लक्की चौधरी
काठमाडौं, पुस ४ गते । थारु समुदायको प्रमुख चाड माघीको अवसरमा हरेक वर्ष उपत्यकामा मनाउँदै आएको माघी महोत्सव गतवर्षजस्तै यसवर्ष पनि दुई ठाउँमा हुने देखिएको छ । थारु कल्याणकारिणीसभा उपत्यका समिति र थारु विद्यार्थी समाजबीचको टकराव साम्य हुन नसकेपछि दुई ठाउँमा महोत्सव हुने भएको हो ।
थारु कल्याणकारिणीसभा उपत्यका समितिले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव आयोजना गर्दैआएको छ । गतसाल २०७२ माघी महोत्सवमा विद्यार्थी तथा युवाहरुले थाकसप्रति असन्तुष्टि जनाउँदै अलग महोत्सवको आयोजना गरेका थिए । यस पटक पनि थारु विद्यार्थी समाज केन्द्रीय कार्यसमिति र वर्दियाली थारु विकास मञ्चसहित २७ वटा संघ संस्थाले संयुक्तरुपमा छुट्टै महोत्सवको तयारी गरेका छन् । उता थाकस उपत्यका समिति पनि महोत्सवको तयारी गरेको छ ।
दुवै पक्षबाट टुँडीखेल मैदानका लागि आर्मी अफिसर्स क्लवमा निवेदन गएको छ । क्लवले कसलाई मैदान दिने अन्यौलता प्रकट गरेको छ । एकलाई दिंदा अर्को रिसाउने भएपछि सम्भवतः दुवै पक्षलाई आधा–आधा भाग दिने तयारी क्लवले गरेको छ । त्यस्तै, दुवै पक्षले विकल्पका लागि काठमाडौं महानगरपालिकाको कार्यालयमा पनि खुलामञ्चका लागि निवेदन चढाएका छन् । तर दुवैको रोजाईमा टुँडीखेल रहेको छ ।
गतसाल दुवै पक्षको विवाद र तानातानकाकारण क्लवले मगर समुदायलाई टुँडीखेल महोत्सव लागि दिएको थियो । थारुको एउटा महोत्सव दशरथ रंगशालामा थियो भने अर्को खुलामञ्चमा थियो । तर यस पटक दुवै पक्षको नजर टुँडीखेलमा रहेको छ । विद्यार्थीकोतर्फबाट पहिलो निवेदन क्लवमा गएको छ । त्यसपछि थाकस उपत्यकाले दिएको छ । तर उपत्यकाले आफू आधिकारिक भएकाले टुँडीखेल आफूले पाउनुपर्ने दवाव दिएको छ । विद्यार्थीहरुले पहिलो निवेदन आफूले दिएकाले टुँडीखेल आफूले पाउनुपर्ने अडान राखेको छ ।
विवादको मुख्य दुई कारणः
महोत्सव अलग अलग मनाइनुको मुख्य दुई कारण देखिएका छन् । पहिलो– महोत्सवको नेतृत्व आलोपालो गर्ने । दोस्रो– महोत्सवबाट उठेको रकम पारदर्शीताकालागि संयुक्त खाता खोल्ने । दुवै विषय सामान्य लागेपनि विवाद मिल्न सकिरहेको छैन । दुई तीन चरणको छलफल र वार्ता भएपनि विवाद मिल्न सकेको छैन । थाकसले नेतृत्व दिन तयार छैन । माउसंस्था भएकाले महोत्सवको नेतृत्व दिन नसकिने तर्क महोत्सव संयोजक तथा उपत्यका समिति सभापति सुमन चौधरीको छ ।
तर यता विद्यार्थीका अध्यक्ष चन्द्रप्रसाद चौधरीको भनाईमा थाकसले बदनामी कमाई सकेकाले युवा विद्यार्थीलाई नेतृत्व दिएर महोत्सवलाई थप पारदर्शी र भव्य बनाउनुपर्ने सुझाव दिएको छ । संयुक्त हस्ताक्षरमा खाता सञ्चालन हुँदा रकमको दुरुपयोग हुन नपाउने र नागरिकको विश्वास बढ्ने तर्क विद्यार्थीको छ । तर दुवै काम गर्न थाकस तयार देखिदैन । यही समस्याले महोत्सव दुई ठाउँमा हुने देखिएको छ ।
थाकस उपत्यका समितिका सभापति चौधरीले संयुक्त हस्ताक्षरसहितको खाता खोल्न आफूहरु तयार रहेपनि नेतृत्व दिन नसकिने बताए । संयुक्त हस्ताक्षर खोल्दा बैंकमा कागजातको समस्या हुने, अडिटको समस्या हुने तर्क चौधरीको छ । थाकसको लेटरप्याड नभए बैंकले नपत्याउने र सरकारबाट आउने पैसा समेत रोकिने डर चौधरीको छ । सरकारलाई वार्षिक प्रतिवेदन बुझाउनु पर्ने अवस्थाले आफूले अडान राखेको सभापति चौधरीको दावी छ ।
माघी महोत्सव मूल आयोजक समितिका दुई संयोजकको भनाई हेरौं
चन्द्रप्रसाद चौधरी (संयोजक) थारु माघी मूल आयोजक समिति २०७३
पोहोरसाल चारदिनको तयारीले खुलामञ्चमा महोत्सव भव्य बनाएका थियौं । यसपटक दुई महिना तयारी गरेर अझ भव्य बनाउने तयारी भएको छ । पोहरसाल घाटामा थियौं, यस पटक पोहरको क्षतिपूर्तिसहित उठाउने तयारी छ । महोत्सवलाई प्रधानमन्त्रीबाट उद्घाटन गराउने हाम्रो तयारी छ । त्यसकालागि पहिलो चरणमा कुरा भएको छ ।
महोत्सवमा राष्ट्रियस्तरका कलाकार महजोडी, राजेश हमाल, करिष्मा मानन्धर, धुर्मुस, सन्तुली लगायतलाई आमन्त्रण गर्ने तयारी गरेका छौं । पहिलो चरणको कुरा भइसकेको छ । यसपाली एकसयको हाराहारीमा स्टल रहने छ । विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएकालाई सम्मानित गर्ने, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने, उपत्यकामा थारुहरुको भवन निर्माणका लागि कोष छुट्याउने तयारी हाम्रो छ ।
हामी एकै ठाउँमा माघी महोत्सव होस भन्ने चाहन्छौं । तर थाकसले आर्थिक पारदर्शीता नेदेखाउँदा समस्या भइरहेको छ । संयुक्त हस्ताक्षरमा खाताखोली हिसाव किताव पारदर्शी गर्न तयार भए हामी नेतृत्व स्वीकार्न तयार हुन्छौं । थाकसको नेतृत्व महोत्सवमा हुँदा केही फरक पर्दैन तर आर्थिक पारदर्शीता चाहिन्छ ।
सत्यनारायण चौधरी ‘सुमन’ (संयाजक) माघी महोत्सव मूल आयोजक समिति २०७३
युवा विद्यार्थीले राखेको सर्तमा हामीलाई कुनै समस्या छैन । छलफल गर्न तयार छौं, गरिरहेकै छौं । हामी माउ संस्था हो । फुटेर हामी गएको हैन, विद्यार्थीहरु गएका हुन् । उनीहरुले नेतृत्व आलोपालो गरौं महोत्सवको माग राखेका छन् । त्यो हामी स्वीकार गर्न सक्दैनौं । थारु विद्यार्थी समाजजस्ता यहाँ करिब तीसवटा थारुको संस्था छन् । सबै सहआयोजक बस्दैआएका छन् । आज थारु विद्यार्थीलाई नेतृत्व दिंदा भोली अर्कोले पनि दावी गर्छ । यो समस्याको समाधान होइन, झगडाको विउँमात्र हो ।
जहाँसम्म संयुक्त हस्ताक्षरमा खाता खोल्ने कुरा छ । त्यसमा हामी तयारै छौं । तर मुख्य हस्ताक्षरकर्ता हामी हुन्छौं । थाकसकै लेटरप्याड र छाप प्रयोग गरिनुपर्छ । यो वर्ष पनि हामीले संयुक्त हस्ताक्षरमा अलग खाता खोलिसकेका छौं । थाकस सहकारी संस्थामा सभापतिको नाताले मेरो, आर्थिक संयोजक (अडिटर) युवराज चौधरी र विद्यार्थी संजय चौधरीको संयुक्त हस्ताक्षरमा खाता खोलेका छौं । भोली अरु कोही आउँछ भने त्यसमा हस्ताक्षर थप गर्न हामीलाई समस्या छैन ।
तर भोलि अडिट गर्दा आधिकारिक कागजात र संस्थाको लेटरप्याड खोज्छ । दर्ता भए नभएको, नविकरण भएनभएको कागजात खोज्छ । त्यसैले पनि हामी जिम्मेवारी महशुस गरी विद्यार्थीलाई महोत्सवको आयोजना दिन तयार छैनौं । आर्थिक पारदर्शीताका कुरा जहाँसम्म छ । हामी आर्थिक नेतृत्व विद्यार्थीलाई गर्न दिन तयार छौं । सबै हिसाव किताव तपाईहरु नै राख्नुस र खर्च पनि तपाईहरुले भनेअनुसार नै होस् । तर थाकसको ट्रयाकभन्दा बाहिर महोत्सव नजावस् भन्ने हाम्रो भनाई हो ।
महोत्सवमा प्रमुख अतिथिका लागि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधान न्यायाधीश मध्येबाट एकजनालाई ल्याउने तयारी भइरहेको छ । थरुहट थारुवान संयुक्त संघर्ष समितिले सरकारमा बसेकालाई प्रमुख अतिथि नबनाउने सुझाव दिएपछि विकल्पमा हामी त्यता जाने तयारी गरेका हौं । आउने शनिबारबाट स्टल बुकिङ खुला गर्छौं ।