सुगम जिल्लाको दुर्गम गाउँबासीको पीडा कसले सुन्ने सरकार ?


अविनाश चौधरी
धनगढी, पुस २१ गते । सुगम जिल्ला कैलालीको तराईमा पर्ने दुर्गम रतनपुर गाउँ विकास समिति वडा नम्बर ९ स्थित हौसलपुरका स्थानीय राज्यको सेवा सुविधा उपभोग गर्नबाट बञ्चित छन् ।

रतनपुर गाविस त्यसैपनि दुर्गम । त्यसमा पनि मोहना नदी पारिको बस्ती हौसलपुर झनै दुर्गम बनेको छ । सो गाउँमा अहिलेसम्म राज्यको उपस्थिति नै हुन सकेको छैन । करिब सय मिटरको दूरीमै भारत र भारतीय बजार रहेकाले उनीहरु भारतमा नै निर्भर देखिएका छन् ।

स्थानीयले आफूहरु नेपाली रहेपनि नेपाल सरकारबाट कुनैपनि सेवा सुविधा नपाएको बताए । उनीहरुले सडक, विद्यालय, विद्युत, मोहनानदीमा झोलुङ्गे पुल नहुँदा कष्टकर जीवन बिताउन बाध्य रहेको सुनाएका छन् । त्यस्तै, बाढी डुवान, कटान, पटानको ठूलो समस्या रहेका बताएका छन् ।

हिउँदमा समेत हौसलपुरसम्म पुग्न निकै सास्ती रहेको सो गाउँको बर्खायाममा करिब चार पाँच महिना मोहना नदीकाकारण आवतजावत नै बन्दहुने गरेको छ । उनीहरु विगतवर्षदेखि भारतको सीमानजिक बस्दैआएपनि जग्गा नम्बरी हुनसकेको छैन । भारतीय पक्षको ज्यादति समेत सहेर बस्न बाध्य रहेको सुनाएका छन् ।

विगत लामो समयदेखि हौसलपुरमा बसेपनि जग्गा नम्बरी हुन नसकेको हौसलपुरका विक्रम चौधरीले बताउनुभयो । उहाँले नदीमा डुङ्गा तथा पुल नहुँदा निकै सास्ती खेप्दैआएको सुनाउनुभयो । ‘आधाखेत उता (मोहना नदी पारि) आधाखेत यता छ’, चौधरीले भन्नुभयो–‘विजुली पनि छैन । टुकीको भरमा गुजारा गर्दैआएका छौं ।’

हौसलपुरमा २३ घरधुरी छ । अढाईसय मानिस बस्दैआएका छन् । तर, नेपाल सरकार वा स्थानीय निकायकोतर्फबाट त्यहाँ गतिलो काम भएको देखिदैंन । हौसलपुरका स्थानीयहरु नेपाली बोल्न र बुझ्न सक्दैनन् । उनीहरु स्थानीय थारुभाषा वा हिन्दी बोल्नेगरेका छन् । उनीहरुले रतनपुर गाविसको कार्यालय देखेका छैनन् । गाविस सचिवलाई समेत चिन्दैनन् ।

सरकारबाट आउने सेवा सुविधा आफ्नो गाउँसम्म नपुगेको गुनासो गर्दै उहाँले भन्नुभयो–‘हामीले नेपालबाट सिलाईकटाई तालिमबाहेक केहि पाएका छैनौं ।’

पहिलो पटक आफ्नो गाउँमा कैलालीका प्रमुख जिल्ला अधिकारीसहित सरकारी अधिकारी देख्नपाएका स्थानीयले बाटो, विद्यालय, विद्युत नहुँदा धेरै सास्ती भोग्नुपरेको दुखेसो पोखे । विद्यालय नहुँदा आफ्ना बालबच्चालाई भारतको विद्यालयमा पढाउन बाध्यरहेको स्थानीय शोभा चौधरीले बताउनुभयो ।

गाउँमा स्वयम्सेविका नहुँदा आफ्ना बालबच्चाले खोप समेत नपाएको स्थानीय निता चौधरीले दुखेसो पोख्नुभयो । सरकारबाट आउने सेवा सुविधा आफ्नो गाउँसम्म नपुगेको गुनासो गर्दै उहाँले भन्नुभयो–‘हामीले नेपालबाट सिलाईकटाई तालिमबाहेक केहि पाएका छैनौं ।’

हौसलपुरबासी भारतीयको दबावमा परेर बाँच्न बाध्यरहेको सो गाउँ पुग्नुभएका रतनपुर–५ बसन्ताका रामचरण चौधरीले बताउनुभयो । उनीहरु नेपाली रुपैयासमेत नचिन्ने गरेको उल्लेख गर्दै चौधरीले भन्नुभयो–‘यिनीहरु यहाँ धेरै सङ्घर्ष गरेर बसेका छन् ।’

चुनावका बेला भोटमाग्न पुग्ने राजनीतिकदलका नेता समेत चुनावपछि हौसलपुर नजाने गरेको स्वयम् नेताहरु स्वीकार्छन् । मधेसी जनअधिकार फोरमका नेता कलेशु चौधरीले सो क्षेत्रबाट आफ्नै पार्टीका नेताले जितेपनि हौसलपुरबासीकालागि गतिलो कामगर्न नसकिएको स्वीकार्नुभयो ।

रतनपुर–९ भुईयाँफाटाका उर्मिला चौधरीले सीमाक्षेत्रमा चोरी, डकैती, महिलामाथि ज्यादति, जंगली हात्तीआतंक तथा सीमा अतिक्रमणको समस्यारहेको उल्लेखगर्दै हौसलपुरबासी झन नेपालीजस्तो नरहेको बताउनु   भयो ।

‘यहाँको बासिन्दा नेपाली बोल्न र बुझ्न सक्दैनन्’, उहाँले भन्नुभयो–‘यिनीहरु नेपाली जस्तो देखिएका छैनन् । यसमा कमि कमजोरी यहाँका मानिसको पनि छ । यिनीहरुले पनि चासो राख्नुपर्छ ।’

रतनपुर गाविसका सचिव सन्तोषकुमार चौधरीले खुल्ला दिसामुक्त गाविस घोषणाको चर्पी अनुगमन गर्नजाँदा पहिलो पटक स्थानीय निकायको उपस्थिति हौसलपुरमा भएको बताउनुभयो ।

हौसलपुरमा २५ वर्षदेखि बस्दैआएकी जास्मिनले आफ्नो श्रीमान र आफूले नागरिकता समेत नपाएको गुनासो गर्नुभयो । उहाँले हिन्दी भाषामा बोल्दै भन्नुभयो–‘हम २५ सालसे यहाँ बैठ रहे है । लेकिन, हमारा पति और मेरा दोनोका नागरिकता नहि हैं ।’

नेपालबासी भएर पनि हौसलपुरबासीमा हिन्दी र भारतीय छिमेकी कठरिया थारुको प्रभाव छ । उनीहरु डङ्गौरा थारु रहेपनि हिन्दी वा कठरिया भाषा बोल्ने र बुझ्ने गरेका छन् । बालबालिकाहरु सबै भारतमा पढ्ने र हिन्दी भाषा बोल्ने गरेकाकारण हिन्दी नै बुझिने गरेको स्थानीय श्यामनारायण चौधरीले बताउनुभयो । हिन्दीमा बोल्दै उहाँले भन्नुभयो–‘हम इण्डियामे पढ्ते है । इसलिये नेपाली समझमे नही आता है ।’ उहाँले नेपाली भाषा सिक्न र बोल्नका लागि विद्यालय र नेपाली बोल्ने शिक्षकको व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

रतनपुर गाविसका सचिव सन्तोषकुमार चौधरीले खुल्ला दिसामुक्त गाविस घोषणाको चर्पी अनुगमन गर्नजाँदा पहिलो पटक स्थानीय निकायको उपस्थिति हौसलपुरमा भएको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षमा गाविसबाट र सीमाक्षेत्र विकास कार्यक्रम अन्तर्गत हौसलपुरको लागि केहि बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो ।

‘हामीले दुईवटा नल्का तथा चारवटा ह्यूम पाईप दिएका छौं’, उहाँले भन्नुभयो–‘यस्तै, सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत ७० हजार रुपैया पनि कृषक तालिमकालागि छुट्टयाएका छौं ।’

उहाँले तत्काल गाविसबाट सम्बोधन गर्नसकिने समस्या समाधानका लागि आफूले पहल गर्ने जनाउँदै विद्युत, झोलुङ्गे पुल निर्माण, विद्यालयलगायतका लागि पहल गरिदिन जिल्ला प्रमुखहरुलाई आग्रह गर्नुभयो ।

सशस्त्र प्रहरीबल सीमा सुरक्षा कार्यालय धनगढीका प्रहरी उपरीक्षक गणेश सङ्ग्रौलाले कैलालीमा भारततर्फ २२ र नेपालतर्फ जम्मा दुई सीमा सुरक्षाबल रहेकाले समस्या रहेको बताउनुभयो । उहाँले कुनै समस्या भएमा हौसलपुरबासीलाई खबर गर्न आग्रह गर्दै भारतीय सुरक्षाबलसंग सहकार्य गरेर पनि आफूहरुले ज्यादति गर्ने विरुद्ध कारबाही वातावरण बनाउने उल्लेख गर्नु  भयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले भारतीयले नेपालीमाथि ज्यादति गरेका छन् भनेपनि अपराध सहेर नबस्न आग्रह गर्नुभयो । उहाँले प्रहरीलाई खबर गर्न आग्रह गर्दै हौसलपुरमा अब राज्यको उपस्थिति हुने उल्लेख गर्नुभयो ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले भारतीयले नेपालीमाथि ज्यादति गरेका छन् भनेपनि अपराध सहेर नबस्न आग्रह गर्नुभयो । उहाँले प्रहरीलाई खबर गर्न आग्रह गर्दै हौसलपुरमा अब राज्यको उपस्थिति हुने उल्लेख गर्नुभयो । चन्दले सुरक्षाको सवालमा सम्वेदनशिल रहेको भन्दै समस्या समाधानकालागि प्रतिबद्ध रहेको बताउनुभयो ।

त्यस्तै, कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले राज्यको सेवा सुविधामा हौसलपुरबासीको पहुँच कम रहेको पाइएको बताउनुभयो । उहाँले जिल्लातहबाट सम्बोधन हुन सक्ने समस्याको सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै जग्गाको लालपूर्जा प्राप्ती, विद्युत, झोलुङ्गे पुल निर्माण लगायतको समस्या समाधानका लागि सरोकारवालासंग राख्ने उल्लेख गर्नुभयो ।

उहाँले हौसलपुरबासीलाई समेत आवाज उठाउन आग्रह गर्दै भन्नुभयो–‘कतिपय समस्या ठूला छन् । त्यसको समाधान जिल्लाबाट भन्दापनि केन्द्रबाट हुने हो । तपाईहरु घचघच्याई राख्नुस, हामी पनि सम्बन्धित ठाउँमा कुरा राखिदिन्छौं ।’

तपाईको प्रतिक्रिया