थारू भाषालाई सरकारी कामकाजी भाषामा ल्याउन सामुहिक पहल गर्नुपर्छ


घोराही (दाङ), चैत ११ गते । घोराहीका थारु अगुवाहरुले थारु भाषालाई सरकारी कामकाजी भाषामा ल्याउन सामुहिक पहल गर्नुपर्ने बताएका छन् । त्यसमा सेवाग्रही नै सक्रिय हुनुपर्ने तर्क गरिएको छ ।

थारु ख्याल बगालको आयोजनामा यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सांसद शान्ता चौधरीले थारू भाषालाई घोराही उपमहानगरपालिकाले सरकारी कामकाजी भाषाको मान्यता दिसकेको अवस्थामा पनि हामी थारूहरूले आफै अग्रसर भएर अगाडि नलाग्नुले पनि थारू भाषा कार्यान्वयनमा आउन नसकेको बताउनुभयो ।

सांसद चौधरीले थारूभाषा कार्यान्वयनमा ल्याउन उपमहानगरपालिकामै प्राबिधिक समस्या भएपनि थारू समुदायका सेवाग्राहीहरू नै उपमहानगरपालिकामा सेवा लिदा थारू भाषा प्रयोग नगर्नुले झनै थारू भाषा कार्यान्वयनमा आउन नसकेको उहाँले बताउनुभयो ।

साथै थारू भाषा संस्कृति संरक्षणमा विभिन्न राजनीतिक गुट उपगुटहरू देखिएकाले त्यसप्रति दुख ब्यक्त गर्दै आइन्दा दिनहरूमा सबै थारू एकजुट भइ राजनीतिक विभेदभन्दा बाहिर रहेर कार्यक्रम गर्नु पर्ने र आफूले प्रतिनिधि सभाबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

केवि चौधरीले थारू भाषालाई सरकारी कामकाजी भाषाकारूपमा कार्यान्वयनमा ल्याउन उपमहानगरपालिका एवम् स्थानीय निकायले प्राविधिक तयारी गरी छुट्टै नियम र कानुन बनाइ भाषाको छुट्टै विभाग बनाउन सुझाव दिनुभयो ।

कार्यक्रममा थारु कल्याणकारिणीसभा (थाकस) दाङका जिल्ला अध्यक्ष तेजमान चौधरीले थारू भाषा सरकारी कामकाजी भाषाकोरूपमा कार्यान्वयनमा ल्याउन प्रत्येक वडाहरूमा एक एकजना थारू भाषामा जानकार कर्मचारी राख्नुपर्ने औंल्याउनु भयो ।

यस्तै प्राध्यापक केवि चौधरीले थारू भाषालाई सरकारी कामकाजी भाषाकारूपमा कार्यान्वयनमा ल्याउन उपमहानगरपालिका एवम् स्थानीय निकायले प्राविधिक तयारी गरी छुट्टै नियम र कानुन बनाइ भाषाको छुट्टै विभाग बनाउन सुझाव दिनुभयो ।

साहित्यकार छबिलाल कोपिलाले थारू भाषाको कार्यान्वयनमा सहजता ल्याउनलाई थारू भाषालाई प्राथमिक विद्यालयमा पाठ्यक्रममा मात्र नभई निम्नमाध्यमिक र माध्यमिक विद्यालयस्तरका कक्षामा थारू भाषालाई ऐच्छिक बिषयका रूपमा पाठ्यक्रममा समाबेश गरिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा ख्याल बगालका अध्यक्ष सवि थारूले थारू भाषा कार्यान्वयनमा ल्याउनलाई उपमहानगरपालिकामा थारू भाषा जानकार जनशक्तिको कमिका कारणले थारू भाषा कार्यान्वयनमा आउन नसकेको औंल्याउनुभयो ।

कार्यक्रममा ख्याल बगालको तर्फबाट प्रतिनिधि सांसद शान्ता चौधरीलाई बधाई तथा शुभकामना दिएको थियो । कार्यक्रममा गायक शालिकराम चौधरी, गायक रोशन रट्गैया, पत्रकार सन्तोष दहित, सविता चौधरी, कृष्ण समर्पण, शर्मिला दहित, अमृता चौधरी, महेश चौधरी लगायतले आफ्नो कुरा राखेका थिए ।

तपाईको प्रतिक्रिया