प्रचण्डले दिए उम्मेदवारी, देउवा प्रस्तावक, मधेसवादी दलहरु समर्थक


Prachanda ummedari

काठमाडौँ, साउन १८ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको ३९ औं प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरको ल्होत्सेहलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उहाँले मंगलबार प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउनुभएको हो ।

अध्यक्ष दाहालका प्रस्तावकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ । त्यस्तै, समर्थकमा माओवादी केन्द्रका नेता

कृष्णबहादुर महरा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता परशुराम तामाङ, सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले समर्थन जनाउनुभएको छ ।

त्यस्तै अध्यक्ष दाहाललाई नेकपा (संयुक्त) का जयदेब जोशी, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, नेपाली जनता दलका हरिचरण साह, जनजागरण पार्टीका लोकमणि ढकाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का रुक्मिणी चौधरी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपालका रामकुमार राई, थरुहट तराई पार्टी नेपालका गंगा चौधरी (सत्गौवा),मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का योगेन्द्र चौधरी, अखण्ड नेपालका कुमार खड्का, दलित जनजाति पार्टी नेपालका यसोदाकुमारी लामा र स्वतन्त्र सांसद चन्द्रेश्वर झाले समर्थन जनाउनुभएको छ ।

व्यवस्थापिका–संसद् सचिवालयले तयार गरेको निर्वाचन कार्यक्रमअनुसार बिहान ११ः०० बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको थियो ।

नयाँ गठबन्धनले दुई तिहाई मत ल्याउने दावी गरे पनि एमालेसँगको दलमा कुल २२३ मत रहेकाले स्पष्ट दुई तिहाई (३९६) मत प्रचण्डलाई नआउने देखिन्छ ।

अपराह्न ४ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । प्रधानमन्त्रीमा एमालेले उम्मेदवारी नदिएपछि प्रचण्ड एक्लो उम्मेदवार हुनुभएको छ । बुधबार बिहान ११ बजे हुने संसद्को बैठकमा सबै उम्मेदवारको सूचना प्रस्तुत भई प्रस्तावक र समर्थकको समर्थनपछि ती सूचनामाथि सामूहिक छलफल र निर्णयार्थ प्रस्तुत (मतदान) गरिनेछ । ती सबै कार्यक्रम संसद् भवन नयाँबानेश्वरमा हुनेछ ।

एमालेले नयाँ प्रधानमन्त्रीमा उम्मेदवारी नदिए पनि प्रतिपक्षीको भूमिकामा रहेर प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमालेसँग राप्रपा नेपाल, जनमोर्चा, नेकपा (माले), नेमकिपा, परिवार दल, बहुजन शक्ति पार्टी र मधेस समता पार्टीको समर्थन छ ।

नयाँ गठबन्धनले दुई तिहाई मत ल्याउने दावी गरे पनि एमालेसँगको दलमा कुल २२३ मत रहेकाले स्पष्ट दुई तिहाई (३९६) मत प्रचण्डलाई नआउने देखिन्छ ।

दाहालको पक्षमा ३५८ सांसद

निर्वाचनमा अध्यक्ष दाहाललाई काँग्रेसका २०७, माओवादी केन्द्रका ८१, सङ्घीय समाजवादीका १५, फोरम (लोकतान्त्रिक)का १४, राप्रपाका १२, तमलोपाका ११, सद्भावना पार्टीका पाँच, नेकपा (संयुक्त) तीन, थरुहट तराई पार्टी दुई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का एक, समाजवादी जनता पार्टी एक, नेपाली जनता दल एक, खुम्बुवान राष्ट्रिय मोर्चा एक, अखण्ड नेपाल पार्टी एक, दलित जनजाति पार्टी एक, जनजागरण पार्टी एक र स्वतन्त्र सांसद एक गरी जम्मा ३५८ सांसदले समर्थन जनाउने भएका छन् । यो सङ्ख्या भोलि मतदानको समयसम्ममा अझ बढ्नसक्ने नयाँ गठबन्धनका नेताहरुले बताएका छन् ।

प्रधानमन्त्रीको निर्वाचन भोलि बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रारम्भ हुनेछ । संसद्मा हाल ५९५ सांसद छन् । संसद् नियमावलीअनुसार प्रधानमन्त्रीमा निर्वाचित हुन संसद्मा तत्काल कायम सदस्य सङ्ख्याको बहुमत अर्थात २९८ मत ल्याउनुपर्छ ।

तपाईको प्रतिक्रिया