ड्रामा अर्थात नाटक धेरै पुरानो विधा मध्ये एक हो । उहिले हाम्रा पूर्खाहरुले गाउँघरमा मनोरन्जन र केही सचेतनाको सन्देश प्रवाह गर्न गाउँघरमा नाटक मञ्चन गर्ने गर्थे । मिडियाको विकास भइनसकेको अवस्थामा यस्ता नाटकहरुले सूचना प्रवाहको काम गर्थे । मानिसलाई सचेत गराउने र केही उद्देश्यमूलक सञ्चार गर्ने काम यिनै नाटकहरुले गर्थे । नाटकमा भूमिका खेल्ने पात्रहरु पहिले आफू सचेत हुनुपर्ने र नाटकमार्फत दर्शकहरुलाई दिने सन्देश पनि एकिन हुन्थे । गाउँ गाउँमा मञ्चन हुने यस्ता नाटकले एकातिर दर्शकलाई मनोरञ्जन प्रदान गर्थे भने अर्कोतिर नाटक मार्फत गतिलो सन्देश प्रवाह गर्थे । त्यसैले पनि नाटकको प्रभाव गाउँघरमा ठूलो थियो । अद्यापि घटेको छैन ।
अहिले मिडियाको विकास भएको छ, फिलिम र टेलिसिरियलहरुको विगविगी छ । चलचित्र र टेलिफिल्म आफैमा पनि सञ्चारको एउटा हिस्सा हुन् । यसमार्फत पनि दर्शक, स्रोतालाई मनोरञ्जनसँगै गतिलो सन्देश प्रवाह गर्ने काम हुँदैआएको छ । थारु समुदायमा पनि नाटक खेल्ने र मञ्चन गर्ने परम्परा निकै पुरानो हो । यसर्थ नाटकको प्रभाव थारु समुदायमा ठूलो छ । शुरुवाती चरणमा थारु समाजमा यस्ता नाटकले राम्रो घरजम गरेका थिए । मध्येकालसम्म त्यसको स्थान राम्रो रह्यो । पछिल्लो केही वर्ष अगाडिसम्म नाटकले थारु समाजमा खासै प्रभाव छाड्न सकेको थिएन । अर्थात् अर्को शब्दमा भन्दा करिब ६० को दशकमा त थारु भाषाका नाटकहरु शुन्यप्रायः नै थिए । अहिले पुनः नाटकमा थारु कलाकारहरुको मन गएको देखिन्छ । खासगरी थारु भाषा, संस्कृति र संस्कार नै संकटमा परिरहेका बेला यस्ता नाटकको माध्यमबाट भाषा, संस्कृति र थारु पहिचान जोगाउन यस्ले ठूलो मद्दत गर्नेमा कुनै शंका छैन ।
पछिल्लो समय सुशील थारुको ‘भुरभुरा रहर’ नाटक काठमाडौंसहित धेरै ठाउँमा मञ्चन भएर त्यसले थारु फिल्मको रुप लिनेक्रममा छ । भर्खर मञ्चन भइरहेको प्रणव आकाशको थारु नाटक ‘करोट’ले अहिले बजार पिटिरहेको छ । काठमाडौं कालिकास्थानको सर्वनाम थियटरमा मञ्चन भइरहेको करोट नाटकले थारु भाषा, संस्कृति, गलत प्रबृत्ति र थारु समाजमा घटने घटनाको जोरदार उजागर गरेको छ । अर्थात करोट नाटक सुखान्तबाट दुखान्त, संयोगान्तबाट वियोगान्त (कमेडि टु ट्रेजिडी) तर्फ मोड लिएर समापन हुन्छ । नाटकमा अभिनय गर्ने पात्रहरुको प्रस्तुती बेजोडको छ । लाग्छ, अभिनयकर्ताहरु फिलिमको पर्दामा अभिनय गरिरहेका छन्, धेरै पटकको गल्ती र सुधारबाट परिमार्जन भएका हुन् । अभिनयमा खोट लगाउने ठाउँ छैन । यद्यपि शयमा शय प्रतिशत ठीक त कुनै चिज पनि हुँदैन । नाटकको कथा, त्यसमा बोलिने अश्लिल भाषा, पर्याप्त स्पेसको कमी, पर्याप्त सामग्रीको अभाव र जनशक्तिको अभावले पनि नाटक सबैचिजले भरिपूर्ण त छैन, तर चित्त बुझाउने, दर्शकलाई खिन्न भने बनाउँदैन । एक घण्टासम्म पात्रहरुले आफ्नो अभिनयबाट दर्शकको ध्यान आफूतिर तान्न सफल देखिन्छन् ।
करोट अर्थात कोल्टे फेर्ने काम । पुरानो थारु परम्परागत परिवार ठीक या परिमार्जनसहितको थारु परिवार ठीक ? कृषि खेतीमै रमाउने समाज ठीक कि बाह्य संस्कृतिले छोएको समाज ठीक ? हलो जोत्ने परिवारले विस्तारै विदेशमा गएर रुपियाँ पैसा कमाएर रवाफसहितको जीवन आर्जन गर्नेसम्मको सन्देश नाटकले दिन खोजेको देखिन्छ तर त्यो पर्याप्त छैन । परम्परागत जीवनशैलीबाट करोट फेर्दै आधुनिक रवाफसहितको परिवारिक जीवनशैली अपनाउनु पर्छ भन्ने सोच समेत परिवारका सदस्यमा पलाएको देखिन्छ । तर अचानक नाटकले अर्कै मोड लिन्छ । घरपरिवारमा बसेर आरामदायी परम्परागत जीवन शैली अपनाएको परिवारमा जाँर दारु खाएपछि दाई भाईबीच विग्रह हुने, लडाई झगडा हुने र दाईले भाइलाई विदेश कमाउन पठाउने सोच बनाइरहेका बेला भाइको जीवन अन्त मोडेको दृश्य नाटकमा प्रस्तुत गरिएको छ ।
भाइ सुकराम चौधरीको परिवार (श्रीमती) सोन्या चौधरीले काम गर्दैगर्दा पाएको सुनको तिलहरी र सो तिलहरीको लोभमा भाइले दाइसँग सम्बन्ध विच्छेद गर्नेसम्मको दृश्य नाटकले देखाएको छ । सुनकै कारण ‘लोभले लाभ र लाभले विलाप’को स्थिति नाटकमा सिर्जना हुनपुग्छ । अर्थात भाइ फुटे गवाँर लुटे भनाईले सार्थकता पाउँछ । सुनको तिलहरी भेट्टाउँदा पनि आफ्नो श्रीमान बाहेक घरका अन्य सदस्यलाई सोबारे जानकारी नगराउँदा घरका सदस्यबीच विग्रहको विउँ रोपिन पुग्छ । दाई भाइबीच फुट भएको र बुढी आमाको चिन्ता र तनावमै जीवन अन्त्य भएको दुःखद अवस्था सिर्जना भएको दृश्यले दर्शकलाई भावुक बनाउँछ । नाटकमा उर्मिला थारुको बुढीआमाको अभिनय उत्कृष्ट छ । तर बुढीआमाको कपाल सेतो पार्न सकेको भए अझ जम्थ्यो ।
सुनको तिलहरी बेचेर आलिसान घर बनाएर बस्ने, मोटरसाईकल किनेर आरामदायीसाथ बस्ने भाइ सुकरामको सपना हुन्छ । यद्यपि उनको श्रीमती सोन्याले यी सबै कुरा मनपराएकी हुँदैनन् । नाटकमा दुई दाजुभाइबीच एकापसमा धेरै माया गर्ने तर त्यही सुनको टुकडाका कारण दुईजनाबीच फुट हुन्छ । यद्यपि दाईलाई सुन भेटाएको कुराको सुइको सम्म हुँदैन । भाइ र उनको श्रीमतीलाई मात्र त्यसबारेमा जानकारी हुन्छ । त्यही सुनको टुकडाले घरको अवस्था डामाडोल पारिदिन्छ । त्यसैले थारु समुदायमा भन्ने गरिन्छ, सुन भेट्टाउनु अशुभ हो । नाटकले पनि सुनलाई अशुभकोरुपमा सन्देश प्रवाह गरेको छ । बुढीआमाको निधनपछि कान्छो भाइले आफू गलत बाटोमा गएको थाहा त पाउँछ । पश्चाताप गर्छ तर त्यो धेरै ढिलो भइसकेको हुन्छ । नाटकले मुख्यतः लोभ गर्नु हुँदैन, लोभले लाभ तर अन्त्यमा विलाप गराउँछ भन्ने सन्देश दिन खोजिएको छ ।
नाटकमा सुधार्नुपर्ने पक्षहरु पनि केही छन् । नाटकको अन्त्य स्वाभाविक लाग्दैन । जसरी नाटकको शुरुवात गरिएको छ, त्यसको अन्त्यमा अझ सुधार गर्नुपर्ने देखिन्छ । अर्थात नाटकको समापनले केही सन्देश दिनुपर्छ ताकि दर्शकले त्यसको राम्रो मेसो पाउन् । नाटक त्यसमा चुकेको छ । सुनको तिलहरीले परिवार तहसनहस गरेपछि भाइले त्यो सुनको तिलहरीलाई नदीमा लगेर फाल्छ । परिवार भाँडिएकोमा पश्चाताप गर्छ । त्यहाँसम्म राम्रो छ । तर जब नदीमा माछा मार्न अर्को दुई पात्र जान्छन् । त्यहाँ सोंरिहान सन्ह्ली (भूमिका थारु) ले सुनको तिलहरी माछा मार्दैगर्दा फेला पार्छ । तर त्यो सुनलाई के गर्ने ?उसले निर्णय लिन सक्दैन । यसअघि सुनकै कारण घर फुटेको कुरा उसलाई थाहा हुन्छ । यद्यपि उसलाई पनि सुनको लालसा जागेको हुन्छ । यसअघि त्यही सुनले परिवार तहसनहस गरेको थियो भने, फेरि त्यही सुन अर्कोले फेला पार्दा यस्ता परिवार भाँड्ने सुन चाहिँदैन भन्दै त्यही नदीमा मिल्काउन सक्नुपथ्र्यौ, या त्यसको सदुपयोग गरेको देखाउनुपथ्र्यो । नाटकलाई त्यसरी अन्त्य गर्दा सान्दर्भिक हुन्थ्यो ।
नाटकमा प्रस्तुत गरिने पश्चिमा डंगौरा थारु भाषा ठीक छ । तर गाउँघरमा बोलिने भाषा शैलीलाई केही परिमार्जन गर्नुपर्ने देखिन्छ । अश्लील भाषालाई प्रयोग नगर्दा राम्रो हुन्छ । एक दुई ठाउँमा पात्रहरुले गाउँघरमा बोलिने नितान्त अश्लील शब्दको प्रयोग गरेका छन् । बोलीचालीमा त्यसको प्रयोग गाउँघरमा गरिन्छ । तर नाटक हेर्न आमाबाबुसँग जवान छोराछोरी पनि जान्छन् । अर्थात परिवारका मान्यजनसँग अन्य सदस्यहरु पनि नाटक हेर्न बस्छन् । त्यस्तोबेला अश्लिल शब्दले दर्शकको मन खिन्न बनाउँछ । नाटकका निर्देशकले सकेसम्म अभिनयकर्ताहरुले श्लील र स्वाभाविक भाषा शैलीको प्रयोग गर्दा नाटकको मिठास अझ थपिन्छ । समग्रमा नाटकले दिन खोजेको सन्देश ठीक छ । पात्रहरुले राम्रो अभिनय गरेका छन् । नाटकको सफलताको शुभकामना ।