काठमाडौ, माघ १९ गते । चन्द्रागिरी नगरपालिका (चनपा) १५ स्थित कीर्तिपुरको सिमानामा पर्ने भिराडिल पार्क क्षेत्रमा जापानबाट ल्याइएको ५० बोट साकुरा प्रजातिको विरुवाको शनिबार वृक्षारोपण गरिएको छ ।
काठमाडौं क्षेत्र नं. ९ का प्रतिनिधिसभाका सांसद कृष्णगोपाल श्रेष्ठ र नेपालका लागि जापानी कार्यबाहक राजदूत योशिका युजोको समुपस्थितिमा सो वृक्षारोपण गरिएको हो । जापानको खाइके शहरको लाइफ सेविङ क्लवका प्रतिनिधि तथा चनपाका प्रतिनिधिहरुले सो वृक्षारोपण गरेको चनपा वडा नं. १५ का अध्यक्ष उत्तमबहादुर राउतले बताउनुभयो ।
कीर्तिपुर सिमानामा पर्ने सो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने हिसावले जापानी प्रजातिको वृक्षारोपण गरिएको वडा अध्यक्ष राउतले बताउनुभयो । सो क्षेत्रलाई पर्यटकीय हिसावले विकास गर्नेमा जापानी राजदूताबासले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । वडा १५ कार्यालय र लाइफ सेविङ क्लबीच त्यसकालागि आपसी समझदारी भएको राउतले जानकारी दिनुभयो ।
सांसद कृष्णगोपाल श्रेष्ठले सो क्षेत्रमा गरिएको वृक्षारोपणको उच्च स्याहार गरिने बताउनुभयो । जापानबाट ल्याइएको सो विरुवालाई आफ्नै सन्तानकोरुपमा माया र रेखदेख गरिने सांसद श्रेष्ठले प्रतिवद्धता जनाउनुभयो । सो क्षेत्रलाई पर्यटकीय हिसावले विकास गर्नेमा आवश्यक सहयोग गर्ने पनि श्रेष्ठले बताउनुभयो ।
त्यस्तै, नेपालकालागि जापानी कार्यबाहक राजदूत युजोले वडा नं. १५ स्थित भिराडिल क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनेगरी आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यसले नेपाल र जापान सरकारबीचको सम्बन्ध प्रगाढ हुने विश्वास पनि उहाँले जनाउनुभयो ।
स्थानीय ज्येष्ठ नागरिक कृष्णबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा भिराडिल पार्कका अध्यक्ष लोकनाथ सिलवाल लगायतले जापानको सहयोगको सराहना गर्नुभयो ।