टीकापुर पुरानै अवस्थामा फर्काउन स्थानीयबाट प्रयास भइरहेको छ


Tikapur market

टीकापुर, भाद्र ८ गते । एकवर्ष अघि भाद्र ७ गते भएको टीकापुर घटनापछि थारु र गैरथारुबीच बढेको मनमुतावलाई सामान्य बनाउन प्रयास सरकार र राजनीतिकदलबाट नभएपछि स्थानीयरुपमा अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ ।

एक नाबालकसहित आठजना सुरक्षाकर्मीको ज्यान गएको टीकापुर हिंसात्मक घटना घटेको एकवर्ष पूरा भएको छ। गत भदौ ७ गते कैलालीको टीकापुर नगरपालिका वडा नं ६ शंकरपुरस्थित पशु हाटबजार नजिकै भएको हिंसात्मक घटनामा परी नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो।

थरुहट थारुवान प्रदेशको मागगर्दै आन्दोलन गरिरहेका आन्दोलनकारीको आक्रमणमा नौ जनाले ज्यान गुमाएका थिए। केही समयअघि सरकारले मृत्यु हुने नौ जनालाई सहिद घोषणा गर्दै पीडित परिवरलाई १० लाखका दरले रकम दिने घोषणा गरेको छ। तर, घटनाका पीडितले अझै न्याय र क्षतिपूर्ति पाउन सकेका छैनन्।

गतवर्ष भदौ ७ गतेदेखि त्रसित स्थानीय बासिन्दामा भय कम हुँदै गएको र थारु तथा पहाडी समुदायबीच वढेको दुरी कम हुँदै सद्भाव पूर्ववत् अवस्थामा फर्किँदै गएको घटनाका प्रत्यक्षदर्शी स्थानीय कमला शाहीले बताउनुभयो ।

त्यस्तै, थारु र अन्य समुदायबीच केही समय समस्याग्रस्त भएको सम्बन्ध विस्तारै सुमधुर हुँदै गएको अर्का प्रत्यक्षदर्शी सुन्दरी जैसीले बताउनुभयो ।

गतवर्ष भदौ ७ गतेदेखि त्रसित स्थानीय बासिन्दामा भय कम हुँदै गएको र थारु तथा पहाडी समुदायबीच वढेको दुरी कम हुँदै सद्भाव पूर्ववत् अवस्थामा फर्किँदै गएको घटनाका प्रत्यक्षदर्शी स्थानीय कमला शाहीले बताउनुभयो ।

घटनास्थल टीकापुर ६, शंकरपुर (पशुहाटबजार) र आसपासका क्षेत्रमा दुई समुदायबीच पहिलेजस्तै एकअर्काको घरमा जाने, गाह्रोसाह्रो पर्दा सहयोग गर्ने लगायतका काममा समन्वय हुनथालेको नेकपा एमाले टीकापुरका नगर इन्चार्ज श्याम खत्रीले बताउनुभयो । सामाजिक सद्भाव कायम राख्न भएका प्रयासले दुई समुदायबीच उत्पन्न दुरी केही मात्रामा कम गरेको छ।

यद्यपि, अझै पनि केही दुरी कायम रहेको त्यहाँका नागरिक अगुवाले बताएका छन्। घटनापछि दुई समुदायबीच उत्पन्न असमझदारीका केही रेखा मेटिन अझै बाँकी भए पनि बाहिर हल्ला गरिएजस्तो असमझदारी भने नरहेको नागरिक समाज टीकापुरका संयोजक फिरुलाल चौधरीले जानकारी दिनुभयो ।

राजनीतिकदल स्थानीय बासिन्दाका साथै विभिन्न संघ संस्थाको पहलमा गरिएका कामले सम्बन्धमा समझदारी आउनुका साथै स्थिति सहज बन्दै गएको हो। वर्षौंदेखि यी दुई समुह मिलेर बसेकोले त्यसलाई कायम राख्न पहल गरिरहेको नेपाली काग्रेस महासमिति सदस्य डाक्टर रणबहादुर रावलले बताउनुभयो ।

टीकापुर उद्योग वाणिज्य संघका महासचिव धुव्र खत्रीले घटनाका पीडितले न्याय र क्षतिपूर्ति भने पाउन नसकेको बताएका छन्। घटनामा संग्लनलाई कारबाही नभएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने खत्री बताउँछन्।

घटनामा संग्लनमध्ये केही जेलमा र केही फरार छन्। त्यसैले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने नेकपा माओवादी कैन्द्रका नगर इन्चार्ज तारा जैसीको भनाइ छ।

घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरी त्यस दिनदेखि नै बेपत्ता छन्। फरार चौधरीलाई पक्राउ गर्न सकिएको छैन। चौधरीका बुवा थारु अगुवा लालवीर चौधरीले छोरा दोषी भएमा उसलाई कारबाही हुनुपर्ने र पीडितलाई न्याय दिलाउनु पर्ने बताउनुभएको छ ।
यता स्थानीय प्रशासनले पनि क्षतिपूर्तिका लागि पहल भइरहेको जनाएको छ। त्यसका लागि प्रक्रिया अन्तिमचरणमा पुगेको भन्दै राहत क्षतिपूर्तिको कामलाई तत्कालै सुरुगर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो ।

गत भदौ ७ गते भएको उक्त घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय केशव बोहरा, बलराम विष्ट, प्रहरी हवल्दार ललित साउद, राम विहारी चौधरी र लक्ष्मण खड्का, प्रहरी जवान लोकेन्द्र चन्द, प्रहरी हवल्दार नेत्र साउँदका १८ महिने छोरा टेकबहादुर साउदको मृत्यु भएको थियो।

(सेतोपाटीबाट)

तपाईको प्रतिक्रिया