टीकापुरमा अज्ञात त्रासदि

धर्मेन्द्र झा

धर्मेन्द्र झा

Dharmendra

महाभूकम्पको पीडाबाट देश तङ्ग्रिनै पाएको थिएन, ठीक एक वर्ष पहिले देशसामु अर्को त्रासदी तेर्सिन पुग्यो । यो त्रासदीपूर्ण घटना थियो पश्चिम नेपालस्थित टीकापुरको । नाबालकसहित आठ सुरक्षाकर्मीको नृशंस हत्या गरिएको टीकापुर घटनाको जति निन्दा गरे पनि कमै  हुन्छ । यो अमानवीय हो । हत्यापछि टीकापुरमा अर्को ताण्डव मच्चियो, जो थप दुःखद थियो । एक किसिमले अराजकता निम्तियो यहाँ । घरहरू तोडफोड गरिए । आगजनी भए । सम्पूर्ण टीकापुर स्तब्ध बन्यो । त्रसित जनजीवन घरभित्र खुम्चिन बाध्य भयो । सडकहरू खाली देखिए । विविध आग्रहबाट आरोपित प्रशासन लाचार साबित भइरहेको थियो । यस्तोमा स्थानीय नागरिक समाज नै थियो जसले टीकापुरको शान्ति बहालीमा सकेजति भूमिका निर्वाह ग¥यो । अहिले टीकापुर क्रमशः शान्त बनेजस्तो अनुभूत गरिँदैछ । यो सन्तोषको विषय हो । तर स्वीकार्नै पर्छ, शान्तिको यो गति निकै सुस्त छ ।

टीकापुरको त्यो भयानक त्रासदीपूर्ण घटनाको एक वर्ष बितिसकेको छ । गत वर्षको भदौ सात÷आठ गतेको उक्त दुर्घटनाको वार्षिकीका सन्दर्भमा केही प्रश्नको उत्तरको खोजीगर्दै सामाजिक सदभाव अभिवृद्धिका दृष्टिले केही प्रण गर्नु जरुरी छ । प्रश्न उठ्छ, किन भयो टीकापुर घटना ? यसका दोषी को हुन् ? यस्ता सबै प्रश्नको उत्तर आधिकारिक रूपमा देशको प्रशासन संयन्त्रले अहिलेसम्म दिन सकेको छैन । यस एक वर्षको अवधिमा टीकापुरका सन्दर्भमा तेर्सिएका प्रश्नका केही उत्तर ‘रेडिमेड’ स्वरूपमा उपलब्ध छन् । अहिलेलाई विश्लेषणको प्रयत्न गर्ने हो भने यसको पहिलो उत्तरका रूपमा सुरक्षा संयन्त्रको परिवर्तित रणनीति र सुरक्षा निकायबीचको समन्वय अभावलाई लिन सकिन्छ । यो प्रत्यक्ष देखिएको सुरक्षा अवस्थाको तस्वीर थियो । नदेखिएको सुरक्षाचुकको अवस्था नेपालको गुप्तचरीसँग सम्बन्धित छ ।

टीकापुर घटनाको सन्दर्भमा नेपाली गुप्तचरी खोक्रो साबित हुनपुगेको त्यतिबेलै निष्कर्ष निकालिएको थियो । उक्त घटनामा ठूलो संख्यामा प्रदर्शनकारी उपस्थित हुने, त्यस्तो समूहसँग हतियार पनि हुने र हतियारसहितको त्यो समूह कुनैपनि नेतृत्वको अभावमा अनियन्त्रित हुनसक्ने अनुमानसमेत गर्न नसक्नुलाई नेपाली गुप्तचरीको नालायकीपन नभनी के भन्ने सबैभन्दा महìवपूर्ण कुरा, घटनामा को सामेल थिए भन्ने हो । प्रत्यक्षतः टीकापुर प्रदर्शनमा राजनीतिक आकांक्षायुक्त असन्तुष्ट नै सहभागी थिए, जो अधिकारप्राप्तिको सङ्घर्षमा होमिएका    थिए । यिनको भावनालाई कम मूल्यांकन गरिनु हुँदैन । तर घटनाले जस्तो रूप लियो त्यस आधारमा भीडमा गलत तत्वको घुसपैठको सम्भावनालाई नकार्न सकिन्न । त्यसो त घटनापछि सरकारी संयन्त्रले केहीलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरेको छ । जानकारकाअनुसार टीकापुरको घटनामा प्रहरीलाई विगतको माओवादी छापामार शैलीको युद्धकोजस्तै घेराबन्दीमा पारिएको थियो । तर अहिलेलाई यी सबै कुराको स्मरणको कुनै अर्थ र तुक छैन । हो, यस घटनापछि प्रशासनलाई कति सुरक्षाचेत भयो र उसले कति सिक्यो भन्ने विषय पृथक् हो ।

गत वर्षको त्रासदीपूर्ण घटनापछि वास्तवमै टीकापुरबासीको मन फाटेको छ । उनीहरू फाटेको मनमा मलम लेपनका आकांक्षी छन् । रोगको दीर्घ उपचार चाहन्छन् । पीडाको समन चाहन्छन् ।

यसै पृष्ठभूमिमा गत साउन ३० गते नेपाल पत्रकार महासङ्घको आयोजनामा पत्रकार सुरक्षा मिसनले कैलालीको अध्ययन गर्ने सन्दर्भमा टीकापुरको भ्रमण गरेको थियो । महासङ्घको केन्द्रीय मिसन टोलीले पत्रकार, नागरिक समाज, स्थानीय बुद्धिजीवीको उपस्थितिमा एक अन्तरक्रियाको आयोजना गरेको थियो । मिसन टोलीको एक सदस्यका हैसियतले मूल्याङ्कन गर्दा, अन्तरक्रियाका क्रममा उठेका धारणाले टीकापुरका सम्बन्धमा एक पटक पुनः गम्भीरतापूर्वक सोच्न घच्घच्याएको छ । उचित समयमा पुगेको अनुभव गरिएको पत्रकार महासङ्घको मिसनले सामाजिक सदभाव अभिवृद्धिका दिशामा उपयुक्त वातावरण निर्माण गर्न सकेको छ । यस्ता मिसन र बाह्य सरोकारीले त वातावरण निर्माणमा मात्र भूमिका निर्वाह गर्ने हुन् । समाजलाई पुरानै अवस्थामा ल्याउन स्थानीय समाजकै भूमिका निर्णायक र महत्वपूर्ण हुन्छ । स्थानीय समाजलाई मिसनको सन्देश पनि यही थियो ।

टीकापुरका बासिन्दाबीच अझै पनि एक प्रकारको अज्ञात त्रासको बास छ । उनीहरू यसबाट जतिसक्दो चाँडो मुक्ति चाहन्छन् । टीकापुरमा दुई समुदायका मानिस मिलेर बसेको निकै वर्ष भइसक्यो । उनीहरूबीच नङ र मासुको सम्बन्ध छ । तर गतवर्षको भदौमा अचानक यो सम्बन्धमा अविश्वासको वातावरण सिर्जना भयो । विश्लेषण गर्ने हो भने अविश्वासको यस्तो वातावरण सिर्जना गर्ने कार्य सुनियोजित थियो भन्न सकिने अनेकौँ आधार छन् । यसको खोजी जरुरी छ । गत वर्षको त्रासदीपूर्ण घटनापछि वास्तवमै टीकापुरबासीको मन फाटेको छ । उनीहरू फाटेको मनमा मलम लेपनका आकांक्षी छन् । रोगको दीर्घ उपचार चाहन्छन् । पीडाको समन चाहन्छन् । उनको गुनासो छ, यस्तो भरपर्दो उपचार कहीँ कतैबाट प्राप्त गर्न सकिएन । उनीहरूको अर्को गुनासो पनि छ, त्रासदीपूर्ण घटनापछि टीकापुरको भ्रमण थुप्रैले गरे । थुप्रैले घाउ निको पार्ने आश्वासन दिए तर सबैले आफ्नो मात्र स्वार्थ पूरा गरे । धेरै भ्रमणकारीले प्रतिवेदन तयार गरेर चाङ थुपारे । त्यति हुँदा पनि टीकापुरको आर्तनादमा कमी आएन । उनीहरूको प्रश्न छ, हामीले के बिराएका थियौँ ? सङ्घीयताको पुुनर्सीमाङ्कनको कुरा गर्नु, समानुपातिक समावेशीको कुरा गर्नु र अधिकारको कुरा गर्नु के गलत थियो ? उनीहरू पनि स्वीकार्छन्, गत वर्ष यहाँ जे भयो दुःखदायी थियो । टीकापुरलाई कालो टीका लगाइदिएको त्यो घटना हुनुका पछाडि त्यस्तो षडयन्त्रकारीको निर्णायक भूमिका थियो जो कुनै बहानामा सद्भाव बिथोलेर स्थानीय आवाज बन्द गर्न चाहन्थ्यो । उनीहरूको बुझाइ छ, अन्ततः विजय तिनकै भयो । आपसी संवाद टुट्यो, जसको तन्तु वास्तविक अर्थमा पुनः जोडिन सकिरहेको छैन ।

वर्षौंदेखि मिलेर बसेको टीकापुरे समाजको मानसिकता अहिले समस्यामा छ । अहिले यो विस्तारै पुरानै अवस्थामा फर्कने प्रयत्न त गर्दैछ, तर गति निकै सुस्त छ । यस प्रवृत्तिलाई गतिवान बनाउन सामाजिक सदभावका प्रक्रियाहरूलाई तीव्रता प्रदान गर्नु जरुरी छ । पत्रकार महासङ्घको मिसनले यस्तै एक प्रक्रियालाई निरन्तरता प्रदान गर्ने प्रयत्न गरेको छ भन्दा अस्वाभाविक हुँदैन । भीडको आवेशमा जलेर नष्ट भएको फूलबारी एफ एम सञ्चालन हुन सकेको छैन । स्थानीय पत्रपत्रिकालगायतका अन्य सञ्चारमाध्यमहरू स्वनियन्त्रणको डरलाग्दो पञ्जाभित्र छट्पटाइरहेका छन् । विवेक प्रयोग गर्ने नाममा पत्रकारहरू सूचनाको खेती गर्न असमर्थ प्रमाणित हुँदैछन् । नागरिक समाजको पनि धेरथोर यस्तै अवस्था छ । बुद्धिजीवीहरू बुद्धिको प्रयोग गर्न सशंकित रहनुपर्ने अवस्था छ । टीकापुरको आमअवस्था जिम्मेवार राजनीति गर्नेहरूको नियन्त्रणमा छैन भन्दा असंगत ठहर्दैन । यस्तो परिस्थितिमा अवस्थाको विश्लेषण र मूल्यांकन सहजै गर्न सकिन्छ ।

राज्यले साँच्चै चाह्यो भने अवस्थामा तत्काल सुधार आउन सक्छ । अहिले टीकापुरलाई सर्वाधिक आवश्यक सामाजिक सदभाव सुनिश्चित गर्ने गतिविधि सञ्चालन हुनु, संवादको तन्तु जोडिनु र सुरक्षा प्रत्याभूतिको छ ।

घटनाका समयमा माथिउल्लेख गरिएका सबै पक्षको केही न केही कमजोरी अवश्य पनि रह्यो । अब यो कमजोरी सच्याउनुपर्छ र भविष्यमा कमजोरी नदोहरिने सर्वपक्षीय प्रतिबद्धता अपरिहार्य छ । माथि उल्लेख गरिएका सबै पक्ष स्थानीय जनताका चेतनाका आधार हुन् । यहाँको समस्या समाधानमा यिनै पक्षको संवेदनशील क्रियाशीलता अपेक्षित छ । यिनीहरूले स्वतन्त्र र सुरक्षित वातावरणमा कामगर्न सक्ने वातावरण जति छिटो निर्माण हुन्छ यहाँको अवस्थामा त्यति नै चाँडो सुधार आउँछ । यस दिशामा प्रशासनले जिम्मेवार भूमिका निर्वाह गर्नु अपरिहार्य छ । घाइतेहरूको उपचारमा अहिले पनि समस्या छ । पीडितहरू अहिले पनि सम्पूर्ण राहतको प्रतीक्षामा छन् । मुद्दा चलाइएकाहरूको मुद्दा फिर्ता लिइनुपर्ने आवाज कायम नै छ ।

यो सबै परिस्थितिको उपस्थितिमा यहाँको अवस्था सामान्य भइसकेको छ भन्ने निष्कर्ष निकाल्न निश्चय पनि कठीन छ । तर राज्यले साँच्चै चाह्यो भने अवस्थामा तत्काल सुधार आउन सक्छ । अहिले टीकापुरलाई सर्वाधिक आवश्यक सामाजिक सदभाव सुनिश्चित गर्ने गतिविधि सञ्चालन हुनु, संवादको तन्तु जोडिनु र सुरक्षा प्रत्याभूतिको छ । राज्यले स्थानीय सरोकारवालाको सहयोगमा घनीभूत कार्यक्रम सञ्चालन गरी यी सबै कुरा सुनिश्चित गर्न सक्दछ । यति भए टीकापुर त्रासदीको अन्त्येष्टि सहजै हुनसक्ने अपेक्षा गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया