कञ्चनपुरका थारुले वलिदिने प्रथाको गरे अन्त्य, अब प्रसादले काम चलाउने


फाइल तस्विरः लक्की चौधरी, धनगढी ५, जाइँगाउँ ।

कञ्चनपुर, माघ ११ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गर्ने निर्णय गरेका छन् । अब पशुपन्छि वलीको ठाउँमा फलफूल, प्रसादले काम चलाउने निर्णय सो गाउँलेहरुले गरेका छन् ।

माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीकालागि आयोजित बैठकमा गाउँका भद्रभालदमी, गुरुवा, केसौका, बडघरलगायतले पूजामा पशुपक्षी बलि दिंदा समाजमा क्रुरता र निदर्ययिताको भावनाको विकास हुने भन्दै सो प्रथालाई निरुत्साहित गर्ने निर्णय गरेका हुन् ।

उक्त समुदायमा हरेरी, निकासी, देशबन्ध्या, असारी, होरीलगायतका पूजामा निर्दयी तरिकाले सयौँको संख्यामा कुखुरा, बंगुर, भेडा, बाख्रा, हाँसलगायतका पशुपक्षीको बलि दिने परम्परा रहँदैआए पनि त्यसमा विराम लगाउँन बलि दिन निषेध गर्ने निर्णय गरिएको बडघर (भलमन्सा) नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

पशुपक्षीको सट्टा नरिबल, फलफूल, ल्वांगलगायतका पूजा सामग्री प्रसादका रुपमा ग्रहण गर्ने निर्णय समाजको बैठकले सर्वसम्मतिले पारित गरेको उहाँले जानकारी दिनुभयो ।

भुइयारी (ग्रामथान) मा थारु समुदायका अठार देवता हुन्छन् उहाँले भन्नुभयो, “सबै देवतामा पशुपक्षी बलि दिने चलन भएपनि अबदेखि ती सबैमा बलि नदिने निर्णय गरेका छौँ ।” पशुपक्षीको सट्टा नरिबल, फलफूल, ल्वांगलगायतका पूजा सामग्री प्रसादका रुपमा ग्रहण गर्ने निर्णय समाजको बैठकले सर्वसम्मतिले पारित गरेको उहाँले जानकारी दिनुभयो । थारु समुदायले सामूहिकरुपमा पूजागर्ने चलन भएको र पूजासम्बन्धी नियम लागू गरिएपछि सबैले मान्ने चलन पनि छ ।

बलि प्रथामा पूर्णविराम लागेपछि समाजमा हिंसाका घटनामा कमी आई सामाजिक अमनचयनसँगै सदभाव बढ्ने विश्वास लिएका छौँ गुरुवा फुलराम चौधरीले भन्नुभयो, “हिन्दूधर्मका कुनै पनि ग्रन्थमा मांस भक्षण गर्न बर्जित गरिएकाले यसलाई समाजमा लागू गर्नुपर्ने सबैको दायित्व हो ।” गाउँका सबैजनाले पशुपक्षी बलि दिन नहुनेमा सर्मथनसमेत जनाएका छन् ।

बैठकमै गाउँमा जथाभावीरुपमा प्लाष्टिकको प्रयोग गर्नसमेत प्रतिबन्ध लगाइएको छ । प्लाष्टिककाकारण कृषिउपजमा कमी आउने र वातावरण दुर्गन्धित हुने भएकाले प्रतिबन्ध लगाइएको हो ।

पाँचौँ पटक नरेन्द्र वडघर चयन
माघीको खोजनी बोझनी बैठकले पिपलाडी गाउँको बडघरमा पाँचौँ पटक नरेन्द्रप्रसाद चौधरीलाई सर्वसम्मतिले चयन गरेको छ । चौँथो पटकसम्मको कार्यकालमा सामाजिक तथा सांस्कृतिक विकास र निर्माणमा पु¥याएको योगदानको मूल्यांकन गर्दै बैठकले पाँचौँ कार्यकालका लागि पनि उहाँलाई बडघरका रुपमा चयन गरेको हो ।

बलि प्रथामा रोक लगाइने भएपछि त्यसमा खर्च गरिँदै आएको रकम गाउँको बृहत्तर विकासका लागि खर्च गर्ने निर्णयसमेत गरिएको छ ।

गुरुवामा फुलराम चौधरी, केसौकामा ज्ञानलाल चौधरी र चौकीदारमा पतिराम चौधरी चयन हुनुभएको छ । गाउँको प्रत्येक टोलबाट एक एकजना सदस्यका रुपमा चयन भएका छन् । गाउँका सम्पूर्ण व्यक्तिको जमातबाट वर्षभरिमा गरिने विकास निर्माण, विवाह, अंशबण्डा, सामाजिक कार्यको यसै अवसरमा योजाना समेत बनाइएको छ ।

विगतका वर्षको योजनाको समीक्षा गरिएको छ । गाउँमा आउने रोगब्याधि, दैवि प्रकोप हटाउनकालागि धार्मिक मान्यताअनुरुप गुरुवा, गाउँमा खबर आदानप्रदानको व्यवस्था गर्न चौकीदारको छनोट गरिएको हो ।

बैठकमा बडघर नरेन्द्रप्रसाद चौधरीले गत आवको रु ६७ हजार ७३ को आयव्ययको विवरणसमेत प्रस्तुत गर्नुभयो । जसमध्ये पूजामा २६ हजार ४४४ रुपैयाँ खर्च गरिएको र बचत रु ४० हजार ६१८ रहेको जानकारी दिनुभयो । बलि प्रथामा रोक लगाइने भएपछि त्यसमा खर्च गरिँदै आएको रकम गाउँको बृहत्तर विकासका लागि खर्च गर्ने निर्णयसमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया