
कारी महतो
चितवन, फागुन २४ गते । प्रदेश सांसद रामलाल महतोले राज्यले दमनको शैलीमा टीकापुर घटनामा आरोपीतहरुलाई दुःख दिइरहेको आरोप लगाउनुभएको छ । घटनामा संलग्न भएको कुनै ठोस आधार प्रमाण नहुँदासमेत आरोपमा थुनामा राख्नु थारुमाथिको अन्याय हो महतोले भन्नुभयो ।
भरतपुर महानगरपालिका २२ को कमलपोखरीमा थारु कल्याणकारिणी सभा चितवनको १२ औं अधिवेशनको उदघाटनसत्रमा बोल्दै महतोले त्यस्तो बताउनुभयो । शुभकामना मन्तव्य व्यक्त गर्दै थारु कल्याणकारिणी सभाका केन्द्रीय संरक्षक एवं पूर्व महामन्त्री अमृतप्रसाद खाँ थारुले थाकस २००५ सालको राणशासनकालमा स्थापित भएको समयमा तत्कालीन शासकहरुले थारुको उत्थानकालागि सहयोग गरेको बताउनुभयो । अहिलेका शासकहरुले थारुहरुलाई दबाउनकै लागि नीति नियम बनाउन थालेकोले आरोप लगाउनुभयो ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले चितवनका थारु समुदायका अधिकांश जनताका जग्गा अतिक्रमण भएको बताउनुभयो । अन्य समुदायका जनताले कि थारुकै जग्गा अतिक्रमण गरेका छन् कि जंगलका सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका छन् उहाँले भन्नुभयो ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले चितवनका थारु समुदायका अधिकांश जनताका जग्गा अतिक्रमण भएको बताउनुभयो ।
थाकस नवलपरासीका सभापति गणेशमान महतो, केन्द्रिय पार्सद विष्णुकुमारी महतो, माडी नगरपालिकाका उपमेयर ताराकाजी महतो, एमालेका पार्टी प्रतिनिधि विष्णुराज महतो, नेपाली काँग्रेसका पार्टी प्रतिनिधि साजन महतो, राप्रपाका पार्टी प्रतिनिधि विष्णुप्रसाद वाग्ले, नेपाल आदिवासी जनजाति महासंघ चितवनका सचिव महेन्द्र दुरा, थाकस चितवनका सल्लाहकार जयचन्द्र चौधरी, थारु महिला सभा चितवनका अध्यक्ष लक्ष्मी चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पत्रकारितामार्फत थारु समुदायलाई सहयोग पु¥याएको भन्दै थारु पत्रकार संघका केन्द्रीय सदस्यद्वय सन्तकुमार चौधरी, राजु चौधरी र जिल्ला उपाध्यक्ष सुमित्रा महतोलाई सम्मान गरिएको थियो । त्यस्तै भरतपुरमा निर्मित थारु छात्रावास निर्माणमा सहयोग गर्ने विभिन्न १३ जनालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम थाकस चितवनका जिल्ला सभापति विश्राम महतोको सभापतित्वमा भएको थियो । २५ र २६ गतेका दिन अधिवेशनको बन्दसत्र हुने आयोजकले बताएको छ ।




