भ्रमणले नेपाल भारतको सम्बन्धमा नयाँ आयाम: प्रधानमन्त्री प्रचण्ड


prachand1

काठमाडौं, असोज २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताउनुभएको छ । भारतसँगको प्रगाढ सम्बन्धले चीनसँगको सम्बन्धमा कुनै असर नपुग्ने उहाँले प्रष्ट पार्नुभयो ।

चारदिने भ्रमणपछि आइतबार दिउँसो स्वदेश फर्कनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री दाहालले त्यस्तो बताउनुभयो । आफ्नो चारदिने भ्रमण फलदायी भएको उहाँले दावी गर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भाद्र ३० गते नयाँ दिल्ली पुग्नुभएको थियो । भ्रमणकैक्रममा प्रधानमन्त्री दाहालले दुवै देशको हितमा हुनेगरी भारतसँग तीनबुँदे सहमति गर्नुभयो । पत्रकारसँग संक्षिप्त कुरागर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “असल नियतकासाथ भ्रमण गरिएकाले देशकालागि मेरो भ्रमण निकै फलदायी रह्यो ।”

चीन र भारतसँगको नेपाल सम्बन्धको आयाम फरक फरक रहेकाले छिमेकी मुलुक भारतसँगको सम्बन्ध सुधारले अर्को छिमेकीमुलुक चिनसँग सम्बन्ध नविग्रने उहाँले प्रष्ट पार्नुभयो । “नेपाल–भारत र नेपाल–चीनसँगको सम्बन्धको आयाम फरक फरक छन्, कुनै एकसँगको सम्बन्धले अर्कोसँग सम्बन्ध विग्रदैन” भन्दै प्रधानमन्त्री प्रचण्डले चीनसँग पनि नेपालको उत्तिकै राम्रो सम्बन्ध रहेको बताउनुभयो ।

“नेपाल–भारत र नेपाल–चीनसँगको सम्बन्धको आयाम फरक फरक छन्, कुनै एकसँगको सम्बन्धले अर्कोसँग सम्बन्ध विग्रदैन” भन्दै प्रधानमन्त्री प्रचण्डले चीनसँग पनि नेपालको उत्तिकै राम्रो सम्बन्ध रहेको बताउनुभयो ।

भारतीय समकक्षी मोदीसँगको २५ बुँदे संयुक्त बक्तव्यले चीनलाई कुनै असर नपुग्ने दावी गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्डले सबैलाई समेटेर संविधान कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनुभयो ।

राजकीय भ्रमणमा प्रधानमन्त्री प्रचण्डले सरकारी अधिकारी, व्यापारी, पत्रकार गरी एकसय १६ जनाको टोली लिएर जानुभएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री मोदी, विदेशमन्त्री सुस्मा स्वराजसहितका मन्त्री र उच्चपदस्थ पदाधिकारीहरुसँग दुईपक्षीय छलफल गर्नुभएको थियो ।

भ्रमण अवधिभरी प्रधानमन्त्री दाहाल परिवारकासाथ भारतीय राष्ट्रपति भवनमा पाहुनाकोरुपमा सम्मानपूर्वक बस्नुभयो । उहाँ नेपाल बायुसेवा निगमको विमानबाट अपरान्ह स्वदेश फिर्ता हुनुभएपछि प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले स्वागतार्थ विमानस्थलमा सम्मानगारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधी, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, सभामुख ओनसरी घर्तीमगर, सरकारका मन्त्री, मुख्य सचिव, संवैधानिक अंगका प्रमुखसहित उच्चतहका पदाधिकारीहरु त्रिभुवन विमानस्थल पुग्नुभएको थियो ।

भ्रमणमा प्रचण्डसँगै धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशसरण महत, भौतिक यातायात तथा व्यवस्था मन्त्री रमेश लेखक, उच्चतहका व्यापारीसहित केही पत्रकारको समेत सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया