आउने वर्षदेखि एस.एल.सी. परीक्षा हुँदैन, एस.ई.ई. हुन्छः पनिका


विजेता चौधरी
काठमाडौं, पुस १४ गते । चैत महिना नजिकिएसँगै यो वर्ष एसएलसी हुने हो कि होइन भन्ने जिज्ञासा सबैमा बढेको छ । कतिपय अन्योलमा पनि छन् ।

यो अन्योल र जिज्ञासा हटाउन परीक्षा नियन्त्रण कार्यालयले यो वर्षदेखि एसएलसी परीक्षा नहुने स्पष्ट पारेको छ । एसएलसी नभए पनि यस्तैखालको परीक्षा भने हुनेछ, जसलाई एसईई भनिनेछ ।

पनिकाका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीकाअनुसार यो वर्षदेखि कक्षा १० माध्यमिक शिक्षा परीक्षा (एसईई) हुनेछ । शिक्षा ऐनले स्कुल लिभिङ सर्टिफिकेट अर्थात् एसएलसीलाई कक्षा १२ मा सारेको छ किनभने अब कक्षा १२ सम्मलाई नै स्कुल मानिनेछ । कक्षा १० मा भने एसएलसीसरह नै एसईई हुनेछ ।

पनिकाका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीकाअनुसार यो वर्षदेखि कक्षा १० माध्यमिक शिक्षा परीक्षा (एसईई) हुनेछ ।

पछिल्लो पटक एसएलसी परीक्षाको नतिजा पहिलोपटक ग्रेडिङ प्रणालीबाट भएको थियो । त्यतिबेला विद्यार्थीहरूमा नतिजालाई लिएर जति उत्साह देखिएको थियो, त्यति नै द्विविधा र अन्योल पनि ।

एसईई प्रणालीले कक्षा १० का विद्यार्थीमा त्यस्तै अन्योल सिर्जना गर्ने कतिपयको तर्क छ । परीक्षा नियन्त्रक रेग्मी भने त्यस्तो नहुनेमा ढुक्क छन् । उनी भन्छन्, “यो वैज्ञानिक पद्धति हो । १०—१० जनाको सानो समूहमा विद्यार्थीको ग्रेडिङ गरिन्छ । विद्यालयका शिक्षक तथा विद्यार्थीमा एसईई प्रणालीलाई लिएर कुनै अन्योल भएजस्तो मलाई लाग्दैन ।”

ग्रेडिङले पढाइमा असर
बालविनोद माध्यमिक विद्यालय ललितपुरका शिक्षक अनिल झा एसईई एसएलसी सरहकै जाँच भएको र नाममात्रै फरक भएको बताउँछन् । यसले केही विद्यार्थी अन्योलमा परेको र कमजोर विद्यार्थी पढाइप्रति उत्साहित नभएको उनले बताए । झा भन्छन्, “डी र ई ग्रेड ल्याउनेले पनि अगाडि पढ्न पाउने भए । यसले कतिपय विद्यार्थीमा पढाइप्रतिको जाँगर घटाएको छ ।”

पनिकाका उपनियन्त्रक गुरुप्रसाद पौडेल भनेजस्ता कमजोर विद्यार्थी पनि पास हुन्छन् भन्ने बुझाइ सही नभएको बताउँछन् । “स्तरअनुसार ग्रेडिङ गरिएको हो । शैक्षिक नीति बिगारेर सरकारले यो प्रणाली लागु गरेको होइन । ग्रेडिङ प्रणाली स्तर सुधारको प्रयास हो । अहिलेसम्म चल्दै आएको एसएलसीको मार्कसिटमा एउटै विषयमा तारा झुण्ड्याइयो भने त्यस्तो विद्यार्थी हतोत्साहित हुन्थे ।

१० कक्षासम्मको कतिको पढाइ नै अलपत्र हुन्थ्यो । तर, यो प्रणालीमा आफ्नो पढाइकै हैसियतमा केही न केही पढ्न पाउँछन्,” पौडेलले प्रष्ट्याए । विद्यार्थीको स्तरअनुसार विषयगत भिन्नतालाई अगाडि ल्याउनुुपर्ने भन्दै उनले त्यस्ता विद्यार्थीहरू नृत्य, कला, साहित्य, खेल वा प्राविधिक शिक्षातिर जानसक्ने बताए ।

गुनासो पनि
विभिन्न ९ ग्रेडिङमा आएको पछिल्लो एसएलसी रिजल्टपछि कतिपय विद्यार्थी निराशा पनि भए । ग्रेडकै आधारमा संकाय निर्धारणले गर्दा भविष्यमा मेडिकल वा त्यस्तै क्षेत्रमा भविष्य खोज्ने कतिपय विद्यार्थी हतोत्साहित भएका हुन् ।

गणित, विज्ञानलगायत विषयमा सी गे्रड नआउँदा विज्ञान विषय लिएर अगाडि पढ्न नपाएका कतिपय विद्यार्थी गुनासो लिएर परीक्षा नियन्त्रण कार्यालय आएको बताए शाखा अधिकृत नीमप्रकाश सिंह राठौरले ।

पुनर्मूल्याकंनको सम्भावना
परीक्षा नियन्त्रक रेग्मीकाअनुसार ग्रेडिङको पुनर्मूल्यांकन पनि हुनसक्छ । शिक्षा मन्त्रालयले प्रत्येक रिजल्टपछि पुनर्मूल्याकंन गर्ने गर्छ । डी प्लस ल्याउनेले पनि विज्ञान पढ्न पाउने व्यवस्था मन्त्रालयले गर्न सक्ने उनले बताए ।

बाह्रखरीबाट

तपाईको प्रतिक्रिया