नेपाली उच्चस्तरीय टोली कतारतर्फ


काठमाडौँ, कात्तिक २९ गते ।
कतारमा रहेका नेपाली आप्रवासी कामदारको मानव अधिकारको स्थितिबारे जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोगको तीन सदस्यीय उच्चस्तरीय टोली शनिबार कतार प्रस्थान गरेको छ ।

मानव अधिकार समिति कतारको निमन्त्रणामा आयोगको उच्चस्तरीय टोली शनिबार कतार प्रस्थान गरेको हो । उच्चस्तरीय टोलीको नेतृत्व आयोग अध्यक्ष अनुपराज शर्माले गर्नुभएको छ ।

टोलीले मानव अधिकार समिति कतारसँग नेपाली कामदारको मानव अधिकार र उजुरीको सुनुवाईबारे छलफल गर्ने राष्ट्रिय मानव अधिकार आयोगका कायम मुकायम सचिव वेदप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

कामु सचिव भट्टराईले भन्नुभयो, “कामकै चपेटाका कारण हाम्रा कामदारहरू उजुरी गर्न जाने अवस्थामा समेत हुँदैनन्, यसकारण उच्चस्तरीय टोलीले मानव अधिकार समिति कतारलाई कामदारको अवस्था प्रत्यक्ष अनुगमनका लागि समेत आग्रह गर्नेछ ।”

वैदेशिक रोजगारीको मुख्य गन्तव्य रहेको कतारमा पाँच लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ ।

कामु सचिव भट्टराईका अनुसार मानव अधिकार समिति कतार र आयोगका बीच आप्रवासी कामदारको हक हितबारे एक सम्झौता हुनेछ । उक्त सम्झौताले आयोग र समितिबीच सूचना आदानप्रदानको व्यवस्था गर्नेछ । मानव अधिकार अनुगमनको जानकारी समितिले सहमतिपछि आयोगलाई पनि उपलव्ध गराउनेछ ।

तीन दिने भ्रमणका क्रममा नेपाली टोलीले नेपाली दूतावासका पदाधिकारी र कर्मचारीसँग पनि कामदारको हक हितका लागि भएको पहलबारे छलफल गर्नेछ । आप्रवासी कामदारसँग पनि प्रत्यक्ष अन्तरक्रियाको कार्यक्रम तय भएको छ ।

यस अघि सन् २०१२ मा पनि आयोगले मलेसिया र दक्षिण कोरियामा रहेका नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गरेको    थियो ।

आयोगले आप्रवासी कामदार र परिवारसम्वन्धी महासन्धि अनुमोदन गर्न सिफारिससहित सरकारलाई प्रतिवेदन बुझाए पनि कार्यान्वयन भएको छैन । उक्त सन्धिको पक्ष राष्ट्र नभएको नेपालले अहिले संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्रको हैसियतमा आप्रवासी कामदारको हकहितबारे अन्तरराष्ट्रिय मञ्चमा आवाज उठाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया