म धेरै कम भावुक हुने मान्छे हुँ, पुस्तकले भावुक बनायोः अध्यक्ष ओली


sam_6094

काठमाडौं, भाद्र २७ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा मानिस अमानवीय हुँदैगएकोप्रति चिन्ता व्यक्तगर्दै समाज परिवर्तनका लागि अमानवीय भावना त्याग्नु अपरिहार्य रहेको बताउनुभएको छ ।

अधिकारकर्मी तथा महिला नेतृ सुनिता दनुवारद्वारा लिखित ‘आँसुको शक्ति’ नामक पुस्तकको सोमबार यहाँ लोकार्पण गर्नुहुँदै अध्यक्ष ओलीले त्यस्तो बताउनुभयो । “मुखमा मुस्कान राखेर, गुलियो मिठाईमा विष राखेर मानिसलाई खुवाउनेसम्मको अमानवीयता हुनेगर्छ” भन्दै उहाँले त्यस्तो भावना बोकेकाहरुलाई कडा सजायको विकल्प नरहेको बताउनुभयो ।

“मानवको केही स्वभावहरु यति अमानवीय र क्रूर छन् कि त्यति क्रूर त पशु पनि हुँदैन” चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “गरिबीको अवस्थामा मात्र हैन, अन्य अवस्थामा समेत चेलीमाथि हिंसा र बेचविखनजस्तो जघन्य अपराध हुनेगर्छ ।” लेखिका दनुवारले पुस्तकमा आफ्नो जीवनको पीडा उतारेर समाजलाई बाटो देखाउने हिम्मत गरेको उहाँले बताउनुभयो ।

विदेशमा बेचीएकी चेली सुनितासँग प्रेमकासाथ विवाह गरी जीवनसाथीको सहारा बन्ने नृप दनुवारको कामलाई उहाँले असाधारण सहयोगको संज्ञा दिनुभयो । यस्तो सम्मानजनक काम थोरै मानिसले मात्र गर्नसक्छ भन्दै उहाँले समाजमा यस्ता प्रेरणादायी कामले नै समाज रुपान्तरण हुने विश्वास व्यक्त गर्नुभयो ।

sam_6095

विदेशमा बेचिएका नेपाली चेलीको कथा, महिलाको यौनहिंसा तथा घरेलु हिंसालाई समेटेर लेखिएको पुस्तक आँसुको शक्ति पठनीय र संग्रहित रहेको चर्चागर्दै अध्यक्ष ओलीले भन्नुभयो, “पुनः फेरि यस्तो दर्दनाक बेदना भरेको पुस्तकको लोकार्पण गर्नु नपरोस् । यस्ता पीडा र समस्यालाई समाजबाटै समुलअन्त्य गरिनुपर्छ ।”

“म जीवनमा निकै कम भावुक हुनेगर्छु, अरुजस्तो जतिबेला पनि भावुक भइहाल्ने मान्छे म होइन तर यो पुस्तक पढेर ठाउँठाउँमा भावुक बनें” चर्चागर्दै पूर्व प्रधानमन्त्री ओलीले भन्नुभयो, “अधिकार, अवसर, सुरक्षा र सम्मान यी चार चिज मानिसलाई पुगेमात्र आधारभूतरुपमा मानिस सम्पन्न हुन्छ ।” समाजका मानिसको राक्षसी रुपलाई पुस्तकले उजागर गरेको उहाँले टिप्पणी गर्नुभयो ।

मानव बेचविखन, महिलामाथि हुने हिंसाको अन्त्यकालागि आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउँदै अध्यक्ष अ‍ोलीले अधिकारकर्मीहरुलाई त्यसका लागि ठोस पहल गर्न आग्रह गर्नुभयो । यस्तो जघन्य अपराधजन्य गलत कामको न्यूनिकरणमा म र मेरो पार्टी जस्तोसुकै सहयोग गर्न तयार छ उहाँले भन्नुभयो ।

वरिष्ठ मानवअधिकारकर्मी गौरी प्रधानले प्रायः मानिसको आँसुलाई पीडा, दुःख र वेदनाको प्रतिविम्बकोरुपमा लिने गरिए पनि पुस्तकले आँसुलाई शक्तिकोरुपमा परिभाषित गरेको छ भन्नुभयो । तीनवर्षे बालकसँगै कुनै गिरोहले सुनितालाई भारतमा बेचेको अवस्थामा पनि त्यहाँबाट उम्किएर जीवन रुपान्तरणगरेको उदाहरणीय कामको उहाँले संज्ञा दिनुभयो ।

पुस्तककी लेखिका सुनिता दनुवारले मानव बेचविखन तथा महिला हिंसा समाजका लागि ठूला अपराध भएपनि सरकार र राजनीतिक दल त्यसमा गम्भीर बन्न नसकेको बताउनुभयो । पीडा भोग्नेलाई मात्र थाहा हुन्छ भन्दै उहाँले समाजबाटै यस्ता घटनाको अन्त्यकालागि सामूहिक प्रयासको आवश्यकता औल्याउनुभयो । अहिले नेपाली चेलीहरु वैदेशिक रोजगार र विवाहको नाममा बेचिन बाध्य भइरहेको उहाँले बताउनुभयो ।

घोष्टराइटिङ नेपालले प्रकाशन गरेको पुस्तकको सम्पादन पत्रकार टंक पन्तले गर्नुभएको हो । कार्यक्रममा पत्रकार पन्त, प्रकाशक संस्थाका अध्यक्ष कमल ढकाल, लेखिकाको श्रीमान नृप दनुवार, अनुसन्धानकर्मी सर्मिला पराजुली लगायतले पुस्तकको सवल पक्षको बारेमा टिप्पणी गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया