लक्की चौधरी
काठमाडौं, पुस ३ गते । रेडियो, टेलिभिजन र अनलाइन कार्यक्रम र समाचारमार्फत् तपाई कसैलाई गाली त गरिरहनुभएको छैन, झुठको खेती गर्नुभएको त छैन ? यदि गरिहनु भएको छ भने होसियार ! अब प्रेस काउन्सिल नेपालले तपाईका रेडियो, टेलिभिजन, अनलाईनमार्फत बज्ने कार्यक्रम र समाचारको उच्च प्रविधिबाटै अनलाईन अनुगमन शुरु गरेको छ ।
प्रेस काउन्सिल नेपालले करिब डेढ करोड रुपियाँ लगानीमा कार्यालयबाटै अनलाईन अनुगमन गर्नसक्ने उच्चप्रविधि मेशिन भित्र्याएको छ । सो मेशिनको सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले आइतबार उद्घाटन गर्नुभएको छ । एक करोड ५४ लाख ४४ हजार नौसय ९२ रुपिया खर्चेर काउन्सिलले देशभरका मिडियाको अनुगमन कोठामै बसेर गर्नसक्ने प्रविधि तयार गरेको हो ।
काउन्सिलको नयाँ प्रविधिले आचारसंहिता उल्लंघनको घटनामा कमी आउने र पत्रकारितामा जिम्मेवारीपन र गुणस्तरीयता बढ्ने विश्वास गरिएको छ । अहिलेसम्म अनुगमनको काम प्रभावकारी हुन नसक्दा मिडिया छाडा हुनेगरेको र आचारसंहिता उल्लंघनको घटना बढी हुनेगरेको बुझाई काउन्सिलको थियो । तर अब सबै मिडियाको कार्यक्रम र समाचारको रेकर्ड काउन्सिलकै प्राविधिक मेशिनमा रेकर्ड हुने भएपछि अनुगमन र कारवाहीमा समेत प्रभावकारिता आउने विश्वास काउन्सिलका पदाधिकारीहरुको छ ।
कार्यक्रममा प्रविधियुक्त मेशीनको उद्घाटन गर्दै मन्त्री कार्कीले थोरै भएपनि नेपाली मिडियालाई जिम्मेवार बनाउने विश्वास गर्नुभयो । मिडियाले प्रेसित र सम्प्रेसित गर्ने सबै कार्यक्रम र समाचारहरु काउन्सिलको मेशिनमा रेकर्ड हुने भएपछि छाडापनमा कमी आउने र लेखक तथा कार्यक्रम बनाउनेहरुमा समेत सचेतता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
“यसअघि नेपाली सञ्चारमाध्यम अलि छाडा र नियन्त्रणबाहिर थियो, अब काउन्सिलको मेशिनको निगरानीमा आएको छ, यसले थोरै भएपनि नेपाली मिडिया र मिडियाकर्मीलाई जिम्मेवार र गुणस्तर बनाउनेमा विश्वास छ” मन्त्री कार्कीले भन्नुभयो । प्रविधियुक्त मेशिनलाई थप प्रभावकारी बनाउन सरकारकोतर्फबाट आवश्यक बजेटको व्यवस्था गर्दैजाने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
अहिले सरकारी सञ्चारमाध्यममा गोरखापत्र, दि राइजिङ नेपाल, राससजस्ता सञ्चारमाध्यम जिम्मेवार र गाउँघरको समाचारलाई प्राथमिकता दिने गरेपनि निजीस्तरका मिडियाले त्यो काम गर्न नसकेको मन्त्री कार्कीले बताउनुभयो । “अरु मिडियालाई पनि सरकारी मिडियाजस्तो जिम्मेवार बनाउनमा काउन्सिलको प्रविधियुक्त मेशिनले भूमिका खेल्नेछ” उहाँले भन्नुभयो ।
काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले आधुनिक उपकरणको जडानले करिब नियन्त्रणबाहिर रहेका नेपाली मिडियालाई जिम्मेवार र गुणस्तर बनाउने बताउनुभयो । मेशिन जडान गरेर नेपाली मिडिया र मिडियाकर्र्मीलाई निरुत्साहित गर्ने लक्ष्य काउन्सिलको नभएको बताउँदै उहाँले नेपाली पत्रकारितालाई थप प्रभावकारी र जिम्मेवार बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपालमा मिडियाको विकास लोभलाग्दो भएपनि गुणस्तरीयतामा त्यति नै कमजोरी रहेको उहाँले टिप्पणी गर्नुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले नेपाली मिडिया प्रयोग गरेर अपराधीक मानसिकताका व्यक्तिले तथानाम गालीगलौज गरेर बोल्ने तर त्यसको रेकर्ड मिडियामा नहुने भएपछि कारवाही गर्न समेत समस्या भइरहेको बताउनुभयो । यस्तो अवस्थामा काउन्सिलले सबै मिडियाको रेकर्ड राख्नसक्ने आधुनिक मेशिन ल्याएर ऐतिहासिक काम गरेको विष्टले तर्क गर्नुभयो । “अव अपराधीलाई उम्कने छुट रहँदैन, जुनसुकै कुनामा जस्तोसुकै गालीगरेर अन्तरवार्ता दिएपनि त्यो काउन्सिलको मेशिनले रेकर्ड गर्नेछ” उहाँले भन्नुभयो ।
काउन्सिलका सूचना प्रविधि अधिकृत रामशरण बोहराकाअनुसार आधुनिक प्रविधि भित्र्याउन करिब एक वर्षको तयारीले सफल भएको बताउनुभयो । काउन्सिलमा सो प्रविधि भित्र्याउनमा सूचना प्रविधि क्षेत्रका विभिन्न विज्ञहरुले साथदिएका थिए । बोहराकाअनुसार सो प्रविधि ल्याउनमा अर्थमन्त्रालयका सूचनाप्रविधि अधिकृत ठेकु श्रेष्ठ, आइटि इन्जिनियर किशोर चापागाई, सुबोध नेपाल, आइ.सि.टि. प्रा.लि.का विरोध रिजाल लगायतले सहयोग गरेका थिए ।
पहिलोचरणमा काउन्सिलले १६ वटा टेलिभिजन, अनलाईनबाट सञ्चालन हुने १५० वटा रेडियो, ५०० जति अनलाईनको सबै रेकर्ड आफनो मेशिनमा रेकर्ड गर्नसक्ने क्षमता राख्छ । यी मिडियाबाट प्रशारित तथा सम्प्रेषित सबै कार्यक्रमको करिब दुई वर्षसम्म मेशिनमा स्टोरेज गर्नसक्ने क्षमता रहेको बोहराले बताउनुभयो ।
आइसिटी प्रा.लि.ले रेडियो र अनलाईनको सिष्टम डिजाइन गरेको थियो भने वेव्स ग्रुपले टेलिभिजन अनुगमनको सिष्टम डिजाईनमा काउन्सिललाई सहयोग गरेको थियो । आइटि प्राविधिकहरुको लामो सहयोग र परामर्शमा काउन्सिलले आधुनिक मेशिन र सफ्टवेयरको निर्माण गर्न सफल भएको सूचनाप्रविधि अधिकृत बोहराले जानकारी दिनुभयो ।
पहिलोचरणमा काउन्सिलले १६ वटा टेलिभिजन, अनलाईनबाट सञ्चालन हुने १५० वटा रेडियो, ५०० जति अनलाईनको सबै रेकर्ड आफनो मेशिनमा रेकर्ड गर्नसक्ने क्षमता राख्छ । यी मिडियाबाट प्रशारित तथा सम्प्रेषित सबै कार्यक्रमको करिब दुई वर्षसम्म मेशिनमा स्टोरेज गर्नसक्ने क्षमता रहेको बोहराले बताउनुभयो । सरकारले थप ५० लाख रुपियाँजति लगानी गरे नेपालका सबै टेलिभिजन, रेडियो र अनलाईनलाई मेशिनमा रेकर्ड गर्नसकिने उहाँले जानकारी दिनुभयो ।
नेपालमा अहिले ८५ वटा टेलिभिजनले अनुमति लिएका छन् । छसय ५० रेडियो, ५०३ वटा अनलाईन काउन्सिलमा सूचिकरणमा रहेको बोहराले बताउनुभयो । सञ्चालनमा रहेका रेडिया सबैको अनलाईन प्रशारण नभएपछि रेकर्डमा राख्न कठिनाई भएको बताउँदै बोहराले आगामी दिनमा सबै रेडियोको अनलाईन प्रशारणको व्यवस्था हुनसके सबैलाई काउन्सिलको निगरानीमा ल्याएर अनुगमनको काम हुने बताउनुभयो ।