‘कैलालीमा थारु–पहाडी समुदायबीचको सम्बन्ध सुमधुर बन्दैगएको छ’

पीडितले चाँडै क्षतिपूर्ति पाउनुहुन्छ


cdo

गोविन्दप्रसाद रिजाल
प्रमुख जिल्ला अधिकारी, कैलाली

तपाई कैलाली आएको चार महिना पुगेको छ, समग्र सुरक्षा अवस्था कस्तो छ ?
जिल्लाको शान्ति सुरक्षाकालागि अपनाउनुपर्ने रणनीति अपनाइरहेका छौं । जिल्ला सुरक्षा समितिको बैठक बसेर समिक्षा र सुधारको प्रयास गर्दैआएका छौं । देखिएका चुनौतिको निराकणका बारेमा निरन्तर छलफलमा छौं । समग्रमा कैलालीको सुरक्षाअवस्था अहिले सामान्य छ । जिल्लाको भूगोल ठूलो भएकाले एकआध छिटपुट घटनाबाहेक अन्य ठूलो घटना छैनन् ।

सुरक्षा व्यवस्था कायम गर्ने योजना के के अपनाउनु भएको छ ?
विगतको योजनालाई आधार मान्दै यहाँ देखिएका, भोगेको समस्यालाई मध्येनजर गरी भावी सुरक्षा योजना बनाएर अगाडि बढिरहेका छौं । जिल्ला सुरक्षा समितिले आपसी छलफल गरी योजना बनाएर कार्यान्वयन गरिरहेको छ । समयानुकुल सुरक्षा रणनीतिलाई परिमार्जन गर्दै आएका छौं । सुरक्षा व्यवस्थामा सबैको साथ र सहयोग प्राप्त भएकाले सजिलो भएको छ ।

चाडपर्वलाई केन्द्रित गरेर अपनाएको सुरक्षा व्यवस्था के के छ ?
योजना बनाएका छौं । सबै विषय भन्न मिल्दैन होला पनि । थप निगरानी राख्ने ठाउँमा निगरानी राख्ने, सीमा क्षेत्रमा ध्यान दिने । जुवातासको अवस्थालाई नियन्त्रण गर्न शंकास्पद ठाउँमा खानतलासी गरेर केहीलाई नियन्त्रणमा लिएका छौं । चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाएका छौं, अवस्था सन्तोषजनक नै छ । तिहारमा देखिने केही पटाका र जुवातास, मदिरापानको नियन्त्रणकालागि निरन्तर निगरानीको योजना छ ।

खुला सिमानाले सुरक्षामा कति समस्या पारेको छ ?
झण्डैं एकसय १ किलोमिटर खुला सिमाना छ कैलालीमा । भारतीय पक्षले २७ ठाउँमा पोष्ट राखेर सुरक्षा कडाई गरेको छ । तर हामीले जम्मा दुई ठाउँमा मात्र सुरक्षापोष्ट राखेर निगरानी गरेका छौं । जनश्रोत साधनको कमी र अन्य सुविधाको अभावले पनि सीमा क्षेत्रलाई चाहेकोजस्तो निगरानी गर्न सकेका छैनौं । भन्सार नाकामा गस्तीलाई थप मजबुद बनाएका छौं । खुला सिमानाले नियन्त्रण गर्न समस्या रहेपिन निरन्तर निगरानी छ ।

govind-rijal

टीकापुर घटनाले अनाहकमा आठजनाको ज्यान गयो, अहिलेको अवस्था कस्तो छ त्यहाँको ?
पीडित परिवारका सदस्यसँग निरन्तर भेटघाट गर्ने र पीडा सुन्ने काम गरेका छौं । मिडिया र गैरसरकारी संघ संस्था, नागरिक समाजका सदस्यहरुसँगको सहयोगमा निरन्तर परामर्श र छलफल गरिरहेका छौं । घटना राजनीतिक तवरबाट भएकाले निरुपण राजनीतिक विषयमा खोज्दा राम्रो हुन्थ्यो । जहाँसम्म कानूनी प्रक्रियाका विषय छ, त्यसमा ५८ जनालाई मुद्दा चलाएका छौं । ३३ जना फरारसूचीमा छन् । २५ जनालाई पक्राउ गरी कारवाहीको प्रक्रिया अगाडि बढेको छ । यद्यपि न्यायिक छानविन आवश्यक छ । पूर्व न्यायाधीश ग्रिसचन्द्र लालको संयोजकत्वाम उच्चस्तरीय छानविन समिति गठन भएको छ । त्यसले दिने प्रतिवेदनका आधारमा बाँकी प्रक्रिया अघि बढ्ला ।

भाद्र ८ गते केही थारु र गैरथारुको घरमा आगजनी भएको छ । आगजनी कसले गरेको हो भन्ने विषय पनि खोज्न बाँकी छ । क्षति भएको छ, त्यसको क्षतिको संकलन गरेर क्षतिपूर्तिकालागि सरकारलाई जिल्लाकोतर्फबाट सिफारिस गरिसकेका छौं । लाग्छ चाँडै क्षतिपूर्ति प्राप्त होला ।

किसानहरुलाई अहिले धान काट्ने चटारो छ, धानको मूल्य निर्धारण कहिलेसम्म हुन्छ ?
परामर्श र छलफलमा छौं । खाद्य संस्थानसँग कुरा भइरहेको छ । बैठक बसेर मूल्य निर्धारणको तयारी भइरहेको छ । माथिबाट पनि परामर्श भइरहेको छ, निर्देशन आएपछि बसेर चाँडै मूल्य निर्धारण गर्छौं । विगतको मूल्य कति थियो र अहिलेको प्रचलित मूल्य के छ यकिन गरेर किसानलाई मर्का नपर्नेगरी नै मूल्य निर्धारण गर्नेछौं ।

तपाई जिल्लामा आउँदा यहाँका नागरिकको गुनासो सम्बोधनमा कस्तो पहल गर्नुभयो ?
सकेसम्म राम्रो र सहज होस भन्ने प्रयासमा छु । राजनीतिकदल, नागरिक अगुवा, विभिन्न संघ संस्थाका सदस्यहरुसँग निरन्तर छलफल गरेर काम गरिरहेको छुँ । भावी दिनमा नागरिकका गुनासालाई न्यूनिकरण गरी सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने प्रयासमै हुन्छुँ । नागरिकले सास्ती नपाउन भन्ने मेरो प्रमुख लक्ष्य हो । काम गर्ने सिलसिलामा पनि यहाँका नागरिकको राम्रो सहयोग पाएको छुँ । नागरिकको गुनासा बुझ्ने घुम्ती शिविर पनि शुरुभएको छ । तिहारलगत्तै कैलालीको पहाडी क्षेत्रमा घुम्ती सेवा शुरुगर्ने योजना बनाएका छौं । सबैको साथसहयोग रहेमा धेरै काम गर्न सकिन्छ, जस्तो लाग्छ ।

कैलालीको मुख्य सुरक्षाको चुनौति के हो ?
शुरुमा आउँदा थारु र गैरथारुबीचको मनमुताव थियो । त्यो सुरक्षा थ्रेट थियो । अहिले सामान्य बनिसकेको छ । विवादको विषय सम्बोधन गर्न नसके त्यो सुसुप्तरुपमा रहने र पछि पुनः प्रकट हुने आशंका कायमै छ । यसलाई समयमै समाधान गर्न यहाँका नागरिक नै लाग्नुपर्ने देख्छु । राजनीतिक प्रकृतिका धेरै विषय रहेकाले दलीयरुपमा पनि त्यसको समाधान खोज्नुपर्छ । सडक, यातायातका विषय र खुला सिमानाका कारणले पनि सुरक्षा थ्रेट छ नै । वर्षायाममा कटान डुवान पनि सुरक्षा चुनौति रहने गरेपनि वर्षायाम करिब सकिएकाले त्यो थ्रेट अहिले छैन ।

अन्त्यमा जिल्लाबासीलाई केही भन्नुछ ?
शान्ति सुरक्षा बहाली, विकास निर्माण सम्बन्धी र अन्य केही गुनासा छन् भने प्रत्यक्ष टेलीफोन मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ । हामी सकेसम्म सुरक्षा व्यवस्था प्रदान गर्छौ र अन्य गुनासो सम्बोधन गर्नेछौं । नजिकै आएको तिहार तथा छठ लगायतका पर्वमा म सबै जिल्लाबासीलाई शुभकामना व्यक्त गर्दछु ।

प्रस्तुतिः लक्की चौधरी

तपाईको प्रतिक्रिया