महिलाको पर्व अष्टिम्की (श्रीकृष्ण जन्माष्टमी)

संस्कृति

निता चौधरी

थारू समुदायको महिलाको विशेष पर्वको रुपमा अष्टिम्की अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई लिइन्छ । भाद्र महिनाको कृष्ण पक्षमा पर्ने अष्टमी तीथिमा भगवान् श्रीकृष्णको जन्म भएको दिनलाई थारू समुदायमा अष्टिम्की मनाइन्छ । यस दिनमा विशेष गरी श्रीकृष्णको जन्मोत्सव भएकाले कृष्ण (कान्हा) को पूजा गरिन्छ । थारू महिलाले यस पर्वलाई विशेष महत्वका साथ मनाउँछन् । थारू जातिको इतिहास प्रारम्भ भएदेखि थारू महिलाले यस पर्वलाई उत्साहका साथ मनाउने गर्छन् । यति मात्रै हैन थारू जातिको उत्पत्ति कहाँ, कसरी भयो, थारूको सभ्यताको सिर्जना कसरी भयो भन्ने कुराको स्पष्टता अष्टमीमा गाइने गीतबाट हुन्छ । त्यसैले पनि थारू समुदायमा श्रीकृष्ण जन्माष्टमी र कृष्ण (कान्हा) को सम्झनामा अष्टमीमा गाइने गीतकोे महत्व छ । इशरु, जाशु, कान्हा र राधा थारूहरुको पूर्वज तथा अग्रज हुन् भन्ने थारू इतिहासविदको भनाई छ ।

थारू समुदायका महिलाले मनाउने विषेश पर्व श्रीकृष्ण जन्माष्टमी हर्षाेउल्लास पूर्वक मनाउने गरिन्छ । अष्टमीमा थारू समुदायका महिलाले भाले बास्नु अगावै नै घरका सदस्यसँग सामुहिक रुपमा दर खाने गर्दछन् । उनीहरु दिनभर निरहार व्रत बसी बेलुकी सामुहिक रुपमा गाउँको महटावाँको घरमा गई पालैपालो श्रीकृष्णको पूजा आराधना गर्छन् । किशोरीहरुले योग्य वर पाउँ भन्दै व्रत बस्ने गर्छन् । विवाहित महिलाले आफ्नो श्रीमान्को आयु लामो होस् भन्ने बर माग्छन् ।

अष्टमीमा दिदीवहिनीले दाजुभाइलाई दिने कोसेलीले सम्वन्ध प्रगाढ बनाउने गर्छ । जुन कासेलीलाई थारु भाषामा अग्रासन भनिन्छ । अग्रासन विवाहित वा अविवाहित दुवैले आफ्ना दाजुभाइका लागि छुट्याउने गर्छन् । अग्रासनले भावनात्मक सम्बन्धका प्रतीक मात्र नभई दाजुभाइ दिदी बहिनी लगायत पारिवारीक सम्बन्धलाई नै सुमधुर र आत्मीय बनाउँछ । सबै चेलीवेटीहरु जम्मा भएर रमाउने र एक अर्कामा माया र सद्भाव साटासाट गरेर यो पर्व मनाइन्छ । यति मात्र होइन, यस पर्वले दाजुभाइ र दिदीबहिनी वीचको सम्बन्धलाई प्रगाढ बनाउँछ ।

यस्तै थारू समुदायको धार्मिक र साँस्कृतिक महत्व पनि बोकेको पर्व हो यो । अग्रासन अर्थात् दिदीबहीनीले आफैले बनाएको मीठा परिकार खाने मात्र नभई प्रत्येक वर्ष देवीदेवताको सम्बन्धलाई नविकरण गर्नु र माइती पक्ष र चेलीवेटी वीचको मानवीय संवेग माया, प्रेम र आस्थाको बर्सेनी नविकरणको पनि हुन्छ ।

दाइभाइ नहुने दिदीबहिनीले भने अग्रासनलाई अरु आफ्ना आफन्ती दाजु भाइलाई भावनात्मक रुपले सुमधुर एवं आत्मीयता कायम होस् भन्ने हेतुले दिने गर्दछन् । चाहे देविदेवताको नविकरण होस् चाहे माईती पक्ष र चेलीवेटी वीचको सम्बन्ध किन नहोस् त्यसैले सम्पूर्ण थारू समुदायले यदि माईती पक्ष र चेलीवेटी बीचको आत्मीयता कायम गर्नुछ भने अग्रासनलाई महत्वका साथ ग्रहण गर्नु पर्छ । अष्टमी आउनुभन्दा केही दिन पहिलेदेखि गाउँघरमा अष्टमीको बारेमा कुरा चल्न थाल्छ । के लगाउने, कस्तो लगाउने, अष्टमीको जात्रा हेर्न कहाँ जाने, आदि विषयमा खासगरी थारू युवायुवतीमा कुरा चल्छ । यी विषयमा पूर्व योजना पनि बनाइन्छ ।

श्रीकृष्ण जन्माष्टमी थारू महिलाको सवैभन्दा ठूलो र महत्वपूर्ण पर्व हो । सधैँ काममा व्यस्त रहने थारू समुदायका महिलाले यस दिन रमाइलो गर्ने र कामको थकान अत्याधिक हुने भएकाले थकाई मेट्ने दिनको रुपमा पनि लिने गर्छन् । पहिलेको तुलनामा अहिले श्रीकृष्ण जन्माष्टमी मनाउने तरिका समय सगसंगै बिस्तारै फेरिदै गएको पाइन्छ । परिवर्तन गर्नु पर्ने त होइन, तर पनि समय र परिस्थिति अनुसार चल्नु पर्ने हुनाले पनि यो अवस्थाको सिर्जना भएको होला । अष्टमी आउनुभन्दा करिब एक महिनादेखि नै गाउँघरमा चहलपहल हुन थाल्छ । किनमेल गर्नेदेखि हरेक कुराले स्थान पाउँछ । तयारी धेरै पहिलेदेखि भए पनि एक हप्ता अगाडिदेखि तीव्र गतिमा तयारी सुरु हुन्छ ।

पहिले जस्तै त्यति धेरै तयारी गर्नु त पर्दैन, तर पनि तयारी भनेको तयारी नै हो । पहिले सियोको सहायताले कुनै पनि मेसिनबिना हातले नै सिलाएर लगाइने चोली (चोल्या) लगाइन्थ्यो । अहिले रेडिमेट सिलाएका लुगाहरु लगाउने चलन बढी छ । तर सयम र परिस्थितिको परिवर्तन संगसंगै यस्ता कुरा परिवर्तन हुनु पनि पर्छ । अर्को पाटो हेर्ने हो भने सयम र परिस्थितिको परिवर्तन संगसंगै चल्नु पर्छ भनेर आधुनिकतालाई मात्रै ध्यान दिने हो भने त थारु समुदायको पहिचान नै ओझेलमा पर्न सक्छ । त्यसैले समय संगसंगै हरेक कुरामा परिवर्तन हुने स्वभाविक पनि हो । हुनु पनि पर्र्छ तर त्यसो भन्दैमा आफ्नो मौलिक पहिचान र संस्कार संस्कृति भने बचाउनुपर्छ ।

थारु समुदाय प्रकृतिपूजक समुदाय भएको हुनाले यो समुदायले मान्ने हरेक पर्वहरु फरक छन् । सन्दर्भ पर्व श्री कृष्ण जन्मअष्टमीको छ । श्री कृष्ण जन्मअष्टमी आउनुभन्दा चार पाँच दिन बाँकी हुँदा विशेष तयारी गरिन्छ । लगाउने, किनमेल गर्नेदेखि सबै तयारी हुन्छ ।

थारु महिलाको मौेलिक भेषभूषा सेतो गुनियो, चोली अर्थात ब्लाउज (चोल्या, गोन्या, लेहेंगा) छ । कसैैले यसैलाई प्राथमिकता दिन्छन् । कसैले आधुनिकतालाई पश्रय दिन्छन् । जुन कुरामा आफ्नो स्वतन्त्रता छ । यसलाई आफूले व्यक्तिगत र स्वतन्त्र पक्षको रुपमा लिन सकिन्छ । अष्टमीको अघिल्लोे दिन थारू समुदायका महिला अष्टमीमा खाने कुराको तयारी हुन्छ । अघिल्लो दिन दर खाने चलन छ ।

अष्टमीको दिन
अष्टमीको दिन बिहानै गाउँको अगुवा, महटावाँ, भलमन्साकोे घरमा बैठक कोठा (बह्री) मा उत्तरतिरको भागमा भित्तामा चित्र बनाइन्छ । अष्टमीमा बनाइने ती हरेक चित्रको महत्व फरक फरक हुन्छ । सवैभन्दा माथि चारवटा मान्छेको टाउको बनाइएको हुन्छ । जसलाई थारू भाषामा बरमुन्हा भन्छन् । बरमुन्हा रामायणको रावणको थारू नाम हो । भित्तामा बनाइने तस्वीरहरु फ्रेममा हुन्छ । फ्रेम आकारको छेउछेउमा त्रिभुज आकारको रंगीविरंगी बुट्टा भरिएको हुन्छ । एक लाइनमा द्रौपदी बनाइएको हुन्छ । अर्को एक लाइनमा पाँच पाण्डवको तस्वीर हुन्छ । पाण्डव थारू समुदायको देवता भएकाले जन्माष्टमीमा पनि पाण्डवको तस्वीर हुनुपर्ने थारू बुद्धिजीवी छोटीलाल थारूले बताए । उनीहरुको तस्वीर कसैले छाता ओढेको, कसैले मादल बोकेको, कसैले नाचेको बनाइएको हुन्छ । यस्तै एउटा डोलीको चित्र पनि हुन्छ । उक्त डोलीमा पहिले द्रौपदीलाई भित्र्याइएको भन्ने भनाई थारु बुद्धिजीविहरुको छ । यस्तै हलोजुवा पनि बनाइएको हुन्छ । खेतीपाती गर्ने थारु समुदायलाई हलोजुवा आवश्यक पर्ने हुनाले हलो जुवाको तस्वीर बनाइएको भन्ने परम्परागत मान्यता पाइन्छ । नदी तर्नका लागि भनेर डुङ्गा, दिन र रात छुट्याउनका लागि सुर्य र चन्द्रमा, पाण्डवहरुको रक्षाका लागि दुईवटा कुकुरको तस्वीर हुने ऐतिहासिक मान्यता छ । यो सँगसँगै भगवान् कृष्ण, नदीको आकृति, रुख, मयूर, गाई लगायत विभिन्न किसिमका आकृति बनाइएको हुन्छ ।

पहिले थारु समुदायको घर नै छुट्टै पहिचान बोकेको थियो । तर अहिले समय परिवर्तनका कारण घरको बनावटमा पनि परिवर्तन भइसकेको छ । स्थान अनुसार कतै डिहरीमा त कतै भित्तामा जन्माष्टमीको तस्वीर बनाइन्छ । पहिले घरभित्र भित्ता नहुने तर भित्ताको सट्टामा माटोले बनाइएको भकारी (थारु भाषामा डेहरी) हुन्थ्यो । त्यसलाई ढुङ्गाबाट सेतो चुनले लिपेर त्यही डेहरीमा विभिन्न आकृतिका तस्वीरहरु बनाइन्थ्यो । तर अहिले स्थान अनुसार केही परिवर्तन हुन थालेको छ । तस्वीर बनाउने मान्छे पनि व्रत बस्नु पर्ने हुन्छ । जुन तस्वीर अष्टमीको दिन विहान थारु समुदायका महिला या पुरुष दुवैले विहानै नुहाई धुहाई गरी केही पनि नखाएर तस्वीर बनाउँछन् ।

तस्वीर बनाएर तयार पारिसकेपछि साँझपख गाउँका सबै महिला दिदी वहिनीहरु गाउँको अगुवाको घरमा अष्टिम्की टिक्न (कृष्णको पूजा गर्न) जानका लागि तयार हुन्छन् । घरको कूल देवतालाई घरमूलीले सम्झेर बत्ती बालेर थालीमा अक्षता, छेउछेउमा घुन्यासरको फूल, सालको पातमा सिन्दुर, माटोको पालामा बत्ती बालेर राखिन्छ । अष्टिम्की टिक्न (पूजा गर्न ) जाँदा सबैभन्दा पहिले घरमूलीले सुरुमा पूजाको थाली उठाइसकेपछि मात्र अरुले क्रमशः रुपमा लाइनबद्ध तरिकाले उठाउने गरिन्छ । टिक्ने स्थान पुगेपछि पनि घरमूलीबाटै सुरु हुन्छ । घरमूलीले नटिक्दा सम्म (पूजा नगर्दा) कसैले टिक्न (पूजा गर्न) पाउँदैन । घरमूलीले टिकी (पूजा) गरी सकेर अनुमति दिएपछि अरुले सुरु गर्न पाउने पहिलेदेखिको प्रचलन हो । यसरी कृष्ण (कान्हा) को पूजा गर्नेबेला थारु समुदायका महिलाले भगवान कृष्णको सम्झनामा गीत पनि गाउने गर्दछन् ।

गीतको केही अंशः
पहिल ट सिरिजल री जलठल ढरटी ।
सिरिजि ट गैल कैली कुश डाब ।।
कबरी चह्रैबो मोर सिरके सेन्डुर ।
बरहु बरस री कही परव मै रहनु ।
ओटि टह्ररो बाह्रु कन्यैया टिक महि डेओ । डेओ

यसरी गीत गाउँदै पूजा गर्ने र पूजा गरी सकेपछि पुनः सबै दिदीबहिनी आफ्नो घरमा गई थारुहरुको परम्परा अनुसार विशेषगरी कृष्णलाई मन पर्ने परिकार दही, केरा, काँक्रा, अम्बा लगायतका फलफूलले कृष्णलाई पुजा गर्ने गर्दछन् ।

साँझ घर फर्किएर घरमा तयार पारिएको दहि, लौनी, काँक्रा, अम्बा, केरा, स्याउ लगायत फलफूल पहिले आप्mना दाजुभाइका लागि आप्mनो भागबाट छुट्याएर राख्ने र थारुहरुले हरेक पर्वमा पुज्ने अग्नि देवता हुन्छ । अष्टमीमा पनि अग्नी देवतालाई नपुजी खान नमिल्ने हुनाले पहिले अग्नी देवताको पुजागरी दाजुभाइका लागि कोसेली छुट्याएर आफूले खाइन्छ । सबै परिवारका सबैजना संगै बसेर रमाइलो गर्दै एकअर्कामा माया र सद्भाव साटासाट गर्दैे खाने र रमाउने गरिन्छ ।

पूजा समापन पछि बिशेष परिकारका साथ रमाईलो गरी एक आपसमा बाँडीचुडि खानपिन गर्ने चलन छ । रातभर सामुहिक रुपमा कृष्ण अर्थात् कान्हाको सम्झनामा गीत गाउने गरिन्छ । रातभरी कृष्णको अगाडि बालिएको बत्ती निभ्यो भने मागेको मनोकांक्षा पूरा नहुने विश्वास छ । त्यसकारण बत्ती निभ्न नपाओस् भनेर रातभरी जाग्राम बसेर कृष्णको सम्झनामा गीत गाइन्छ ।

बत्ती कुरिरहेको बेला गाइने गीतको केही अंश
टै का इसरु बइठी का र बिसैठ्या
जाओ इसरु म्वार हरवा ओहार ।
टै का री जासु हरवा ओहार पठैठ्या
मोर लाग जासु भटकि भटौरा रिझ ।
कब बासि मुर्घा खैबि कैँठा भाट
कब बासि मुर्घा खैबि गब्डा भाट ।।

दोस्रो दिन
यस्तै अर्को दिन विहान पनि थारू समुदायका लागि महत्वपूर्ण दिन हो । रातभरी जाग्राम बसेका महिलाहरु विहानै भाले बासेसँगै घरमा कोही भान्सातिर लाग्ने कोही कता, सबै आ–आप्mनै काममा व्यस्त हुन्छन् । विस्तारै उज्यालो भएसंगै पुनः कृष्णको पूजा गर्नुपर्ने हुन्छ । रातभर जाग्राम बसि आठौँ अबतारको रुपमा कंशको नाश गर्न जन्म लिएका कनैया (कृष्ण) को पुनः भोलीपल्ट बिहान पूजा गरिन्छ । साँझ तयारी गरेझैँ तयारी गर्ने र कृष्णको पूजा गर्नलाई थारु समुदायको मौलिक भेषभूषामा सबै महिला सजिएर लामबद्ध तरिकाले अष्टिम्की टिक्नलाई गाउँको अगुवाको घरतिर लाग्छन् । सबैजना पूजा गरिसकेपछि अर्थात् अष्टिम्की टिकी सकेपछि सामूहिक रुपमा सबैजना मिलेर नजिकैको जलाशय, खोला, नदी, तालमा फुलपाती सेलाउन (बगाउन) जान्छन् । सेलाउन जाने युवती तथा महिलालाई थारु समुदायको इतिहासमा गोपिनीको नामबाट चिनिन्छ ।

यता घरमा यस दिन जोडा तरकारी पकाउन नमिल्ने प्रचलन पहिलेदेखि भएको थारु बुद्धिजीवीहरुले बताउँछन् । विजोडा तरकारी ३, ५ तथा ७ वटा विभिन्न किसिमका गेडागुडी, सागपात, पकाएर तयार पारिन्छ । अरु पर्वमा माछामासुलाई प्राथमिकता र महत्व दिइन्छ । तर यसदिन भने सागपातलाई विशेष महत्व दिइन्छ । सोहीअनुसार फुलपाती सेलाएर सबै रमाउँदै पुनः घर फर्किने र घरमा पकाएको भात, तरकारी दाजुभाइका लागि छुट्याएर अग्नि देवतालाई पूजागरी आफूले खाने गरिन्छ ।

यसरी कृष्णको पूजा गरी अग्रासन छुट्याइ सकेपछि अविवाहित युवतीहरुले घरको दाजुभाइलाई खान दिने र विवाहित महिलाले माइतीमा रहेका आप्mनो दाजुभाइलाई दिन जाने गर्दछन् । आप्mनै दाजुभाइ नहुनेले नजिकको नाता पर्ने दाजुभाइलाई दिने गरिन्छ । दाजुभाइ र दिदीवहिनी बीचको सम्बन्धलाई सुमधुर बनाउन पनि यस पर्वको महत्व छ । यसकारण पनि थारू समुदायका लागि अग्रासनले छुट्टै पहिचान कायम गरेको छ ।

तपाईको प्रतिक्रिया