व्यावसायिक तरकारी खेतीबाट मनग्य कमाए मजगाउँका थारु कृषकले


अविनाश चौधरी
मजगाउँ (कैलाली), माघ ११ गते । टनेल भित्रभित्र तयार हुँदै गरेको मौसमी तथा बेमौसमी तरकारी र, घर वरिपरिका बारीमा लटरम्म फलेको टमाटर, खुर्सानी, फर्सीजस्ता तरकारी । मजगाउँको यस्तो दृश्य देखेर त्यहाँ पुग्ने जो कोही लोभिने गर्दछन् ।

सदरमुकाम धनगढीबाट करिब आठ किलोमिटरको दूरीमा रहेको गोदावरी नगरपालिका–८ मजगाउँका किसानले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन । गतविगतबाटै तरकारी खेतीको अभ्यास गर्दैआएका सिङ्गो गाउँवासी अब आधुनिक तरिकाबाट व्यावसायिक खेतीमा सक्रिय छन् । तरकारी खेतीप्रतिको उनीहरुको लगनशिलताका कारण मजगाउँ व्यावसायिक तरकारी खेती पकेटक्षेत्र घोषित भएको छ ।

‘पकेटक्षेत्र बनेपछि व्यावसायिक खेती गर्न अझै सहज भयों’, कृषक फूलचरण दहितले भने–‘यद्यपि, यहाँ हामीले विगतबाटै यो काम गर्दै आएका छौं ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्ला कृषि विकास कार्यालयले गतवर्षदेखि मजगाउँलाई तरकारी खेती पकेटक्षेत्र बनाएको हो । यो गाउँका हरेक परिवार तरकारी खेतीमै व्यस्त छन् । पहिले चार कट्ठा जमिनमा तरकारी खेती गर्दैआएका दहितले यो वर्षदेखि आठ कट्ठामा विस्तार गरेको सुनाए ।

‘चार कट्ठामा खेतीगर्दा वर्षमा डेढ लाख रुपियासम्म आम्दानी हुने गरेको थियो’, उनले भने–‘यो वर्ष खेती विस्तार गरेकाले आम्दानी पनि बढ्ने निश्चित छ ।’

गाउँका करिब ५० घरपरिवारले कम्तीमा चारदेखि बढीमा १० कट्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्दैआएका छन् । तरकारी खेतीबाट भएको आम्दानीले उनीहरुको जीवनस्तरमा सुधार ल्याएको छ । गाउँको अधिकाङ्श घर पक्कीमा परिणत भएका छन् । कतिपय परिवार कच्चीबाट पक्की घरमा पुग्नु व्यावसायिक तरकारी खेतीकै देन रहेको अर्का कृषक टेकु दहितको भनाइ छ ।

‘यहाँको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो’, उनले भने–‘तरकारीबाट भएको कमाईले जीवनस्तरमा परिवर्तन ल्याएको छ ।’ विगतमा साधारण तरिकाले तरकारी खेती गरेका मजगाउँवासी अब टनेल बिधि अपनाएका छन् । टनेलभित्र काउली, बोरी, काक्रोजस्ता मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुनेक्रममा रहेको छ । गाउँका बृद्धबृद्धादेखि युवापिढी खेतबारीकै काममा सक्रिय छन् । उनीहरुको जागिर नै तरकारी खेती बनेको छ ।

दुई वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दैआएका युवा निर्मल रत्गैंयाले यो कामबाट आफू निकै सन्तुष्ट रहेको बताए । ‘तरकारी खेती गरेपछि पैसा कमाउनका लागि अन्यत्र धाउनु परेको छैन’, उनले थपे–‘हाम्रो जागिर नै तरकारी खेती बनेको छ ।’

चार कट्ठा जमिनमा टनेल समेत बनाएर तरकारी खेती गरिरहेको रत्गैंयाले तरकारीबाटै वार्षिक डेढ लाख रुपियासम्म कमाउने गरेको  सुनाए । ‘मलाई जागिरका लागि देश विदेश धाउनु पर्ने बाध्यता छैन । अरुले जागिरबाट कमाए जति म आफ्नै खेतबारीबाट कमाई गरिरहेको छु ।’

तरकारी खेतीसंगै रत्गैंयाले घरमा ब्रोइलर कुखुरापालनको काम पनि गर्दै आएका छन् । दुवै पेशाबाट भएको आम्दानी आफ्नो परिवारकालागि पर्याप्त रहेको उनले सुनाए ।

मजगाउँका कृषकले उत्पादन गरेको तरकारी बिक्रीकालागि समस्या छैन । गाउँभरीका किसानको तरकारी अत्तरिया बजारका व्यापारी लालबहादुर विकले थोकमा खरिद गर्दैआएका छन् । जग्गा र अवस्थितिको हिसाबले पनि मजगाउँमा तरकारी खेती फष्टाउँदो छ । धनगढी र अत्तरियाबजार नजिक रहेकाले उत्पादित तरकारी खपतकालागि कृषकहरुलाई फिक्री छैन ।

बजारीकरणको समस्या नभएका कारणले अरु कामभन्दा पनि घरपरिवार तरकारी खेतीमै सक्रिय भएको सृजना दहित बताउँछिन् । ‘घरको काम छैन भने, तरकारी खेती स्याहार्ने, झार उखेल्नेजस्ता कार्य गरेर समय सदुपयोग गरिरहेका छौं’, उनले भनिन् ।

गाउँमा दहित, रत्गैंया थरका परिवारको बाहुल्यता छ । आधुनिक तरकारी खेतीमा सघाउकालागि उनीहरु दहित रत्गैंया कृषक समूह गठन गरेका छन् । पकेटक्षेत्रको उद्देश्य अनुरुप व्यावसायिक खेतीका लागि जग्गाको चाक्लाबन्दी बृद्धि गर्न सामूहिक रुपमा अगाडि बढेको कृषकले बताएका छन् ।

समूह बनाएर अगाडि बढेपछि व्यावसायिक तरकारी खेतीमा सरकारी सहयोग पनि पाउन थालेको फूलचरणले जानकारी दिए । ‘जिल्ला कृषि विकास कार्यालयबाट बीउबिजन, उपकरण, सिचाइँ सुविधाका लागि सहयोग भएको छ’, उनले भने ।

तपाईको प्रतिक्रिया