संविधानको एकवर्षे उतारचढाव

लक्की चौधरी

लक्की चौधरी

lucky1

गतसाल २०७२ असोज ३ गते साँझ तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले संविधानसभा भवनबाट नयाँ संविधान सार्वजनिक गर्नुभएको थियो । सुशील कोइराला मुलुकको प्रधानमन्त्री थिए । २०७२ भाद्र ३० गते राती नौ बजे संसद बैठकबाट संविधानका सबै धारा पारित भएका थिए । बैठकमा उपस्थित ५३२ मध्ये ५०७ जनाले पक्षमा मतदान गरेका थिए । राप्रपा नेपालले मात्र संविधानको विपक्षमा मतदान ग¥यो । २०७२ असोज १ गते संविधान प्रमाणिकरण भयो । तत्कालिन सभामुख सुवासचन्द्र नेम्वाङ्ले प्रमाणिकरण गर्नुभएपछि सभामा कायम ५९७ मध्ये ५३७ सभासदले हस्ताक्षर गरेपछि असोज ३ गते संविधान जारीभएको थियो । मधेसी, थारु सांसदआवद्ध करिब १० दलका गरी ५७ सांसदले संविधान प्रमाणिकरणमा हस्ताक्षर गरेनन् ।

नयाँ बानेश्वरस्थित संविधानसभा भवन सजाएर तामझाम पारिएको थियो । परिसरमा पानीका फोहरा फुटिरहेका थिए । आकाशमा पटाका पड्किरहेका थिए । बानेश्वरचोकमा संविधानको स्वागतार्थ युवाहरुको घुइचो थियो । स्वागत्का नाराबाजी चलिरहेका थिए । बाहिर सुरक्षाकर्मीलाई भीड नियन्त्रण गर्न हम्मे थियो, भित्र उता मर्यादापालकलाई प्रेस पासलिएका सर्वसाधारणको भीड नियन्त्रण गर्न धौधौ । सञ्चारमाध्यमले लाइभ समाचार दिएर संविधान जारीको सूचनाबाट सर्वसाधारणलाई सुसूचित गराएका थिए । घरमै बसेर प्रत्यक्ष खुशीको अनुभूति धेरैले गर्न पाए । चारवर्ष लगाएर अघिल्लो संविधानसभा ०६९ जेठ १४ गते भङ्ग भएजस्तो तीतो अनुभव दोस्रो संविधानसभाले गराएन । निर्वाचन भएको दुई वर्षमै नयाँ संविधान जारीभयो ।

२०७२ साउन २८ बाट थरुहट क्षेत्रमा थरुहट प्रदेशको मागगर्दै आन्दोलन शुरुभयो । भाद्र ७ गतेको दुःखद टीकापुर घटना घट्यो । एसएसपीसहित आठजना सुरक्षाकर्मी र एक नाबालकले ज्यान   गुमाए । दर्जनबढी थारुको घरपसलमा आगजनी भयो । करोडौंको क्षति भयो ।

एकातिर नयाँ संविधानको स्वागत् भइरहेको थियो । अर्कोतिर केही समुदायले त्यसको विरोध गरिरहेका थिए । कहीं स्वागतार्थ खुशीको दीप प्रज्ज्वलित थियो त कहीं संविधानका पाना जलिरहेका थिए । कहीं खुशीले स्वागतको नारा घन्किरहेको थियो, कहीं विरोधका नारा बजिरहेको थियो । संविधानसभा परिसर नयाँ बानेश्वरबाट नयाँ संविधान जारीको खुशीको गुञ्जयमान स्वर नजिकै रहेको माइतीघर मण्डलासम्म पुग्न सकेको थिएन । माइतीघर मण्डलामा मधेसी, थारु, अल्पसंख्यक समुदायले संविधानको विरोधमा प्रदर्शन गरिरहेका थिए । संविधानका पाना जलाइरहेका थिए । एकातिर खुशी थियो भने अर्कोतिर निराशा । यसरी जारी भएको थियो नयाँ संविधान २०७२ । त्यसको तुस अझै बाँकी    छ । संविधान जारीभएको चार महिनामै २०७२ माघ ९ गते नयाँ संविधानको पहिलो संशोधन गरिनु पनि संविधानमा कमजोरी थियो भन्ने पुष्टि गर्छ । तर त्यो संशोधनले अझै असन्तुष्टलाई थामथुम गर्न सकेन । अझै संविधान संशोधनको माग जवर्जस्तरुपमा उठिरहेकै छ । आवश्यकता हो या राजनीतिक प्रोपगण्डा, त्यो समयले पुष्टी गर्दैजाला ।

संविधानसभाको दोस्रो निर्वाचन (२०७० मंसिर ४) पछि मुलुकले तीनजना प्रधानमन्त्री पायो । २०७० माघ २७ गते सुशील कोइराला मुलुकको ३७ औं प्रधानमन्त्रीमा निर्वाचित भए । संसदमा ४०५ मत प्राप्त गरेर कोइराला प्रधानमन्त्री बनेका थिए । उनको विपक्षमा १४८ मत खसेको थियो । २०७१ माघ ६ गते तत्कालिन एमाओवादी नेतृत्वको संयुक्त मोर्चा सम्बद्ध सांसदले संविधानसभा भवनमा तोडफोड गरे । २०७१ चैत २२ गते एमाले युवानेता रामनाथ ढकालको निधन भयो । २०७२ वैशाख २ गते तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन भयो । कोइराला प्रधानमन्त्री भएकैबेला २०७२ वैशाख १२ गते मुलुकमा शक्तिशाली भूकम्प गयो । देशलाई जनधनको ठूलो क्षति व्यहोर्नुप¥यो । २०७२ साउन २८ बाट थरुहट क्षेत्रमा थरुहट प्रदेशको मागगर्दै आन्दोलन शुरुभयो । भाद्र ७ गतेको दुःखद टीकापुर घटना घट्यो । एसएसपीसहित आठजना सुरक्षाकर्मी र एक नाबालकले ज्यान गुमाए । दर्जनबढी थारुको घरपसलमा आगजनी भयो । करोडौंको क्षति भयो । २५ जना पक्राउ परे । ज्यान मुद्दामा अहिले जेलसजाय काटिरहेका छन् । राजनीतिक मुद्दाभन्दै मुद्दा फिर्ताको माग उठेको छ । सरकारले दशैअघि मुद्दा फिर्तालिने तयारी गरेको समाचार बाहिर आएको छ ।

२०७२ असोज २४ गते एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भए । ओलीसँगै पुनः प्रधिस्पर्धामा कांग्रेस सभापति सुशी कोइराला उभिए । ओलीको पक्षमा ३३८ मत र कोइरालाको पक्षमा २४९ मत खस्यो । संविधानको विपक्षमा उभिएका मधेसवादी दलका सांसद ओलीका विपक्षमा मतदान गरे । कांग्रेस पराजय भएपछि प्रतिपक्षीमा गयो । एमाले र एमाओवादीको संयुक्त सरकार बन्यो । २०७२ कात्तिक ११ गते नेपालको प्रथम महिला राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित हुनुभयो । भण्डारीसँग कांग्रेस नेता कुलबहादुर गुरुङले प्रतिस्पर्धा गर्नुभयो । भण्डारीको पक्षमा ३२७ मत र गुरुङ्को पक्षमा २१४ मत खस्यो । कात्तिक १४ गते एमाओवादी नेता नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्वाचित हुनुभयो । पुनसँग प्रतिस्पर्धा गरेका थिए कांग्रेस नेता अभियकुमार यादवले । पुनको पक्षमा ३२५ र यादवको पक्षमा २१२ मत खसेको थियो । ओली नेतृत्वको सरकारलाई धेरै सकस बेहोर्नुप¥यो । प्रधानमन्त्रीमा निर्वाचित भएको महिना दिनमै मधेसवादी दलले मधेसमा आन्दोलन चर्काए । कात्तिक १६ गते विरगञ्जको मितेरीपुलमा धर्नाकर्मी र सुरक्षाकर्मीबीच धक्कामुक्का चल्यो । प्रहरीले गोली चलाउँदा धर्नामा बसेका भारतीय एक नागरिक आशीषकुमार रायको मृत्यु भयो । मधेसीको आन्दोलनमा भारतीय समर्थन रहेको घटनाले पुष्टि ग¥यो ।

२०७२ असोज ७ गतेबाट मधेसी मोर्चाले नाकाबन्दी शुरुगरेको थियो । नाकाबन्दीले मुलुक थिलथिलो बन्यो । नाकाबन्दीमा भारत सरकारको मौन समर्थन देखियो । अतिआवश्यक ग्यास, खाद्यान्न लगायत चिजवस्तुको हाहाकार भयो ।

२०७२ असोज ७ गतेबाट मधेसी मोर्चाले नाकाबन्दी शुरुगरेको थियो । नाकाबन्दीले मुलुक थिलथिलो बन्यो । नाकाबन्दीमा भारत सरकारको मौन समर्थन देखियो । अतिआवश्यक ग्यास, खाद्यान्न लगायत चिजवस्तुको हाहाकार भयो । त्यो सिलसिला माघ २३ सम्म चल्यो । २०७२ माघ २५ गते राती सुशील कोइरालाको निधन भयो । नाकाबन्दी खुलेपछि प्रधानमन्त्री ओलीले फागुन ७ देखि १२ सम्म छिमेकी मुलुक भारतको भ्रमणमा जानुभयो । नाकाबन्दीले भारतसँग बढेको दूरी भ्रमणले छोट्याएको विश्वास गरियो । लगत्तै ओलीले चैत ७ देखि १४ सम्म अर्को छिमेकी मुलुक चीनको भ्रमण गर्नुभयो । त्यसले चीनसँगको सम्बन्धलाई नजिक बनाएको दावी गरियो । पारवाहन सन्धीमा हस्ताक्षर भएपछि पुनः भारत झस्कियो । भारतबाट मात्र इन्धनलगायतका सामान नेपाल आउँथे, सन्धीले चीनबाट ल्याउने बाटो खुल्ला गरिदियो । भारत पुनः चिढियो । ओली नेतृत्वको सरकार ढाल्ने कसरत शुरुग¥यो । सरकार ढाल्ने कार्डकोरुपमा भारतले कांग्रेस सभापति देउवालाई प्रयोग ग¥यो । सोहीकारण फागुन २० देखि २५ सम्म काठमाडौंमा भएको कांग्रेस महाधिवेशनबाट भारतले देउवालाई सभापति बन्नमा सघायो । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासमेत सभापति लडे । सिटौलाको उम्मेदवारीले देउवालाई जित्न झन सहज भयो । देउवाले १५६४ मत पाए । पौडेल र सिटौलाले क्रमशः ११६० र ३२४ मतमा चित्त बुझाए । देउवालाई जिताउन भारतले सिटौलालाई उम्मेदवार खडा गरेको मिडियामा समाचार आयो ।

संविधानले व्यवस्था गरेअनुरुप संविधान जारीभएको ६ महिनामा संघीय आयोग गठनको व्यवस्था छ । सोहीअनुरुप २०७२ चैत २ गते पूर्व सचिव बालानन्द पौडेलको संयोजकत्वमा नौ सदस्यीय संघीय आयोग गठन भई कार्यरत छ ।

२०७३ असार २८ गते कांग्रेस र माओवादी केन्द्रबीच सातबुँदे सहमतिबाट नयाँ गठबन्धन बन्यो । गठबन्धनको मुख्यलक्ष्य ओली नेतृत्वको सरकार ढाल्नुथियो । सहमति लगत्तै गठबन्धनदलले असार २९ गते प्रधानमन्त्री ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गराए । सो प्रस्तावमा केन्द्रीत भएर साउन ७ देखि ९ सम्म संसद बैठकमा छलफल चल्यो । साउन ९ मै ओलीले पदबाट राजीनामा दिए । २०७३ साउन १९ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रचण्डले पहिलो भारत भ्रमण भाद्र ३० देखि असोज २ गतेसम्म सम्पन्न गरेका छन् । नौ महिनाकालागि प्रधानमन्त्री बन्ने कांग्रेससँगको सहमतिमा प्रचण्ड अहिले प्रधानमन्त्री छन् । तर भोलि कसले देखेको छ र भन्ने आशंका अहिले नै राजनीतिकवृत्तमा चर्चाको विषय बन्न थालेको छ । कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनेपछि एमाले अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा छ । एमाले प्रतिपक्षीमा बसेपछि संविधानको अर्को संशोधन निकै जटिल बनेको छ । कांग्रेस र माओवादीले संविधान संशोधन गरेर मधेसवादीदलको चित्त बुझाउने बताइरहेकाबेला विना औचित्य संविधान संशोधन हुननदिने पक्षमा एमाले दह्रोसँग उभिएको छ । एमालेको सहयोगविना संसदमा दुईतिहाई नपुग्ने भएपछि संविधानको अर्को संशोधन अन्यौलमै छ ।

संविधान जारी भएयता एकवर्षे अवधिमा खासै केही काम हुन पाएन । संविधान कार्यान्वयनको देखिने काम हुन सकेनन् । संविधानले व्यवस्था गरेअनुरुप संविधान जारीभएको ६ महिनामा संघीय आयोग गठनको व्यवस्था छ । सोहीअनुरुप २०७२ चैत २ गते पूर्व सचिव बालानन्द पौडेलको संयोजकत्वमा नौ सदस्यीय संघीय आयोग गठन भई कार्यरत छ । स्थानीयतहको पुनःसंरचनाको विषयमा छलफल जारी राखेको छ । त्यस्तै, संविधान जारीभएको एक वर्षभित्रमा प्रदेशहरुको प्रतिनिधित्व हुनेगरी भाषा आयोग गठन गर्ने संवैधानिक व्यवस्था छ । तर सो काम अझै हुन सकेको छैन । संविधान कार्यान्वयनका लागि ऐन नियमहरुको प्रस्ताव गरिए पनि सम्पन्न हुन सकेको छैन । स्थानीयतहको निर्वाचन गर्नेबारे टुंगो लागेको छैन । स्थानीयतहको निर्वाचनपछि अन्य निर्वाचनको बाटो खुलाहुने भएपनि सरकारले त्यसको टुंगो लगाउन सकेको छैन । संविधान कार्यान्वयनको देखिने परिणामका लागि पनि निर्वाचन अपरिहार्य छ ।

तपाईको प्रतिक्रिया