
सन्तकुमार चौधरी
चितवन, पुस २२ गते । चितवनमा आयोजना हुन लागेको पाँचौ खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । थारु समुदायले नयाँवर्षको रुपमा मनाउने माघी ( खिचरा ) पर्वको अवसरमा केहि वर्षयता खिचरा महोत्सव हुँदै आएको छ ।
राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान भन्ने नारासहित पाँचौ खिचरा महोत्सव यही पुस २८ गतेदेखि माघ ८ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका– ५ स्थित जनकौली गौचरनमा आयोजना हुन लागेको हो ।
आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ ले शनिवार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । महोत्सव मुल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । सांस्कृतिक महोत्सवको रुपमा विकास हुँदैगएको महोत्सवलाई अझ व्यवस्थित बनाएर लैजाने आयोजकको तयारी छ ।
थारु सँस्कृतिको संरक्षण र प्रर्वद्ध गर्ने उद्देश्यले आयोजना हुँदैआएको महोत्सवमा प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनीलाई प्रमुख प्राथमिकतामा राखिएको छ । यो पटक महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार रुपैयाँ बराबरको बम्पर उपहारस्वरुप काठको पलङ राखिएको छ । त्यस्तै, प्रत्येक ५० रुपैयाँको टिकटमा २५ रुपैयाँ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको छ ।
महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने र झण्डै १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आर्थिक समितिका संयोजक संजय चौधरीले जानकारी दिनुभयो ।
यसवर्ष महोत्सवको अर्को आकर्षणको रुपमा थारु जतिको मूख्य खानाको परिकार मध्येको ‘घोङघी’ र ‘चिचर’को ५ फिटको विशाल मूर्ती प्रदर्शनमा राखिने छ । महोत्सवमा करिव २ सयवटा व्यवासीयक स्टलहरु राखिने छन् । अहिले स्टल निर्माणदेखि मञ्च व्यवस्थापन, बाल उद्यान निर्माणको काम अन्तिम चरणमा पुगेको प्रचार प्रसार समितिका संयोजक कारी महतोले जानकारी दिनुभयो ।
एघार दिनसम्म चल्ने महोत्सवको उदघाटन भूमी सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले गर्नुहुने कार्यक्रम रहेको अतिथि सत्कार समितिकी संयोजक चन्द्रकुमारी चौधरीले जानकारी दिनुभयो । महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने र झण्डै १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आर्थिक समितिका संयोजक संजय चौधरीले जानकारी दिनुभयो ।
महोत्सव अवधिभर प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगेतिक प्रस्तुती रहने छ । सांस्कृतिक संयोजक जयस चौधरीकाअनुसार अहिलेसम्म गायक प्रमोद खरेल, शिव परियार, गायिका मिलन अमात्यक, पशुपति शर्मा, मिलन लामा, मनोज महतो, संजय चौधरी, अमितसिंह चौधरी लगायत दर्जनौं राष्ट्रिय तथा स्थानीय कलाकारहरु आउने तय भइसकेको छ ।




