महिला हिंसाविरुद्धको सोह्रदिने अभियान शुरु, रुकेन हिंसाका घटना


kutpit

सीता शर्मा
काठमाडौँ, मङ्सिर १० गते । ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भन्ने नारासहित शुक्रबारदेखि देशव्यापीरूपमा अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र राष्ट्रिय महिला आयोगको नेतृत्वमा सञ्चालन गरिने अभियानमा यस क्षेत्रमा क्रियाशील संस्थाहरूले सो अवधिमा दैनिक दर्जनौँ महिला हिंसाविरुद्धका चेतनामूलक कार्यक्रम गर्ने तयारी गरेका छन् । तर, महिला हिंसाविरुरूद्धका कार्यक्रम सार्वजनिक गरिरहँदा महिलाविरुद्ध हुने हिंसाका घटना रोकिएका छैनन् । महिला आफ्नै अभिभावक, श्रीमान् र समाजबाट पीडित हुनुपरेका घटना सार्वजनिक भइरहेका छन् ।

नेपाल प्रहरी महिला बालबालिका निर्देशनालयकाअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा दुई हजार २८८ वटा घरेलु हिंसाका घटना भएका छन् भने महिला हिंसाका ६६० वटा घटना भएको जनाएको छ । यस अवधिमा जबरजस्ती करणीका २९३ घटना भएका छन् भने जबरजस्ती करणी उद्योगका १५२ वटा घटना भएको सो निर्देशनालयले जनाएको छ । त्यस्तै सो अवधिमा ११५ वटा बहुविवाह घटना दर्ता भएका छन् भने अन्य बोक्सीको आरोप, गर्भपतन, मानव बेचविखनका घटना भएका छन् ।

राष्ट्रिय महिला आयोगमा आर्थिक वर्ष २०७२÷७३ मा महिला हिंसासम्बन्धी दर्ता भएका २५६ वटा उजुरीमध्ये २४४ वटा घरेलु हिंसाका उजुरीको कारबाही टुङ्गो लगाइसकेको जनाएको छ ।

यस्तै आर्थिक वर्ष २०७२÷७३ मा नौ हजार ३९८ वटा घरेलु हिंसाका घटना भएका थिए भने दुई हजार ७५ वटा महिला हिंसाका घटना भएको पाइएको छ । जबकि आर्थिक वर्ष २०७१÷७२ मा घरेलु हिंसाका आठ हजार २६८ वटा घटना भएका थिए भने महिला हिंसाका दुई हजार ३३५ घटना भएका थिए । जसमा बलात्कारका एक हजार ९० वटा, जबरजस्ती करणी उद्योगका ३५२, बहुविवाहका ४६३, बेचबिखनका २१२ र अन्य बालविवाह, गर्भपतन, बोक्सीको आरोपका घटना रहेका छन् ।

राष्ट्रिय महिला आयोगमा आर्थिक वर्ष २०७२÷७३ मा महिला हिंसासम्बन्धी दर्ता भएका २५६ वटा उजुरीमध्ये २४४ वटा घरेलु हिंसाका उजुरीको कारबाही टुङ्गो लगाइसकेको जनाएको छ ।

राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष भगवती घिमिरेले महिला हिंसाका घटनाको सङ्ख्यामा वृद्धिभन्दा पनि हिंसा सहनु हुँदैन भन्ने चेतना बढेको र सञ्चारमाध्यमले पनि महिला हिंसाका घटनालाई प्राथमिकता दिने गरेकाले सङ्ख्या बढेको देखिएको हो भन्नुभयो । उहाँले महिला हिंसाका परम्परागतरूपमा हुने घटनाभन्दा पनि फरक शैलीमा महिलामाथि हिंसा हुनेगरेकाले यस्ता घटनाका पीडितलाई न्याय दिलाउन कानुन पनि नभएकाले समस्या भएको बताउनुभयो ।

नेपाल प्रहरी, महिला बालबालिका सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक रामकुमार खनाल पनि महिला हिंसाका घटनाको सङ्ख्या बर्सेनि बढ्नुमा महिला हिंसाका घटनाप्रति संवेदनशीलता, आमनागरिकमा आएको जागरुकता, सचेतना हो भन्नुहुन्छ ।

महिला आयोगले महिला हिंसाविरुद्धको अभियान १६ दिनमात्रै सीमित नगरेर वर्षभरि अभियानकारूपमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिँदै लग्ने पनि उहाँको भनाइ छ ।

नेपाल प्रहरी, महिला बालबालिका सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक रामकुमार खनाल पनि महिला हिंसाका घटनाको सङ्ख्या बर्सेनि बढ्नुमा महिला हिंसाका घटनाप्रति संवेदनशीलता, आमनागरिकमा आएको जागरुकता, सचेतना हो भन्नुहुन्छ ।

महिला अधिकारकर्मी डा. रेणु राजभण्डारीले राज्यसत्ता र जिम्मेवार निकायमा बसेका व्यक्ति महिला हिंसाका घटनाप्रति संवेदनशील नभएकाले पीडित महिलाले न्याय पाउन नसकेको र न्याय पाउने वातावरण नहुँदासम्म यस्ता अभियान सफल हुन नसक्ने तर्क गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला साविरुद्धको दिवसको रूपमा यो अभियान मनाउने निर्णय गरेको थियो र त्यसै समयदेखि नेपालसहित विश्वका थुप्रै मुलुकमा लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न लागिएको हो ।

हरेक वर्ष नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विश्वव्यापी रूपमा विभिन्न क्रियाकलाप र कार्यक्रम आयोजना गरिन्छ । ‘सुन्तला रङले संसारलाई रङ्गाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियानमा विश्वभर चेतनायुक्त कार्यक्रम आयोजना हुँदैछन् ।

तपाईको प्रतिक्रिया