हमार पहुरा
काठमाडौं, कात्तिक २९ गते ।
भारतीय नाकाबन्दीले काठमाडौंसहित मुलुकभर इन्धन अभाव भएपछि सरकारले आइतबारदेखि काठमाडौंमा दाउरा वितरण शुरु गरेको छ ।
भारतको नाकाबन्दीका कारण खाना पकाउने ग्यासको आपूर्ति रोकिएपछि विकल्पमा सरकारले दाउरा वितरण गरेको हो।
सरकारी स्वामित्वको टिम्बर कर्पोरेसन लिमिटेड- टिसिएन ले काठमाडौंको पशुपति आर्यघाटको डिपो र ललितपुरको बालकुमारी डिपोबाट दाउरा वितरण विहानबाटै शुरु गरेको छ । दाउरा लिन बिहानैदेखि दुबै डिपोमा सर्वसाधारणको भीड छ। उपभोक्ताले प्रति किलोग्राम दाउराको शुल्क १५ रुपैयाँ बुझाउनुपर्नेछ। एक परिवारले पन्ध्रसय रुपिया नगद तिरेर १ सय किलोग्राम दाउरा प्राप्त गरिरहेका छन् ।
घरमा ग्यास सकिएको र खाना पकाउनका लागि अरु कुनै विकल्प नभएका धेरै सर्वसाधारण दाउरा लिन टिसिएनको डिपोमा पुगेका छन्।
दाउरा लिनजाँदा उपभोक्ताले साथमै आवश्यक कागजात बोकेर जानुपर्ने व्यवस्था सरकारले मिलाएको छ ।
इन्धनको अभावमा दाउरा वितरण शुरुभएपछि उपभोक्ताहरु राहतको सास फेरेका छन् । दाउरा वितरण प्रक्रियालाई इन्धन नआउँदासम्म जारी राख्नुपर्ने माग उपभोक्ताको छ । तर सरकारले पहिलो चरणमा केही गाडी दाउरा मात्र उपत्यकामा भित्र्याएको छ ।
दाउरा लिनजाँदा गर्नुपर्ने प्रक्रिया
१। नागरिकताको फोटोकपी लिएर जाने ।
२। १ सय किलोग्राम दाउरा बापतको शुल्क बुझाएर बिल लिने ।
३। बिल लिएपछि दाउराको मुढा बोकेर आफैले जोख्ने ।
४। मुढालाई दाउरा बनाउन मेसिनमा चिर्न लैजाने ।
५। मेसिनले दाउरा चिरेपछि घर लैजाने ।