सबैलाई रुवाउँदै अस्ताए चर्चित लोकगायक खेमराज गुरुङ


Khem

काठमाडौं, भाद्र १२ गते । वरिष्ठ लोकगायक खेम गुरुङको आइतबार पशुपति आर्याघाटमा बौद्ध परम्पराअनुसार अन्तिम दाहसंस्कार गरिएको छ । स्वर्गीय गुरुङको पार्थीव शरीरमा उहाँका दुईजना छोराले दागबत्ति दिएका थिए ।

खाँदवारी ३, संखुवासभा निवासी गुरुङको कलेजो समस्याका कारण उपचारकै क्रममा भाद्र ९ गते अस्पतालमै आसमयिक निधन भएको थियो । उहाँको पार्थीव शरीरलाई श्रद्धाञ्जलिका लागि आइतबार विहान साढे आठबजे हेलिकप्टरमा राखेर जन्मथलो खाँदबारी लगिएको  थियो । करिब दुईघण्टा त्यहाँ राखेर उहाँको पार्थीव शरीरलाई पुनः हेलीकप्टर मार्फत् काठमाडौं फर्काएर करिब १२ः३० बजे श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा राखिएको थियो । त्यहाँ करिब साढे तीनबजेसम्म शुभचिन्तक तथा आफन्तहरुले अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

khemraj-gurung-9

नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियूको जिल्ला कमिटी सदस्य समेत रहनुभएका गायक गुरुङको पार्थीव शरीरमा पार्टीको झण्डा ओढाएर वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, सचिवहरु प्रदीप ज्ञवाली, योगेश भट्टराई, नेता सुरेन्द्र पाण्डे लगायतले श्रद्धाञ्जलि दिन प्रज्ञा भवन पुग्नुभएको थियो । त्यस्तै, गुरुङको अन्तिम संस्कारकालागि करिब ४ बजे साँझ पार्थीव शरीर पशुपति आर्याघाट पु¥याइएको केन्द्रीय सदस्य तथा पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

नेता श्रेष्ठकाअनुसार पशुपति आर्याघाटमा पार्टी महासचिव ईश्वर पोखरेलले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । श्रद्धाञ्जलिका लागि पार्टीका नेताहरु श्रेष्ठ, शेरधन राई, हिक्मत कार्की, राजेन्द्र गौतम, कलाकार दिनेश डिसी लगायतको उपस्थिति रहेको थियो ।

गायक गुरुङलाई श्रद्धाञ्जलि दिन प्रज्ञा प्रतिष्ठानमा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की पुग्नुभएको थियो । उहाँले नेपालको झण्डा ओढाएर गुरुङलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभयो । त्यस्तै, वरिष्ठ कालाकारहरुको श्रद्धाञ्जलि दिन घुइँचो लागेको थियो । कलाकारहरु राजेश पायल राई, रामकृष्ण ढकाल, संगीतकार सुरेश अधिकारी, चेतन सापकोटालगायतले गायक गुरुङको पार्थीव शरीरमा फूल चढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

khemraj-gurung-7

स्वर्गीय गुरुङका श्रीमती र दुई छोरा छन् । उहाँ संखुवासभाको राष्ट्रिय जनसांस्कृतिक मञ्चको जिल्ला अध्यक्ष र खाँदबारी नगर कमिटीको सदस्यको जिम्मेवारीमा समेत हुनुहुन्थ्यो । २०३१ माघ १ गते जन्मनुभएका गायक गुरुङले वारी जमुना पारी जमुना गीत गाएर लोकप्रियता हासिल गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया