ओली नेतृत्वको सरकारले शुरुगरेका आयोजना अगाडि बढाउँछु


3

काठमाडौं, साउन १९ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघिको सरकारले शुरुगरेको विकासको कामलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि व्यवस्थापिका संसद बैठकमा उम्मेदवारी दिनेक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो प्रतिवद्धता जनाउनुभयो । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रचण्डले एमालेले पक्षमा मतदान नगरेपनि उम्मेदवारी नदिएर सकारात्मक वातावरण निर्माण गर्ने एमालेले संकेत गरेको विश्वास व्यक्त गर्नुभयो ।

“मेरो तर्फबाट विना कुनै आग्रह र पूर्वाग्रह सबै राजनीतिक दलसँग सहकार्य गरेर देशको समस्या समाधानका निम्ति सबैसँग सहकार्य गरेर अगाडि बढने विश्वास दिलाउन चाहन्छुँ” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो “राष्ट्रिय सहमतिको सरकार गठनको आवश्यकता थियो, तर केही विमतिका कारण सम्भव भएन ।” प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि भने उहाँले पत्रकारलाई कुनै प्रतिक्रिया दिन मान्नु भएन ।

“नेपालमा ईष्र्याको राजनीति नचलोस्, सहकार्य र एकताको राजनीति चलोस भन्ने मेरो मान्यता हो” भन्दै अध्यक्ष प्रचण्डले शान्तिप्रक्रियाको टुंगो र संविधानको कार्यान्वयनका लागि पनि प्रमुख दलबीचको सहकार्य र एकता आवश्यक रहेको तर्क गर्नुभयो । हामी नेपालप्रति सबै बफादार छौं, सबैले राष्ट्रको एकतालाई प्राणभन्दा प्यारो मान्छौं भन्दै उहाँले कसैले कसैलाई निषेध गर्न नहुने चर्चा गर्नुभयो ।

मधेस, थारु, आदिबासी जनजातिका मुद्दालाई सम्बोधनको विकल्प वार्ता र संवाद नै रहेको बताउँदै उहाँले भन्नुभयो, “हामीलाई एकअर्कालाई अलग्याउने पर्खाल होइन, एकापसमा जोड्ने पुलको आवश्यकता छ, ध्रुवीकरण होइन, आपसी विश्वास र समझदारी चाहिएको छ ।” ती वर्गसँग मतभेद भन्दा मनभेद मनोवैज्ञानिक भेद भएको उहाँले तर्क गर्नुभयो । त्यसलाई मेटाउन आफूले प्रयास गर्ने बताउनुभयो ।

मधेस, थारु, आदिबासी जनजातिका मुद्दालाई सम्बोधनको विकल्प वार्ता र संवाद नै रहेको बताउँदै उहाँले भन्नुभयो, “हामीलाई एकअर्कालाई अलग्याउने पर्खाल होइन, एकापसमा जोड्ने पुलको आवश्यकता छ, ध्रुवीकरण होइन, आपसी विश्वास र समझदारी चाहिएको छ ।”

“म त्यस्तो स्वाभाविक पात्र हुँ जसले मधेसी, थारु, मुश्लिम, आदिबासी जनजातिसँग बडो सहजसँग वार्ता संवाद गर्न सक्छुँ” भन्दै नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले देशको समस्या समाधानका लागि नयाँ संविधानलाई सर्वस्वीकार्य बनाउनुको विकल्प नरहेको बताउनुभयो । संघीय गठबन्धनसँग भएको तीनबुँदे सहमति पनि देशलाई नयाँ हिसावले अगाडि बढाउने प्रयास भएको उहाँले तर्क गर्नु   भयो ।

संसद बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसअघिका प्रधानमन्त्री ओलीले संसदमा उठाउनुभएको जिज्ञासाको जवाफ दिंदै उहाँले शुरुगरेको सबै कामलाई सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भयो । छिमेकी मुलुक चीन र भारतसँग गरिएका पछिल्ला सन्धी सम्झौतालाई समेत कार्यान्वयनका लागि आफू इमान्दारितापूर्वक लाग्ने प्रष्ट पार्नुभयो ।

विकास निर्माणका सबै आयोजना ओली नेतृत्वको सरकारका पालामा शुरु नभएको दावीगर्दै उहाँले हुलाकी मार्ग, ठूलो परियोजनाहरु धेरै पहिले नै शुरुभएको दावी गर्नुभयो । “ओली नभएपछि केहीचिज अगाडि बढ्दैन, सबै डुब्छन् भन्ने सत्य होइन, यो एकछिनको भ्रम दिन त सत्य होला तर इतिहासलाई झुठो कसैले सावित गर्न सक्दैन” उहााँले भन्नुभयो ।

साधारण खर्च गर्नकालागि ५२ अर्व अरुसँग ऋण लिनुपर्ने अवस्था रहेको बताउँदै अध्यक्ष दाहालले अरुसँग ऋण र अनुदान लिएरमात्र काम गर्नुपर्ने विडम्बनापूर्ण अवस्था देशको रहेको तर्क गर्नुभयो । सामुहिक समिक्षा गरेरमात्र देशको आर्थिक स्थितिलाई सही गतिदिन सक्ने उहाँले बताउनुभयो । स्रोतविहिन विकासको परिकल्पना गर्न नसकिने उहाँले सो अवसरमा बताउनुभयो । ऋण लिएर घिउ खाने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो ।

“ओली नभएपछि केहीचिज अगाडि बढ्दैन, सबै डुब्छन् भन्ने सत्य होइन, यो एकछिनको भ्रम दिन त सत्य होला तर इतिहासलाई झुठो कसैले सावित गर्न सक्दैन”

फाष्ट ट्रयाक र हुलाकी मार्ग हामी बनाउँछौं, तपाईहरु सबैको साथ चाहिएको छ भन्दै अध्यक्ष दाहालले भन्नुभयो, “ओलीज्यू सरल भाषामा आर्थिक स्रोत देखाउनुस्, हामी काम गर्छौ, तपाईले जसरी भन्नुहुन्छ, म त्यसरी नै गर्नेछुँ ।” देश र जनताको हितमा हुने सबै कामलाई निरन्तरता दिइनेछ, त्यहाँ कुनै राजनीति गरिने छैन उहाँले भन्नुभयो ।

देशमा कृषि विकास तथा प्राकृतिक स्रोत साधनको सदुपयोगले मुलुकलाई समृद्ध बनाउन सकिने उहाँले बताउनुभयो । बाहिरबाट करिब दुईदेखि तीन अर्व मानिस नेपाल आउन चाहना राखेको आफूले जानकारी पाएको भन्दै उहाँले त्यसकालागि आधार तयार गर्न आवश्यक रहेको चर्चा गर्नुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ संविधान सर्वस्वीकार्य भइनसकेकाले त्यसकालागि सबै पक्षसँग संवाद, सहमति र सहकार्य गरेर अगाडि बढन आवश्यक रहेको बताउनुभयो । सबैलाई मान्य हुने संविधान संशोधन गर्नु हामीसबैको दायित्व र जिम्मेवारी रहेको उहाँले तर्क गर्नुभयो ।

सत्ता परिवर्तन लोकतन्त्रमा सामान्य विषय भएको बताउँदै उहाँले शान्तिपूर्णरुपमा सत्ता बहिर्गमन हुनु लोकतन्त्रको सौन्दर्यरहेको बताउनुभयो । नयाँ संविधान कर्यान्वयनका लागि स्थानीय, प्रदेश र प्रतिनिधिसभा सबै तहको निर्वाचन समयमा गर्न आवश्यक रहेको बताउँदै सभापति देउवाले भन्नुभयो, “त्यसकालागि पहिले शान्ति चाहिन्छ, विना शान्ति विकासको काम सम्भव छैन ।” साथी बदल्न सकिन्छ तर छिमेकी बदल्न नसकिने हुनाले चीन र भारत दुवैसँग सन्तुलित सम्बन्ध गर्नुको विकल्प नरहेको चर्चा गर्नुभयो ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अहिले मुलुककालागि राष्ट्रिय सहमति र सहकार्यको आवश्यकता भएको भएपनि सहमति हुन नसक्नु दुःखद भएको बताउनुभयो । संसदको दोस्रो ठूलो दल एमालेले उम्मेदवारी नदिएर सकारात्मक सन्देश दिएको भएपनि प्रचण्डकै पक्षमा मतदान गरेको भए अझै सहमतिको वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

नयाँ संविधान कर्यान्वयनका लागि स्थानीय, प्रदेश र प्रतिनिधिसभा सबै तहको निर्वाचन समयमा गर्न आवश्यक रहेको बताउँदै सभापति देउवाले भन्नुभयो, “त्यसकालागि पहिले शान्ति चाहिन्छ, विना शान्ति विकासको काम सम्भव छैन ।”

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ संविधान आफूहरुलाई स्वीकार्य नभएपनि त्यसलाई संशोधन गरेर अगाडि बढ्ने सहमति हुनु नै ठूलो उपलब्धी भएको बताउनुभयो । भएको सहमतिलाई इमान्दारिताकासाथ कार्यान्वयन गर्न उहाँले कांग्रेस र माओवादी दललाई आग्रह गर्नुभयो । सहमतिले मधेसी, थारु, आदिबासीलाई नयाँ आशा जगाएको भएपनि त्यसको कार्यान्वयन नभए अर्को समस्या निम्तिने उहाँले घुमाउरो भाषामा चेतावनी दिनुभयो ।

फोरम (लोकतान्त्रिक) का प्रमुख सचेतक योगेन्द्र चौधरीले नयाँ संविधानमा संशोधन गरेर थारु, मधेसी, आदिबासी जनजाति तथा अन्य वर्गको अधिकार सुनिश्चित गर्नुको विकल्प नरहेको बताउनुभयो । ओली नेतृत्वको सरकारमा जाँदासमेत पार्टीको तर्फबाट आठबुँदे सहमति भएको स्मरण गर्दै उहाँले त्यसको सही कार्यान्वयन नभएर समस्या भएको बताउनुभयो ।

संसद बैठकमा जयदेव जोशी, रुक्मिणी चौधरी, हरिचरण साह, प्रेमबहादुर सिंह लगायतले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीका लागि समर्थनसहितको धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया