थारुमाथिको विभेदका कारण टीकापुर घटना घटेको होः लाहुर्निप


SAM_5665

काठमाडौं, भाद्र ७ गते । गत भाद्र ७ गते भएको टीकापुर घटनाबारे आदिबासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) र सो घटनामा केन्द्रीत रही प्रकाशित संगालो पुस्तक मंगलबार काठमाडौंमा एकसाथ सार्वजनिक भएको छ ।

लाहुर्निपद्वारा आयोजित कार्यक्रममा समाजशास्त्री डा. कृष्ण भट्टचन, सांसद गोपाल दहितले संयुक्तरुपमा पुस्तक सार्वजनिक गर्नुभयो । प्रतिवेदनमा सो संस्थाले घटनाकाक्रममा मानवअधिकार उल्लंघनका घटनाहरु गम्भीररुपमा भएको निस्कर्ष निकालेको छ ।

शान्तिपूर्णरुपमा आन्दोलन गर्न जसलाई पनि कानूनतः छुट रहेपनि थारुको आन्दोलनलाई दवाउने प्रयास प्रशासनबाट भएपछि घटना भएको प्रतिवेदनको निचोड छ । अधिवक्ता शंकर लिम्बुको संयोजकत्वमा गठित अनुगमन टोलील ३४ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको   हो । प्रतिवेदनमा अहिलेसम्म २४ जना थारुमाथि प्रशासनले पक्राउ गरी ज्यानमुद्दा लगाएको उल्लेख छ ।

त्यस्तै, स्थानीय पत्रकार गणेश चौधरी र कृष्ण सर्वहारीले संयुक्तरुपमा लेखेको पुस्तक “थरुहट आन्दोलनः टीकापुर कथा” मा टीकापुर घटनाको विस्तृत विषय समेट्ने प्रयास गरिएको छ । कुल १३६ पृष्ठको सो पुस्तकले थारुमाथिको सदियौंदेखिको दमन, विभेदको परिणाम टीकापुर घटना घटेको निक्र्यौल निकालेको छ ।

SAM_5666

कार्यक्रममा बोल्दै समाजशास्त्री डा. कृष्ण भट्टचनले टीकापुर घटनाबाट राज्य पूर्णतः नाङ्गिएको बताउनुभयो । थारुमाथि भइरहेको विभेद, अत्याचारकै परिणाम टीकापुर घटना घटेको र त्यसको दोसी पनि राज्य नै भएको उहाँले आरोप लगाउनुभयो । थारु, मधेसी, आदिबासी जनजातिलगायतका नागरिकसँग राज्यले विभेद कायम राखे अझै ठूलो दुर्घटना मुलुकमा हुने उहाँले बताउनुभयो ।

सांसद गोपाल दहितले थारुमाथिको विभेद अन्त्य नभए टीकापुरभन्दा ठूलो घटना हुनसक्ने चेतावनी दिनुभयो । प्रचण्ड नेतृत्वको सरकारसँग संघीय गठबन्धनले गरेको तीनबुँदे सहमतिअनुसार सरकार अगाडि नबढे दुर्घटना ठाउँठाउँमा हुनसक्ने उहाँले आशंका व्यक्त गर्नुभयो । टीकापुर घटनापछि राज्यले थारुमाथि ठूलो अमानवीय व्यवहार गरेको उहाँले आरोप लगाउनुभयो ।

शान्तिपूर्णरुपमा आन्दोलन गर्न जसलाई पनि कानूनतः छुट रहेपनि थारुको आन्दोलनलाई दवाउने प्रयास प्रशासनबाट भएपछि घटना भएको प्रतिवेदनको निचोड छ ।

पत्रकार लक्की चौधरीले भाद्र ७ गते भएको घटनामा आठजना सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान जानु दुःखद् भएपनि भाद्र ८ गतेको आगजनीको घटना पनि कम दुःखद नभएको बताउनुभयो । स्थानीय प्रशासनको कफुर्यकैबीच एक आक्रोशित पक्षले खुलेयाम थारुको घरपसल छानीछानी आगजनी गर्नुपनि ठूलो अपराध भएको बताउनुभयो । त्यसरी आगजनी गर्नेको पहिचान गरी कारवाहीको प्रक्रिया प्रशासनले नगर्नु विडम्बनापूर्ण रहेको तर्क गर्नुभयो ।

मधेस विश्लेषक डा. रामदयाल राकेशले मधेस र थरुहटमा राज्यको विभेद समानरुपको भएकाले घटनाहरु पटक पटक हुनेगरेको बताउनु   भयो । राज्यले जबसम्म सबै वर्ग र नागरिकसँग समान व्यवहारको नीति लिंदैन तवसम्म यस्ता घटना भइरहने उहाँले दावी गर्नुभयो । विभेदको नीति त्याग्न उहाँले शासकहरुसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा लेखक सर्वहारीले पुस्तकमा समेटिएको विषय र त्यसको निस्कर्षबारे प्रष्ट्याउनुभएको थियो । टीकापुर घटनाबारेको संक्षिप्त जानकारी समेटिएको पुस्तक संग्रहनीय छ । कार्यक्रम लाहुर्निपको आयोजनामा भएको थियो ।

तपाईको प्रतिक्रिया