परिचयः
थारु भाषा साहित्य र मानकताको चर्चागर्दा नेपालमा थारुको जनसंख्या र बोलिने भाषाको स्थानबारेमा चर्चा गरौं । ०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ छ । त्यसमा १७ लाख ३७ हजार ४७० थारुको जनसंख्या देखाइएको छ । यो कुल जनसंख्याको ६.५ प्रतिशत हो । तर सबै थारुले आफ्नो मातृभाषा बोल्दैनन् । ०६८ को जनगणनाअनुसार ५.८ प्रतिशत (१५ लाख २९ हजार ८७५) थारुले मात्र मातृभाषा बोल्छन् । अर्थात् २ लाख ७ हजार ५९५ थारुले मातृभाषा बोल्दैनन् । यो संख्या बढ्दैजाने देखिन्छ । थारुभाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो । थारु भाषाको आफ्नै विविधता छ । पश्चिमा डंगौरा थारुभाषा कपिलवस्तुदेखि चित्तवनसम्म पनि मिल्दैन । पूर्वको कोचिला, सप्तरिया, मोरङिया भाषा अझ भिन्न छ । कैलाली र कञ्चनपुरमा बस्ने रानाथारु र कठरिया थारुको भाषा डंगौरा थारु भाषासँग ठ्याक्कै मेल खाँदैन । पूर्वका थारुभाषा बंगाली, भोजपुरी, मैथिली, अवधिसँग पनि सामान्य मेल खान्छन् ।
थारुमा डंगौरा थारु भाषा (दाङ, बाँके, सुर्खेत, वर्दिया, कैलाली, कञ्चनपुर), रानाथारु (कैलाली र कञ्चनपुर), कठरिया (कैलाली र वर्दिया), सोन्हा (वर्दिया, सुर्खेत), रौतार (रुपन्देही, कपिलवस्तु, नवलपरासी), चित्तवन्या (चित्तवन, नवलपरासी), कोचिला (बारा, पर्सा, रौतहट, सिराहा, सर्लाही, महोत्तरी र उदयपुर), दनुवार (उदयपुर, सप्तरी, धनुषा र मोरङ), सप्तरिया (सप्तरी, सुनसरी) लम्पुच्छवा (मोरङ) आदि ठाउँमा बोलिन्छन् । यसकासाथै छिमेकी मुलुक भारतको चम्पारन, विहार, उत्तराखण्ड, उत्तरप्रदेश, गोरखपुर, गोण्डा आदि ठाउँमा पनि थारुमूलका मानिसहरु बस्नेगर्छन् । ठाउँअनुसारको थारुभाषा पनि बोल्छन् ।
थारुभाषा शुरुवातको ठोस लिखत र इतिहास फेला नपरे पनि यो भाषा निकै पुरानो मानिन्छ । थारु समुदाय तराईका प्राचीन र आदिबासी समुदाय भएकाले पनि उनीहरुको भाषा पनि त्यति नै पुरानो हो भन्न सकिन्छ । हरेक आठ कोशको फरकमा भाषामा स्वाभाविकरुपले अन्तर आउने सत्यतालाई नकार्न सकिदैन । (गुर्वावाः थारु नेपाली अंग्रेजी डिस्नरी २०५७ ः पृष्ठ ७) तराईको प्रमुख भाषाकोरुपमा रहेको थारु भाषाको विकास ‘थार’ मरुभूमिबाट भएको कतिपयले तर्क गर्छन् । तर त्यो भाषा पश्चिमा रानाथारु भाषा हो भन्ने तर्क गर्नेपनि छन् । थार मरुभूमिमा बस्ने बासिन्दा र पश्चिमा रानाथारुको पहिरन, भाषा र चालचलन मिल्नेगरेको केही विज्ञहरुको विश्लेषण छ ।
मातृभाषा सबैको पहिलो भाषा हो । त्यसपछि अन्य भाषा आउँछन् । त्यसैले मातृभाषा भनेको पहिचान हो, आत्मसम्मान हो । पुर्खाको विरासत हो, अस्तित्व हो । हाम्रो वर्तमान र भविष्य हो भनेर तर्क गर्ने गरिन्छ । मातृभाषालाई युवापुस्तामा हस्तान्तरण गर्न नसके भाषा मर्छ । बुढापाकाले मात्र बोलेर मातृभाषा बाँच्न सक्दैन । हस्तान्तरण प्रक्रिया बलियो नभए बुढापाकासँगै भाषा लोप हुन्छ । नेपालमा बोलिने सबै भाषाहरु नेपाली सम्पत्ति हुन् । तर राज्यले यसलाई सम्पत्तिकोरुपमा उपयोग गर्न सकेको छैन ।१ भाषा संरक्षणमा सरकारले न्यून बजेट खर्च गर्नेगरेको छ । लगानी नै नगरेर उपलब्धी हात लाग्ने कुरै भएन । नेपालको सरकारी कामकाजको भाषालाई नेपाली भाषा भनिन्छ । विगतमा यसलाई खस र गोर्खाली भाषा पनि भनिन्थ्यो । नेपाल भौगोलिकरुपमा सानो देश भएपनि यहाँ धेरै विविधता छ । २०६८ को जनगणनाअनुसार नेपालमा १२६ जातजाति छन् । १२३ भाषा बोल्नेगरेको तथ्याङ्क छ । नेपालमा अधिकांशरुपमा भारोपेली र चीनिया तिब्बती भाषा परिवारका भाषाहरु बोलिन्छन् । त्यसमध्ये थारुभाषा भारोपेली भाषा परिवार अन्तर्गत पर्ने भाषा हो ।
भाषा भनेको विचार र अभिव्यक्ति विनिमय गर्ने सशक्त माध्यम हो । भाषाकै माध्यमबाट एक–अर्काको बोली, विचार र अभिव्यक्ति अरु समक्ष सञ्चार हुन्छ ।
भाषा भनेको विचार र अभिव्यक्ति विनिमय गर्ने सशक्त माध्यम हो । भाषाकै माध्यमबाट एक–अर्काको बोली, विचार र अभिव्यक्ति अरु समक्ष सञ्चार हुन्छ । त्यसैले भाषा मानवीय, सामाजिक वस्तु हो । भाषाविनाको समाज कल्पना पनि गर्न सकिन्न । सबै सामाजिक व्यवहारहरु भाषाकै माध्यमबाट सञ्चालित हुन्छन् । भाषा यस्तो चिज हो, जसले सबैलाई एकैथलोमा ल्याउने र सामाजिक सम्बन्ध स्थापित गर्ने काम गर्छ । त्यसैले भाषालाई जातीय पहिचान र अस्तित्वसँग तुलना गर्ने गरिन्छ । थारुभाषा नेपालको तराई भू–भागमा मात्र सीमित छैन । नेपालको सिमानाले भाषालाई सिमाङकन गर्न सकेको छैन, सक्दैन पनि । भारतका विभिन्न क्षेत्रमा थारुभाषा बोलिन्छ । उच्चारणमा केही फरक हुने गरेपनि भाषाको सार र अर्थमा एकरुपता पाइन्छ । नेपाली भाषा ११ औं शताब्दीमा अस्तित्वमा आएपनि १४ औं शताब्दीबाट सरकारी कामकाजको भाषाकोरुपमा विकास भएको मानिन्छ । (पोखरेलः २०६८) । तर तराईको प्रमुख भाषाकोरुपमा रहेको थारुभाषा नेपाली भाषाभन्दा अघि नै अस्तित्वमा रहेपनि सरकारी कामकाजको भाषा बन्न सकेन ।
नेपाली र मातृभाषा सिकाई अहिले ओझेलमा पर्दैगएको छ । मातृभाषाका तयारी कक्षा र प्रशिक्षण कहीं कतै भएको देखिदैन । तर त्यसको अलावा अंग्रेजी, कोरियन, चाइनिज, स्पेनिस आदि भाषाका कक्षाहरुको सिकाई हुन्छ, यहाँ । वहुभाषिक क्याम्पसले पनि भाषा शिक्षण र प्रशिक्षणका लागि जातीय मातृभाषाको सिकाई कक्षाहरु सञ्चालन गर्दैन । जुन समुदायको साहित्यिक कार्यक्रम जति धेरै हुन्छ, त्यो समुदायको भाषा त्यति नै बलियो हुन्छ, भनिन्छ । साहित्यले भाषालाई निखार्ने काम गर्छ । विडम्बना त के छ भने कोही व्यक्ति, (जीव जनावर समेत) सडक दुर्घटनामा परी मरेमा जक्काजाम, आन्दोलन हुन्छ । तर सिंगो समुदायको भाषा लोपहुँदा कोही कसैले चुइँक्क सम्म बोल्दैनन् ।
सम्पर्क भाषा नेपालीः
नेपाल भाषिक र जातीयरुपमा विविधता भएको मुलुक हो । यहाँ धेरै भाषाहरु बोलिन्छन् । तर सबै जाती समयदायलाई आफ्नो भाषाको पूरै ज्ञान छैन । त्यसैले सम्पर्क भाषा राष्ट्रिय नेपाली भाषा नै बनेको छ । नेपाली, मैथिली र भोजपुरी पछिको चौथो ठूलो जनसंख्यामा बोलिने भाषासमूह थारु हो । विदेशको साझा सम्पर्क भाषाकोरुपमा अंग्रेजी भएजस्तै नेपालको साझा सम्पर्क भाषाकोरुपमा नेपाली छ । फरक फरक जाती समुदायका मानिसहरु एक–अर्कासँग संवाद गर्दा, भुलाकुसारी गर्दा समेत नेपाली भाषाको प्रयोग गर्नेहुँदा यो भाषा साझा, सम्पर्क र राष्ट्र भाषाको मान्यता पाएको हो ।
सुदूरपूर्वको थारुले मध्यपश्चिमको थारु तथा सुदूरपश्चिमको थारुसँग कुरागर्दा मातृभाषामा गर्दैन । आफ्नो बोलाईको भाव, अर्थ बुझाउन नेपाली भाषा नै बोल्छ । एउटाको बोलाइको सार, अर्थ अर्कोले बुझ्नुपर्छ । अन्यथा त्यो भाषा र बोलाईको कुनै तुक रहँदैन । हाम्रो समाजमा बहुपहिचानयुक्त, बहुभाषिक समुदाय छ । थारु समाजभित्र पनि विभिन्न भाषा र त्यसका भेद रहेकाले एकले अर्कोलाई बुझ्न र उसको बोलाईको अर्थ जान्न सम्पर्क भाषा बोल्नुपर्ने बाध्यात्मक परिस्थिति छ । जसरी नेपाली भाषा सबै नेपालीको सम्पर्क भाषा भएको छ, त्यसैरी थारुभित्र आफ्नै सम्पर्क भाषा छैन । मानक भाषा बन्न सकेको छैन । यद्यपि बनाउने प्रयत्न जारी छ ।
मानक भाषा बन्ने आधारः
थारु मानक भाषाको विषयमा लामो समयदेखि थारु भाषाप्रेमीहरुबीच छलफल र बहस हुँदैआएको छ । तथापि अहिलेसम्म मानक भाषा बन्न सकेको छैन । भाषालाई बलिया र समृद्ध बनाउन मानकता अनिवार्य चिज हो । नेपाली भाषाले मानकता नपाएको भए यत्ति बलियो हुने थिएन । जनसंख्याको हिसावले डंगौरा थारुभाषा बोल्नेको संख्या अधिक छ । त्यसैले पश्चिमा थारुले पश्चिमा डंगौरा भाषालाई मानक भाषा बनाउनमा जोड दिएका छन् । तर पूर्वका थारुभाषीले त्यसलाई ठाडै अस्वीकार गर्छन् । चित्तवन पश्चिममा करिब १२ लाख थारुको जनसंख्या छ । त्यसपूर्व करिब साढे सात लाख थारुको बसोबास रहेको जनगणनाले देखाउँछ । थारु अगुवाहरुले अझै मानक भाषा बनाउने गृहकार्यमा रहेकाले ढिलोचाँडो बन्ने आशा गर्न सकिन्छ । त्यस्तो मानक भाषा पश्चिम, मध्ये र पूर्वका थारुको साझा भाषाकोरुपमा रहने विश्वास गर्न सकिन्छ । ठाउँअनुसार थारु भाषाको उच्चारण फरक परेपनि शब्दको अर्थमा खासै भिन्नता पाइँदैन ।
भाषाको मानकताको आधार भनेकै त्यस भाषाका व्याकरण र शब्दकोषको निर्माण हो । भौगोलिक विविधताको कारणले थारु भाषामा वभिन्न भाषिकाहरु सिर्जिएका छन् । थारु भाषामा विविधता आउनुको अर्को कारण यसको अलिखित अवस्था रहनु हो । भाषालाई लिखितरुपमा राख्नका लागि व्याकरणको निर्माण अनिवार्य हुन्छ । पुस्तक, पत्रपत्रिका, रेडियो टेलीभिजनका कार्यक्रम सञ्चालनले सो भाषाले मानकरुप पाउनमा मद्दत गर्छ । त्यस्तै, मातृभाषा शिक्षा र पठनपाठनले सहयोग गर्छ । अहिले पश्चिमा थारु भाषाको प्राथमिक तहसम्मको पठनपाठन कहीं–कहीं भइरहेको छ । थारु भाषाका पुस्तक, पत्रपत्रिका, मिडियामा कार्यक्रमहरु सञ्चालनमा छन् । यसले पनि मानक भाषा बन्नमा सहयोग नै गरिरहेको छ ।
कुनैपनि भाषा राष्ट्रको मानक र साझा भाषा बन्न यी विशेषताहरु भएको हुनुपर्छ भन्ने भाषाविदहरुको विश्लेषण छ । –
(क) भाषाको ऐतिहासिकता
(ख) स्तरयुक्तता
(ग) सांस्कृतिक विशिष्टता
(घ) स्वायत्तता
(ङ) भाषिक सम्पन्नता
ृ(च) साझा सम्पर्क वा स्वीकार्यकता
(छ) सरकारी कामकाजमा सहजता
(ज) शिक्षा तथा सञ्चारमा सहज प्रयोग
(झ) ठूलो भू–भागमा प्रसारित
(ञ) राष्ट्रिय एकताको भावनाको संवाहक
माथि उल्लेखित यी आधारलाई मानेर मानक भाषा बनाइनुपर्ने तर्क गरिन्छ । केही मुलुकले एकभन्दा वढी भाषालाई राष्ट्रभाषा वा सम्पर्क भाषाकोरुपमा मान्यता दिएका उदाहरण पनि छन् । हाम्रो यहाँ संविधानतः सबै भाषालाई राष्ट्रभाषाको परिभाषा गरिए पनि सरकारी कामकाजको भाषा बनाइएको छैन । मुलुक संघीय संरचनामा गइरहेकाले भोलिका दिनमा प्रदेशस्तरमा बाहुल्यताको हिसावले सम्पर्क भाषाकोरुपमा अन्य भाषाको विकास हुने आशा गर्न सकिन्छ ।
विभिन्न मुलुकमा सम्पर्क भाषा एक वा एकभन्दा वढी पनि छन् । केही उदाहरण हामी यहाँ हेर्न सक्छौं । जस्तैः भारतमा हिन्दी र अंग्रेजी भाषा सरकारी सम्पर्क भाषाको मान्यता पाएको छ । त्यस्तै, स्वीट्जरलैण्डमा जर्मनी, फ्रेन्च, इटाली र रोमनी भाषा सरकारी कामकाजमा छन् । सिंगापुरमा मलय, चिनिया, अंग्रेजी र तामिल भाषा, बेल्जियममा फ्रेन्च र फ्लेमिस भाषा, क्यानडामा अंग्रेजी र फ्रेन्च भाषा, दक्षिण अफ्रिकामा अंग्रेजी र अफ्रिकी भाषालाई सरकारी कामकाजको मान्यता दिएको छ । तर हाम्रो यहाँ नेपाली भाषाबाहेक अन्य भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिइएको छैन ।
कथ्य र लेख्य आधारः
बोलचालकोरुपमा मानिसबाट प्रयोग गरिने भाषालाई कथ्य, र लिपिका माध्यमबाट लेखनमा प्रयोग गरिने भाषालाई लेख्यभाषा भनिन्छ (निरौलाः पृष्ठ ३१२) । सबै भाषामा यी दुई रुप हुन्छन् । तर अविकसित भाषाका कथ्यरुप मात्र हुन्छ, लेख्य रुप नहुनसक्छ । कुनैपनि भाषाको कथ्यरुपलाई सामान्य र लेख्य रुपलाई नै मानक रुप मान्ने प्रचलन छ । कथ्यको उच्चारण सम्बन्ध ध्वनिसँग हुन्छ । कथ्य भाषा अहस्तान्तरणीय प्रकृतिको हुन्छ, त्यसैले अस्थायी हुन्छ । सबै भाषाको पहिलो रुप कथ्य नै हो । नेपालमा बोलिने थारुसहित कथ्यका पहिलो रुप नै तिनीहरुका मातृभाषा हुन् । अर्थात् थारु भाषाले मानकरुप पाइ नसकेकाले यो पनि अहिले कथ्यमै सीमित छ । स्तरीय कथ्यको नजिक छ । कथ्यलाई दुई भागमा वर्गिकरण गर्न सकिन्छ र सामान्य र स्तरीय कथ्य । कुराकानीमा मात्र प्रयोग हुने भाषालाई सामान्य कथ्य भनिन्छ । यो मानक रुप होइन । कथ्य भाषा वढी लचिलो, बोलीचालीकोरुपमा मात्र प्रयोगमा आउने हुनाले सजिलो र सरल पनि लाग्छ ।
साझारुपमा मान्य हुने किसिमका शब्दहरुको चयन यसमा हुनेगर्छ । अहिलेको थारु भाषा मानकताको नजिक छ, त्यसैले यो स्तरीय कथ्य हो ।
यसको विपरित स्तरीय कथ्य भाषा छ । शिष्ट ढंगले औपचारिक कार्यक्रममा प्रयोग गरिने भाषा स्तरीय कथ्य भाषाको रुप हो । यसमा शुद्धाशुद्धिप्रति सचेत्ता अपनाइएको हुन्छ । त्यसैले यो मानकतासँग नजिक हुन्छ । सञ्चारमाध्यममा पनि यही स्तरीय कथ्यको प्रयोग हुनेगर्छ । यही भेदलाई आधार मानेर लेख्य भाषाको विकास भएको हो । साझारुपमा मान्य हुने किसिमका शब्दहरुको चयन यसमा हुनेगर्छ । अहिलेको थारु भाषा मानकताको नजिक छ, त्यसैले यो स्तरीय कथ्य हो ।
मानिसले बोल्ने अभिव्यक्तिको पहिलो माध्यम कथ्य हो, भने दोस्रो लेख्य (लिखित) हो । यो चिरस्थायी र हस्तान्तरणीय हुन्छ । कथ्य र लेख्य भाषाको एकअर्कासँग अन्यौन्याश्रित सम्बन्ध रहनेगर्छ । लेख्यको पनि सामान्य र स्तरीय रुप हुन्छ । सामान्य लेखनमा प्रयोग हुने भाषा सामान्य लेख्य हो । यसमा एकरुपता हुँदैन । शुद्धाशुद्धिमा पनि त्यति ध्यान दिइएको हुँदैन । अनौपचारिकरुपमा प्रयोग हुने हुनाले सर्वमान्य पनि हुँदैन । सर्वसाधारण लेखपढ गरेकाले प्रयोग गर्ने भाषा सामान्य लेख्य हो । स्थानीय पत्रपत्रिका, चिठीपत्र लेखनमा यसको प्रयोग हुनेगर्छ । तर स्तरीय लेख्य भाषाको प्रयोग विशेषतः शिक्षित समुदाय, भाषाविदहरुले गर्ने गर्छन् । यो मानक रुप अन्तर्गत हुन्छ । शुद्धाशुद्धिको ख्याल गरिने हुनाले सर्वमान्य र सर्वस्वीकार्यतामा ध्यान दिइएको हुन्छ । यसमा भाषाको एकरुपता र स्थिरता हुन्छ । भाषालाई जीवित राख्ने काम पनि लेख्य भाषाले नै गर्छ । अर्को शब्दमा भन्नुपर्दा यो भाषाको दस्तावेजीकरण गरिन्छ ।
थारुभाषा व्याकरण र शब्दकोषः
थारु भाषाको व्याकरण र शब्दकोष निर्माण कमजोर अवस्थामा छ । भएका व्याकरण र शब्दकोष पनि पर्याप्त छैनन् । थारु साहित्यकार तथा काव्यकार महेश चौधरीले लिरौसी व्याकरण (सजिलो व्याकरण) पुस्तक लेख्नुभएको छ । प्रयास राम्रो छ तर पर्याप्त छैन । उहाँले थारुभाषा समाजको वैज्ञानिक अध्ययन २०५७ पुस्तक पनि प्रकाशनमा ल्याउनुभएको छ । यसमा तराईमा बोलिने डंगौरा, देउखुरिया, देसौरिया, कठरिया, नवलपुरीया (कपिलवस्तु, रुपन्देही र नवलपरासीमा बालिने भाषा), सप्तरिया र मोरङिया भाषाको तुलनात्मक अध्ययन गरिएको 2 छ । त्यसैगरी लेखक तथा थारु अगुवा गोपाल दहितले थारु भाषाको दुईवटा शब्दकोष प्रकाशन छन् । २०७० सालमा आएर थारु व्याकरण नामक पुस्तिका पनि उहाँले प्रकाशन गर्नुभएको छ । सहयोग समाज दाङले पनि थारु शब्दकोष पुस्तक प्रकाशन गरेको छ ।
वरिष्ठ साहित्यकार तथा थारु संस्कृतिविद अशोक थारुको अनुसन्धानमा सहयोग रहेको नेपाल फोकलोर सोसाइटीले थारु लोकवार्ता र जनजीवन नामक पुस्तक प्रकाशनमा ल्याएको छ । यस पुस्तकले थारु भाषाको ध्वनी र वर्ण पहिचानको विषयलाई केन्द्रीत गरेको छ । लेखक हृदयनारायण चौधरीले पूर्वीया थारु भाषाको व्याकरणको पुस्तक प्रकाशन छ । निकै कम मात्रामा प्रकाशनमा आएको थारु व्याकरण र शब्दकोषको प्रयोगमा ल्याउन सकिएको छैन । प्रयोगका लागि थारु अगुवाहरुको पहल नै अहिलेसम्म कमजोर छ । थारुभाषाका शब्दहरु धेरैजसो संस्कृत, नेपाली, हिन्दी, मैथिली, भोजपुरी, अवधिसँग मेल खान्छन् । थारु भाषाका केही विज्ञहरुले थारु उच्चारणमा दन्त्य त, थ, द, ध को प्रयोग नहुने हुनाले त्यसलाई लेखनमा पनि स्वीकार नगर्ने तर्क गर्छन् । त्यसको ठाउँमा वत्स्र्य÷तालव्य ट, ठ, ड, ढ, को मात्र प्रयोग गर्ने तर्क गर्छन् । तर थारुभाषा देवनागरी लीपिमा आधारित भएकाले त्यसलाई चटक्कै इन्कार गर्नसक्ने अवस्था रहँदैन । अरु भाषासँगको प्रतिस्पर्धामा पनि हामी खरो उत्रन त्यसलाई दुत्कार्नु थारु भाषाकै लागि हानिकारक सावित हुनजान्छ ।
लेखाई र बोलाईमा भेद
थारु भाषाको आफ्नो छुट्टै लिपी भेटिएको छैन । कतिपय भाषाशास्त्रीले ब्राह्मी लीपिलाई थारुको लिपी भएको दावी गर्ने गरेपनि ब्राह्मी लीपिमा लेखिएका अक्षरहरु थारुले नै चिन्न र पढ्न सक्दैनन् । थारुभाषा अहिलेसम्म देवनागरी लीपिमै अडिएको छ । थारुभाषा भारोपेली परिवारको इन्डोआर्यन भाषिक उपसमूहमा पर्ने भाषा हो, भनिन्छ । थारुहरु जन्मेदेखि मातृभाषाकोरुपमा थारुभाषा नै सिक्ने, बोल्ने गर्दछन् । पछि दोस्रो भाषा (सम्पर्क भाषा) को रुपमा नेपाली, अंग्रेजी भाषा सिक्छन् । तर आजभोलिका कतिपय थारुहरुले मातृभाषाकोरुपमा आफ्नो बच्चालाई नेपाली भाषा मात्रै सिकाउने गरेको पाइन्छ । अरु समुदायसँग भाषामा प्रतिस्पर्धा गर्न सहज हुने सोचेर केही अभिभावकले बच्चालाई नेपाली र अंग्रेजी नै पहिलो भाषाकोरुपमा सिकाइरहेका छन् । थारु भाषीहरुलाई नेपाली भाषामा पाठ्यपुस्तक पढ्नुपर्दा अन्य जातिकाहरुसँग भाषामा प्रतिस्पर्धा गर्न नसक्ने देखेर कतिपय युवापीढिका थारुहरुले आफ्नो बालबच्चालाई मातृभाषाकोरुपमा नेपाली नै सिकाइ रहेका छन् । मातृभाषा नेपाली सिकेका थारु बच्चाले अहिले दोस्रो भाषाकोरुपमा थारुभाषा सिक्ने गरेका छन् । अहिलेको अवस्था र पहिलेको अवस्थाको भेद यो एउटा हो ।
यसको अतिरिक्त पश्चिमा थारुले उच्चारण गर्ने लवजहरु फरकखालको छ । बोलाई र लेखाईमा अन्तर हुँदैआएको देखिन्छ । कतिपय ठाउँमा बोल्दा दन्त्य ‘त’ र लेख्दा तालव्य ‘ट’ लेखिन्छ । त्यसैगरी उच्चारण ‘ट’ गर्दा लेख्दा ‘त’ लेखिन्छ । देवनागरीलाई शुद्ध मानेर लेख्दा थारुहरुको शुद्धोच्चारणमा र लेखाईमा भेद देखिने गर्दछ । त्यसैगरी स, श, ष र व र ब मा पनि उच्चारण र लेखाईमा भेद रहँदै आएको छ । तर पूर्वीया थारुको उच्चारणमा त्यस्तो छैन । यस्तो उच्चारणमा भिन्नता थारुमात्र होइन, अन्य जनजातिकाहरुको लेखाई र बोलाईमा पनि भेद रहने गरेको पाइन्छ ।
कतिपय थारु साहित्यकारले आफ्नो पहिचान बचाउन भएपनि परम्परागतरुपमै बोलाईकै शैलीमा लेखाई हुनुपर्ने तर्क गर्ने गर्दछन् । एक हदसम्म यो ठीक होला, तर यो सामान्य कथ्यको रुप मात्र हो ।
२०७३ साउन १–३ गतेसम्म दाङको घोराहीमा आदिबासी जनजाति उत्थान प्रतिष्ठानको आयोजनामा डंगौरा थारु भाषाको वर्ण पहिचान गोष्ठी भएको थियो । सो गोष्ठीले थारु १२ वटा स्वर वर्ण, २५ वटा व्यन्जन वर्ण, महाप्राण व्यन्जन वर्ण ४ वटा प्रस्ताव गरेको थियो । त्यस्तै, ११ वटा थारुमा उच्चारण नहुने लाई थारुमा प्रयोग नगर्ने प्रस्ताव पनि गरेको छ । त्यसमा ञ्, ण्, श, ष, क्ष्, तर््, त्, ज्ञ, थ्, द्, ध्, छन् । तर यसमा अझै वहसको खाँचो छ । भाषाको मानकता बनाउने काम बालबच्चाको खेल होइन । एउटा, दुईटा गोष्ठी कार्यक्रम गरेर सम्भव हुँदैन पनि । मानक भाषाको वहस पश्चिमदेखि पूर्वका थारु भाषीबीच कैयौं चरणको हुन जरुरी छ । व्यापक छलफल र वहसकाबीच निचोड निकालेर मानकता रुप निकाल्न सम्भव छ । भारोपेली परिवारको भाषाअन्तर्गत र देवनागरी लिपिलाई आधारमान्दा यी माथिका ११ वटा अक्षरलाई ठाडै नकार्न मिल्दैन । तर्कसँगत पनि हुँदैन । थारु सबैले गर्ने उच्चारणमा एकरुपता पनि छैन । जहाँसम्म ‘ह्रस्व’ मात्र थारुले उच्चारण गर्छन्, बोल्छन् भन्ने कुरा छ, यो पनि तर्कसंगत छैन । पश्चिमका थारुले गर्नेजस्तो उच्चारण मध्य र पूर्वी तराईमा बसोबास गर्ने थारुले गर्दैनन् । यस हिसावले पनि तालब्य ट, ठ, ड, ढ, ण लाई बाइपास गर्ने आधार बन्दैन ।
अहिलेका युवापीढिमा बोलाई, लेखाई र सिकाईको भेदमा खासै अन्तर पाइँदैन । नेपाली भाषा शुद्ध उच्चारण गर्ने र बोल्नेको लेखाई पनि शुद्ध हुँदैगएको छ । उच्चारणमा समेत नेपाली मातृभाषीको सरह समानता आइरहेको छ । तर कतिपय थारु साहित्यकारले आफ्नो पहिचान बचाउन भएपनि परम्परागतरुपमै बोलाईकै शैलीमा लेखाई हुनुपर्ने तर्क गर्ने गर्दछन् । एक हदसम्म यो ठीक होला, तर यो सामान्य कथ्यको रुप मात्र हो । सामान्य कथ्यलाई मानकताको आधार मान्न सकिने तर्क नै गलत हुन्छ ।
मानकताका लागि मिडिया
उहिले थारुका पूर्खाहरुले भाषाको उत्थान र संरक्षणका लागि नाटक र गीत रचेर गाउँघरमा भाषाको प्रचार गर्ने गर्थे । गाउँ–गाउँमा नाटक तथा लोकगीतहरुको रचना गर्ने र अभिनयको माध्यमबाट भाषा संरक्षणको अभियान चलाइन्थ्यो । तर ती नाटक तथा गीतहरु सबै मौखिक साहित्यमा आधारित थिए । लिखित दस्तावेजकोरुपमा थिएनन् । कारण, त्यतिबेलाको समाज नै शिक्षित थिएन । लेख्यरुपमा त्यसलाई लिपिबद्ध गरिदैनथ्यो । मन मस्तिष्कमा जति स्मरण गरेर राख्न सक्यो त्यतिमात्रै त्यसको जगेर्ना हुन्थ्यो । धेरैपछि मात्र थारुहरुले पढ्ने लेख्ने काममा सन्तानलाई अग्रसर गराए । विद्यालय पढ्न जाने विद्यार्थीले गीत लेख्न जान्ने भएपछि स्कूल जान बन्द गरिन्थ्यो । गाउँमै खेतबारीमा कामगर्ने, हलो जोतेर जीवन निर्वाह गर्ने प्रचलन थियो । त्यतिबेला दुईचार कक्षा पढेकाहरुले गाउँमा ठूलै रवाफ हुनेगथ्र्यौ । गीत लेख्न जान्ने मानिसलाई ठूलै शिक्षितको पगरी लगाइन्थ्यो । थारु लोकगीत, लोकथा, लोकभाका तथा लोकसाहित्य मौखिक रुपमै सीमित रहनुको अर्को कारण यो पनि हो । अहिले थारु लोकसाहित्य लोप हुनेक्रममा हुनुको पछाडिको राज यो पनि हो ।
अहिले थारुभाषा साहित्यका अनेक पुस्तक तथा पुस्तिकाहरु प्रकाशन हुन थालेका छन् । त्यसले थारुभाषा साहित्यको जगेर्ना र मानकता रुप दिनमा मद्दत गर्नेनै छन् ।
छिटपुट ३० को दशकदेखि गीत तथा नाचको एकआठ पुस्तकहरु थारु गाउँमा झुल्केको मानिए पनि त्यसको प्रति फेला पार्न सकिदैन । थारुगाउँमा पूर्खाको अमानतलाई पूर्खाको देहावसान हुँदा मृत शरीरसँगै माटोमा गाड्ने या जलाउने प्रचलन थियो । अद्यापी छँदैछ । त्यसरी नै पूर्खाहरुले सृजना गरेका कृति र लोककथाका केही पुस्तिकाहरु पूर्खाको देहबसानसँगै विलिन भए । पछिल्लो करिब चालिस र पचासको दशकमा मात्रै थारुगाउँमा लोककथा तथा लोकभाकाका पुस्तकहरु सघनरुपले झुल्किन थाले । अहिले थारुभाषा साहित्यका अनेक पुस्तक तथा पुस्तिकाहरु प्रकाशन हुन थालेका छन् । त्यसले थारुभाषा साहित्यको जगेर्ना र मानकता रुप दिनमा मद्दत गर्नेनै छन् ।
साठीको दशकयता त थारु भाषाकै साहित्यिक तथा समाचारमूलक पत्रपत्रिकाहरु प्रकाशनमा आए । वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक, पाक्षिक, साप्ताहिक, अर्धसाप्ताहिक हुँदै अहिले दैनिक पत्रपत्रिकाहरु प्रकाशनमा छन् । डंगौरा थारुभाषा, रानाथारु, कठरिया, चित्तवनीयादेखि मोरङिया भाषाका केही पत्रपत्रिकाहरु प्रकाशनमा छन् । त्यसले थारुभाषा साहित्यको उत्थानमा धेरथोर योगदान पुगेको मान्न सकिन्छ । यसको अलावा अहिले प्राथमिक कक्षासम्म मातृभाषामा पठनपाठनको व्यवस्था भएको छ । पश्चिम नेपालका थारु बहुलक्षेत्रमा थारु मातृभाषाका पाठ्यपुस्तकहरु तयार गरी पठन पाठनमा लगिएको छ । मानकताको स्तरीय कथ्यको भूमिका यसले पनि खेल्ने छ ।
यसको अलावा अहिले न्यू मिडियाको तिव्र विकास भएको छ । अनलाइन न्यूज पोर्टलको विकास भएको छ । थारु भाषाको हमार पहुरा डटकम न्यूज पोर्टल अहिले सञ्चालनमा छ । त्यस्तै, थारुवान डट कम, थारु न्यूज डट कम, थारु कम्युनिटी डट कम, थारुनके डट कम, जस्ता न्यूज पोर्टलले पनि बेला मौकामा थारु भाषा साहित्यिका रचना, समाचारहरु प्रकाशन गरिरहेका छन् । सामाजिक सञ्जालमा थारु भाषाका रचना, नाटक, गीत, गजल, मुक्तक, कथा, निवन्ध जस्ता रचनाहरु पनि थारु भाषामै प्रकाशन र सम्प्रेषण हुने गरेको छ । त्यसले पनि थारु भाषा साहित्यको उत्थान र मानकरुप दिनमा टेवा दिने नै छ ।
थारु भाषाको उत्थानमा विभिन्न थारुभाषी गीति एल्बम तथा चलचित्रहरुको निर्माण भइरहेको छ । सञ्चारमाध्यमले विस्तारित रुप लिएपछि ती गीतका एल्बम तथा क्यासेटहरुको महत्व बढ्दै गएको छ । विभिन्न एफएमहरुमा थारुभाषाका कार्यक्रम सुचारु भएका छन् । थारु गीतको माग पनि बढेर गएको छ । त्यसैगरी विभिन्न कलाकारहरुले अहिले थारु भाषामा नै चलचित्र निर्माण गरिरहेका छन् । थारु कलाकारहरुको संख्या बढ्दै गएपछि थारु भाषाकै चलचित्र निर्माणको संख्या पनि बढेको छ ।
थारु भाषाका नाटक प्रदर्शन भइरहेका छन् । गीति क्यासेट निर्माण, श्रव्य तथा दृष्यका एल्बमहरुले गर्दा पनि थारु भाषाको क्षेत्रलाई थप फराकिलो पारेको महशुस हुन्छ । चलचित्र निर्माण भएपछि त्यसका गीत र चलचित्रको सिडी बनाउने, यूट्यूवमा राख्ने प्रचलन बढेको छ । अडियो, भिडियोका गीतहरु अहिले प्रशस्त उपलब्ध छन् । यस्ता अभियानले थारुभाषा साहित्यको उत्थान त गर्छ नै, मानकरुपमा सघाउ पु¥याउने छ ।
टुंग्याउनी
भाषा साहित्यका आफ्नै नियम छन् । हरेक भाषाको ध्वनि, व्याकरण हुन्छ । हरेक भाषामा ध्वन्यात्मक र व्याकरणात्मक व्यवस्था हुन्छ । ती ध्वनिहरुको व्यवस्थित संयोजनबाटै भाषिक रुप निर्धारण हुन्छ । भाषाको सबैभन्दा सानो इकाई वर्ण हो । वर्णको मेलबाट शब्द र शब्दहरुको मेलबाट पदावली, व्याक्यांश र वाक्य निर्माण हुन्छ । जस्तैः र, म, क वर्णलाई थारु शब्दमा व्यवस्थापन गर्दा रकम, करम, कमर, मकर आदि शब्दको संरचना हुन्छ । शब्द संरचना गर्दा त्यसको अर्थ आएको हुनैपर्छ, अन्यथा शब्द निर्माणको अर्थ रहँदैन । भाषालाई व्यवस्थित र अनुशासित बनाउने काम व्याकरणको हो । थारु भाषाको व्याकरण कमजोर भएकाले थारु भाषालाई अनुशासित र व्यवस्थित बनाउन सकिएको छैन । व्याकरणको कमजोरीले मानकरुप दिन पनि समस्या परेको हो । भाषा जहिले बोधगम्य हुनुपर्छ । अर्थात् मैले बोलेको शब्दको अर्थ श्रोता, पाठक र दर्शकले त्यहीरुपमा बुझ्न सक्यो कि सकेन ? भन्ने बोधगम्य अर्थव्यवस्था हो । मानकरुप दिंदा यसमा पनि ख्याल गर्नुपर्छ ।
थारु भाषा साहित्य फराकिलो छ । अझ लोकसाहित्यको दायरा त झन फराकिलो छ । तर त्यसलाई व्यवस्थापन गर्न सकिएको छैन । थारु भाषालाई बचाइ राख्नु अहिलेको प्रमुख चुनौति हो । भाषालाई बचाउनु भनेकै त्यसको बारम्बार प्रयोग गर्नु हो । हामी घरमा बच्चासँग थारु भाषा नबोलेर सम्पर्क भाषा नेपाली, अंग्रेजी बोल्छौ भने मातृभाषाको पहिचानमा खतरा त आउँछ नै । एकातिर हामीलाई अन्य समाजसँग प्रतिस्पर्धा पनि गर्नुछ, अर्कोतिर आफ्नो भाषा पनि जोगाउनु छ । यस्तो जंघारमा अहिले हामी उभिएका छौं । तथापि हामीले भाषा बचाएरै जंघार तर्नु छ । थारु भाषा साहित्यको बाङ्मय क्षेत्रको श्रीबृद्धि गराउनमा अहिलेको युवा सक्रिय देखिन्छन् । उनीहरुको साहित्यप्रतिको लगाव र सक्रियता त्यसैको उदाहरण हो । थारु भाषा साहित्यका कार्यक्रम नियमित हुन थालेका छन् । विस्तारै यो अभियानलाई पश्चिमदेखि पूर्वसम्म लग्न जरुरी छ । २०७३ वैशाख ३ र ४ गते दाङ्को घोराहीमा भएको साहित्यिक कार्यक्रम २०७३ चैत १९ र २० गते कैलालीको पटेला गाउँमा सम्पन्न भएको छ । यसलाई विस्तार गरी पूर्वी तराईमा लग्नु जरुरी छ । त्यसलाई स्तरीय र बौद्धिक वहसकोरुप दिनसके मानकता कायम गर्नमा यसले पनि सघाउ गर्ने नै छ ।
थारु भाषा साहित्यका रचनाहरु अहिले अधिकांश सतहीरुपमा छन् । समाजलाई सकारात्मक दिशामा उन्मुख गराउनेखालको सन्देश रचनाबाट दिन सकिएको देखिदैन । माया प्रेमका रचनाहरुले युवापंक्तिमा प्रश्रय पाएको छ । अव थारु साहित्यिक रचनामा देशको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, एकता, अधिकार र कर्तव्यका सन्देश जान सक्नुपर्छ । त्यसो हुन सकेमा एकातिर भाषा साहित्यको उत्थान हुन्छ, अर्कोतिर समाजलाई समृद्ध बनाउनमा साहित्यले मद्दत गरेको ठहर्छ । भाषा साहित्यको माध्यमबाट थारुलाई जोड्न र समन्वय गर्न पनि मानक भाषा अपरिहार्य छ । त्यसकालागि पर्याप्त व्याकरण र शब्दभण्डारको व्यवस्थापन गरिनुपर्छ । थारु भाषा साहित्यको वहस र पैरवी थारु बहुल सबै जिल्लामा घनिभूतरुपमा सञ्चालन गरिनुपर्छ । भाषा बँचाउने जिम्मा हाम्रै हो । भाषा बाँचेमा हाम्रो पहिचान बाँच्छ, हाम्रो मौलिकता बाँच्छ, हाम्रो अस्तित्व र पुर्खाको विरासत बाँच्छ ।
सन्दर्भ सामग्रीः
१) चौधरी, महेश । थारू लिरौसी व्याकरण, दाङः बेस ।
२) थारु, अशोक र दहित, गोपाल । २०५७ । गुर्वावा: थारु नेपाली इंगिलश डिस्नरी) । दाङः बेस ।
३) दहित, गोपाल । २०५४ । थारु नेपाली अंग्रेजी शब्दकोष । वर्दियाः सामुहिक युवा क्लव (युनिक) ।
४) थारु, फनिश्याम । २०६९ । थारु लोकसंस्कृति र चाडवाड । काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान ।
५) दहित, गोपाल । २०७० । थारू व्याकरण । बर्दिया: यूनिक नेपाल ।
६) पौडेल, विष्णुप्रसाद । २०७० । समकालिन साहित्य, नेपालको भाषिकस्थिति, नेपालीभाषाको भूमिका ।
७) चौधरी, लक्की २०६३ । तिहुवार । कैलालीः गीता चौधरी ।
८) चौधरी, लक्की २०७० । मोर पहुरा । कैलालीः गीता चौधरी ।
९) सर्वहारी, कृष्णराज । २०६७ । थारू भाषा साहित्यको रुपरेखा । काठमाडौंः सयपत्री । पूर्णांक २१, जेठ–कार्तिक ।
१०) सर्वहारी, कृष्णराज । २०६९ । थारू–डंगौरा भाषाको अवस्था । काठमाडौंः नेपालका मातृभाषा भाग १ । नेपाल प्रज्ञा प्रतिष्ठान ।
११) चौधरी, महेश २०६९ । स्थवीरहरुको प्राचीन इतिहास र संस्कृति । दाङः शान्ति चौधरी ।
१२) थारु, भुलाई । २०६१ । थारु संस्कृति । सरोजदेवी चौधरी ।
१३) चौधरी, लक्की । २०७२ । हमार पहुरा डट कम । काठमाडौं ।
१४) चौधरी, सुशील । २०७२ । चली गोचाली । काठमाडौंः अंक ५, पृष्ठ ३०–४० ।
१५) निरौला, फणिन्द्रराज र निरौला, लेखप्रसाद । २०६९ । नेपाली गद्य, भषा र साहित्य परिचय, काठमाडौं ।