धनगढीका थारु समुदायले भव्यताकासाथ गुरही पर्व मनाए


Gurahai_1

अविनाश चौधरी
काठमाडौं, साउन २४ गते । तराईमा बसोबास गर्ने थारु समुदायले आइतवार गुरही पर्व धुमधामकासाथ मनाएका छन् । त्यस्तै, कैलालीको धनगढीमा पनि यो पर्व भव्यताकासाथ मनाइएको छ ।

धनगढीमा सखी सञ्जाल कैलालीको आयोजनामा उल्लासपूर्वक गुरहीपर्व मनाइएको छ । धनगढीको क्याम्पसचौकमा सो पर्व मनाइएको    हो । हरेकवर्ष क्याम्पसचौकमा गुरही पर्व मनाइदै आएकाले सो चौकलाई गुरहीचौक नामाकरण गरिएको छ ।

आफ्नो परम्परागत भेषभूषामा सजिएका थारु बालबालिका, युवायुवती, महिला, पुरुषहरु गुरहीपर्वमा निकै रमाएका थिए । पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रमुखअतिथि रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले थारुसमुदाय संस्कृतिको धनी रहेको बताउनुभयो । उहाँले नेपालमा विविध जातीको आ–आफ्नै किसिमको मौलिक संस्कृति र पहिचान रहेको भन्दै मुलुकमा सांस्कृतिक विविधताभित्र एकता र जातिय सद्भाव कायम रहेको उल्लेख गर्नुभयो ।

Gurahi_2

यस्ता संस्कृति, संस्कारले नै नेपालीलाई एकताकोसूत्रमा बाँधेको चर्चागर्दै थारु समुदायलाई पर्वको शुभकामना उहाँले दिनुभएको थियो । सोही अवसरमा थारु कल्याणकारिणी सभा कैलालीका पूर्वअध्यक्ष प्रभातकुमार चौधरीले थारु समुदायको छुट्टै संस्कृति, संस्कार रहेकाले यो समुदाय मुलुकमा आफ्नो पहिचान खोजी रहेको बताउनुभयो । उहाँले थारुहरुको पहिचानको आन्दोलन जारीरहेको उल्लेख गर्नुभयो ।

थारु समुदायले नागपञ्चमीको दिन बेलुकीपख गुरहीपर्व मनाउने गरेका छन् । यो पर्वमा महिलाहरुले कपडाको गुडीया (थारु भाषामा गुरही) बनाएर र आ–आफ्नो घरबाट ल्याएको मकै तथा केराउको भुजा फाल्ने चलन छ । उनीहरुले गुडीया र भुजा फालेपछि बालक वा पुरुषहरुले काँसबाट बनाइएको ‘सोंता’ वा केराको डाँठले गुडीयालाई ‘दे घुघ्री, दे घुघ्री’ भन्दै पिट्ने चलन छ ।

गुडीया फाल्ने र पिट्ने काम सकिएपछि बालिका, युवती र महिलाहरुले ल्याएको भुजा सबै बाँडीचुँडी खाने चलन छ । यहि भुजालाई थारु भाषामा ‘घुघ्री’ भन्ने गरिन्छ ।

गुरहीपर्व मनाएमा रोगव्याधी नलाग्ने, दैवीय विपत्ति हट्ने, खेतीपाती सप्रिनेजस्ता जनविश्वास रहेको सखी सञ्जालका अध्यक्ष इन्दु चौधरीले बताउनुभयो । उहाँले थारु समुदायले यो पर्व परापूर्वकालदेखि नै मनाउँदै आएको उल्लेख गर्नुभयो । गुरही थारु समुदायको प्रथमपर्व रहेको उहाँले जानकारी दिनुभयो ।

5 (2)

धनगढीमा मनाइएको गुरहीपर्वमा गैरथारु समुदायका युवती, बालबालिका समेत थारु पोशाक लगाएर सहभागी भएका थिए । कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी, कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्ट, थारु अगुवाहरु लगायतले पनि गुरही पिटेका थिए ।  गुरहीपर्वमा थारु समुदायको मानिसहरुका उल्लेख्य सहभागिता रहेको थियो । सो अवसरमा नाचगान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया