पत्रकार हुन अब तोकिएको परीक्षा उत्तीर्ण गर्नुपर्छः काउन्सिल नेपाल


a

काठमाडौं, साउन २१ गते । के तपाई पत्रकारिता पेशामा आउन आतुर हुनुभएको छ ? पत्रकारिता पेशा लामो समयदेखि अङ्गाल्नुभएको छ ? यदि त्यसो हो भने अब पत्रकार बन्नकालागि निश्चित् मापदण्ड तोकिएको परीक्षा पास गर्नुपर्नेछ । परीक्षामा उत्तीर्ण हुनेलेमात्र यो पेशामा संलग्न हुन पाउनेछन् ।

पत्रकारको अभिभावक संस्था प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ गठन गरेर सो विषयमा अध्ययन गराएको थियो । सो कार्यदलले पत्रकारको योग्यता, उत्तीर्ण गर्नुपर्ने परीक्षाको मापदण्ड तथा परीक्षण कार्यविधि तयार गरेर शुक्रबार प्रतिवेदन हस्तान्तरण गरेको छ । सो प्रतिवेदन कार्यान्वयनमा आएपछि अब पत्रकारिता पेशामा आउन चाहने नयाँ आगन्तुक र पेशामा विद्यमान पत्रकारले समेत काउन्सिलले तोकेको निश्चित मापदण्डसहितको परीक्षा उत्तीर्ण गर्नुपर्नेछ ।

काउन्सिलले सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिनाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गतसालको फागुन १९ गते गठन गरेको थियो । सो कार्यदलमा त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्याल, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइटेल सदस्य हुनुहुन्थ्यो । सो कार्यदललाई काउन्सिलकै कर्मचारी दीपक खनालले सहयोग गर्नुभएको थियो । कार्यदलले करिब पाँच महिना लगाएर तयार गरेको प्रतिवेदन काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीलाई हस्तान्तरण गरेको छ ।

वैधानिक पत्रकारिताको स्थापना र विकास, पत्रकारितालाई पेशाको मापदण्ड अनुकुल बनाउन, पत्रकारितालाई पारदर्शी र उत्तारदायी बनाउन, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने पत्रकारिताको विकास गर्नका लागि पत्रकारको योग्यता तोक्नुपर्ने औचित्यको बारमा कार्यदलले प्रतिवेदनमा चर्चा गरेको छ ।

“पत्रकारिता मर्यादित पेशा हो, ख्याल ख्यालमा गरिने पेशा होइन, यसलाई जिम्मेवार र स्तरीय बनाउन पत्रकारको योग्यता तोक्न अनिवार्य छ

छिमेकीमुलुक भारतले सन् २०१३ मा पत्रकारको योग्यता तोक्न तीन सदस्यीय कार्यदल गठन गरेर सो बारेको अध्ययन प्रतिवेदन बनाएको थियो । अमेरिकाले पत्रकार हुनकालागि कम्तिमा स्नातक उत्तीर्ण गर्ने प्रावधान बनाएको छ । बेलायतमा पनि ग्रेजुयट नभएकाहरुले पत्रकारितमा प्रवेश पाउँदैनन् । अष्ट्रेलियाले पनि निश्चित मापदण्डको परीक्षा उत्तीर्ण गराई एकवर्षे ग्रेजुयट क्याडेटसिप हासिल गर्नैपर्ने व्यवस्था गरेको छ । नेपाली मिडियाले पनि संवाददाता मागगर्दा कम्तिमा स्नातक पास माग्ने गरेपनि पत्रकार हुन सरकारी स्तरबाटै निश्चित योग्यताक्रम तोकिएको छैन ।

कार्यदलका संयोजक डा. रामकृष्ण तिमिल्सिनाले नेपाली पत्रकारिताको स्तरलाई बढोत्तरी गर्न र यो पेशालाई लोकतान्त्रिक र जिम्मेवार बनाउन पत्रकारको योग्यता तोक्न अनिवार्य रहेको बताउनुभयो । “पत्रकारिता मर्यादित पेशा हो, ख्याल ख्यालमा गरिने पेशा होइन, यसलाई जिम्मेवार र स्तरीय बनाउन पत्रकारको योग्यता तोक्न अनिवार्य छ” उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पत्रकार हुन निश्चित् योग्यता तोकिने प्रचलन रहेको उहाँले अनुभव सुनाउनुभयो ।

कार्यदलका सदस्य डा. कुन्दन अर्यालले पेशामा आवद्ध हुनचाहने पत्रकारले प्रोफेसनलमा आवद्धता हुन लाइसेन्स अनिवार्य रहेको तर्क गर्नुभयो । पत्रकारिता विषय लिएर डिग्री पास गरेकाहरुले समेत पेशागत परीक्षामा उत्तीर्ण भई अनुमतिपत्र हासिल गर्नुपर्ने प्रावधान प्रतिवेदनमा सिफासि गरिएको उहाँले बताउनुभयो । प्रतिवेदनको कार्यान्वयन भए नेपाली पत्रकारिता पेशा मर्यादित र व्यवस्थित हुने विश्वास उहाँले गर्नुभयो ।

“पत्रकारितालाई कि त पेशा नै नमानौं, जे छ त्यसरी चल्नदिउँ, पेशा मान्ने हो भने पत्रकारको योग्यता अनिवार्य हुनुपर्छ”

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले पत्रकारिता आफैमा पेशा भएकाले पत्रकारको योग्यता अनिवार्य रहेको बताउनुभयो । “पत्रकारितालाई कि त पेशा नै नमानौं, जे छ त्यसरी चल्नदिउँ, पेशा मान्ने हो भने पत्रकारको योग्यता अनिवार्य हुनुपर्छ” पन्तले भन्नुभयो । पत्रकारितालाई अभिव्यक्ति स्वतन्त्रतासँग तुलना गर्न नहुने उहाँले बताउनुभयो । अभिव्यक्ति स्वतन्त्रता त बच्चा जन्मनेवित्तिकै पाएको हुन्छ पन्तले तर्क गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले पत्रकारितामा लाग्ने खास व्यक्तिहरु ओझेलमा रहने तर पार्टी पत्रकारिता र पित पत्रकारिता गर्नेकै हालीमुहाली भइरहेकाले त्यसको करेक्सनका लागि पनि पत्रकारको योग्यता आवश्यक भएको बताउनुभयो । धेरै समयको गृहकार्यपछि काउन्सिलले कार्यदल गठन गरेर अध्ययन गर्न लगाएको जानकारी दिंदै अध्यक्ष कार्कीले प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उद्देश्यमुलक पत्रकारिताको अहिले खाँचो रहेको बताउँदै अध्यक्ष कार्कीले नेपाली पत्रकारितालाई शिकारुहरुको थलो बन्न नदिइने बताउनु  भयो । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा गोरखापत्रका पूर्व प्रबन्ध सम्पादक लक्ष्मीधर गुरागाई, पत्रकार महासंघका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु र अन्य पत्रकारको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया