जनजाति महासंघमा भिड्ने यी नेताका अनुहार, कस्ले बाजी मार्ला ?


प्रबिन कुलुङ राई
काठमाडौं, पुस २ गते । नेपाल आदिवासी जनजाती महासंघको नवौं महाधिवेसन चितवनको भरतपुरमा सुरु भएको छ । ५६ वटा जातिय संस्थाहरुको सहभागिता रहेको महासंघको महाधिवेसन शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरको विरेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गगणमा उद्घाटन गरेका छन् ।

‘पहिचान र अधिकारसहितको संघीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनको लागि हाम्रो साझा अभियान’ भन्ने नाराका साथ सुरु भएको महाधिवेशन तीन दिनसम्म चल्नेछ । आदिवासी जनजाति महासंघको निर्वाचनमा यसपाली पनि पार्टीगत चुनाव नै हुने पक्का भएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), संघीय समाजवादी फोरम र नेकपा माओवादी केन्द्रका जनजाति नेताहरु आफ्नो उम्मेदवार जिताउने तिव्र कसरतमा छन् । चारै पार्टीका जनजाति नेताहरु भिडेर मैदानमा लागेका छन् ।

यी हुन् अध्यक्षका दाबेदार
हालसम्म अध्यक्षको लागि ५ जनाले दाबेदारी प्रस्तुत गरेर दौडधुपमा लागिरहेका छन् । नेकपा (एमाले) निकट लोकतान्त्रिक किरात राई संघका वरिष्ठ उपाध्यक्ष सर्बधन राई, एमालेबाटै सूर्य भुजेल पनि दाबेदार हुन् । राई किरात राई यायोक्खाको प्रतिनिधि हुन् भने भुलेज सेवा समितिको ।

यता, नेपाली कांग्रेसका जगत बराम एक्लो उम्मेदवार हुन् । नेपाल आदिवासी जनाजाति महासंघका कोषाध्यक्ष समेत रहेका बराम कांग्रेसका सक्रिय कार्यकर्ता हुन् । गोरखा स्थायी घर भएका बरामलाई नेपाली कांग्रेसले सर्बसम्मत रुपमा आफ्नो उम्मेदबार बनाएको छ ।

यसैगरी संघीय समाजवादी फोरमले नित्यानन्द ताजपुरियालाई उम्मेदवार बनाएको छ । ताजपुरिया महासंघकै पूर्वसचिव हुन् । झापा लखनपुर–२ स्थायी घर भएका ताजपुरिया संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य हुन् । ताजपुरिया समाज कल्याण परिषदबाट महासंघको अध्यक्षको दाबेदार बनेका ताजपुरियालाई पनि सर्बसम्मत रुपमा संघीय समाजवादी फोरमले आफ्नो उम्मेदवार बनाएको छ ।

उनी समाजिक अभियानमा भन्दा पनि राजनीतिक संगठनमा बढी सक्रिय छन् । माओवादी केन्द्रबाट नवाङ शेर्पा पनि अध्यक्षका दावेदार छन् । शेर्पा संघका महासचिव शेर्पा पनि लामो समयदेखी सामाजिक अभियानमा लागेका अभियान्ता हुन् । उनी एमालेबाट माओवादीमा पुगेकी लक्की शेर्पाका पति समेत हुन् ।

एमालेभित्र सकस
निर्वाचनमा संघीय परिषद् सचिवालयको कार्य समिति चुनावमा ५६ जातीय संगठनले मात्र मतदान गर्न पाउँछन् । हरेक जातिय संस्थाले आफ्नो प्रतिनिधि पठाउँने गर्छन् । जातिय संस्थाले पठाएको प्रतिनिधि नै यसको आधिकारिक उम्मेदवार हो । महासंघको जिल्ला र शाखा र विदेश शाखा पनि छ । तर, उनीहरुलाई चुन्ने र चुनिने अधिकार छैन । उनीहरु परिवेक्षकको रुपमा मात्रै महाधिवेशनमा सहभागी हुन पाउछँछन् । मतदान प्रक्रियामा भने ५६ जातीय संगठनले पठाएको प्रतिनिधले मात्रै भोट हाल्न पाउँछन् ।

यस हिसाबले अहिलेसम्म सबैभन्दा बलियो नेकपा एमाले रहेको बताईन्छ । तर, नेकपा एमालेकै दुईजना अध्यक्षको उम्मेदवार बनेपछि को छान्ने ? भन्ने बिषयमा सकस परेको छ । राई किरात राईहरुको संस्था ‘किरात राई यायोक्खा’को तर्फबाट नेपाल आदिवासी जनजाति महासंघको लागि अध्यक्षको उम्मेदवार छन् ।

उनी तीन दसकदेखी समाजिक आन्दोलनमा छन् । किरात राई यायोक्खामा धापासी प्रारम्भिक कार्य समितिबाट २०४७ साधारण सदस्य हुंदै किरात राई यायोक्खाको केन्द्रिय कोषाध्यक्षसम्म बनेका हुन् । किरात राई अन्तराष्ट्रिय समन्वय समितिको कोषाध्यक्ष पनि हुन् ।

उनी नेकपा (एमाले) निकट नेपाल लोकतान्त्रिक किरात राई संघमा केन्द्रिय सदस्य, महासचिव हुंदै हाल संघको उपाध्यक्ष छन् । उनी तत्कालिन एमालेका उपाध्यक्ष अशोक राईको नेतृत्वमा ठुलो संख्यामा एमाले निकट राईहरुले एमाले परित्याग गरेपछि भताभुङ्गग जस्तै भएको एमाले निकट नेपाल लोकतान्त्रिक किरात राईलाई सम्हाल्ने मध्येका एक हुन् ।

पार्टीलाई अप्ठ्यारो पर्दा समेत ‘दायाँबायाँ’ नगरी पार्टीको पक्षमा उभिएको कारण पनि उनको दाबेदारी बलियो रहेको लोकतान्त्रिक राई संघका महासचिव जीवन राईले बताए । उनले भने, ‘पार्टीलाई संकटमा पर्दा शतिसाल जस्तै भएर उभिएको कारण पनि सर्बधन राईलाई उम्मेदवार बनाउनुपर्छ ।’

भुजेल समाज सेवा समितिबाट उम्मेदवार बनेका सुर्य भुजेल समाजिक र राजनीतिक आन्दोलनमा उतिधेरै क्रियाशिल छैनन् । उनी पोखरामा रहेर पर्यटन व्यवसायीको रुपमा सक्रिय छन् । महासंघको उपाध्यक्ष भइसकेको कारण आफूले आदिवासी जनजाति महासंघ हाक्न सक्ने उनको दाबी छ । भुजेल हाल महासंघको उपाध्यक्ष छन् ।

महासचिव भोटे प्रतिनिधि नै नभएपछि
एमालेले वर्तमान महासचिव पेम्बा भोटेलाई नै अध्यक्षको उम्मेदबार बनाउने तयारी गरेको थियो । तर, उनी महाधिवेशनको लागि प्रतिनिधि नै नभएपछि एमालेमा सकस भएको हो । भोटे सेवा समितिबाट प्रतिनिधि बन्ने प्रयास गरे पनि भोटे सफल भएनन् ।

एमालेले वर्तमान महासचिव पेम्बा भोटेलाई नै अध्यक्षको उम्मेदबार बनाउने तयारी गरेको थियो । तर, उनी महाधिवेशनको लागि प्रतिनिधि नै नभएपछि एमालेमा सकस भएको हो ।

भोटे सेवा समितिबाट एमालेकै नृप भोटे प्रतिनिधि छानिए । नृपले उपाध्यक्षको दाबेदारी गरेका छन् । पार्टीको आन्तरिक समिकरणको कारण महासचिव भोटे प्रतिनिधि हुनबाटै बञ्चित भएका हुन् ।

पार्टीका चुनावी कमाण्डर
सधैं जसो नेपाल आदिवासी जनजाति महासंघको निर्वाचनमा अल्पसंख्यक र बहुसंख्यक जनजातिबीच ध्रुवीकरण हुने गरेको थियो । यसअघिको महासंघको निर्वाचनमा अल्पसंख्यक र बहुसंख्यक जनजातिबीच धु्रवीकरण हुदा अल्पसंख्यक समुदायगत संस्थाहरु एकतिर लाग्दा नगेन्द्र कुमालले चुनाव जितेका थिए ।

त्यसअघिका निर्वाचनमाहरुमा पनि अल्पसंख्यक एंव बढी सिमान्तकृत समुदायका प्रतिनिधि अध्यक्ष बनेका थिए । यसअघि पासाङ्ग शेर्पा, राजकुमार लेखी, डा।ओम गुरुङले नेतृत्व सम्हालीसकेका छन् । तर, यस पटक भने अल्पसंख्यक र बहुसंख्यको नारा नलागेको बताइन्छ । पार्टीगत चुनावको प्रभाव बढी परेको छ ।

यस पटक दलीय मोर्चा र शक्तिकै हिसाबले महासंघको नेतृत्व चयन हुने बताइएको छ । यस निम्ति एमालेले सचिव एंव एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पृथ्वी सुब्बा गुरुङ, परशुमेघी गुरुङ, कांग्रेसले आईबी गुरुङ, माओवादीले वर्षमान पुन र संघीय समाजवादी फोरमले रकम चेम्जोङलाई चुनावी कमाण्डरको रुपमा खटाएको छ । सबै नेताहरु एक साताअघिदेखी चुनावी दौडधुपमा छन् ।

को बलियो ?
महासंघको अबको नेतृत्वका लागि खासगरी एमाले, कांग्रेस र संघीय समाजवादी फोरमबीचमै कडा प्रतिस्पर्धा हुने देखिएको छ । कूल ५६ मतमध्ये एमाले पहिलो, दोस्रो कांग्रेस र तेश्रो संघीय समावादी फोरम छन् । चौथोमा नेकपा माओवादी केन्द्र रहेको बताइन्छ ।

यसअघिको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेविच समिकरण बनेको थियो । कांग्रेसका नगेन्द्र कुमाल अध्यक्ष र एमालेका पेम्बा भोटे महासचिव बनेका थिए । हाल दुबै संसद छन् । अघिल्लो निर्वाचनमा यसपाली एमालेलाई अध्यक्ष दिने अनौपचारिक सहमति भएको बताइन्छ । तर, यसपाली सत्ता समकिरण अनुसार कांग्रेस र माओवादीको समिकरण बनाउने प्रयास भइरहेको छ ।

तपाईको प्रतिक्रिया