
हिन्दूहरुको महान चाड दशैँ सबैको घरघरमा भित्रीसकेको छ । सबै जातजातीले यो पर्वलाई १५ दिनसम्म धुमधामकासाथ मनाउने गर्दछन् । यस चाडलाई थारु जातीले भने “डश्या” भनी आफनै परम्पराअनुसार मनाउने गर्छन् । डश्या अर्थात बडादशैँ आगमन हुनुपुर्व थारु महिलाहरु घर लीपपोत गरी सफासुग्घर पारेका हुन्छन् । दशै मकै र जौँको जमरा राखेकै दिनदेखि आरम्भ हुन्छ ।
थारुको वास्तविक डश्या ढिक्रह्वा अर्थात अष्टमी तीथिथदेखी सुरु हुन्छ । पञ्चमी वा षष्ठीका दिनदेखि प्रत्येक घरका घरमूलीहरु एक करै मद्म (गुँड), एक झुप्पा मकै, गुन्द्री लिएर आफनो घरगु¥वाको घर बानधुप लिन जान्छन् । आफनो गृहदेवस्थलमा टाँगिएको झोलामा जतनसाथ राख्छन् । त्यसपछि घरका देवीदेवताहरुलाई चढाउन यहि अक्षताको प्रयोग गर्छन् ।
थारु समूदायमा प्रत्येक बर्ष गृहदेवस्थलमा स्थापित घोडाजस्तै देवतालाई पुनःस्थापित गर्नुपर्छ । जसकालागि घरमूलीहरु कुमाल समूदायले बनाएको किनेर ल्याउने गर्छन् । सप्तमीको दिन देवीदेवताहरुलाई चढाउने ढिक्री वाष्पीकरण गर्न पैनसटोपी (मूँजबाट बनेको हस्तनिर्मीत बस्तु) नजिकैको खोलामा गई धुन्छन् । अष्टमीको तीथिलाई थारुहरु ढिक्रह्वाको दिन भन्दछन् । यो दिन देवीदेवताहरुका लागि सात प्रकारको ढिक्री बनाउनु पर्दछ । गुले¥वा ढिक्री (बीचमा फुकेको गोलो आकारको), लठ्ठी ढिक्री, ब्वाझा ढिक्री (पाँचवटा लठ्ठी आकारको ढिक्रीलाई दुई ठाउँमा डोरीले बाँधेकोजस्तो आकार) जस्ता सात प्रकारका ढिक्री दशैँमा बनाउने गरीन्छ ।

ढिक्रीको परिकार
रात परेपछि घरमूली नुहाएर गृहदेवस्थलका सबै देवीदेवताहरु मैयाँ, खेख्री, लागुवास, गुर्वावा, घोडाका रुपमा रहेको देवतालाई नुहाईदिन्छन् । पुरानो चढाएको माटाको घोडालाई नयाँ पार्न घोडाको ठाउँमा नयाँ घोडा राखिन्छ । देविदेवताहरु पाटामा (देवता राख्ने ठाउँ) स्थापित हुन्छन् । घरमूलीले नयाँ बह्रानी (फलपाती ) र बेलको सानो हाँगा ल्याएर आफनो घरको उत्तरतर्फको कुनामा राख्छन् । डिउह्रार (देवस्थल) मा शास्त्रीय तालअनुसार झ्वा झुईएक, झ्वा झुईएक, झ्वा झुईएक, झ्वा झुईएक तालमा मादल बज्न थाल्छ । घरमूलीले पातमा सबै प्रकारका ढिक्री राख्दै माथिबाट पातले ढाक्दै सबै पाटाका देवातालाई चढाउँछन् । साथै बेब्री (थारु जातीले देवीदेवतालाई चढाउने एक प्रकारको फूल) चढाउँछन् ।
मद्म (रक्सी ) वानधुप चढाउँछन् । थारु लोकबिश्वास अनुसार आजको रात पितृहरु प्रसाद खान आत्माको रुप लिएर आउँछन् । सो रात थारु नर्तक नर्तकीहरु अहोरात्र सख्या पैँया नाच्दछन् । यो नाचँलाई सामान्य नृत्यकारुपमा हेरिनु हुदैन भन्छन् थारु सस्ंकृतीबिद्धहरु । देवीदेवताहरुको नाम लिदै गाईने भएकाले देवीदेवताको नाम सिकाईदिन देशबन्ध्या गु¥वा नृत्यस्थलमा रहन्छन् । यो सख्या पैँया गाउँको मटाँवाको घरको आगँनमा नाच्दछन् । बास्तवमा संख्या र पैँया नृत्यको उद्भावको बारेमा पौराणिक आख्यान छ । भारतको अयोध्या अर्थात वज्र प्रदेशबाट उदय भएको सख्या र पैँया नै लोपान्मूख हुन् तर नेपालका डङ्गौरा थारुहरुमा प्रचलनमा रहनु अनुसन्ध्यय छ भन्नु हुन्छ थारु लोक सस्ंकृतीबिद अशोक थारु ।
नवमीको ब्रह्ममुहुर्तका दिन घरमूलीले कोह्राको (कुभिण्डो) भेंडा बनाउँछन् । काठको छेस्कोले सिंह, मूख, चारवटा खुट्टा बनाउँछन् । थारु लोकसस्ंकृती अनुसार मानव बलीको रुप कुभिण्डो बलीमा आएको हो यसलाई सकारात्मक रुपमा लिने गरिन्छ । बली दिईसकेपछि त्यसलाई मूलद्वारको सिधैँ माथि छानामा फालिन्छ ।
नवमी तिथीको बिहान घरकी कन्याले बायाँ हातमा कलश लिएर कलशको पानी चुहाउदै देवता राखेको ठाउँमा जान्छिन् । देवताको अगाडि नयाँ बढानी राख्छिन् । मध (रक्सी) चढाईन्छ । पूनः घरमूली नुहाएर घर बाहिरका देवताहरुलाई भालेको भोगदिई सबै देवताहरुलाई जमरा बेब्री चढाईन्छ । पितृहरुलाई श्राद्ध “पिट्टर डेना” दिईन्छ । श्राद्धमा चढाईएको भात तरकारी छोरा नातीले मात्र खान हुने थारु गुरुवाहरु बताउँछन् । श्राद्धमा माछा, सिल्टुङ्ग र पवैँको साग चिचिण्डो आदि बेजोडा तरकारी बनाइन्छ । नवमीको दिनलाई गवल्या टीकाको दिन पनि भन्ने गरिन्छ । जुन दिन घरबाट गरढु¥याहरु करैमा (रक्सी राख्न प्रयोग गरिने माटाको भाँडा) रक्सी, जमरा बेब्री लिएर मटाँवाको घरमा जम्मा हुन्छन् । सबै जना जम्माभएर मटाँवा लाई बेब्रीको माला, जमरा लगाईदिन्छन् । सोहि अबसरमा “डौँ फट्रौं नक घुम, डौँ फट्रौं नक घुम,” को तालमा मादलेहरु मादल बजाउछन् भने कोहि थारु महाभारत (वर्कीमार) गाउँदै ग्रामीणदेवस्थल जान्छन् । वर्कीमारको केहि अंश –
बेबुरी बिनाएक हमका चढावै, विना बुद्धी टुम्हारे पाउ
ढनपटी सरसोटी टोर हिरड वैसरी डेहो
भगमोटी शरन लेहनुँ टोर नाम, डबी ढरम डबी बन्डन बा
अर्थात–वेवुरी फुल नचढाएर म अल्पवुद्धिवालाले तिमीलाई चढाउँ धनकी र विद्माकी देवी ? जे होस् तिमी मेरो हृदयमा बास गरीदेउ । हे भगवती ! म तिम्रो शरणमा रहन पाउँ । म तिम्रो धर्मको, नामको बन्धनमा बाधिँन चाहन्छु ।
दशैँ सदभाव, भाईचारा र खानपिनको पर्व भएकाले जमरा र वेव्री आदानप्रदान पछि मटावाँको घरमा गई, माछा, मासु, ढिक्री, जाँड खान दिएर मटाँँवाकी पत्नीले स्वागत गर्छिन् । सो दिन नवविवाहित दुलाहाहरु गुन्द्रि, कुखुरा, रक्सी लिएर आफ्नो ससुराली टीका थाप्न जान्छन्, जसलाई थारुहरु “जिउरा लगाए जैना” भन्छन् ।

दशमीतीथि, थारुहरु यो दिनलाई राजाको टीकाको दिन भन्दछन् । सो दिन थारु समूदायभित्र रहेका प्रतिष्ठित ब्यक्ति, डेशबन्ढया (गाउँको मटावाँ मूख्यमान्छे), घरगु¥वा (घरको धार्मीक कार्य गरिदिने ब्यक्ति) कँहा टीका लगाएर आफन्तकहाँ टीका थाप्न जाने दिन हो ।
दशमी डश्याको अन्तिम दिन भएकाले अन्य बिधीबिधानको समापन भएपनि सख्या पैँया नृत्य चलिरहन्छ । केहि बर्ष पहिलेसम्म एक महिनासम्म नाचिने यो नृत्य अचेल हराउदै गएको छ । कारण, थारुहरुमा आफनो लोकनृत्य गीतप्रति बितृष्णा जाग्नु हो भन्छन् थारु अगुवाहरु ।।



