नयाँ प्रधानमन्त्रीको निर्वाचन १९ गते हुने, प्रचण्ड प्रधानमन्त्रीमा करिब पक्का

सत्तापक्षबाट सम्भवतः नेम्वाङले उम्मेदवारी दिने


Prachand1

लक्की चौधरी
काठमाडौं, साउन १७ गते । मुलुकको ३९ औं प्रधानमन्त्रीको निर्वाचन आगामी बुधबार हुने भएको छ । व्यवस्थापिका संसदले साउन १९ गते विहान ११ बजेकालागि प्रधानमन्त्री निर्वाचन कार्यतालिका सोमबार सार्वजनिक गरेको छ । नयाँ प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने करिब निश्चित छ ।

प्रधानमन्त्रीको निर्वाचन सम्बन्धी सभामुख ओनसरी घर्तीले जारी गर्नुभएको सूचनाअनुसार १८ गते मंगलबार विहान ११ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्रीको उम्मेदवारी दर्तागर्ने समय तय गरिएको छ । सोहीदिन ४ः३० बजे उम्मेदवारी दर्ताको सूची प्रकाशन गर्ने कार्यतालिका छ ।

प्रधानमन्त्रीको निर्वाचन सम्बन्धी सभामुख ओनसरी घर्तीले जारी गर्नुभएको सूचनाअनुसार १८ गते मंगलबार विहान ११ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्रीको उम्मेदवारी दर्तागर्ने समय तय गरिएको  छ ।

प्रधानमन्त्री हुन चाहने उम्मेदवारले अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्र नयाँ बानेश्वरमा संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई समक्ष आफ्नो उम्मेदवारी दर्ता गराउने स्थान तोकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधानको धारा २९८ (२) अनुसार एक साताको समय दिएर साउन १० गते सहमतीय सरकारको आव्हान गर्नु भएपनि दलहरुबीच सहमति हुन नसक्दा बहुमतीय प्रक्रिया अघि बढेको हो ।

राष्ट्रपति भण्डारीले सोमबार पुनः बहुमतीय आधारमा प्रधानमन्त्रीको चयन गर्न संविधानको धारा २९८ (३) अनुसार आव्हान गर्नुभएको छ । सोही आव्हानअनुसार सभामुख घर्तीले संसद नियमावली २०७३ को नियम ४९ (२) अनुसार प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सोमबार संसद बैठकपछि सार्वजनिक गर्नुभएको हो । राष्ट्रपति कार्यालयको पत्र सभामुख घर्तीले संसद बैठकमा पढेर सुनाउनुभएको थियो ।

IMG (7)

प्रधानमन्त्रीमा अहिलेसम्म नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विपक्षी गठबन्धनको तर्फबाट साझा उम्मेदवारकोरुपमा देखिनुभएको छ । तर सत्तापक्षबाट अहिलेसम्म उम्मेदवार कसलाई बनाउने भन्ने तय भइसकेको छैन । अहिलेसम्म एमालेबाट सुवासचन्द्र नेम्वाङ, नेकपा (माले) बाट सी.पी. मैनाली, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नाम चर्चामा रहेको छ । तर सत्ता गठबन्धन दलले उम्मेदवारबारे निर्णय नगर्दासम्म एकिन भन्न सक्ने अवस्था छैन ।

मंगलबार उम्मेदवारी दर्ता गराउनेले एकजना समर्थक र एकजना प्रस्तावक सहितको उम्मेदवारीको सूचना साँझ ४ बजेसम्म दर्ता गराइसक्नुपर्ने छ । यसरी दर्ता गरिएको समर्थक तथा प्रस्तावकको नामावली सहित अन्तिम सूचना साँझ ४ः३० बजे सार्वजनिक गर्ने कार्यतालिका तय गरिएको छ ।

नयाँ प्रधानमन्त्री चयनका लागि संसद बैठकमा नाम निर्णयार्थ पेश हुनुअघि उम्मेदवारीको सूचनामाथि सामुहिकरुपमा छलफल हुने र सबै उम्मेदवारीलाई एकैसाथ निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका संसद सचिवालयले बनाएको छ । उम्मेदवारको एकजना प्रस्तावक हुने भएपनि प्रधानमन्त्रीमा समर्थन गर्ने अन्य दलसमेत समर्थक हुने भएकाले एकजनाभन्दा बढी समर्थकलाई बैठकमा बोल्न दिने या नदिने भन्ने विषयमा सभामुखसँगको परामर्शमा सचिवालयले टुंगो लगाउने संसद सचिवलयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बताउनुभयो ।

कसको पक्षमा कति मत?
संसदमा अहिले ५९५ सांसद कायम रहनुभएको छ । जसमध्ये कांग्रेस–माओवादी गठबन्धनमा स्पष्ट बहुमत जाने देखिएको छ । हालको सत्तापक्ष एमालेसहितको दलमा एमालेको १८२, राप्रपा नेपालको २५, नेकपा (माले) को ५, नेमकिपाको ४, राष्ट्रिय जनमोर्चाको ३, नेपाल परिवार दलको २, बहुजन शक्ति पार्टी १, मधेस समता पार्टीको १ गरी कुल २२३ मत छ ।

विपक्षी गठबन्धन दल कांग्रेस, माओवादी, मधेसी मोर्चासहित साना दलसँग ३७२ जाने देखिएको छ । संसद नियमावलीमा तटस्थ बस्न नपाउने व्यवस्था भएकाले सबै सांसदले पक्ष वा विपक्षमा मतदान गर्नुपर्ने बाध्यता रहन्छ । संसदमा रहेका ३१ दलसहित दुईजना स्वतन्त्र सांसद हुनुहुन्छ । स्वतन्त्र सांसद पनि विपक्षी गठबन्धनमा उभिएका छन् ।

एमालेले मंगलबार निर्णय गर्ने
सत्तापक्षको तर्फबाट सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) ले मंगलबार विहानसम्म पार्टीको साझा उम्मेदवार तय गर्ने भएको छ । सोमबार साँझ अनौपचारिक छलफल गरेको एमालेले मंगलबार विहान सत्तापक्षका अन्य दलका नेताहरुसँग पनि छलफल गरेर साझा उम्मेदवार तयगर्ने एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बताउनुभयो ।

“हाम्रो उम्मेदवारलाई अहिले नै तय गरेर प्रचारका लागि जनतामाझ लग्नुपर्ने केही छैन, त्यसैले हामी मंगलबार नै उम्मेदवार तय गर्ने निर्णय गरेका छौं” प्रमुख सचेतक ढकालले गोरखापत्रलाई जानकारी गराउनुभयो । सम्भवतः एमालेबाटै प्रधानमन्त्रीको उम्मेदवार तयगर्ने उहाँले बताउनुभयो ।

“सत्तारुढ दलमा प्रधानमन्त्रीको उम्मेदवारको योग्यता पुगेका त अरु पनि हुनुहुन्छ तर एमालेबाटै उम्मेदवार तय गर्छौं” ढकालले भन्नुभयो ।

“सत्तारुढ दलमा प्रधानमन्त्रीको उम्मेदवारको योग्यता पुगेका त अरु पनि हुनुहुन्छ तर एमालेबाटै उम्मेदवार तय गर्छौं” ढकालले भन्नुभयो । एमालेबाट हाल उपाध्यक्ष बामदेव गौतम र संसदीयदलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरिएको छ । तर उपाध्यक्ष गौतमले संसदीयदलको नेता दिएमात्र उम्मेदवार बन्ने शर्त राख्नुभएकाले उहाँको सम्भावना कम देखिएको छ ।

उपाध्यक्ष गौतमको सर्त स्वीकार नभए पूर्व सभामुख नेम्वाङ् नै सत्तापक्षबाट प्रधानमन्त्रीको साझा उम्मेदवारकोरुपमा मंगलबार उम्मेदवारी दिनुहुनेछ । सत्तापक्षकै अन्य दलबाट नेकपा (माले) बाट सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नाम पनि चर्चामा  छ । तर पराजित हुनलाई अन्य दलबाट उम्मेदवार बनाउनुभन्दा आफ्नै दलबाट बनाउने एमालेको तयारी छ ।

एमालेसहितका सत्ता गठबन्धनबाट नेम्वाङलाई साझा उम्मेदवारमा निर्णय भएमा उहाँ जनजातिबाट दोस्रो पटक प्रधानमन्त्रीको उम्मेदवारी दिनुहुनेछ । यसअघि प्रधानमन्त्रीको उम्मेदवारीमा कांग्रेस नेता कुलबहादुर गुरुङले उम्मेदवारी दिइसक्नु भएको छ । तर प्रधानमन्त्री हुनु भएको भने छैन ।

तपाईको प्रतिक्रिया