लक्की चौधरी
काठमाडौं, वैशाख २१ गते । कलङ्की–पुरानो नैकापहुँदै नागदह–नागढुंगा रुटमा चल्ने सार्वजनिक सवारीसाधनको अभावले त्यहाँ बस्ने स्थानीयबासीले निकै सास्ती भोग्नुपरेको छ । सवारीसाधनको कमीसँगै समितिको लापरवाही पनि रहेको स्थानीयको गुनासो छ ।
चन्द्रागिरी नगरपालिकाको नागढुंगाबाट पुरानो बसपार्कका लागि छुट्ने नागदह यातायातको दिनभरीमा १३ वटा बस सञ्चालनमा छन् । तर ती बसहरु कहिले वनभोज, कहिले विवाहको रिजर्भमा गइँदिदा स्थानीयबासी बस नपाएर दुई घण्टासम्म कुर्नुपरेको गुनासो गरेका छन् । “मनलागे बस चलायो नत्र घरमा टास खेलेर गाडीवाला बसिदिन्छन्” चन्द्रागिरी –१२, चुनदेवीका स्थानीय राजेश कुँवरले गुनासो गर्नुभयो ।
सो रुटमा नागदह यातायातको गाडीमात्र चल्नेहुनाले समितिको मनोमानी रहेको नागदहचोक निवासी माया थापाले गुनासो गर्नुभयो । “निजी सवारीसाधन हुनेलाई त केही भएन, नहुनेले चाँडोमा आधा घण्टादेखि ढीलामा दुई घण्टासम्म बस कुर्नुपर्ने बाध्यता छ” उहाँले भन्नुभयो । सो रुटमा अर्को समितिको सार्वजनिक सवारी सञ्चालन हुन नपाउँदा प्रतिस्पर्धा हुन नपाएको भनाई उहाँको छ ।
नागदह बस्ने अर्का स्थानीय राजेश सिग्देलले विहान ५ बजेदेखि साँझ सात बजेसम्म नागढुंगाबाट नागदह यातायात छुट्ने गरेपनि गाडीको अभाव भएको गुनासो सुनाउनुभयो । “समितिले १३ वटा बस सञ्चालनमा छ भन्छ, तर केही गाडी विग्रेर ग्यारेजमै थन्किन्छन्, दिनहुँजसो रिजर्भमा जाँदा अर्को थप गाडीको व्यवस्था हुँदैन” उहाँले भन्नुभयो ।
“गाडी अभावकैबीच हिड्नैपर्छ, कि झुण्डीएर जानुपर्छ कि खलाँसीको गालीखाएर भित्रै कोच्चिनुपर्छ अर्को विकल्पै छैन” सिग्देलले पीडा सुनाउनुभयो । स्थानीयको चाप र समस्या हेर्दा थप गाडीको व्यवस्था समितिले गर्नुपर्छ उहाँले भन्नुभयो । “समितिले गाडी पनि थप्न नसक्ने, अरु रुटका गाडीलाई चल्न नदिने हो भने यहाँका बासिन्दाको समस्या समाधान हुँदैन ”सिग्देलले भन्नुभयो ।
बसको अभावमा यहाँबाट कलेज पढ्न पुरानो बानेश्वर, कुमारीपाटी, लगनखेलसम्म पुग्ने विद्यार्थीहरुलाई झन समस्या भोग्नु परिरहेको छ । “नियमित कलेज समयभन्दा पनि परीक्षा समयमा झन गाह्रो हुन्छ” कुमारीपाटीको एक कलेजमा अध्ययनरत कक्षा १२ का स्थानीय विद्यार्थी नविन खतिवडाले भन्नुभयो ।
दहचोक यातायातका गाडीचालक मदन गिरीले नागदह रुटमा गाडीअभाव भएपनि गाडीचालकले लापरवाही नगरेको दावी गर्नुभयो । “कहिलेकाहीं विवाह र पिकनिकमा गाडी रिजर्भ जान्छ, पैसा त हामीले पनि कमाउनु प¥यो नि !” गिरीले भन्नुभयो । “यो रुटमा गाडीको अभाव त छ नै, बाटो पनि खाल्डाखुल्डी र ठाउँ–ठाउँमा जाम भएकाले गाडी समयमा ल्याउन नसकिएको हो” चालक गिरीले भन्नुभयो ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सो रुटमा गाडी अभाव भएको भन्दै थप अनुमतिकालागि कुनै समिति अहिलेसम्म विभागमा नआएको बताउनुभयो । थप गाडीको अनुमति आवश्यक भएको भन्दै अनुमति लिन आउनेलाई विभागले सहयोग गर्छ उहाँले भन्नुभयो । “काठमाडौंजस्तो ठाउँमा गाडी अभावले स्थानीयले सास्ती पाउनु राम्रो होइन, सम्बन्धित समितिले नागरिकको सेवामा ध्यान दिनुपर्छ” पाण्डेले बताउनुभयो ।
यातायात व्यवसायी महासंघका अञ्चल संयोजक धर्म रिमालले गाडीअभाव भएको स्थानीयको अहिलेसम्म गुनासो नआएको दावी गर्नु भयो । कलंकी–नागढुंगा रुटमा दिनको १३ वटा गाडी सञ्चालनमा रहेको उहाँले बताउनुभयो । “कार्यालय समय, विद्यालय सञ्चालनको विहानको समयमा र फर्किने साँझको समयमा गाडीमा बढी चापहुनु स्वाभाविक हो” रिमालले भन्नुभयो । नागरिकतहबाट थप गाडीको आवश्कयताको माग आएमा महासंघले सो बारेमा ध्यान दिने रिमालको भनाई छ ।
नागदह यातायात समितिले कलंकीको भित्रिबाटो एल.आर.आई. विद्यालय हुँदै पुरानो नैकाप–नागदह हुँदै नागढुंगा र कलंकी–सतुंगलहुँदै मुख्य सडकबाटै बलम्बु–नागढुंगासम्म बस सञ्चालनमा ल्याएको छ ।