लाहुराम चौधरीको घरजग्गा बचाउन शुरुभयो आर्थिक संकलन

समाचारको प्रभावले आर्थिक संकलन शुरु


लखन चौधरी
धनगढी, वैशाख २१ गते । कैलाली कारागारमा राजबन्दीजीवन बिताइरहेका थारु कल्याणकारिणीसभा कैलालीका सभापति लाहुराम चौधरीको घरजग्गा लिलामी हुनबाट बचाउन आर्थिक संकलन अभियान सुरु गरिएकोे छ ।

व्यापारिक प्रायोजनकालागि लिएको ऋण जेलमा परेपछि समयमा तिर्न नसकेपछि धिटोस्वरुप राखिएको घरजग्गा लिलाम गर्ने स्थानीय बैंकले सूचना जारी गरेको छ । धनगढीस्थित एनआइसी एसिया बैंकमा सावाँ, ब्याजसहित एकमुष्ट ऋण चुक्ता तथा धितो लिलाम सम्बन्धी ३५ दिने सूचना निस्केपछि लिलाम हुनबाट जोगाउँन अभियान थालिएको हो । बैंकको सूचनाअनुसार समय १९ दिन बाँकी छ ।

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली संयोजक तथा थाकस कैलाली सभापतिसमेत रहेका चौधरीको बारेमा हमार पहुरा डटकम र पहुरा थारु दैनिकमा समाचार प्रकाशन भएपछि उक्त अभियान सुरु गरिएको हो ।

धनगढीस्थित रोदन मेडिकलका सञ्चालक तथा थारु अगुवा चन्द्रसिंह चौधरीले १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरी अभियानको बुधबार सुरुवात गर्नुभयो । राजनीतिक अधिकारका लागि संघर्ष गर्नेक्रममा जेल जीवनमा पुगेको व्यक्ति सबैको साझा भएकोले सहयोग गर्नु सबैको दायित्व रहेको चौधरीले बताउनुभयो ।

त्यस्तै धनगढी कारागार पुगेर चौधरीको समस्याबारे जानकारी लिदै थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले पनि सहयोग गर्न सबै पक्षलाई आग्रह गर्नुभयो ।

३५ दिने समायवधीमा रकम नबुझाए धनगढी उपमहानगरपालिका–३ बडहरामा रहेको चौधरीको कित्ता नम्बर २३९ को एक कट्ठा जग्गा र घर लिलाम हुनेछ ।

टीकापुर घटनामा संलग्नताको आरोपमा पुर्पक्षकालागि कारागार चलान भएपछि चौधरीले बैंकको ब्याज तिर्न सक्नुभएको छैन । उहाँले व्यापारिक प्रयोजनका लागि सो बैंकबाट लिएको ऋण सावा, ब्याजसहित १० लाख ९४ हजार ४७ रुपैया पुगेको बैंकको स्टेटमेन्टमा उल्लेख  छ । चौधरीले आफ्नो र आफ्नो श्रीमती सोनकुमारी चौधरीको नामबाट ऋण लिनुभएको थियो । बैंकले वैशाख १० गते ऋण चुक्ता तथा जग्गा लिलाम सम्बन्धी सूचना स्थानीय पत्रिकामा प्रकाशन गरेको थियो ।

आफू बन्दी जीवन बिताइरहेकाले घरजग्गा लिलाम हुनबाट जोगाउनका लागि कुनै उपाय नरहेको चौधरीले बताउनुभयो । नागरिक समाजबाट सहयोग भएमा घरजग्गा जोगिने उल्लेख गर्दै पीडित चौधरीले सबैसँग सहयोगको अपिल गर्नुभयो । राजबन्दी चौधरी धनगढीमै अजगर काष्ठ फर्निचर उद्योग सञ्चालन गर्दै आएका थिए । तर बन्दीजीवनपछि उद्योग बन्द भइसकेको छ ।

तपाईको प्रतिक्रिया