कैलालीको थारुसमुदायमा अष्टिम्की र गैरथारुमा गौरापर्वको रौनक


1.Astimki parva manaundai

अविनाश चौधरी
धनगढी, भदौ ९ गते । कैलालीमा थारु समुदायमा अष्टिम्की र पहाडिया समुदायमा गौरापर्वको रौनक बढेको छ । यहाँ बसोबास गर्ने पहाडी समुदायले गौरा र थारु समुदायले अष्टिम्की पर्व छुट्टाछुट्टैरुपमा मनाइरहेका छन् । दुवै पर्व व्रत बसेर मनाउने चलन छ ।

बिहीवार कृष्णाजन्माष्टमीका दिन गौरा र अष्टिम्की पर्वको चहलपहल निकै बढेको थियो । यसअघि नै सुरु भइसकेको गौरापर्व चार दिनसम्म मनाउने चलन छ । गौरापर्व भाद्र पञ्चमीदेखि अष्टमीसम्म सुदूरपश्चिमका प्रायः सबै जिल्लामा धुमधामसँग मनाइन्छ ।

यस्तै, अष्टमीबाट सुरुभएको अष्टिम्की पर्वलाई थारु समुदायले दुई दिनसम्म मनाउने गर्छन् । यो पर्वमा महिला दिदीबहिनीहरु पानी समेत नखाई दिनभरी निराहार व्रत बस्ने चलन रहेको छ । अष्टिम्की पर्वमा व्रत बस्नाले मनोकामना पूरा हुनेगरेको जनविश्वास छ ।

अष्टिम्की पर्वको दोस्रो दिन आफ्ना विवाहित चेली, आफन्तलाई उपहारकारुपमा विभिन्न खानेकुराका परिकार दिने चलन छ । उक्त उपहार दिने चलनलाई थारु समुदायमा ‘अग्रासन’ भन्ने गरिएको छ ।

व्रत बस्ने, अग्रासन लिनेदिने गर्नाले आफन्तबीचको सम्बन्ध सुमधुर हुनेगरेको सखी सञ्जाल कैलालीका अध्यक्ष इन्दु चौधरीको भनाइ छ । अष्टिम्की पर्वले धार्मिकका साथै सामाजिक, सांस्कृतिक महत्व दर्शाउने गरेको उहाँले बताउनुभयो ।

Garura1

‘अष्टिम्कीले हाम्रो संस्कृतिलाई दर्शाउने गरेको छ’, अध्यक्ष चौधरीले अगाडि थप्नुभयो–‘संस्कृति संरक्षणमा सबै जुट्न आवश्यक छ ।’ यस्तै, माङगलिक कामना गर्दै मनाइने गौरालाई सौभाग्य प्राप्तीको पर्वकोरुपमा लिइने चलन छ । गौरापर्वमा गौरा अर्थात पावर्ती र भगवान शिवको पूजाअराधना गर्ने गरिन्छ । यो पर्वमा व्रत बस्नाले श्रीमानको आयू लामो हुने तथा असल पति, पुत्र प्राप्तहुने गरेको जनविश्वास छ । गौरापर्वमा अष्टमीका दिन विरुडा (पञ्चगेडी) घरमा लगेर प्रसादकोरुपमा खाने चलन छ ।

गौरापर्वमा गौरा–महादेवको पूजा गर्नाले मनोकामना पूरा हुनुकासाथै जिवनमा आनन्द प्राप्त हुनेगरेको ज्योतिषी मनिराज जोशीले बताउनुभयो । उहाँले गौरापर्व सुदूर तथा मध्य पश्चिमाञ्चलको कर्णाली लगायतका क्षेत्रमा धुमधामसँग मनाउने चलन रहेको छ । धार्मिक कथनअनुसार पावर्तीले महादेवलाई पतिपाउँ भनेर अनुष्ठान गरेको हुनाले गौरा पर्व मनाउने चलन सुरुभएको बताइन्छ ।

त्यस्तै, अर्को किंबदन्तीअनुसार परापूर्वकालमा हैहय वंशको राजाका छोराहरुले ब्राह्मणहरुमाथि गरेको अत्याचारकाकारण गौरापर्व मनाउने चलन भएको बताइन्छ । ब्राह्मणलाई दान दिइएको सम्पूर्ण सम्पत्ती फिर्ता नपाएपछि राजाका सन्तानहरुले अत्याचार गर्दा एकजना ब्राह्मीणीले भगवान पार्वती र महादेवलाई सम्झेको बताइन्छ । ती ब्राह्मणीको तपस्याका कारण महादेव पार्वती प्रसन्न भएपछि ब्राह्मीणीको कोखबाट जन्मेको बच्चाले अत्याचारी हैहय वंशको नाश गरेकाले विजय उत्सवकोरुपमा गौरापर्व मनाउने चलन भएको ज्योतिषी जोशीले बताउनु  भयो ।

Garura

गौरापर्वको अष्टमीदेखि केहि दिनसम्म देउडा खेल्ने चलन रहेको छ । सामाजमा रहेको विकृति, विसङ्गति, सुखदुःखमा आधारित गीत गाउँदै देउडामा रमाउने चलन छ । यसका साथै समसामायिक विषयबस्तु, राजनीतिलगायतमा तिखो व्यङ्ग्य प्रहारगर्दै देउडा नाच्ने चलन रहेको    छ । गौराको अवसरमा विभिन्न सार्वजनिक स्थलहरुमा देउडा भइरहेका छन् ।

तपाईको प्रतिक्रिया