थारु आन्तरिक औपनिवेशको शिकार हैन, मुक्ति चाहन्छ

सी.एन. थारु

सी.एन. थारु

cn

हजारौं वर्षदेखि खोला, जंगलको किनारमा जीविकोपार्जन गर्ने हामी थारुले इतिहासमा प्राकृतिक विषम परिस्थिति बेहोर्दै गोही, विषालु सर्प, विच्छि, हाति, बाघ, भालुसँग पैठेजोरी खेल्दै बाँच्न सफल भयौं । मलेरियाको महामारी पनि पचायौं । इतिहासको कालखण्डमा जुन जुन देशको वासिन्दा भएर राजनीतिक रुपमा बाच्नु परेपनि अर्थतन्त्रको ठूलो हिस्सामा योगदान गर्यौं । यी सब भए हाम्रा इतिहास । तर यो पनि सत्य हो कि मलेरिया उन्मुलन पश्चात यहाँ हाम्रा नयाँ छिमेकीहरु आए । अहिलेसम्म छिमेकी प्रतिको भावना तथा छिमेकीत्वको आदर्श हामीले एकतर्फी जोगाउने काम कर्मद्वारा गरेका छौं भन्ने लाग्छ । हाम्रा छिमेकीहरुबाट हामीले कैयन उपलब्धीहरु हासिल गरेका छौं । हामीजस्तै यहाँ अनेकन प्राकृतिक मानवसमुह आफ्नो आफ्नो साँस्कृतिक विशेषता, ऐतिहासिकता तथा ज्ञानपद्धतिअनुसार अस्तित्ववान छन भन्ने बुझ्यौं । फरक फरक आस्था बोकेपनि सबैको शाश्वतसत्य करुणामय छ भन्ने विश्वास पनि जागेर आयो । अहिले पनि सहअस्तित्व कायम गरेर जीवन जिउने काम भइआएकै छ । परेकोबेला एकअर्कालाई साथदिने काम नभएको पनि होइन । अहिले त नातागोता समेत गाँसिएर मानव समाज निर्माण भएको छ । यसलाई अब कसैले भाँजो हाल्ने औकात राख्दैन । त्यसैले त राजनीतिक खेल हामीलाई स्वार्थी बनाउने प्रयत्न गरेपनि अन्ततः हामी मानवताको त्यो उच्चतम अभ्यास पनि गर्न पुग्छौं जहाँ छिमेकीलाई परेको पीडामा मलम लगाउन अग्रसर भएका घटनाहरु साक्षी छन् ।

राजनीतिक खेल हामीलाई स्वार्थी बनाउने प्रयत्न गरेपनि अन्ततः हामी मानवताको त्यो उच्चतम अभ्यास पनि गर्न पुग्छौं जहाँ छिमेकीलाई परेको पीडामा मलम लगाउन अग्रसर भएका घटनाहरु साक्षी छन् ।

हाम्रो छिमेकीलाई थाहा भएकै कुरो हो कि जहाँका हामी बासिन्दा हौं, आदिवासी भएर वाँचेका छौं । हामी आदिवासी नै रहन चाहेका हौं । हामीलाई विश्वास छ, हामी आदिवासीवाद मार्फत निर्देशित भएर यो संसार वदल्न चाहन्छौं । त्यसैले आदिवासीत्वको हामी सच्चा पहरेदार भएर यो धरतीलाई रक्षागर्ने संकल्प गरेका छौं । आदरणीय दाजुभाई, दिदीवहिनीहरु ! आधुनिक नेपाल राज्यमा हामी आवद्ध भएको २५० वर्ष भयो । यस अवधिमा राज्यको अहितमा कहिल्यै काम गरेको प्रमाण छैन । तर सामन्ति राणा–शाहको शासनकालमा यिनै थारुलाई मासिने मतवालीको कित्तामा राखे । नेपालको राज्य प्रणालीमा इतिहासकालदेखि नै खेतीयोग्य जमीन तयार गर्ने यी थारुको स्वाभिमानप्रति शंका भएर नै शासकवर्गले आफ्ना द्वारे, पाले, पुरोहित तथा गुरुहरुको सेवामा ती जमिनहरु बक्सिस तथा जगीरकोरुपमा उपलब्ध गराए । प्राकृतिक श्रोत र साधनहरुको पहुँचबाट हामीलाई बिमुख बनाउने कामभयो । हामीलाई जब पञ्चायती व्यवस्थामा एक भाषा, एक भेषको नीतिमार्फत दमन गरीयो, हाम्रा संवेदना एकाएक तरंगित हुन पुग्यो । हाम्रा परम्परा, प्रथाजनित कानुनहरु लगायत साँस्कृतिक धरोहरमाथि धावा बोल्ने कामभयो र हामीलाई पछौटेपनको सुचिमा राख्ने काम नियोजितरुपमा गरे । केही थारु एलिट्सको स्वार्थ समायोजन गर्दै पञ्चायतकालभरी फुटाउ र राजगरको नीति बमोजिम शासन लादिए भने थारु बाहुल्य क्षेत्रमा जंगल फडानी गर्दै पुनर्वास गराउने कामलाई प्राथमिकता दियो । यसले पनि थारुको अर्थराजनीतिमा प्रत्यक्ष प्रभाव पारे ।

थारुले पञ्चायतकालभरी आफू विरुद्ध हुँदैआएको शोषण र जालझेललाई लोकतन्त्रको पुनःस्थापना सँगै समायोजन गरेर संघर्ष चलाए । यसरी ठाउँठाउँमा राजनीतिककर्मीहरु शेल्टर लिंदा उनीहरुको भौतिक साधन जुटाउने काममा खटे । किसानहरु मोहियानीहकको सवाल उठाउँदै संघर्ष गर्दा त्यो पञ्चायती व्यवस्थामा राजनीतिक गतिविधि नै मानिन्थे । यसरी अन्तिम समयसम्म राजनीतिककर्मीलाई साथदिंदै अन्ततः २०४६ सालको जनआन्दोलन सफल बनाए । तर प्रजातान्त्रिक व्यवस्थामा समेत थारु अपमानित जीवन कमैया, कमलहरी, बुक्रही भएर नेतागणको घरमा विताउनु पर्यो । बँधुवा मजदुर भई जीवन गुजारा गर्दापनि हामी थारु छिमेकीहरुको मानमर्दन गरेनौं । बरु राजासाहेव, मालिक, माल्किन, हजुर भनेर सम्बोधन गरेको मनमष्तिष्कमा अझै ताजै छ ।

थारु आन्तरिक औपनिवेशिकताको शिकार भएको महसुस पहिले देखि गरिआएकै हो । टीकापुर घटनाक्रमबाट उत्पन्न परिस्थितिले अझ यसलाई पेचिलो बनाउने काम गर्यो ।

पहिले हामी भाषिक अधिकारको सवाल उठायौं र राजनीतिबाट धर्म अलग गर्ने विषयसँग एकाकार गर्यौं । तर प्रजातन्त्रमा त्यो पनि संविधानमा उल्लेखित अधिकारको कुरो उठ्दा हामीउपर ज्यादति शुरुभयो । एक दशकपछि श्रावण २ गते वर्षाको समयमा वेघर बनाइएका पीडाहरु पनि छन् । अहिले थरुहट राज्य प्राप्तीको लागि संघर्ष गर्न अग्रसर भयौं जुन हाम्रा छिमेकीहरुलाई असह्य हुँदैछ । यतिबेला छिमेकीहरुले नै हामीलाई विखण्डनकारी देख्न थाल्नुभयो जबकी उहाँहरुलाई थाहा छ कि थारु आफ्नो थातथलोको विषयमा कति गम्भिर छ भन्ने कुरा । थारु अनेकन प्राकृतिक प्रकोपका बाबजुद आफ्नो भाग्य अजमाउन बोर्डर पार गरेनन् न त उनीहरु पहाड नै उक्ले । आफ्नो पूर्खाले गुल्जारगरेको भूमी राज्यको ऐनहरुले खोस्ने काम गरेपनि राज्य विरुद्धको विद्रोह गरेको इतिहास छैन । हो, आफ्नो जीवनलाई दाउमा राखेर तत्कालिन माओवादीले उठाएको जनयुद्धमा साथ दिए । हाम्रा छिमेकीहरुलाई यी सबै जानकारी भएकै विषयहरु हुन । अझ थारुको जातीय सफाया गर्ने राज्यको योजना थियो । दोस्रो जनआन्दोलन पश्चात थारुको आफ्नै नेतृत्वमा आन्दोलन गरेको पनि सत्य हो । अहिले पनि उक्त आन्दोलनहरुमा पाँचजना जीवन आहुति दिईसके भने २०७२ साल भाद्र ७ गते टीकापुर घटनाको आवरणभित्र थारुको जातीय सफाया गर्ने राज्यको योजना नश्लीय राजनीति प्रतिबिम्बित गरे । शायद यसले गणतान्त्रिक नेपालको औपनिवेशिक चरित्रसतहमा ल्याएको भन्न सकिन्छ । थारु आन्तरिक औपनिवेशिकताको शिकार भएको महसुस पहिले देखि गरिआएकै हो । टीकापुर घटनाक्रमबाट उत्पन्न परिस्थितिले अझ यसलाई पेचिलो बनाउने काम गर्यो ।

हामी थारु आन्तरिक उपनिवेशबाट मुक्ति चाहन्छौं र अब नेपाललाई वहुलराष्ट्रिय राज्यकोरुपमा परिवर्तन गर्न अन्तिम लडाई गर्न तयार छौं ।

हाम्रा छिमेकी अहिले थारुबाट डराउने र थारु उपरोक्त छिमेकीहरुबाट तर्सिने काम हुँदैछ । व्यक्तिगत रुपमा मेरो विन्ती छ कि हाम्रा छिमेकीहरुप्रति त्यस्तो वैमनष्यता हाम्रो छैन । कुनैवेला छिमेकीले र कुनै वेला हामीले छिमेकीलाई ठेलमठेल गर्दा उहाँहरुको चित्तदुखेको होला । हाम्रो पनि चित्त दुखे होलान् । यो आलेख मार्फत हाम्रा छिमेकीहरुलाई ठेलमठेलकोवेला परेको अन्यायप्रति अथवा आरोप प्रत्यारोपको कारणले हुनपुगेको छिमेकीत्वको उपहासप्रति गम्भिर छलफल गर्न तयार नै छौं । अर्को कुरो छिमेकीको धर्मप्रति सधैं प्रतिबद्ध रहँदै अगामी दिनमा पनि यसलाई प्रगाढ बनाउने दिसामै हाम्रो योगदान रहनेछ । मेरोतर्फबाट छिमेकीत्व पालना गर्न कुनै कसर बाँकी नराख्ने संकल्प दोहर्याउन चाहन्छु । यससँगै छिमेकीहरुलाई यो पनि ज्ञात रहोस् कि थारुलाई सधैं उपनिवेशमा राख्ने राज्यको सारभूत आधार भत्काउन जुनसुकै विधि अपनाउन तयार हुनेछौं । आदरणीय दाजुभाई दिदीवहिनीहरु ! हामी थारु आन्तरिक उपनिवेशबाट मुक्ति चाहन्छौं र अब नेपाललाई वहुलराष्ट्रिय राज्यकोरुपमा परिवर्तन गर्न अन्तिम लडाई गर्न तयार छौं । यसबाट फेरि पनि हाम्रा छिमेकीहरुलाई नकारात्मक असर पर्नसक्छ । उहाँहरुप्रति संघर्षकोवेला जान÷अन्जानमा दुव्र्यवहार हुनसक्ला । त्यसलाई स्वभाविकरुपमा लिंदै हाम्रा छिमेकीहरुको हितलाई ध्यान दिने राज्य भएपनि हामी त्यसलाई उल्टाउने अन्तिम कोशिश गर्ने छौं । तर छिमेकीत्वलाई अमर बनाइराख्ने हाम्रो प्रतिबद्धतामा कुनै कमी आउन दिने छैनौं । लेखनी विसाउँदै छु । बाँकी संघर्षको मैदानबाट जे निर्णय हुन्छ सबैले स्वीकार गरौंला । धन्यवाद ।

(पूर्व केन्द्रीय अध्यक्ष थारु विद्यार्थी समाज)

तपाईको प्रतिक्रिया