लक्की चौधरी
काठमाडौं, चैत २६ गते । नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनाको ६० वर्ष (हीरक जयन्तिं) को अवसरमा आयोजित दुई दिने साहित्यिक कार्यशाला गोष्ठी शनिबार नेपालगञ्जमा सम्पन्न भएको छ ।
सुदूर तथा मध्येपश्चिमाञ्चल स्तरीय साहित्यिक बाङ्मय कार्यक्रममा काव्य र आख्यानका आठवटा विभिन्न विज्ञका कार्यपत्र प्रस्तुत गरिएका थिए । अलग अलग कार्यपत्रमा छलफल भई मोफसलको साहित्यि सिर्जनाले नेपालको साहित्यिक वाङमय क्षेत्रको उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको गोष्ठीले निष्कर्ष निकालेको छ ।
काठमाडौंमा सिर्जना गरिने रचनाभन्दा मोफसलमा सिर्जना हुने रचना कुनै पनि मानेमा कमजोर नभएका बुझाई गोष्ठीको छ । प्रज्ञा प्रतिष्ठानले क्षेत्रीयस्तरको साहित्यिक श्रीबृद्धिमा ध्यान केन्द्रित गरी साहित्यिक कार्यक्रमको आयोजना गरिरहेको प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेतीले बताउनुभयो । मोफलसको साहित्यिक सिर्जनाकै कारण राष्ट्रियस्तरको साहित्य फष्टाएको उहाँले दावी गर्नुभयो ।
प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जिवेन्द्रदेव गिरीले मोफसलको साहित्यिक उन्नयनका लागि नै देशव्यापी कार्यक्रम गरिएको बताउनुभयो । प्रतिष्ठानको हीरक जयन्तीको अवसरमा बाँकेको नेपालगञ्ज, पूर्वाञ्चलको वीराटनगरमा क्षेत्रीय कार्यक्रम सम्पन्न गरी आगामी वैशाख ६ देखि ८ गतेसम्म काठमाडौंमा वृहत साहित्यिक कार्यक्रमको आयोजना हुन गइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रतिष्ठानका काव्य विभागका प्रमुख डा. अमर गिरीले मोफसलको साहित्य सिर्जना कुनै पनि मानेमा केन्द्रीयस्तरको रचनाभन्दा कमजोर नभएको तर्क गर्नुभयो । देशभरी रहेका साहित्यकारहरुको साहित्यिक पहिचान र अस्तित्वका लागि प्रतिष्ठानले देशव्यापी कार्यक्रम गरिरहेको उहाँले दावी गर्नुभयो । आगामी दिनमा क्षेत्रीयस्तरमा रहेका लोकभाका, लोक साहित्य, लोकगाथा तथा काव्य र आख्यान साहित्यका विषयमा थप कार्यक्रम गर्दैजाने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा सुदूर तथा मध्ये पश्चिमका करिब दुईसय पचासजना साहित्यकारहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, बुँद राना सहित वरिष्ठ साहित्यकार तथा क्षेत्रीय साहित्यकारहरुले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।
शनिबार कवि गोष्ठीको आयोजना गरी स्थानीय साहित्यकारको रचना प्रस्तुतीको विशेष व्यवस्था मिलाइएको थियो । सो गोष्ठीमा साहित्यकारहरु जगत उपाध्याय, त्रिपुरा पौडेल, मनोहर लामिछाने, लक्की चौधरी, छविलाल कोपिला, सोम डेमनडौरा, टीकाराम थापा, छेदाप्रसाद थारु, गोपाल अश्क, सुरेश सत्याल, विक्रम शीशीर, अब्दुल लतिफ शौक, मुस्ताफा असन, मणि शर्मा, टीकाराम उदासी, पुष्करनाथ रिजाल, पुष्पमान प्रधान, विष्णुलाल कुमाल, बलभद्र भारती, लक्ष्मी बस्याल लगायतले रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा थारु समुदायको लोकप्रिय सांस्कृतिक प्रस्तुतीसहित अन्य समुदायको नाचहरुको प्रदर्शन गरिएको थियो । स्थानीय कलाकार विक्रम शीशीरको एकल चित्रकला प्रदर्शन पनि कार्यक्रमस्थलमा गरिएको थियो । चित्रकार शिशिरकाअनुसार २०६८ पछाडि रचना गरिएका विभिन्न २२ वटा चित्रकलाको सो अवसरमा प्रदर्शन गरियो ।
शनिबार नै उर्दू साहित्यको उत्कृष्ट प्रस्तुती मुसयरा (गजल गायन) कार्यक्रम पनि प्रस्तुत गरिएको छ । सो अवसरमा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलसहित, बुँदराना, गोपाल अश्क र स्थानीय उर्दूभाषी गजलकार तथा अन्य गजलकारहरुले आआफ्ना रचना वाचन गरेका थिए । कार्यक्रमको स्थानीय संयोजक हरि तिमिल्सिनाकाअनुसार छोटो समयमा गरिएको तयारीका बीच पनि कार्यक्रम भव्य र सभ्यरुपमा सफल भएको छ ।