । आफ्नो विरुद्ध भोटदिन मधेसका नेताहरु टप्लक्क आउनुहुन्छ, अरुबेला आउनुहुन्न किन ? प्रधानमन्त्रीले जिज्ञासा गर्नुभयो ।

सरकारको कामकाजले जनतामा नयाँ भरोसा जागृत भएको दावीगर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका मुख्य कामहरुले गति लिएको बताउनुभयो । ०७४ माघ ७ भित्रै तीनैतहको निर्वाचनको तयारी सरकारले गरेको जानकारी दिंदै आवश्यक कानूनको तर्जुमासमेत शुरुभएको बताउनुभयो । “सरकार असफल भयो भन्ने लगाइएको आरोपको केही आधार छ ?” प्रधानमन्त्री ओलीले जिज्ञासा गर्नुभयो, “यसअघिको सरकारले गर्न नसकेको काम गर्नु के यो सरकारको असफलता हो ?”

सरकारलाई सामन्त राष्ट्रवाद, खोक्रो राष्ट्रवादको आरोप लगाएर तपाईहरुले कस्तो राष्ट्रवादको परिकल्पना गर्नुभएको छ ? जिज्ञासा गर्दै प्रधानमन्त्री ओलीले सरकारले लिएको कदम ऐतिहासिक भएको दावी गर्नुभयो । भौगोलिकरुपमा विभिन्न ठाउँमा छरिएर रहेपनि सबै नागरिक समान सार्वभौमसम्पन्न भएको उहाँले प्रष्ट पार्नुभयो ।

“मैले राजतन्त्रको विरुद्ध संघर्ष गर्दा तपाइसाथीहरु कहाँ हुनुहुन्थ्यो, कापी कलम लिएर कुन स्कूलमा हुनुहुन्थ्यो” जिज्ञासा गर्दै प्रधानमन्त्री ओलीले शान्तिप्रक्रियाका बारेमा मेरो र मेरो पार्टीमाथि प्रश्न उठएकोमा आपत्ति जनाउाँदै उहाँले एमालेले नै जोखिम उठाएर माओवादीलाई शान्तिप्रक्रियामा ल्याएको बताउनुभयो ।

“मैले नेपाललाई समृद्ध बनाउँछु भनेको छुँ, सिंगापुर, स्वीट्जरलैण्ड बनाउँछु भनेको छैन” भन्दै प्रधानमन्त्री ओलीले समृद्धिको खाका कोर्दा, बाटा तयगर्दा किन आपत्ति ? भन्नुभयो । दुई चार महिनामा काम गर्छु भन्नेको काम हेरौं न भन्दै उहाँले भन्नुभयो, “अविश्वास प्रस्ताव दर्ताकर्ता प्रचण्डजीले कहिलेदेखिको पो रिस पोख्नुभयो थाहा भएन ।” मेरोनिम्ति पद र ओहदाले ठूलो अर्थ राख्दैन उहाँले भन्नुभयो ।

नेपाल–भारत सम्बन्धको आ–आफ्नै विशेषता छन्, त्यसलाई एकअर्कासँग तुलना गर्नु हुँदैन भन्दै प्रधानमन्त्री ओलीले छिमेकीहरुसँग सन्तुलित सम्बन्ध नै सरकारको प्राथकिता रहेको बताउनुभयो । तपाइहरुले भन्न खोजेको सन्तुलित सम्बन्ध कस्तो हो ? जिज्ञासा   गर्नुभयो । सबै मित्रराष्ट्रसंग मित्रवत सम्बन्ध सुधार भएको उहाँले दावी गर्नुभयो ।

आउने सरकारलाई प्रधानमन्त्रीको जिज्ञासाः
तराईको हुलाकी राजमार्ग बनाउनु हुन्छ कि पुरानै अवस्थामा राख्नुहुन्छ ? तराईमा यसवर्ष २० हजार जनतालाई जनताआवास घर निर्माण गरेर सुम्पने कार्यक्रम छ त्यो के हुन्छ ? एउटा सदरमुकाममा पनि चक्रपथ छैन, यसै वर्षदेखि निर्माण कार्य शुरुहुँदैछ, के हुने हो त्यो म सोध्न चाहन्छु ? शहरको पूर्वाधार विकासका विभिन्न विकास योजना के हुन्छन् ? कृषि, विकास, भैरवा विमानस्थलका लागि पर्याप्त बजेट प्रस्ताव गरिएको छ, अगाडि बढाउनुहुन्छ ?

ज्येष्ठ नागरिक, अल्पसंख्यक, एकल महिलाकालागि अगाडि सारिएको सामाजिक भत्तामा के गर्नुहुन्छ ? दुर्गम ठाउँका विकासका आयोजनालाई के गर्नुहुन्छ ? देश विकासको आधारको योजना तयार गरिएका छन् त्यसलाई के गर्नुहुन्छ ? फेरि अर्को बजेट ल्याएर पास गर्नुहुन्छ कि, त्यसैलाई कार्यान्वयन गर्नुहुन्छ ? तपाईहरुको प्राथमिकतामा आर्थिक विकास र समृद्धि त छ ?

तपाईको प्रतिक्रिया