आज सातौं मुक्त कमलरी दिवस, हुन सकेन मुक्त कमलरीको उचित व्यवस्थापन


हमार पहुरा डट कम
काठमाडौं, असार १३ गते । नेपाल सरकारले नेपाललाई कमलरी मुक्त घोषणा गरेको आज सात बर्ष पुगेको छ। तत्कालिन सरकारले २०७० असार १३ गते कमलरी मुक्त घोषणा गरेपछि असार १३ गतेलाई कमलरी मुक्ति दिवसको रुपमा मनाउन थालिएको छ।

सरकारले कमलरी मुक्त घोषणा गरेको सात वर्ष पुगेपनि मुक्त कमलरीहरुको आर्थिक सामाजिक जीवन स्तरमा सुधार भने आउन सकेको छैन। पश्चिम नेपालको थारु समुदायका युवतीहरु अरुको घरमा न्यून ज्यालामा काम गर्न बाध्य पारिदैआएका थिए । सरकारले मुक्त घोषणा गरेपनि अझै लुकीछिपी कमलरी प्रथा कायमै राखिएको छ । काठमाडौं उपत्यकामा अझै संयौंका संख्यामा थारु चेलीहरु कमलरी जीवन व्यतित गरिरहेका अनुमान गरिन्छ ।

पश्चिम नेपालको दाङ, बाँके, वर्दिया, कैलाली, कञ्चनपुर सुर्खेत गरी यी छ जिल्लाका थारु चेलीहरु कमलरी जीवन व्यतित गर्न बाध्य रहेको देखिएको छ । गरिबी र अभावका कारण थारु चेलीहरु दासदासी जीवन बाँच्न बाध्यरहेको ती समुदायका मानिसहरुको बुझाई छ ।

चेलीबेटीहरुलाई विद्यालय पढाईदिने र नोकरी लगाइदिने लोभ देखाएर धनी परिवारले गरिब परिवारका सदस्यहरुलाई कमलरी बनाउँदैआएका छन् । अभिभावकलाई फकाई फुल्याई आफ्नो घरमा ल्याएपछि घरको काममा जोताउने र थारु चेली ठूली भएपछि यौन शोषणसमेत गरेको देखिन्छ । ०६९ चैत १४ गते काठमाडौंको लाजिम्पाटस्थित एक घरमा १२ वर्षिया कमलरी सिर्जना चौधरीको शरीरमा आगो लगाई हत्या भएको थियो ।

शोषण हुनथालेपछि कमलरी स्वयम् आन्दोलित भएका थिए । थारु कल्याणकारिणीसभा, गैरसरकारी संघ संस्थाको अगुवाईमा आन्दोलन हुनथालेपछि तत्त्कालिन सरकारले कमलरी मुक्त घोषणा गरेको थियो । तर उचित व्यवस्थापन नहुँदा अहिलेपनि मुक्त कमलरीको अवस्था नाजुक रहेको छ । सरकारले मुक्त घोषणा गरेपछि अब कसैका चेलीलाई न्यूनज्याला वा प्रलोभनमा पारेर कमलरी बनाउन नमिल्ने कानुनी व्यवस्था छ ।

तपाईको प्रतिक्रिया