छाउ भ्याकी बैकिनीलाई कसरी छुन्या ?

लोग्शरी कुँवर

loksari photo

सुदूरपश्चिमको पहाडी जिल्ला अछाम छाउपडीकाकारण संसारमै बद्नाम छ । छाउपडी प्रथाबाट नेपालका अधिकांश मानिसहरु प्रभाबित भएपनि छाउ (महिनावारी) हुँदा गोठमै बस्नुपर्ने बाध्यताकारण अछाम जिल्लाले बढी बद्नाम कमाएको हो । सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ्, डोटी, डडेल्धुरा, बैतडी, दार्चुलासँगै तराईका जिल्ला कैलाली र कञ्चनपुर समेत छाउपडी गोठमुक्त छैनन् । तर पनि संख्यात्मकरुपमा अछाममा छाउपडी गोठहरु बढी भएकाकारण सबैभन्दा बढी छाउपडी प्रथाको प्रभाव अछाममा देखिएको हो ।
हुन त राजधानी काठमाडौंमा पनि छाउमान्ने मानिसहरुको संख्या अछामीको भन्दा कम छैन । काठमाडौंमा आलिसान महल हुनेहरुदेखि एउटामात्र कोठा भाडामा लिएर बस्ने (प्राय सबै क्षेत्री बाहुनहरु) समेत महिनावारी बार्छन् । तरपनि हरेक महिना महिनावारी हुँदा अछामी महिलाहरुलाई गोठमै बस्नुपर्ने बाध्यात्मक परिस्थितीका अगाडि त्यो कुरा सामान्य नै लागिरहेको छ । अछामका छाउपडी गोठहरुले शहरमा एउटा कोठामा बस्नुपर्दा समेत चूलो, पूजाको क्षेत्र लगायत अरु सुत्ने ओछ्यानहरु छुन नपाउँदा कच्याकूचूक तरिकाले सानो ठाउँभित्रै गुम्सिन बाध्य  महिलाहरुको पीडालाई ओझेलमा पारिरहेको छ । रेडियो, टेलिभिजन, पत्रपत्रिका लगायत सभा, समारोह र परिवर्तनका लागि गरिने कार्यक्रमहरुमा दिग्गजहरुका भनाइहरु सुन्नेले त राजधानी लगायतका शहरमा महिनावारी बारिदैन भन्ने ठान्दा होलान् । अझ भन्नुपर्दा अछाम लगायत सुदूर र मध्यपश्चिमका जिल्लाहरुमा छाउहुँदा गोठमा बस्न बाध्य महिलाहरुले शहरमा त हाम्रो जस्तो पिडाछैन भन्ने बुझिरहेका छन् । जुन गलत कुरा हो ।
प्रसंग अछामकै हो । अछामको छाउपडीका बारेमा थुप्रै सुनेकी पत्रकार उन्नती चौधरी रिपोटिङ्का क्रममा मसँगै अछाम पुगिन् । छाउपडी प्रथा बिरुद्धमात्र दर्जन संघ संस्थाले काम गरिरहेको सदरमुकाम मंगलसेनमा संयोगवस विभिन्न धर्मका धर्मगुरुहरुको भेला थियो । छाउ भएकाबेला घरमा बस्दा र दुध दही खाँदा देउता रिसाउने, घरमा बाघ प्रवेश गरी घरपालुवा जनावरसँगै मान्छेमाथि आक्रमण गर्ने, घरका सदस्य बिरामी पर्ने र स्वयं यो प्रथा नमान्ने महिलालाई शारीरिक, मानसिक र सामाजिक रुपमै राम्रो हुँदैन भन्ने सुनेकी उनलाई छाउपडी प्रथाकाबारेमा धर्म गुरुहरुको बुझाई सुन्न मन लाग्यो र कार्यक्रममा सहभागि भइन् । कार्यक्रममा सहभागी हिन्दु, बौद्ध, क्रिश्चियन लगायत धर्मगुरुहरुका भनाई सुनिन् । साथै कार्यक्रममा धामी (भूत, पिचास लाग्दा कापेर निको पार्ने व्यक्ति) को उपस्थिती थियो । छाउपडी प्रथा मान्दा के हुन्छ ? नमान्दा के हुन्छ ? भन्ने छलफल भइरहँदा धामीले चार दिनसम्म महिनावारी भएकी महिलालाई छुन नसकिने बताए । तपाईहरु जे गर्नुस्, म चाँही छाउपडीलाई छुँदैन । देउता रिसाउँछन् । भन्न पायो, बोल्न पायो भन्दैमा जे पनि गर्न र बोल्न पाईन्छ ? “छाउ भ्याकी बैकिनीलाई कसरी छुन्या ?” (महिनावारी भएकी महिलालाई कसरी छुने ?) आफ्नै भाषामा उनले प्रश्न गरे । बरु छाउभएका बेला भगवानले नै महिलाको शरीरबाट रगत बगाउँछ भन्दै भगवानको नियमलाई मान्छेले परिवर्तन गर्न नसकिने तर्क उनले गरे ।
धामीको कुरा सुनेपछि उन्नतीले धामीलाई छुने कोसिस् गरिन् । छाउभएकी महिलाले देउता आउने धामीलाई छुँदा देउता रिसाउँछन् भन्ने सुनेकी उनलाई धामीछुने ईच्छा लाग्यो । उनलाई महिनावारी भएको २ दिन भएको थियो । म महिनावारी भएकी छु । तपाइलाई छुन चाहान्छु भन्ने वातावरण पनि थिएन । त्यसैले उनले धामीले नबुझ्ने गरी उनको नजिक गइन् । उनीसँग बसेर फोटो खिचिन् । धामी हाँसिरहे । उन्नतीको रणनीति मलाई थाहा थियो । त्यसैले मैले पनि उनीहरुको फोटो लगातार खिचिरहेँ । उन्नती म नजिक आएर खुसुक्क मलाई भनिन्, “दिदी धामीलाई त केही भएन त ?” उन्नतीको प्रश्नको उत्तर मसँग रेडिमेट थियो । मैले पनि भने । तपाईले म महिनावारी भएकी छु भनेर जानकारी दिएको भए हुन्थ्यो । जानकारी नदिएको भएर केही भएन । मेरो उत्तर र धामीलाई केही पनि नभाको अवस्थाले उन्नतीलाई पनि प्रष्ट बनायो । आफ्नो घरमा महिनावारी कहिल्यै नमान्ने थारु समुदायकी उन्नतीले अछाम लगायतका जिल्लाका धामी लगायत धर्म गुरुहरुलाई छुनु हुँदैन भन्ने सुनेकी थिइनन् । छोयो भने के हुँदो रहेछ भन्ने कुराको भुक्तभोगी समेत बनेपछि स्पष्ट भईन् । अनि भनिन्, – केही हुँदो रहेनछ । खाली भ्रममात्र हो ।
एउटा एनजीओको सहयोगमा सुदूरपश्चिमको पहिलो छाउपडी गोठमुक्त भएको भागेश्वर गाविस अछामको विकसित गाविसकोरुपमा पनि चिनिन्छ । दुई वर्ष अगाडि छाउपडीको रिपोटिङ्का क्रममा भागेश्वर पुग्दा भागेश्वर छाउपडी गोठमुक्त भएको फिचर लेखेकी थिएँ । तर त्यसको केही समय पछाडि पुनः अछाम पुग्दा त्यही गाउँमा गोठहरु बनाईएको खबरले मन अमिलो भयो । यस्तोे किन भो भन्दा त साना घरमा परिवारका सबै सदस्यले एकै छानामूनि एकै ठाउँमा सुत्नुपर्दा ‘अच्छल’ हुन थाल्यो रे ! (घरमा विभिन्न बाधा व्यवधान भए । राम्रो भएन) भन्दै गोठ भत्काएका केही परिवारले फेरि गोठ बनाएछन् ।
यस्तै पायल, बैजनाथ, चण्डिका, मष्टामाण्डौं लगायतका गाविसहरु धमाधम छाउपडी गोठमुक्त गरिए । कुरीतिकोरुपमा विद्यमान छाउपडी प्रथालाई मलजल गर्न भौतिक संरचना नै रहिरहनु हामी विज्ञानको यूगमा छौं भनेर गर्व गर्नेहरुका लागि लज्जाको विषय हो । यस्तो अवस्थामा सिङ्गो गाविस नै छाउपडी गोठमुक्त हुनु सिङ्गो नेपालीहरुको लागि नै सुखद् समाचार मान्न सकिन्छ । तर दुखद्पक्ष चाँही के हो भने छाउपडी गोठमुक्त भए भनिएका गाविसमा समेत थुपै्र छाउपडी गोठ भेटिए । जुन राम्रो होइन । रिपोर्टका लागि रिपोर्ट बनाउँन गाविसलाई छाउपडी गोठमुक्त बनाउने सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधीहरुले सयौंको संख्यामा रहेका गोठहरु मध्ये ८०÷८५ प्रतिशत गोठमात्रै भत्किँदा १०० प्रतिशत गोठ नै भत्किए भनेर रिपोर्ट बनाउनु अर्को मुर्खता हो ।
अछाम बसाईका क्रममा स्थानीय महिला, महिनावारी सुरु भएका किशोरी, तिनका केटा साथीहरु, पत्रकार, स्थानीय बुद्धिजीवी, एनजीओकर्मी लगायत धेरै व्यक्तिहरुसँग छाउपडीका विषयमा कुराकानी गर्ने अवसर मिल्यो । छाउपडीप्रथा कूप्रथा हो भन्ने बारेमा लगभग सबै मान्छेहरु सहमत छन् । तर समस्या कहाँनिर छ भन्दा सोडषा उच्च माविमा पढ्ने किशोरी बहिनीहरुको जवाफ साह्रै चित्तबुझ्दो लाग्यो । बिसाकोट घर भएकी एकजना किशोरी बहिनीलाई यो प्रथा पटक्कै मन पर्दैन । छाउहुनु प्राकृतिक नियम हो । यो अवस्थामा अरु बेलामा भन्दा प्रयाप्तमात्रामा पोषिलो खानेकुरा खानुपर्छ । आराम गर्नुपर्छ । योनीबाट रगत बगिरहने भएकाकारण पटक–पटक सफापानीले योनी सफा गरिरहनु पर्छ । रगत बाहिर नबगोस् भन्नका लागी प्रयोग गरिने सफा कपडाको प्याड अथवा सेनेटरी प्याड फेरीरहनु पर्छ भन्ने थाहा छ । यती थाहा हुँदाहुँदै पनि महिनावारी सुरु नभएकी उनलाई महिनावारी भएकै दिन गोठ जानुपर्ने बाध्यता छ । किनभने उनीसँगैका सबै साथीहरु महिनावारी हुन थालिसकेका छन् । र, उनीहरु छाउहुँदा सबै गोठ बस्छन् । तपाईले महिनावारी भएँ भनेर नभन्दा के हुन्छ त ? भन्ने जिज्ञासामा उनले भनिन्,–“लाग्न त मलाई पनि त्यस्तै लाग्छ । तर एकपटक नभनौंला । दुई पटक नभनौंला । वर्षौसम्म नभन्दा त उल्टै सबैले यो केटी अहिलेसम्म महिनावारी किन भईनँ भनेर मेरो शारीरिक क्षमताप्रति नै प्रश्न उठाउँछन् ।” त्यसकारण पनि महिनावारी भयो भने गोठ जानैपर्छ ।
छाउपडी प्रथा मान्नु हुन्न भनेर अरुलाई सिकाउनेहरुकै कथा–व्यथा पनि सुनिनसक्नु छन् । अधिकारकर्मी महिला, अधिकारकर्मी पुरुष, पत्रकारका श्रीमती, आमा, दिदी बहिनी समेत छाउपडी प्रथाको शिकार छन् । महिला भएकैकारण थुपै्र सुख र सुविधाबाट बञ्चित महिलाहरुका अधिकारका लागि वकालत गर्ने अछामका अधिकांश अधिकारकर्मी महिलाहरु स्वयं छाउको समयमा गोठबस्न विवस छन् । गोठ नबस्नेहरु पनि ४÷५ दिनसम्म छाउपडी मान्न बाध्य छन् । किनभने एउटा विवाहित महिलाले हरेक महिना छाउभएँ भनेर परिवारमा प्रचार नगर्ने हो भने ऊ गर्भवती भएको बुझिन्छ । त्यस्तै विवाह नभएकी युवती पनि हरेक महिना गोठ नजाने हो उसले अवैध पेट बोकेको अड्कल काटिन्छ । प्रश्न गरिन्छ । सोधीखोजी हुन्छ । त्यसकारण पनि आफ्नो चरित्रलाई राम्रो देखाउने बहानामा अछामी महिलाहरु छाउपडी प्रथालाई शिरोपर गर्न विवश छन् ।
आफु दुख भोगेर अरुका अगाडि कथित राम्रो बन्नका लागिमात्रै महिलाहरु किन छाउपडी प्रथालाई मलजल गरिरहेका छन् त ? के यसमा पुरुषको भूमिका केही छैन ? भन्नेहरुका लागि गतिलो उदाहरण हुनसक्छन्, अछामका पत्रकार राजेन्द्र कुँवर । पायल घर भएका उनले विवाह गरेदेखिनै श्रीमतीलाई गोठ पठाएनन् । छिमेकीका श्रीमती, आफ्नी आमालगायत सबै महिलाहरु महिनावारीमा गोठ बस्थे । तर छाउहुनु भनेको महिला प्रजनन् क्षमताका लागि योग्यभएको प्रमाण हो भन्ने बुझेका उनले श्रीमतीले गोठ जान्छुभन्दा अनुमती दिएनन् । जसले जे भन्छ मलाई भन्छ भन्दै श्रीमतीलाई आफु महिनावारी भएको कुरा कसैलाई नभनेर गोप्य राख्न भने । विवाहको ३–४ महिनासम्म पनि श्रीमती महिनावारी नभएपछि सबैले गर्भरहेको भन्दै बधाई  दिए । तर परिवार नियोजनका अस्थाई साधन प्रयोग गरेको उनको दम्पत्तीबाट २ वर्ष बितिसक्दा पनि बच्चा नजन्मिएको देखेपछि कसैले श्रीमती महिनावारी नै नहुने गरेको अड्कल काटे । कसैले भने महिनावारी लुकाएकाकारण देउता रिसाएपछि बच्चा नजन्मिएको भन्दै उछिट्टो काटे । त्यतिमात्र होइन, कतिपयले त उनको घरमा पस्न र खाना खान पनि छोडेछन् । तर उनीहरु भने काग कराउँदै जान्छ पिना सुक्दै जान्छ भनेझैँ कसैको कुरा सुन्नतिर लागेनन् । शिक्षक समेत रहेकी श्रीमतीले पछि त अरुका कुरा सुन्न छोडिन् । विवाहको २ वर्षपछि उनीहरुको पहिलो छोरा जन्मियो । आमाको दुध नआएपछि गाइभैसीको दुध खुवाउनु पर्ने बाध्यता भयो । तर राजेन्द्रका बुढाबुढी छाउ मान्दैनन् भनेर गाउँमा कसैले गाई भैसीको दुध दिएनन् । अन्तमा उनले छिमेकी दलित महिलाको घरबाट भैसीको दुध लगाए । तर गाउँलेहरुले छाउ नमान्नेलाई भैसीको दुध दिइस् । अब तेरो भैसी मर्छ भन्दै कुरा लगाएपछि ती दलित महिला रुदैँ राजेन्द्रका घर पुगिछन् । यदी मेरो घरमा दुध लगाएकाकारण तपाईको भैसी मरेछ भने म दुधदिने नयाँ भैसी किनिदिन्छु । तर दुध नपाएर मेरो छोरालाई मर्न नदिनुस् भनि आग्रह गरेपछिमात्र उनले दुध दिन थालिछन् । आखिर भैसीलाई के हुन्थ्यो र ? केही भएनछ । अहिले राजेन्द्र दम्पत्तीका दुइभाई छोरा छन् । चारजनाको सुखी परिवार छ ।
हो, बास्तवमै सामाजिक परिवर्तन गर्ने नै हो भने परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ । हिजोका दिनमा छाउपडी मान्दैन भन्दै आफ्नो नवजात शिशुलाई दुधसमेत दिन नमानेका आफ्ना छिमेकीहरुमा यतिबेला भएको परिवर्तन देख्दा राजेन्द्र खुसी छन् । छाउपडी जस्तो कुरीतिलाई उनीहरुले एक दिन त्याग्नेछन् भन्ने विशवास उनीमा थियो । अहिले भयो पनि त्यस्तै । श्रीमतीलाई १४ वर्ष अगाडि नै छाउभएका बेला गोठबस्न नदिई घरमै राखेका राजेन्द्र जस्तै अहिले धेरै छिमेकीका श्रीमतीहरु छाउहुँदा गोठ जाँदैनन् । आफै खाना पकाउँछन् । घरको सबै काम गर्छन् । त्यसकारण, परिवर्तन चाहने तर त्यसका लागि अरुलाई पर्खेर बस्ने बानीको अन्त्य नभएसम्म छाउपडी प्रथाको अन्त्य हुन सम्भव छैन । छाउहुँदा गोठमा बसेकाबेला जंगली जनावरमात्र होइन, हिंस्रक स्वभावका मान्छेहरुबाट जोखिम मोल्नुपर्ने हुन्छ । संघ संस्थाहरुले पनि छाउपडी प्रथा मान्नु हुँदैन भनिरहँदा किन मान्नु हुँदैन, यसले महिलाको गतिशिलता, आत्मसम्मान र समग्र समाजको विकासमा पारेको असरका बारेमा प्रष्टसँग बुझाउन जरुरी छ । त्यसका लागि स्वयं घरका दाजुभाइ र श्रीमानहरुले साथ दिनुपर्ने हुन्छ ।
(लेखक ः पत्रकार हुन् ।)

तपाईको प्रतिक्रिया