निर्वाचन अयाोगलाई उछिने नेताहरु, तीन प्रतिशत थ्रेसहोल्ड लाग्ने


top-leader-of-nepal

लक्की चौधरी
काठमाडौं, असोज २२ गते । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सानादलका सांसदले निर्वाचनमा थ्रेसहोल्ड (मत सिमा) लगाउने विषयको विरोध गर्दै आएपनि प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुले मुलुकको राजनीतिक स्थिरताकालागि थ्रेसहोल्ड अनिवार्य रहेको बताउनुभएको छ ।

नेपाल सरकारले गृहमन्त्रालयमार्फत राजनीतिकदल सम्बन्धी विधेयकमा ३ प्रतिशतको थ्रेसहोल्ड राख्ने प्रस्ताव ल्याएपछि सो विषय पुनः बहसमा आएको हो । प्रमुख तीन दलका सचेतकहरुले कम्तिमा तीन प्रतिशत थ्रेसहोल्ड मुलुकको आवश्यकता भएको तर्क गर्नुभएको छ । देशको राजनीतिलाई सन्तुलित गर्न र मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन पनि संसदमा कमसेकम दलको उपस्थिति हुनुपर्ने भनाई उहाँहरुको छ ।

नेकपा (एमाले) का संसदीयदलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्ले थ्रेसहोल्डको व्यवस्था नहुँदा संसदको प्रभावकारिता कायम हुन नसकेको बताउनुभयो । थ्रेसहोल्ड राख्ने विश्वव्यापी मान्यता रहेकाले यसअघिको सांसद निर्वाचनमा थ्रेसहोल्ड कायम नगरेको भएपनि अवको निर्वाचनमा त्यो आवश्यक रहेको तर्क गर्नुभयो ।

“थ्रेसहोल्डबाट सानादल तर्सिनु हुँदैन, आफ्नो पार्टी मजबुत बनाउनतिर ध्यान दिनुपर्छ” भन्दै उहाँले भन्नुभयो, “थ्रेसहोल्ड कायम भएमा मुलुकको राजनीति स्थिरतातिर जान्छ ।”

“थ्रेसहोल्डबाट सानादल तर्सिनु हुँदैन, आफ्नो पार्टी मजबुत बनाउनतिर ध्यान दिनुपर्छ” भन्दै उहाँले भन्नुभयो, “थ्रेसहोल्ड कायम भएमा मुलुकको राजनीति स्थिरतातिर जान्छ ।” एमाले एक प्रत्यक्ष वा तीन प्रतिशत थ्रेसहोल्डको पक्षमा रहेको उहाँले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले आफू व्यक्तिगतरुपमा ३ देखि ५ प्रतिशत थ्रेसहोल्डको पक्षमा रहेपनि दलले ३ प्रतिशतमा सहमति गरेको बताउनुभयो । “व्यवस्थापिका संसदमा धेरै पार्टी हुनु भनेको राजनीतिक भद्रगोल हुनु हो, अहिले हामी त्यही समस्या भोगिरहेका छौं” भन्दै उहाँले संसदमा कमसेकम पार्टीको प्रतिनिधित्व गराउन र मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पनि थ्रेसहोल्ड अनिवार्य छ भन्नुभयो ।

कांग्रेसको भनाई राष्ट्रिय दलको हैसियत प्राप्तगर्न प्रत्यक्षमा कम्तिमा दुई सिट र समानुपातिकमा ३ प्रतिशत मत ल्याउनैपर्ने हो उहाँले भन्नुभयो । उहाँकाअनुसार कुल सदरमतको त्यति मत प्राप्त नगर्ने दलले संसदीय दलको मान्यता पाउँदैनन् ।

नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विनाडीले दलकोतर्फबाट आधिकारिकरुपमा थ्रेसहोल्डको प्रस्ताव दर्ता नभएपनि ३ प्रतिशतको पक्षमा दल रहेको बताउनुभयो । व्यक्तिगतरुपमा आफू ३ देखि ५ प्रतिशतको पक्षमा रहेको उहाँले गोरखापत्रसँग भन्नुभयो । निर्वाचन आयोगले कम्तिमा १.५ प्रतिशत मत ल्याउनेलाई दलीय मान्यता प्रस्ताव गरेको भएपनि सरकारले कम्तिमा ३ प्रतिशतको प्रस्ताव गरेकोमा आफ्नो दलको समर्थन रहेको उहाँले बताउनुभयो ।

समानुपातिक मत प्राप्त गरेर एक वा दुई सिट संसदमा बनाएका दलहरुलाई रोक्न र संसदीय व्यवस्थालाई स्थिर बनाउन थ्रेसहोल्डको आवश्यकता उहाँले औल्याउनुभयो ।

फोरम (लोकतान्त्रिक) का प्रमुख सचेतक योगेन्द्र चौधरीले नेपालको संसदीय व्यवस्थामा अस्थिरता रहेकाले त्यसलाई सन्तुलित बनाउन पनि थ्रेसहोल्ड आवश्यक रहेको बताउनुभयो । दलको तर्फबाट थ्रेसहोल्ड प्रस्ताव दर्ता नभएपनि एकदेखि डेढ प्रतिशतको पक्षमा दलभित्र छलफल भएको उहाँले जानकारी दिनुभयो । समानुपातिक मत प्राप्त गरेर एक वा दुई सिट संसदमा बनाएका दलहरुलाई रोक्न र संसदीय व्यवस्थालाई स्थिर बनाउन थ्रेसहोल्डको आवश्यकता उहाँले औल्याउनुभयो ।

सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले निर्वाचन आयोगले प्रस्ताव गरेको डेढ प्रतिशत थ्रेसहोल्डमा आफ्नो दलको समर्थन रहेको भएपनि ३ प्रतिशतमा विरोध रहेको बताउनुभयो । “सुरुवातीकालमा डेढ प्रतिशत ठीक हो, एकैचोटी ३ प्रतिशत साना दलकालागि उचित छैन” उहाँले भन्नुभयो । डेढलाख मत नल्याउने दलको अस्तित्व नरहनु ठीक छ उहाँले तर्क गर्नुभयो ।

यसअघिको संविधानसभा निर्वाचनताका पनि थ्रेसहोल्ड लगाउने विषयमा प्रमुख दलबीच छलफल भएको थियो । तर सानादलले त्यसको चर्को विरोध गरेपछि प्रमुख दलका नेताहरु पछाडि हटेका थिए । अहिले सरकारले प्रस्ताव गरेको थ्रेसहोल्डको प्रतिशतमा सानादलको विमति रहेपनि न्यूनतम थ्रेसहोल्ड लगाउने पक्षमा भने सानादल पनि सहमत देखिएका छन् ।

तपाईको प्रतिक्रिया