काठमाडौ, चैत २ गते । शान्ति तथा पुनरनिर्माण मन्त्री सीतादेवी यादवले महिलाको सशक्तिकरणमा पुरुषको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । महिलाहरु पुरुषभन्दा पछाडि रहेपनि अगाडि बढाउनमा पुरुषको सहयोगविना सम्भव नहुने तर्क गर्नुभयो ।
राष्ट्रिय सूचना आयोगले यु.एन. विमेनको सहयोगमा प्रकाशन गरेको महिलाको अधिकारसम्बन्धी चार भाषाको पुस्तिकाको बुधबार यहाँ लोकार्पण गर्दै मन्त्री यादवले त्यस्तो बताउनुभयो । महिलाका विषयमा सरकारले विभिन्न क्षेत्रमा सहुलियत र सुविधाको व्यवस्था गरेपनि महिलालाई सो विषयमा जानकारी नहुँदा सेवा पाउनबाट बञ्चित भएको उहाँले बताउनुभयो ।
आयोगले महिला अधिकारका विषयलाई संकलन गरेर पुस्तिका प्रकाशन गरेकोमा उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । आयोगले नेपालीमा प्रकाशित पुस्तकलाई अंग्रेजी, थारु, मैथिली, तामाङ र डोटेली भाषामा उल्था गरेर पुस्तिका प्रकाशन गरेको छ । सो पुस्तकलाई स्थानीयस्तरमा पु¥याउन मन्त्री यादवले आग्रह गर्नुभयो । मन्त्री यादवले प्रकाशित पुस्तिकाको लोकार्पण गर्नुभयो ।
प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले महिलाको अधिकार विभिन्न क्षेत्रमा राज्यले नीतिगत व्यवस्था गरेपनि त्यसको पर्याप्त जानकारी महिलालाई नहुँदा सेवा पाउनमा समस्या परेको बताउनुभयो । विभिन्न ऐन, नियम, तथा नीति नियमावलीमा गरेको व्यवस्थालाई आयोगले एकै पुस्तिकामा संकलन गरेर प्रकाशन गरेकाले महिलालाई अधिकारबारे जानकारी पाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
विभिन्न ऐन, नियम, तथा नीति नियमावलीमा गरेको व्यवस्थालाई आयोगले एकै पुस्तिकामा संकलन गरेर प्रकाशन गरेकाले महिलालाई अधिकारबारे जानकारी पाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
सूचनाको हकका विषयमा जानकारी दिन माध्यमिक शिक्षाको पाठयक्रममा व्यवस्था गर्न लागिएको जानकारी दिंदै प्रमुख आयुक्त बास्कोटाले राज्यबाट प्राप्त सहुलियत र सुविधाबारे जानकरीका लागि सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
आयुक्त किरणकुमार पोखरेलले ज्ञान र पर्याप्त सूचनाको अभावमा कुनै पनि वर्ग र समुदायको सशक्तिकरणको असम्भव रहेको बताउनुभयो । सूचनाको हकलाई प्रयोग गरेर आम नेपालीलाई सुसूचित गर्न सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उहाँले चर्चा गर्नुभयो । कुल बजेटको २० प्रतिशत जति महिलाको अधिकारका विषयमा बजेट रहेपनि अधिकांश महिलालाई सो बारेमा जानकारी नभएको उहाँले तर्क गर्नुभयो ।
आयुक्त यशोदा तिम्सिनाले महिलाहरु सूचनाबाट बञ्चित गरिएकाले राज्यबाट पाउनुपर्ने सेवा सुविधा र सहुलियत प्राप्त गर्न नसकेको बताउनुभयो । सबै समुदायका महिलाहरु सूचनाको हकबाट धेरथोर बञ्चित रहेको बताउँदै उहाँले राज्यले प्रदान गर्ने सेवा सुविधा र सहुलियतबारे महिलाले जानकारी राख्न आवश्यक रहेको बताउनुभयो ।
आयोगका सचिव खगराज बरालले महिलाका अधिकार दस्तावेजमा पर्याप्त रहेपनि त्यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । चार विभिन्न भाषामा उल्थागरी प्रकाशित महिला सम्बन्धी पुस्तिकाले महिलाको जनचेतना बृद्धिमा सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यु.एन. विमेन नेपाल च्याप्टरकी संयोजक गीताञ्जली सिंहले सूचना नै शक्ति भएकाले महिलाले त्यस विषयमा जानकार हुनुपर्ने बताउनु भयो । महिलाको अधिकारबारे राज्यले गरेको व्यवस्थालाई संकलन गरेर प्रकाशित पुस्तिकाले नेपाली महिलाको सेवा सहुलियत प्राप्त गर्नमा सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपस्थित महिलाहरुले प्रकाशित पुस्तिकालाई सम्बन्धित पक्षसम्म पु¥याउन बन्दोवस्त गर्नुपर्ने सुझाव दिनुभयो । पुस्तिका प्रकाशन गरेर मात्र उपलब्धी नहुने भन्दै उहाँहरुले सम्बन्धित पक्षले त्यसलाई अध्ययनको अवसर पाउनुपर्ने बताउनुभयो ।
आयोगले प्रकाशन गरेको सो पुस्तिकालाई थारु भाषामा लक्की चौधरी, मैथिलीमा जितेन्द्र झा, डोटेलीमा मुकुन्द भण्डारी र तामाङमा रमिता लामाले उल्था गर्नुभयो ।