लक्की चौधरी
काठमाडौं, जेठ २ गते । स्थानीय तहको पहिलो चरणको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएपछि शुरुभएको मतगणनाको पूरै परिणाम आउन प्राविधिकरुपले ढिला हुने देखिएको छ । निर्वाचन आयोगकाअनुसार मतगणना शुरुभएको समयले चाँडोमा तीन दिन र ढिलोमा एक सातासम्म समय लाग्नेछ ।
पहिलोचरणको निर्वाचन ३४ जिल्लाको २८१ स्थानीय तहमा सम्पन्न भएको छ । पहिलो चरणमा आयोगले औसतमा ७१ प्रतिशत मत खसेको बताएको छ । कुनै ठाउँमा मतदान सम्पन्न भएकै रातीदेखि मतगणना शुरु गरिएको छ । अधिकांश ठाउँमा भोलिपल्ट सोमबार विहानबाट मतगणना शुरु गरिएको छ । समाचार तयार पार्दासम्म केही नगरपालिका, गाउँपालिका र वडा अध्यक्ष तथा सदस्यहरुको परिणाम सार्वजनिक भइसकेको छ ।
दलैपिच्छेका मतगणना प्रतिनिधिहरुको चित्त बुझाएर मतगणना गर्ने प्राविधिक समस्या समेत देखिएको आयोगको भनाई छ ।
मतपत्र धेरै ठूलो हुनु, राजनीतिक दलको संख्या बढी हुनु, मतगणनाका लागि सदर र बदर मत छुटयाउनमा ढिलाई हुनु, सबै निर्वाचन प्रतिनिधिलाई मतपत्र प्रत्यक्ष देखाएर मात्र मतगणना गर्नु, सबैको चित्त बुझाउने बाध्यता हुनु, पर्याप्त जनशक्तिको अभाव हुनु प्रतिनिधिबीचको विवाद, आदि कारणले मतगणनामा ढिलाई हुने देखिएको छ । दलैपिच्छेका मतगणना प्रतिनिधिहरुको चित्त बुझाएर मतगणना गर्ने प्राविधिक समस्या समेत देखिएको आयोगको भनाई छ ।
निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले सात लहरको निर्वाचन चिन्हमा लागेको छापलाई दुरुस्त हेर्नुपर्ने र मतगणनास्थलमा रहेका सबै प्रतिनिधिको चित्त बुझाउनुपर्ने बाध्यताले मतगणनाको काम सोचेजस्तो छिटो हुन नसकेको बताउनुभयो । “ढिला होस् तर सबैको चित्त बुझोस्” मनसायकासाथ मतगणनाको काम भइरहेको उहाँले तर्क गर्नुभयो ।
“मतगणनाको काम ढिलाई गर्ने मनसाय निर्वाचन आयोगको होइन, तर प्राविधिक कठिनाई र समस्याले मतगणना सोचेजस्तो चाँडो हुन नसकेको हो” सचिव मैनालीले भन्नुभयो, “मत परिणाम छिटो ल्याउन आवश्यक परेको ठाउँमा आयोगले आवश्यक जनशक्ति विस्तार गर्ने तयारी गरेको छ ।”
पहिलोचरणमा छ हजार छ सय ४२ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भयो । त्यसकालागि कुल ४९ हजार ३३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिकामा भएको निर्वाचनको पूरै परिणाम आउन समय लाग्ने आयोगको प्रारम्भिक अनुमान छ । शुरुवातीचरणमै मतपरिणाम आउन समय लाग्ने देखिएपछि पूरै परिणाममा ढिलाई आउने आयोगले आँकलन गरेको हो ।
“मतपत्रको आकार ठूलो भएर मतदान गर्न पनि मतदातालाई समय लागेसरह गणनामा पनि स्वाभाविकरुपमा समय लाग्ने नै हो” उहाँले भन्नुभयो ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले स्थानीय तहको निर्वाचन २०७० सालको संविधानसभा निर्वाचनजस्तो नभएकाले परिणाम आउन ढिलाई हुने बताउनुभयो । अधिकांश ठाउँमा सोमबार विहानबाट मात्रै मतगणना शुरु भएकाले मंगलबार साँझसम्म त्यसको गतिबारे एकिन भन्न सकिने बताउनुभयो । “मतपत्रको आकार ठूलो भएर मतदान गर्न पनि मतदातालाई समय लागेसरह गणनामा पनि स्वाभाविकरुपमा समय लाग्ने नै हो” उहाँले भन्नुभयो ।
मतगणनामा स्थलमा उम्मेदवार तथा तिनका प्रतिनिधि, मतदान अधिकृतले खटाएका कर्मचारी, सुरक्षाकर्मीसहित अन्य प्रतिनिधिको सहभागितामा मतगणनाको काम भइरहेको छ । मतगणना स्थलमा ठाउँ अभाव र जनशक्तिको पर्याप्त व्यवस्था नहुँदा कम ठाउँमा मतगणना गर्नुपरेको भनाई आयोगका प्रतिनिधिहरुको छ । मतगणनास्थलमा हुने प्रतिनिधिको संख्याको आधारमा ठूलो स्पेस चाहिने भएपनि सबै ठाउँमा त्यस्तो अवस्था छैन, आयोगका सचिव मैनालीले भन्नुभयो ।