‘पाल्पा’ आफैमा प्रकृतिले सजिएको सुन्दर बगैचासरी छ । लाग्छ प्रकृतिले दिनुपर्ने सबै सुन्दरता अञ्जुलीभरी ल्याएर त्यहाँ खन्याइदिएकी छिन् । र’त पाल्पा मनोरम र प्राकृतिक छताले भरिभराउ छ । प्राकृतिक शितलता मनुवाका लागि कहिल्यै नमेटिने प्यास हो । शरीरलाई पानीको तिर्खा लागेसरी हरियालीको प्यास मान्छेलाई लागिरहन्छ । काठमाडौंजस्तो भीडभाड, उकुसमुकुस, ठेलमठेल र प्रदूषणयुक्त शहरको परिवेशमा बस्ने हरेक नेपालीलाई शीतलताको प्यास हुन्छ नै । त्यो मेटाउने वातावरण दिन्छ पाल्पाको हरियालीले । त्यहाँ पुग्ने जोकोहीले दृश्यप्यास नमेटुन्जेल प्राकृतिक हरियालीसँग रमाउन पाउँछन् । पाल्पाको प्राकृतिक सुन्दरतामध्येको एउटा अनुपमस्थल हो ‘रानीमहल’ अर्थात् नेपाली ‘ताजमहल’ । हो त ताजमहल मानवनिर्मित, तर लाग्छ प्रकृतिकै उपहार हो । चारैतिर पहाडले घरिएको कालीगण्डकी र बराङ्दी नदीको संगमस्थलमा अवस्थित छ रानीमहल । नदीको तटमा निर्मित त्यो नेपाली ताजमहल आग्राको ताजमहलभन्दा कैयौंगुणा अनुपम लाग्छ । कमी छ त केवल प्रचारप्रसारको ।
ताजमहलमा आधादिन
नेपाल पत्रकार महासंघको दशौं केन्द्रीय पूर्णबैठक भाद्र २९ गते सुन्दरनगरी रानीमहलमा बस्यो । पाल्पा तानसेनबाट करिब चारकोस टाढा रहेको रानीमहलको पहिलोपल्ट अवलोकन गर्ने अवसर त्यसैले जुराइदियो । पाल्पाको बतासेडाँडाको चिसो बतासको शीतलता त यसअघि नै पटक पटक महुशस गरिएकै थियो । तर रानीमहलको दृश्यपान गर्न पाइएको थिएन । बैठकले त्यो पनि अवसर जुराइदियो । त्यहाँपुग्दा महासंघ पाल्पाका पूर्वअध्यक्ष भगवान भण्डारी र वर्तमान अध्यक्ष राजेश अर्यालसहितको टोली स्वागत्कालागि तैनाथ थियो । रानीमहलमा फूलमाला, पल्पाली ढाकाटोपी र इष्टकोटको स्वागतले मनलाई फुरुङ्गै बनायो । लाग्यो, कुनैबेला राणाका जर्नेल खड्ग शमशेरले त्यसरी नै रानी तेजकुमारीलाई कुनै महलमा स्वागत गरेका थिए होलान् । तर दुर्भाग्य ! खड्ग शमशेरले नेपाली ताजमहल त बनाए, त्यसमा रानीलाई स्वागत गर्न पाएनन् । रानीकै सम्झनामा त्यो रानीमहल वि.सं. १९५० मा निर्माण गरेका थिए । रानीको देहावसानपछि भावविह्वल बनेका खड्ग शमशेरले सो महल बनाएर आफ्नो मनको पीडा र उकुसमुकुसलाई शान्त पारेका रहेछन् ।
नेपाली ताजमहलको नामले परिचित रानीमहलमै पहिरो गएर कुरुप बनाएको समाचार नेपाली सञ्चारमाध्यममा प्रकाशन प्रशारण भएको थियो । समाचारले मनलाई अलि खिन्न बनाएको थियो । त्यहाँ पुग्दा त्यस्तो केही देखिएन । महलको पूर्व र पश्चिमपट्टिको डाँडामा ठूलो पहिरो गएको रहेछ । त्यसैको दृश्य देखाएर रानीमहल पुरिएको मिथ्या समाचार आएको रहेछ । पाल्पा पुग्दा स्थानीयसँग पहिलो जिज्ञासा थियो । ‘रानीमहल पुरियो रे त हो ?’ कतिले जानीनजानी ‘समाचारले त्यस्तै भन्छ’ भने कतिले ‘गएको छैन थाहा भएन’ भने । मनमा झन कौतुहलता मच्यो । तस्विरमा रानीमहल देखिएको भएपनि प्रत्यक्ष त्यही गएर अवलोकन गरिएको थिएन । त्यसैले कस्तो होला नेपाली ताजमहल ? कस्तोहोला खड्ग शमशेरको रानीमहल ? जिज्ञासाको पोको मनभरि थियो । रानीमहलको प्रत्यक्ष अवलोकन गर्न पाएपछि जिज्ञासाको भारी हल्का भयो । दृश्यप्यास नमेटुन्जेल करिब छ घण्टासम्म त्यही महलमै विताइयो । उल्टाइपल्टाई क्यामेरामा थरिथरिका तस्विर कैद गरियो । क्यामेराको मेमोरी नसकिदासम्म सेल्फी हानियो ।
ताजमहलको राजः
धीर शमशेरका १७ भाइ छोरामध्येका वीर शमशेरको प्रधानमन्त्रीत्वकालमा खड्ग शमशेर कमाण्ड ईन चिफ तोकिए । अठार महिनापछि उनी पदच्यूत गरिए । निर्वासित जीवन जिउन पाल्पा झरे । पछि उनलाई वि.सं. १९४५ मा पश्चिम नेपालको रुपन्देही, कपिलवस्तु, बाग्लुङ र पर्वत्को जिम्मेवारीकासाथ पाल्पाको गौंडामा पश्चिम कमाण्डरको पुनः जिम्मा दिइयो । सोहीबेला वि.सं. १९४९ मा रानी तेजकुमारीको कालगतिले मृत्युभयो । मृत्युको अन्तिमक्षणमा खड्ग शमशेरले रानीलाई उनको सम्झनामा भारतको आग्राजस्तै ताजमहल निर्माणगरी स्मृतिलाई ताजैराख्ने वचन दिएका रहेछन् । वचनअनुसार उनले बेलायतबाट इन्जिनियर झिकाएर रानीमहल निर्माण गर्न लगाए । त्यसरी निर्माण भयो ‘रानीमहल’ अर्थात् नेपाली ताजमहल । करिब साढेपाँच रोपनी क्षेत्रफलमा निर्मित रानीमहल पाल्पाको तानसेन बजारबाट १३ कि.मि. मात्र टाढा छ ।
रानीमहलमा २४ कोठा, २ पोखरी, मन्दिर, बगैचा, पाटी, घोड–तबेला र भक्तजन बस्ने कुटी समेत निर्माण गरिएको छ । मानववस्तीभन्दा टाढा रहेको रानीमहलभित्र बहुमुल्य सामानहरु जडित भएपनि संरक्षणको अभावमा अहिले बहुमुल्य सामानहरु चोरी भइसकेका छन् । रानीमहलकै तलबाट कलकल बग्ने कालीगण्डकीको पवित्र पानी छोएमात्र पवित्र भइन्छ भन्ने भनाई रहँदैआएको छ । बौघागुम्हा २, पाल्पामा पर्ने रानीमहलका हेरालु आमप्रसाद भट्टराईकाअनुसार पहिले त्यहाँ बहुमुल्य भाँडा र श्रृङ्गारका सामान थिए । पछि त्यसको संरक्षण हुन नसक्दा सामानहरु चोरी भए । कतिपय सामान फुटेर गए, कति गले ।
संरक्षण आवश्यकः
रानीमहल पर्यटकीय हिसावले सम्भावनै सम्भावनाले भरिएको छ । तर महलको पुनरनिर्माण र संरक्षणको अभावले दैनन्दिन कुरुप हुँदैछ । रानीमहलका हेरालु भट्टराईकाअनुसार दैनिक एकसयदेखि डेढसय जना आन्तरिक तथा बाह्य पर्यटक ताजमहल पुग्छन् । प्रायः प्रेमजोडीको मनजोड्ने रोजाइ स्थलकोरुपमा रानीमहल रहेको छ । साना जीप र मोटरबाइकबाट घण्टाभरमै सजिलै पुग्नसकिने रानीमहलको सौन्दर्य र त्यहाँको प्राकृतिक मनोरमले युगलजोडी र पर्यटकको मनलाई सजिलै लोभ्याउँछ । यस्तो सुन्दर ठाउँको दृश्यावलोकनका लागि राज्यले उचित प्रबन्ध र महलको संरक्षण भने गर्न सकेको छैन ।
रानीमहलका भित्ता चर्किएका छन् । ०७२ सालको भूकम्पको झट्का महलमा निकै जोडले प¥यो । महल हेरालु भट्टराईकाअनुसार भक्त र भक्तनीहरुको भागाभाग भयो । भूकम्पको झट्काले केही युगलजोडी र आन्तरिक पर्यटकहरुको भागाभाग भएको थियो । तथापि महललाई भूकम्पले खासै ठूलो क्षति गरेन । भित्ताहरु ठाउँ–ठाउँमा भत्किएका छन् । माथिल्लो सिलिङ्मा विछ्याइएका काठका फल्याक र प्लाइउड उप्किएका छन् । भित्ता र खम्बाहरुमा चिरा परेका छन् । तर त्यसको पुनःनिर्माण हुन सकेको छैन । टालटुल गरिएको छैन । त्यसले महलको रौनकता घटाएको छ । महललाई जीर्ण बनाएको छ । महलमा परेका चिराबाट वर्षाको पानीले झन दाग लगाइदिएको छ । त्यसले महलको सौन्दर्यलाई घटाएको छ । पुनःनिर्माण र श्रृङ्गारमा राज्यका स्थानीय निकायको ध्यान पुग्न सकेको छैन ।
रानीमहलको जिर्णोद्वारबाट रानीको सम्झनालाई पुनः ताजा पार्न आवश्यक छ । महलको वरिपरि उम्रेका झारको सरसफाई, हरियो बोटविरुवा, फूल रोपेर महललाई थप सुन्दर पार्न सकिन्छ । महल परिसरमा निर्मित दुईवटा पोखरीको सरसफाई हुन सकेको छैन । त्यसको उचित सफाईले पोखरीको सौन्दर्यलाई पुनरताजगी बनाउन सकिन्छ । महल हेरालु उचित प्रबन्ध हुन नसक्नु, सरकारको लगानी नबढ्नु र त्यस क्षेत्रलाई पर्यटकीय स्थलकोरुपमा विकास गर्न नसक्नु राज्यकै कमजोरी हो । त्यस्ता ऐतिहासिक क्षेत्रलाई जोगाउनु र त्यसलाई पर्यटकीय स्थलकोरुपमा विकास गरी राज्यको आम्दानीको स्रोतकोरुपमा त्यसलाई परिचालन गर्न सकिन्छ । त्यसकालागि महलको उचित संरक्षण र जीर्णोद्वारको आवश्यकता छ ।
रानीमहल पुग्न सास्तीः
पाल्पाको तानसेन बजारबाट रानीमहल खासै टाढा छैन । तरपनि त्यहाँ पुग्न निकै सास्ती खेप्नुपर्छ । वर्षायाममा त ठाउँ ठाउँमा पहिरो, हिलो र खाल्डाखुल्डीले झन समस्या थपिदिन्छ । वर्षाभरी त्यहाँ पुग्नेको संख्या निकै कम हुनेगर्छ । बाटोमा ग्राभेलसमेत पर्न नसक्दा र कच्ची बाटोले साना गाडी, मोटरबाइकसमेत बाटामा घरीघरी फँस्नेगर्छ । गाडीमा सवार आफैले ढक्का मार्दै रानीमहल पुग्नुपर्ने र फर्किनुपर्ने बाध्यता छ । ठाउँ–ठाउँमा झरना र सानातिना पानीको मुहानले बाटामा खाल्डाखुल्डी र हिलाम्य बनाएको छ । पानीको सही निकास छैन । वर्षायामभरी आकाशमा बादल हेर्दै रानीमहलको अवलोकन गर्नुपर्ने बाध्यता छ । आकाशमा कालो बादल मदारियो कि रानीमहलबाट टाप थोक्नुपर्छ पर्यटकलाई । पैदल जाँदा करिब तीनघण्टा लाग्ने र गाडीमा करिब डेढ घण्टा लाग्ने कच्ची बाटोले त्यहाँ पुग्नेलाई घरीघरि बाटोले सम्झइरहेको हुन्छ ।
रानीमहल पुग्ने बाटोको स्त्तरोन्नति गर्नसके त्यहाँ पुग्ने यात्रुलाई थप सहज हुनसक्छ । रानीमहलसम्म पुग्ने अर्को उपाय केबलकार निर्माण हो । त्यसले सौन्दर्यलाई थप सुन्दर बनाउने छ । पर्यटकलाई लोभ्याउने छ । राज्यको ध्यान त्यता पुग्नसके पाल्पाको थप पर्यटकीय विकास सम्भव हुन्छ ।