थारु पहिचान एक विश्लेषण


पृष्ठभूमि
मानिसको उत्पत्ति र विकासको इतिहास अध्ययन गर्दा मानिस जुन समयमा मानव चेतनाको विकास भयो, त्यस बेला देखिनै आफ्नो उन्नत जीवनका लागि संघर्षरत छ । यो क्रम निरन्तर जारी रहला । चेतनशील र सचेत तथा जिम्मेवार नागरिकको स्तरमा आई पुग्दासम्म मानिसले आफ्नो जातीय, भाषिक, साँस्कृतिक, धार्मिक, र भूलोलका आधारमा आफ्नो पहिचानलाई स्थापित गरेको छ । आजको राष्ट्रिय राज्यको अभ्याससम्म आइपुग्दा विश्वग्राम मानवको रुपमा आफुलाई परिचित गर्न गर्व गर्ने मानव समुदाय एक स्वतन्त्र राष्ट्रको सरदहमा राष्ट्रीय, क्षेत्रीय, स्थानीय, जातीय लगायत विविध पहिचानसहित सभ्यताको सीमारेखा कोर्न क्रियाशील छ ।

नेपालमा कविला परिवार र जातीय गणराज्यको आत्मनिर्णयको अधिकारप्राप्त गणको सदस्य हुदै, राजतन्त्र र राणा शासनकालमा प्रजा वा रैतीको पहिचानमा बाँच्नु पर्यो । २००७ सालको जनक्रान्ति पछि नागरिकको दर्जा पाएको देखिन्छ । वास्तविक सार्वभौमसत्ता सम्पन्न जनता हुन, सत्र सालमा राजा महेन्द्रको संवैधाकि ‘कु’ पश्चात निरंकुश पञ्चायती व्यवस्था व्यहोर्दै, जन आन्दोलन २०४६, माओवादी जनयुुद्ध, ०६२।०६३ को जनआन्दोलन, संविधासभाको निर्वाचन, संविधानसभाबाट निर्माण भएको नेपालको संविधान (२०७२) पछि सार्वभौमसत्ता सम्पन्न जनातको रुपमा विधानतः पहिचान प्राप्त गरेको छ । ‘संविधानको धारा २ मा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नीहित रहेको छ । यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ’ भनेर नेपाली जनतापूर्ण राजकीय शक्तिको स्रोतकारुपमा अधिकार सम्पन्न बनाएको छ ।

थारु कल्याणकारिणी सभाले थारु बुद्ध धर्मवालम्बी रहेको बताए पनि सबै थारुहरु त्यसअनुरुप नरहेको देखिन्छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनेर धारा ३ मा राष्ट्रको परिभाषा संविधानमा गरिएको छ । इतिहासमा पहिलो पटक थारु समुदायलाई नेपालको संविधानले चिनेको छ । थारु समुदाय सीमान्तकृत समुदाय हो भनेर सूचिकृत गरेको छ । यसका साथै संवैधानिक आयोगको रुपमा थारु आयोगको व्यवस्था गरेको छ ।
गौरवमय विगत

थारु समुदाय नेपालको तराईको मुल जाति रहेको ऐतिहासिक तथ्यहरुले प्रमाणित गरेको छ । तिनाउ नदि किनारमा भेटिएको रामापिथेकसको बंगारा, दाङ्ग जिल्लाको तुइदाङ्ग र ग्वार खोलामा भेटिएका नवपाषण युगका समकालीन ढुङ्गाका हतियार, गुफाहरु, बर्दियाको दनवातालमा भेटिएका प्राचीन हतियार र अन्य अवशेषहरुका आधारमा थारु समसुदाय आदिकाल देखि नै नेपालको तराई र भित्री तराईमा विचरण गर्दैआएर विकास भएको हुनसक्ने तर्क लेखक तथा अन्वेषक महेश थारुले गरेका छन् । तराईमा पृथ्वीनारायण शाहको राज्य विस्तार सुरु गर्नुभन्दा अगाडि र त्यसभन्दा पनि बैदिक र उत्तर बैदिक कालदेखि नै नेपालको तराईमा दाङ्गमा दंगिशरणको गणराज्य, कपिलवस्तु क्षेत्रमा शाक्य र कोलिय गणराज्य, नारायणी पारी चौदण्डी, सिमरौनगढ, विदेह विराट गणराज्यहरु अस्तित्वमा रहेको इतिहास छ । मकवानपुरको सेनराज्य थारुराज्य रहेको पूर्व महान्याधिवत्ता एवम् विद्वान रामानन्दप्रसाद सिंहले लेखेका छन् । तराईमा अरु जातिको स्थायी बसोवास नभएको र रैथानेवासी थारुहरु भएकोले ती राज्य थारु शासित गणराज्यहरु थिए भन्ने तर्क विभिन्न लेखक तथा इतिहासकारहरुले गरेका छन् ।

थारु विद्वान महेश चौधरी, रामानन्दप्रसाद सिंह, तेजनारायण पन्जियार लगायतका अन्वेषकहरुले गौतमबुद्ध थारुका सन्तान रहेको दावी गरेका छन् । भर्खरै बुद्ध दर्शनमा विद्यावारिधि गरेका डा. गोपाल दहितले पनि बुद्ध थारु रहेको आफ्नो शोधमा उल्लेख गरेका छन् । कपिलवस्तुमा भेटिएका गहना, माटाका भाँडा र अन्य पुरातात्वीक बस्तुहरुको अध्ययनबाट पनि थारुहरुले प्रयोग गर्ने र बुद्धकालीन समयमा प्रयोग भएका सामग्रीहरु मिल्दोजुल्दो रहेको अन्वेषकहरु दावी गर्दछन् । तसर्थ भन्न सकिन्छ, थारु समुदाय एक ऐतिहासिक जाति हो ।

जनसंख्या र भौगोलिक सरदह
नेपालको जनगणना २०६८, अनुसार थारुहरुको जनसंख्या १७ लाखा ३७ हजार ४७० छ । नेपालका थारु जातिको बसोवास क्षेत्र हालको राजनैतिक विभाजनअनुसार सातवटै प्रदेशमा छ । लुम्बिन प्रदेश, सुदुरपश्चिम प्रदेश, एक र दुई नम्बर प्रदेशमा थारुहरुको सघन बस्ती छ । झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सिराहा, रौतहट, महोत्तरी, सर्लाही, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देशी, कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेत (२२ जिल्ला) थारुहरुको आदिकाल देखिनै बसोवास रहेको छ । यही थारुहरुको बसोवास रहेको भूगोललाई थरुहट, थारुवान, बुह्रान, जस्ता नामले पनि सम्बोधन गरिन्छ । राजधानी काठमाण्डौ लगायत ठूला शहरमा पनि थारुहरु बसाइ सराई गरी स्थायी बसोवास गरिरहेका छन् । त्यसो त थारुहरु आज अमेरिका, युरोप अष्ट्रेलिया लगायतका देशहरुमा पनि गैरआवासीय नेपालीका रुपमा छन् ।

भाषिक अभ्यास
थारुहरुको आफ्नै भाषा छ । जसलाई थारु भाषा भनिन्छ । थारु भाषीहरुको संख्या १५ लाख छ । पूर्व–पश्चिम फैलिएको भूगोलमा थारु समुदाय बसोवास गर्ने भएकाले थारुहरुको भाषामा भौगोलिक भेद छ । भारोपेली भाषा परिवार भित्रपर्ने थारु भाषा नेपालको नेपाली, मैथिली र भोजपुरीपछिको चौथो ठूलो भाषा हो । भूगोलको हिसावले नेपाली पछि ठूलो सम्पर्क भाषा थारु हो । थारु भाषा तराईको मुख्य सम्पर्क भाषा पनि हो । मोरङ्गिया, सप्तरीया, बारा, पर्सा, चितवनीय, नवलपुरिया, डगौरा, देउखरिया, देसाउरी, कठरिया र रानाथारु भेद छ । हाल भाषिक मानकताका लागि सघनरुपमा बहस अन्तरसंवाद जारी छ ।

पञ्चायतकालमा प्रधानपन्च हुनु थारुहरुको लागि ठूलो कुरा   हुन्थ्यो । अञ्चलाधीश हुनुलाई ठूलो उपलव्धीको रुपमा हेरिन्थ्यो ।

लोकसाहित्यक बखारी
लोकसाहित्य अमूर्त संस्कृतिको स्रोत हो । थारु समुदाय लोसाहित्यको धनी जाति हो । बारैमास गाइने गीतहरु रहेका छन् । गुर्वावक जन्मौटि, सखिया, फुलवार, रामबिहग्रा, बर्किमार, सिरुवा पावन, जटाजाटिन, सडियो धामीजस्ता लोकमहाकाव्यहरु छन् । हिट्वा, शटलसिंह रजवा, बेंटुरनिया रानी, सँपरज्वा, दंगिशरण रज्वा लगायतका लोककथाहरु छन् । माघमा गाइने माघौटा गीत, हुर्डंङ्गवा गीत, विवाहमा गाइने माँगर, गृष्म ऋतुमा गाइने सजना, शिशिर ऋतुमा गाइने मैना गीत, कृष्णाष्टमीमा गाइने अस्टिम्किक् गीत, बारमासा, शरद र हेमन्त ऋतुमा गाइने बर्किमार गीत, बारैमास गाइने छोक्रा, महोटिया, झुम्रा, बैठक्कुजस्ता लोकगीतहरु रहेका छन् । यसै गरी लोकगाथा, गाउँखाने कथा, उखान टुक्का, किस्साहरुको भकारी छ ।

साँस्कृतिक पक्ष
थारुहरु प्रकृतिपुजक जाति हुन् । राज्यसत्ताले थारु समुदायलाई हिन्दु धर्मवालम्बीका रुपमा राखे पनि थारुहरु हिन्दु वर्णाश्रम भित्र नपर्ने (आदिवासी जनजाति उत्थान राष्ट्रीय प्रतिष्ठान ऐनअनुसार) पानी चल्ने मासिन्या जातिभित्र (मुलुकी ऐन, १९१०, जंगवहादुर राणाको पालामा) राखेकाले हिन्दु नरहेको देखिन्छ । थारु कल्याणकारिणी सभाले थारु बुद्ध धर्मवालम्बी रहेको बताए पनि सबै थारुहरु त्यसअनुरुप नरहेको देखिन्छ । यस आधारमा थाहरुमा धार्मिक आस्थामा विविधता छ । थारुहरु, आज आफुलाई हिन्दु, बौद्ध, क्रिश्चियन आदि धार्मिक परिचय बनाएको देखिन्छ । नयाँ परिवेसमा थारुहरु गुर्वावा धर्म मान्ने मान्यता पनि विकसित भइरहेको छ । थारुहरु नेपालको संस्कृतिको धनी जातिको रुपमा चिनिएका छन् । माघी थारुहरुको नयाँ वर्षसहितको ठूलो चाड हो । होली, चैते दशैं, गुरिया, कृष्णास्टमी, अट्वारी, अनट्टर, जितीया, सामाचखेवा, छठ, दशै, तिहार मुख्य चाड हुन् ।

आर्थिक पाटो
थारु समुदायको पुख्र्यौली पेशा कृषि हो । तर आजकल पेशामा विविधिकरण तिब्ररुपमा बढिरहेको छ । सरकारी गैरसरकारी सेवा, व्यापार व्यवसाय, कला, साहित्य, पत्रकारिता, व्यवसायिक खेलकुद, निर्माण व्यवसायीजस्ता पेशामा थारु समुदायको पहुँच क्रमशः बढिरहेको छ । त्यसो त भारतलगायत तेस्रो मुलुक कमाउन जानेको संख्या पनि कम छैन । एनआरएनका रुपमा पनि केही थारुहरु छन् । मुक्त कमैया, कमलहरी र सुकुम्वासी, भूमिहीन किसानको संख्या थारु समुदायमा अधिक छ । नेपाल सरकारले गरेको प्रक्षेपणअनुसार १८.७ प्रतिशत नेपाली जनता गरिवीको रेखामुनी छन् । यस आँकडाले तीन करोड जनसंख्यनमा ५७ लाखको हाराहारीका जनसंख्या गरिवीको रेखामुनी रहेको देखिन्छ । थारुहरुको गरिवीकोस्तर हाराहारी २५.५ रहेका अनुमान गर्न सकिन्छ । यस उसले थारुहरु एक चौथाइ अर्थात ५ लाख व्यक्ति गरिवीको रेखामुनी रहेको मान्न सकिन्छ ।

राजनीतिक पहुँच
गण राज्यकालमा थारुहरुले आत्मनिर्णयको अधिकारसहितको शासन गर्दथे । त्यसको अवशेषको रुपमा आज पनि मटावा, बरघर, भल्मन्सा, ककण्डार, माइन्जनको नेतृत्वमा गाउँ प्रगन्ना सञ्चालन भइरहेको छ । थारु पहिचान संस्थागत गर्न थारु समुदायको परम्परागत बरघर प्रणालीलाई कानूनी मान्यता दिनुपर्ने माग पनि नभएको होइन । तर संघीय व्यवस्था, तीन तहको सरकार बनिसक्दा पनि सम्बोधन हुन सकेको छैन । राणा शासनमा चौधरी (चौधरिया) नियुक्त भएर तराईका किसानहरुबाट कर असुली गर्ने, सरकारको आदेश पालना गर्ने, हुकुम प्रमाङ्गीका लागि विन्तीपत्र चढाउनेजस्ता कामहरु गर्ने गरिन्थ्यो । त्यसो त पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गर्दा थारु सेना पनि लगेको लेखेका छन् । सात सालको परिवर्तनपछि बर्दियाका राधाकृष्ण थारु, परशुनारायण थारु, विजयकुमार गच्छदारजस्ता केही थारु नेताहरुले राजनीतिक रुपमा स्थान बनाए पनि नेतृत्वदायी भूमिकामा आउन सकेनन् । पञ्चायतकालमा प्रधानपन्च हुनु थारुहरुको लागि ठूलो कुरा   हुन्थ्यो । अञ्चलाधीश हुनुलाई ठूलो उपलव्धीको रुपमा हेरिन्थ्यो । पञ्चायतकालमा स्व. रमानन्दप्रसाद सिंह (सप्तरी) महान्यायाधीवक्तासम्म भए । छयालिस सालको परिवर्तन पछि भने केही थारु सांसद र मन्त्रीहरु भएको देखिनछ । तत्कालीन नेकपा (माओवादी) ले सुरु गरेको माओवादी जनयुद्धमा संलग्न उल्लेख्य संख्यामा थारुहरु रानीतिक रुपमा अगाडि आएको सत्य हो ।

थारु समुदाय आदिवासी जनजातिका रुपमा पहिचान बनाएको छ । शासक जातिको रुपमा स्थापित हुन सकेको छैन ।

संविधानसभामा थारुहरुको सन्तोषजनक नै उपस्थिति थियो । संघीय र प्रदेश संसदमा सन्तोषजनक उपस्थिति रहे पनि मन्त्रीको जिम्मेवारी खासै देखिएन । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री हुने सम्भावना रहेपनि निर्वाचित हुन सकेनन् । स्थानीय तहमा भने केही सन्तोषजनक उपस्थिति रहेको छ । केन्द्रीय र राजनीतिमा प्रभावशाली नेताहरुको अभाव छ । बिजयकुमार गच्छदार लोकतान्त्रिक पार्टीमा रहँदासम्म राष्ट्रिय राजनीतिमा प्रभाव देखाए पनि पार्टी एकीकरण गरी आफ्नै पुरानो माउ पार्टीमा फर्किए । त्यसपछि भूमिका विहीन रहेको देखिन्छ । अस्तित्वमा रहेका पार्टीमा थारु नेतृत्व कमजोर र निरिह अवस्थामा छन् । थारु समुदाय आदिवासी जनजातिका रुपमा पहिचान बनाएको छ । शासक जातिको रुपमा स्थापित हुन सकेको छैन । थारु समुदायले थारु सघन बस्ती रहेका जिल्लालाई समेटेर प्रदेश बनाउन माग गरिरहेका छन् । थारुवान वा थरुहट प्रदेशको नाम हुनु पर्ने माग पनि लामो समयदेखि उठको छ । माग बमोविम नभए पनि बुद्धको जन्मस्थल लुम्बिनी नामाकरण गरेर थारु र मगर समुदायलाई खुशी बनाउन खोजेको देखिन्छ ।

निष्कर्ष
नेपाल १२५ जातजाति र १२९ भाषाभाषी भएको देश हो । भाषा आयोगको नयाँ अध्ययनअनुसार ६ वटा नयाँ भाषा थपिएपछि १२९ पुगेको हो । हरेक जातिको आफ्नो भाषा र संस्कृति छ भन्ने कुरा यस तथ्यले स्पष्ट गर्दछ । थारु समुदाय थारु संस्कृति, तराई संस्कति भएको जातीय समुदाय हो । मेहनती र इमान्दार जातिको रुपमा परिचय बनाएको थारु जाति शिक्षित र सभ्य जाति हो भन्न अझै पनि शासक पक्ष तयार छैनन् । थारु समुदायले समय समयमा जातिय विभेद विरुद्ध विद्रोह गरेका छन् । २००८ सालमा बर्दियाको बेलवाम भएको खलिहान घेराउ अन्दोलन, राधाकृष्ण थारुको अगुवाईमा भएको किसान आन्दोलन, बर्दियाको कमैया सुकुम्वासीहरुको कन्दरा आन्दोलन, २०१६ सालमा दाङ्गमा गुम्रा थारुको नेतृत्वमा भएको बेलवा बंजारी किसान आन्दोलन, बैजनाथ थारुको नेतृत्वमा भएको बाँकेको किसान आन्दोलन, २०२८ सालमा गोचाली परिवारले चलाएको प्रतिरोध साहित्य आन्दोलन, माओवादी विद्रोह, जनआन्दोलनहरु सबैमा थारुको विशेष भूमिका देखिन्छ । यी र यस्ता सबै ठूला साना आन्दोलनमार्फत थारु समुदायले आफ्नो वर्ग, जाति, समुदाय र राष्ट्रको उन्नतिका लागि बलिदानी दिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा समावेशी सिद्धान्तका आधारमा हरेक जाति र समुदायको समविकास हुनुपर्छ । यो मानवअधिकार पनि हो । राष्ट्रको हितलाई सर्बोपरी राखी विविधताको सम्मान गर्दै विश्वमा नेपाली साझा पहिचानलाई स्थापित गर्न सबैजना एकताबद्ध हुनुको विकल्प छैन । जय होस् ।

(लेखक थारु संस्कृति, साहित्य, राजनीति तथा अधिकार क्षेत्रका विश्लेषक हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया