तीजको साँस्कृतिक विचलन

गायत्री आचार्य

गायत्री आचार्य

Gayatri
नेपाली महिलाहरुको महानपर्व तीजको पौराणिक महत्व, परम्परागत मान्यता र सान्दर्भिकता आजको परिवेशमा आइपुग्दा यसका धेरै आयामहरूमाथिकै भिन्नता आइसकेको छ । हुनत नेपाली समाजलाई पश्चिमा मुलुकका परिवर्तन, जीवनशैली र रहनसहनले पनि प्रभाव पारेको छ । नेपाली समाजमा महिलाको अवस्था पनि विविधपक्षमा सुधार हुँदै यो अवस्थामा आइपुग्दा केहीमाथि उठेको छ । सूचना तथा सञ्चारको क्षेत्रमा आएको नवीनतम प्रविधिले जनजीवनमा पारेको प्रभाव, विकासका अन्य आयाममा आएको परिवर्तन, समयसापेक्ष आवश्यकता, चाडपर्व मनाउने शैली, महिलाको आर्थिक हैसियत र सक्षमतामा आएको परिवर्तनले तीजको रौनकमा परिवर्तन आएको छ ।
चाडपर्व मनाउने तौरतरिकामा आजभोलि परिवर्तन आएपनि तीज मनाउने विषयमा आएको विकृत प्रचलनलाई लिएर समाजमा टीकाटिप्पणी हुनथालेका छन् । खासगरी तीजको दर, भड्किला पोशाक, गरगहनाको प्रयोग, व्रत बस्ने शैली तथा गीतको विषयमा लिएर बढी आलोचना सुनिने गरिएको छ ।

पौराणिक महत्व
धर्मग्रन्थ र पुराणहरुकाअनुसार हिमालयपर्वतकी छोरी पार्वतीले महादेवलाई स्वामी पाउन बसेको कठोर र निराहार व्रतको प्रभावले १०८ औं जन्ममा महादेव स्वामी पाएको कुरा उल्लेख गरिएको छ । यसको आधारमा नेपाली तथा हिन्दु संस्कार तथा सभ्यता भएका मुलुकका विभिन्न स्थानमा यसको व्रतबस्ने र आफ्नो इच्छासिद्ध हुने विश्वासकासाथ चाड मनाउने प्रचलन चलिआएको पाइन्छ । परम्परागत तथा पौराणिक कथाअनुसार यो व्रत कठोर तरिकाले कुनै पनि खाना तथा पानीसमेत नखाइकन अविवाहितले सुयोग्य वर तथा विवाहितले पतिको सुस्वास्थ्य तथा दीर्घायूको कामना गर्नका लागि लिने गरेको पाईन्छ । भारतवर्षको पौराणिकयुगमा नेपाल र उत्तरी भारतबाट शुरु भएको भएपनि नेपालमा यसको विकास सबैभन्दा बढी भएको र नेपालको विशुद्ध मौलिकचाडको रुपमा यसलाई लिन सकिन्छ । आधुनिक समयमा यसको पौराणिक महत्व, श्रद्धापूर्वक व्रतबस्ने विषयमा भन्दा पनि नेपालीहरुको रमाइलो मात्र गर्ने चाडको रुपमा विकास हुदैगएको छ ।

तीजको व्यापकता
नेपालबाहेक भारतका केही उत्तरी राज्यमा यसको प्रचलन रहेको भएपनि केही समययता विश्वव्यापकता पाएको तीज नेपाली हिन्दु महिलाको मात्र नभई समग्र नेपालीको महान चाड भएको छ । स्वदेशमा विभिन्न सरकारी तथा गैरसरकारी निकाय, राजनतिक तथा सामुदायिक सङ्घ संस्थाको आयोजनामा तीजका कार्यक्रम तथा दरखाने कार्यक्रम हुनेगरेको छ । चेली माईती भेटघाट हुने तथा एकअर्काको सम्बन्ध प्रगाढ हुने कारणले तीजलाई सबैले मनाएर साझा नेपाली चाडको रुपमा विकास भएको छ । विदेशमा रहेका नेपालीहरू पनि जमघट भई यो चाडलाई श्रद्धापूर्वक मनाउने गर्दछन् । स्वदेश र विदेशमा रहेका महिला तथा पुरुषहरु मिलेर यसलाई आधुनिक शैलीमा सबै नेपालीले मनाउने प्रचलनको विकास भएको छ ।

आधुनिक समयमा यसको पौराणिक महत्व, श्रद्धापूर्वक व्रतबस्ने विषयमा भन्दा पनि नेपालीहरुको रमाइलो मात्र गर्ने चाडको रुपमा विकास हुदैगएको छ ।

दरखाने प्रचलन
भोलिपल्ट निराहार व्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन मिठा परिकार खाएर शरीरमा उर्जा भण्डारगर्नका लागि राति खाइने खाना दर हो । यसका लागि माइतीमा आफन्तसँग बसेर सुखदुख आत्मीयता साटासाट गरी अघिल्लो दिनमा खाईने प्रचलन चलिआएकोमा हाल यसमा पनि विकृति नै आएको विश्लेषकहरु बताउँछन् । महिनादिन अघिदेखि दर खाने, विभिन्न पार्टी प्यालेसमा गएर दरखाने, महँगा खानेकुरा खाने, दरमा मदिराको समेत प्रयोग हुने, सामाजिक अभियन्ताहरु समेत धेरै दिन अगाडि नै दरखाने, सरकारी कर्मचारी, राजनीतिकदलका नेता तथा कार्यकर्ता पनि यस्ता कार्यक्रममा सहभागी हुने, जस्ता कार्यले तीजको दर कहिले खाने भन्ने सँस्कार नै फरक र अर्थ नै भिन्न हुन गएको छ । त्यसैले दरमा आएको साँस्कृतिक विचलन आजको जल्दोबल्दो चुनौतीको रुपमा आएको छ । आजभोलिको दर र भोज पर्यायजस्तै हुनु दुर्भाग्य नै हो ।

पोशाक
समाजमा मानिसको परिचयलाई व्यक्तित्वसँग जोडेर हेर्न थालेपछि कपडा तथा पोशाकमा मानिसको ध्यान जान थालेको छ । रातो साडी लगाउने कुरा सौभाग्यसँग जोडिएको भएपनि त्यसको आवरणमा भड्किला र महँगा कपडा लगाउने परिपाटीको विकास भएको छ । साना, छोटा, पारदर्शी, अङ्गप्रदर्शन गर्ने प्रकारका विभिन्न डिजाइनका कपडाको प्रयोग, ब्लाउज तथा साडीको अस्वाभाविक र प्रतिस्पर्धात्मक प्रयोगले ल्याएको विचलनले एकातर्फ निम्न तथा मध्यमवर्गीय आर्थिक हैसियतका परिवारलाई समस्यामा पारेको छ भने अर्कातर्फ आधुनिकताका नाममा समाजमा अश्लील सभ्यताको विकास भइरहेको छ ।

मन्दिर कि अन्य स्थल
तीजको रमाइलो गर्ने स्थलको रुपमा मन्दिरहरु नै केन्द्र बन्थे । त्यो पनि खासगरी शिव मन्दिरमा । कतिपय गाउँमा अझैपनि त्यहीप्रकारको चलन छ । तर आधुनिकताका नाममा दरखाने र नाचगान गर्ने कार्य आजभोलि पार्टीप्यालेस र पिकनिक स्थलमा भएको पाइन्छ । यसले मन्दिरमा हुनुपर्ने आस्था र विश्वास तथा धार्मिक महत्वलाई विस्थापनमा पार्दैछ ।

आफ्नो गच्छअनुसारको कपडा तथा गरगहना लगाएर माइत जाने तथा मन्दिरमा जाने त्यहाँ नाच्ने गाउने, पूजापाठ गर्ने कार्य यसको धार्मिक र पौराणिक पक्ष हो ।

गरगहनाको प्रदर्शन
आफ्नो गच्छअनुसारको कपडा तथा गरगहना लगाएर माइत जाने तथा मन्दिरमा जाने त्यहाँ नाच्ने गाउने, पूजापाठ गर्ने कार्य यसको धार्मिक र पौराणिक पक्ष हो । आजभोलिको प्रचलन त्यस्तो नभएर जसरी पनि गरगहना लगाएर धनाढ्यजस्तो देखिनुपर्ने, आर्थिकरुपमा सम्वृद्ध छु भनेर देखाउनु पर्ने, साथी तथा सहकर्मीको देखासिकी गरेर विभिन्न मोडलका गहना लगाउनु पर्ने बाध्यता बनेको छ । हुनेले त सजिलै लगाउलान्, तर नहुनेले पनि मागेर वा नक्कली बनाएर वा आलोपालोमा लगाउने प्रचलन बनिरहेको छ । जसले गर्दा चोरी तथा लुटपाट हुने सम्भावना बढी भएका उदाहरण सुनिनथालेका छन् । सौभाग्यकोरुपमा लिने पोतेमा गरगहना जोडिएर आएको यो अर्को विचलन हो ।

व्रतबस्ने तरिका
निराहार व्रतबस्ने र पानी पनि नखाई व्रतबस्ने कुरा कतिपयले स्वास्थ्यको दृष्टिले खासै उपयुक्त नमानिए पनि कहिलेकाहीं पेट खाली गर्नुपर्ने भनाइ पनि आउनथालेका छन् । हुन त आजभोलि धेरै महिला निराहार व्रत बस्दैनन् तर व्रतबस्ने पनि पानी नै नखाइ बस्नेको सङ्ख्या घट्दैछ । अझ कतिपय फलफूल त खान हुन्छ भन्नेतर्फ लागिसकेका छन् । पार्टीप्यालेस, पिकनिक स्थलमा नाच्ने महिलामा व्रत बसेकाको सङ्ख्या कम हुन थालेको छ । पतिको खुट्टा धोएर पानीखाने प्रचलनलाई सामन्तीसोचको रुपमा लिइए पनि त्यसोगर्ने महिलाको सङ्ख्यामा पनि उल्लेख्य कमी आउन थालेको छ ।

गीतको महत्व
तीजमा आमाछोरी तथा माईतीसँग भेट्दा आफ्ना दुख, पीर, वेदना पोखी, ईश्वरको भजनकिर्तन गरी नाचगान गर्ने प्रचलनमा पनि व्यापक विचलन आएको छ । कतिपय गीतमा समाजका विकृति, विसङ्गति तथा भ्रष्टाचारको विषयलाई पनि छुनेगरेको छ । तीजका मौलिक लयका लोक तथा दोहोरी गीतहरू छोडेर आजभोलि हिन्दी, अङ्ग्रेजी गीतकासाथ मापप, ¥याप आदि गीतबजाई नाच्ने प्रचलनले व्यवपकता पाएको छ । नेपाली लोकगीत पनि आजभोलि अश्लील, अपच्य र तीजको महत्वलाई नै हानी पु¥याउने प्रकारको भएकाले यसले तीजको महिमालाई घटाउँदै लगेको पाइन्छ । गायिका ज्योति मगरको दुम्सीकाँडे जुँगा, यसपालिको तीजमा दरको सट्टा रक्सी खाइन्छ जस्ता गीत, त्यसमा भएको अभिनय, आदि पनि विवादमा तानिएका छन् । दोहोरो र अश्लील अर्थ लाग्ने शब्दको प्रयोग, तीजको मार्मिकता र भावनाबाट विचलन भएर गाईएका गीतहरुले तीजको गरिमा घटाएको विश्लेषकहरुको बुझाइ छ ।

तीजका नाममा हुने किनमेल, साडी, गहना र खानेकुराको जोहो गर्नका लागि धनाढ्य परिवारको प्रतिस्पर्धा र सौख तथा अन्य सामान्य परिवारलाई बाध्यात्मक रुपमा खर्च थपिने अवस्था सिर्जना भएको छ ।

बढ्दो व्ययभार
विगत केहीवर्षदेखि आर्थिक हैसियतको वृद्धिले नेपालीहरूको क्रयशक्ति पनि बढेको र फजुलखर्चको आकार बढेको पाइन्छ । यसमा पनि तीजले आजभोलिको खर्च निकै बढाएको छ । तीजका नाममा हुने किनमेल, साडी, गहना र खानेकुराको जोहो गर्नका लागि धनाढ्य परिवारको प्रतिस्पर्धा र सौख तथा अन्य सामान्य परिवारलाई बाध्यात्मक रुपमा खर्च थपिने अवस्था सिर्जना भएको छ । पार्टीप्यालेसमा पुग्ने, दर खरीद गर्ने, पिकनिकको आयोजना गर्ने, लुगा तथा गहना किन्ने पैसाको जोहो गर्ने कुराले सामान्य परिवारले निकै भार बेहोर्नु पर्ने अवस्था बनेको छ । माईती तथा आफन्तलाई कपडा किनिदिने, कोसेलीको जोहो गर्ने, दर खुवाउने खाद्य पदार्थको खरीद गर्ने प्रचलनको विकासले धेरैको दशैंखर्च तीजले नैसिध्याउने परिस्थिति बनेको छ ।

तीजको मौलिकता, वास्तविकता र विचलनले ल्याएको भ्रमले तीजको मार्मिकतालाई सङ्कटमा पारेको छ । समाजका परिवर्तनका अभियन्ताहरु पनि यसकाप्रकारको विचलनमा पर्नगएको तीतो यथार्थले तीजको मौलिकता विकृतिको जोखिममा परेको छ । साँस्कृतिक विचलनमा आफै रमाउने र पछि यसकै विरोध गर्ने परिपाटीले कसैलाई पनि फाइदा पु¥याउँदैन । तर विचलनलाई यथास्थितिमै अङ्गीकार गर्ने हो भने तीजको धार्मिक, पौराणिक, ऐतिहासिक तथा साँस्कृतिक महत्व एकदिन लोप भएर त्यसको ठिमाहा र विकृतरुप नदेखिएला भन्न सकिन्न ।

तपाईको प्रतिक्रिया