
भगतराम थारु
कोहलपुर, पुस २३ गते । बाँकेको कोहलपुरमा शनिवार ठुलै जमघट थियो । कठाङग्रीने जाडोमा कोही हाफ कपडामै सहभागि थिए । जन्तीजस्तै देखिने अगाडि पछाडी बेहुला बेहुली बोक्ने थारु समुदायको परम्परा चन्डोल थियो ।
बेहुलालाई चारजनाले चन्डोल बोकेका थिए भने बेहुलीलाई दुई जनाले चन्डोलीमा बोकिरहेको दृष्य देखिन्थ्यो । दुवै चण्डोलको पछाडी सात आठजना महिलाहरुले गित (मागर) गाइरहेका थिए । अगाडि हुरदुङग्वा नाच र लठ्ठहवा नाच पनि सडकमै नाचेका थिए ।
नाच देखेर सडकमा हिड्ने सवैले अनौठो मानेर हेरीरहे । वीच वीचमा युवाहरुले हलो र थारु समुदायले धान काट्ने सिजनमा प्रयोग गरिने छतरी पनि बोकेका थिए । थारु समुदायमा परम्परागत चलनचल्तीमा प्रयोग गरिने सम्पुर्ण सामाग्री देखिन्थ्यो ।

के होला भनेर धेरैले कानेखुसी गरेका थिए । कोही यस्तो जाडोमा पनि के गर्दैछन भने कोही कसैको विहे होला भन्न समेत भ्याए । कोहलपुर नगरपालिकाको न्युरोडदेखि बजारका कुनाकप्चामा हिडिरहे र केही घण्टापछि कोहलपुरकै एक होटलमा सवैले प्रवेश गरे । यी सव थियो बाँके सुनचाँदी तथा गहना व्यवसायी संघ कोहलपुरको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन कोहलपुरकोलागि प्रयोग गरिएको थारु संस्कृति झल्कने नाच ।
चौथो साधारणसभा तथा दोस्रो अधिवेशनमा बर्दिया र बाँकेका थारु समुदायमा प्रस्तुत गरिने परम्परागत पहिरनमा बार्षिक साधारणसभा सम्पन्न भयो । साधारणसभाको कार्यक्रममा नेपाल सुनचाँदी महासंघका अध्यक्ष अतिथी मोहनकुमार सुनारले कार्यक्रमको उदघाटन गर्नुभएको थियो । सुनारले अनाधिकृतरुपमा नेपाल भित्रने सुनचाँदीले आफ्नो व्यवसाय धरापमा परेको बताउनुभयो ।

सुनचाँदी पसलमा छापा हानेर प्रहरीले दुख दिने गरेको पनि गुनासो गर्नुभयो । सुनारले सरकारले सुनचाँदी तथा गहनाको निती निर्माण गर्न दवाव दिइरहेको बताउनुभयो । कार्यक्रममा कोहलपुर नगरविकास समितिका अध्यक्ष, कोहलपुर उद्योग वाणिज्य संघ, नेपालगञ्ज उद्योग वाणिज्य संघ, पूर्व सीचाइमन्त्री दलबहादुर सुनार, प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरुको सहभागिता रहेको थियो ।




