लक्की चौधरी
काठमाडौं, वैशाख ९ गते । शंखमुल पुलदेखि टेकु दोभानसम्म कुल क्षेत्रफल पन्ध्रसय ७६ रोपनी जग्गासहितको यु.एन. पार्क विस्तार भएर त्रिभुवन विश्वविद्यालयको गेटसम्म काठमाडौंतर्फ फैलिनेभएको छ । विस्तार हुँदा करिब ३० रोपनी जग्गा पार्कमा थप हुने भएको छ ।
यु.एन. पार्कका कार्यकारी निर्देशक लक्ष्मीनारायण चौधरीकाअनुसार पार्क विस्तार भएपछि त्यसको व्यवस्थापन शुरुभएको छ । यसअघिसम्म पार्कलाई हरियाली बनाउनेबारे खासै काम नभएपनि आफू निर्देशक भएर आएदेखि सम्पूर्ण ध्यान त्यसको आकर्षणमा लगाएको उहाँले बताउनुभयो ।
२०५२ चैत २६ मा स्थापना भएको सो पार्कमा अहिले विभिन्न जातका बोटविरुवा रोपिएपछि काठमाडौंको मुटुमै हरियाली छाएको छ । रुखहरु बढेर जंगल बनेपछि त्यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गीले बसेरा गर्न पाएका छन् । पार्कलाई थप आकर्षण बनाउन वर्षेनी बजेटको सिलिङमा बृद्धि र आन्तरिक श्रोत परिचालन गरिएको निर्देशक चौधरीले बताउनुभयो ।
यसअघिसम्म करिब दुई करोड २५ लाख वार्षिक बजेट रहने गरेको यस पार्क व्यवस्थापनका लागि आर्थिकवर्ष ०७४÷०७५ का लागि सात करोड २१ लाख रुपियाँ बजेट पुगेको निर्देशक चौधरीले सुनाउनुभयो । पार्क व्यवस्थापन र कर्मचारीको तलबकालागि पर्याप्त रकम नभएपनि त्यसैबाट व्यवस्थापनको काम तिव्रगतिमा अघि बढेको चौधरीको भनाई छ ।
अहिले थापाथलीपुल स्थित पार्कको जग्गामा करिब ५० लाख खर्चेर यु.एन. स्मारक निर्माण भइरहेको छ । २०५६ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलन्यास गर्नुभएको सो स्मारकको निर्माण अन्तिम चरणमा पुगेको छ । नौ मिटर अग्लो सो स्मारकमाथि चौविसै घण्टा घुम्ने ग्लोब र लाइट जडानको काम भइरहेको निर्देशक चौधरीले भन्नुभयो ।
आन्तरिक स्रोतको व्यवस्थापनः
यसअघिसम्म आन्तरिक श्रोतको व्यवस्थापन नथालिए पनि २०७२ चैत ८ गतेदेखि कार्यकारी निर्देशककोरुपमा चौधरी आउनुभएपछि आन्तरिक स्रोतकालागि योजना ल्याउनुभएको छ । उहाँकाअनुसार पार्कमा हरेक दिनजसो फिल्म तथा भिडियो सुटिङको काम हुन्छ । सुटिङबापत एक समूहबाट न्यूनतम शुल्क पाँचसय रुपिया लिने गरेको उहाँले बताउनुभयो ।
त्यस्तै, पिकनिक स्पष्टकोरुपमा पार्क प्रख्यात भएको छ । विभिन्न विद्यालय, कलेजबाट वनभोजका लागि यु.एन. पार्कमा विभिन्न समूह आउने गरेको र एक समूहबाट पाँचसय रुपिया लिनेगरेको चौधरीले बताउनुभयो । त्यसको अतिरिक्त पार्कभित्र यसअघि सार्वजनिक शौचालयको व्यवस्था थिएन । चौधरी आएपछि महिला र पुरुषकालागि सशुल्क शौचालयको व्यवस्थापन गरिएको बताउनुभयो । विविध खाता सञ्चालन गरेर त्यसमा आन्तरिक स्रोतबाट छ महिनामा ३५ हजार रुपिया जम्मा भएको उहाँले जानकारी दिनुभयो । सो रकम पनि पार्क व्यवस्थापनमा खर्चने चौधरीको भनाई छ ।
निर्देशक चौधरीकाअनुसार विहान–बेलुका मर्निङ वाक र इभनिङ वाक गर्नेको भीड हुन्छ । योगका लागि पनि दैनिक समूह आउनेगरेका छन् । अहिलेसम्म निःशूल्क प्रवेशको व्यवस्था रहेपनि पार्क व्यवस्थापन सम्पन्न भएपछि प्रवेश शुल्क तोक्ने योजना रहेको उहाँले सुनाउनुभयो । आन्तरिक झमेला र पर्याप्त बजेटको अभावमा पार्क व्यवस्थापनमा समय लागेको उहाँले सुनाउनुभयो ।
२० वर्षे योजनाअनुसार पार्कको व्यवस्थापन भएपनि त्यसमा समयानुकुल परिमार्जनका लागि आफूले पहल गरेको निर्देशक चौधरीले बताउनुभयो । चारवर्षे कार्यकालका लागि चौधरी पार्कको निर्देशक पदमा नियुक्त हुनुभएको छ । सो कार्यकालमा पार्कलाई पूर्णतः व्यवस्थापन गरिसक्ने उहाँको योजना छ ।
पार्कभित्र असारे, कल्गी, लप्सी, मसला, काइयू, अम्बा, रुद्राक्ष, धुपी, लिप्टीस, कपुर, वरपीपल, निम आदि प्रजातिका बोटविरुवा रहेका छन् । पार्कका इन्जिनियर असीम अधिकारीकाअनुसार त्यहाँ काग, बकुल्ला, ढुकुर, भंगेरा, मैना, भ्याकुर, चील, परेवा आदि चराचुरुङ्गीले बसेरा गर्नेगरेका छन् ।
यु.एन. को सदस्य राष्ट्रको हैसियतले सबै देशले विश्व शान्तिकालागि योगदान दिएको स्मरणमा यु.एन. पार्क बनाउने प्रचलन रहेको छ । त्यही प्रचलनअनुसार नेपालमा पनि पार्कको स्थापना गरिएको निर्देशक चौधरीले बताउनुभयो । पार्कमा २१ जनाले रोजगारी पाएका छन् । यसअघिसम्म कर्मचारीलाई तलब खुवाउन समस्या रहेपनि अहिले व्यवस्थापन भइसकेको चौधरीले बताउनुभयो ।
पार्कको आकर्षणः
पार्कभित्र मान्छे हिड्ने पक्की ट्रयाक खोलिएको छ । जसलेगर्दा वाल्क गर्नेहरुलागि सुविधा भएको छ । पार्कको बोटविरुवा, रुख बढेर हरियाली कायम भएको छ । अस्तव्यस्त बजार र शहरकै बीचमा पार्क स्थापनाले हरियाली र शितलताले आगन्तुकहरुको मन रमाउने गरेको पार्कका कर्मचारीहरुको भनाई छ । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा १९ मंसिर २०६६ मा कालापत्थरमा बसेको मन्त्रीपरिषद बैठक र त्यहाँबाट ल्याइएको ढुंगाको स्मारक निर्माण गरिएको छ । त्यसको निर्माणले पार्कको आकर्षण बढेको छ ।
यसको अतिरिक्त पार्क परिसरलाई सफा र सुग्घर बनाइएको छ । यसअघिसम्म ठाउँ ठाउँमा फोहर देखिने गरेपनि अहिले पार्क परिसर सफा सुग्घर र शितल भएको छ । रुखविरुवाहरु हलक्क बढेर सुन्दर भएका छन् । पार्कभित्रका बगैचामा फूलेका फूलले आगन्तुकको मनलाई आकर्षित गर्नेगरेको छ । अहिले छेउछाउका विद्यार्थीहरु अध्ययनका लागि पार्कमा आउनेगरेका छन् ।
पार्कको चुनौतिः
पार्क व्यवस्थापनका अनेक चुनौति देखिएका छन् । कार्यकारी निर्देशक भएर आएको एक वर्षमा दुई पटक अख्तियार पुगेको चौधरीको अनुभव छ । यसअघिका कार्यकारी निर्देशकले अनावश्यक भाइ, भतिजा र आफन्तलाई जागिर खुवाउने नाममा भर्ना गरेको र त्यसको व्यवस्थापन गर्दा आफूलाई ज्यान मार्ने धम्की आएको चौधरीले बताउनुभयो । विभिन्न समयमा उजुरबाजुर गर्दा अख्तियार पुग्ुनुपरेको उहाँले बताउनुभयो ।
अनावश्यक उजुरबाजुरका कारण दुई पटक अख्तियार, दुई पटक सतर्कता केन्द्र र दुई पटक शहरी विकास मन्त्रालयमा स्पष्टीकरण दिनुपरेको चौधरीले दुखेसो सुनाउनुभयो । जनशक्तिको व्यवस्थापन गर्दा अनावश्यकलाई हटाउँदा समस्या भोग्नुपरेको उहाँले सुनाउनु भयो ।
यसको अतिरिक्त थापाथलीस्थित नदीको किनारमा करिब २५० घर सुकुम्बासीको नाममा घर बनाएर मानिस बसोबास गरिरहेकाले त्यसको व्यवस्थापन नै प्रमुख चुनौति रहेको निर्देशक चौधरीले सुनाउनुभयो । विभिन्न दलका नेताहरुको संरक्षणकाकारण सुकुम्बासीको व्यवस्थापन हुन नसकेको बताउँदै चौधरीले शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका र पार्कको संयुक्त प्रयासमा सुकुम्बासी व्यवस्थापनको पहल शुरु भएको चौधरीले बताउनुभयो ।
सुकुम्बासीको नाममा नदिकिनारको पार्कको जग्गामा बसोबास गर्नेहरुको हरेकको घरमा कार र मोटरसाईकल रहेकाले वास्तविक सुकुम्बासीभन्दा हुकुम्बासीको संख्या बढी रहेको चौधरीले बताउनुभयो । दलीय संरक्षण पाएकाले उनीहरु बलियो भएको चौधरीको भनाई छ ।