काठमाडौं, वैशाख ९ गते । थारु भाषा साहित्यको संरक्षण र सम्बद्र्धनमा थारु पत्रपत्रिकाको भूमिका महत्वपूर्ण रहेको थारु अगुवाहरुले चर्चा गरेका छन् । भाषा साहित्यको उत्थानविना थारुको पहिचानको संरक्षण हुन नसक्ने बुझाई उहाँहरुको छ ।
पूर्वीया थारु भाषाको मासिक पत्रिका इजोत (प्रकाश) को पाँचौ अंक प्रकाशनको अवसरमा शनिबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा थारु अगुवाहरुले त्यस्तो बताउनुभयो । पश्चिम महाकालीदेखि पूर्वको झापासम्म तराईका जिल्लामा छरिएर बसेका थारु समुदायको भाषा ठाउँअनुसार फरक रहेकाले साझा भाषाकालागि थारु भाषालाई मानक रुपदिन आवश्यक रहेको उहाँहरुको भनाई थियो ।
पूर्व र पश्चिमका थारुहरु सम्पर्क भाषा अहिले नेपाली भाषालाई बनाएको र एकले अर्कासँग कुरा गर्दासमेत नेपाली भाषाको प्रयोग हुँदैआएको छ । यस अवस्थामा थारु भाषालाई नै सम्पर्क भाषाकोरुपमा विकास गर्न पहल शुरु गर्नुपर्ने भनाई अगुवाहरुको छ । त्यसकालागि थारु भाषाको व्याकरण, डिस्नरीहरु प्रकाशनमा रहेपनि पर्याप्त नरहेको भनाई भाषाप्रेमीहरुको छ । व्यापकरण र शब्दकोष निर्माणमा युवाहरुलाई वक्ताहरुले आग्रह गर्नुभयो ।
कार्यक्रममा साहित्यकार भुलाईप्रसाद चौधरी, सुशील चौधरी, लक्ष्मीनारायण चौधरी, लक्की चौधरी, रघुपति चौधरी, कृष्णराज सर्वहारी, चन्द्रप्रसाद चौधरी लगायतले थारु भाषा साहित्यको उन्नयनका लागि थारु साहित्यकार तथा लेखकहरुको सक्रियताको खाँचो औल्याउनु भयो । थारु सम्पर्क भाषाकालागि मानकरुप दिन पश्चिमा डंगौरा थारुले अभियान शुरु गरिसेककाले पूर्वीया थारुले समेत त्यसमा चासो राख्नुभएको छ ।
कार्यक्रममा थारु भाषा संरक्षण तथा सम्बद्र्धनमा पत्रपत्रिकाको भूमिका विषयक कार्यपत्र साहित्यकार कृष्णराज सर्वहारीले गर्नुभएको थियो । सो कार्यपत्रमाथि महेश्वर चौधरी, विद्यानन्द लेखी, हरिदेव चौधरी, गीता चौधरी, कानूनलाल चौधरी, तारा चौधरी लगायतको धारणा राख्नुभएको थियो । २०६८ को जनगणनाअनुसार १७ लाख ३७ हजार ४७० थारुको जनसंख्या छ । जसमध्ये तथ्याङ्क विभागका अनुसार २ लाख ७ हजार ५९५ थारुले मातृभाषा बोल्दैनन् ।