थारु समुदायले पहिचान र अधिकार माग्दा अपराधी कसरी भयो ?


SAM_5654

काठमाडौं, भाद्र ७ गते । पहिचान र अधिकारका लागि थारु समुदायको आन्दोलन केन्द्रीत भएकाले ढिलोचाँडो अधिकार प्राप्त गरेरै विश्राम लिने थारु अगुवाहरुले बताउनुभएको छ ।

नेपाल टेलीभिजनबाट प्रशारण हुने मतअभिमतको छायांकन कार्यक्रममा बोल्दै थारु अगुवाहरुले त्यस्तो बताउनुभयो । टीकापुर घटनापछि धेरै निर्दोष थारुलाई धरपकड प्रशासनले गरेपनि त्यसबाट थारुहरु डराएर नबस्ने बताउनुभयो ।

फोरम (लोकतान्त्रिक) का प्रमुख सचेतक सांसद योगेन्द्र चौधरीले पहिचान र अधिकार माग्नु कुनै अपराध नभएको भन्दै ढिलोचाँडो थारुले अधिकार लिएरै छाड्ने बताउनुभयो । टीकापुर घटना थारुलाई बदनाम गर्नेगरी नियोजित रुपमा घटाइएको दावीगर्दै सांसद चौधरीले भन्नुभयो, थारु यही देशको पुरानो नागरिक हो, अधिकार लिएर छाड्छ ।

टीकापुर घटना राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै आरोपितहरुको मुद्दा फिर्ता र रिहाई हुनुपर्ने मागगर्दै उहाँले त्यसो हुननसके अर्को समस्या निम्तिने चेतावनी दिनुभयो ।

पत्रकार लक्की चौधरीले मूलधारका सञ्चारमाध्यममा सबै वर्गको समानुपातिक प्रतिनिधित्व नभएकाले सबै वर्गको सन्तुलित समाचार प्रकाशन प्रशारण हुन नसकेको बताउनुभयो । सरकारी सञ्चारमाध्यम गोरखापत्र, राष्ट्रिय समाचार समिति, रेडियो नेपाल र नेपाल टेलिभिजनमा खस आर्यको ९० प्रतिशत पत्रकारको सहभागिता र अन्यको १० प्रतिशतमात्र रहेकाले ती वर्गको समाचार प्रकाशन प्रशारण आशागरेजस्तो हुन नसकेको बताउनुभयो ।

सञ्चारमाध्यममा सबै वर्गको पत्रकारको प्रतिनिधित्वका लागि सरकारले कुनै नीति नबनाएकाले पछाडि परेका वर्गको आवाजलाई मूलधारमा आउन नसकेको तर्क गर्नुभयो । भाद्र ७ को टीकापुर घटनापछि नेपाली सञ्चारमाध्यममा आएको समाचारले सन्तुलित व्यवहार नदेखाउन सकेको एउटा कारण त्यो पनि भएको उहाँले तर्क गर्नुभयो ।

SAM_5647

वर्दियाली विद्यार्थी विकास मञ्चका अध्यक्ष सीताराम थारुले टीकापुर घटनाको आरोपितलाई धमाधम पक्राउ र मुद्दा लगाउँदै जानेहो भने समस्या समाधान भन्दा बल्झिदै जाने बताउनुभयो । कैदी राजबन्दीलाई विनासर्त रिहाई र झुठामुद्दा खारेज नहुँदासम्म थारु र गैरथारुबीचको लडाई अन्त्य नहुने उहाँले तर्क गर्नुभयो ।

पत्रकार बी.पी. साहले टीकापुर घटनामा आरोप लगाएर निर्दोष थारुलाई प्रशासनले अनावश्यक दुःख दिइरहेको बताउनुभयो । समस्याको जडासम्म नपुगी विभिन्न बहानामा सोझासाझा थारुलाई बन्दी बनाउनु गलत भएको उहाँले तर्क गर्नुभयो ।

वरिष्ठ लेखक युग पाठकले संविधानमा सबैको अपनत्वबोध गराउन सबै वर्गको अधिकार समेट्न आवश्यक रहेको बताउनुभयो । सबैको सर्वस्वीकार्यता नहुँदासम्म संविधान कार्यान्वयनमा चुनौती कायमै रहने उहाँले तर्क गर्नुभयो ।

राजनीतिक विश्लेषक सुरेन्द्र केसीले राजनीतिमा चारित्रिक रुपान्तरणको खाँचो औल्याउनुभयो । समानुपातिक तवरले सबै वर्गको प्रतिनिधित्व नहुँदासम्म समस्याको समाधान हुन कठिन रहेको उहाँले तर्क गर्नुभयो ।

मधेस विश्लेषक तुलनारायण साहले नेपाली सञ्चारमाध्यममा मधेसी, आदिबासी, थारु समुदायको निकै कम अनुहार भएकाले सञ्चारमाध्यममा सन्तुलित समाचार आउन नसकिरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया